अन्य

आमाको सुर्के थैली

लै बरी लै बरी लै ...

पटुकीमा सिउँरेको, सुर्के थैली खै?

सुर्के थैली खै? ...

चौबन्दीमा तुनेको सुर्के थैली खै?

चलचित्र 'वडा नम्बर ६'को  'सुर्के थैली खै' बोलको गीतलाई युट्युबमामा  झण्डै २ करोडले हेरिसकेका छन्। पटुकी र चौबन्दीको शोभा बढाउने गीत लोकप्रिय भए पनि पैसा राख्ने परम्परागत सुर्के थैली भने आधुनिक पहिरनको प्रभावले हराउँदै गएको छ। पहिले हरेकजसो महिलाको पटुकीमा बस्नेे थैली अहिले भने केहीका लागि देखाउने फेसनका रूपमा सीमित छ। 

पटुकी र चौबन्दीको शोभा बढाउने गीत लोकप्रिय भए पनि पैसा राख्ने परम्परागत सुर्के थैली भने आधुनिक पहिरनको प्रभावले हराउँदै गएको छ।

हुन त भक्तपुरका पुराना गल्ली र चोकमा झुन्डाएर राखिएका यस्ता थैलीले नेपालीको मात्र हैन, सात समुन्द्रपारबाट आएका विदेशी महिलाको समेत ध्यान खिँच्ने गरेको छ। त्यसैले यो पर्यटकीय नगरीयमा हस्तकलाका अन्य सामानसँगै थैलीले पनि स्थान पाएको छ।

'गाउँघरबाट आएका महिला र विदेशी पर्यटकको रोजाईमा थैली पर्ने गरेको छ,' भक्तपुर दरबारक्षेत्र नजिक पसल चलाउने चन्द्रमाया दर्शनधारी भन्छिन्, 'पर्स बोक्नेले पनि थैली किन्ने गरेका छन्।' न्यूनतम ५० रूपैयाँ पर्ने थैली हेर्दा निकै राम्रो देखिने भएकाले उपहार किन्न चाहनेले यसलाई खरिद गर्ने गरेका छन्। 'यसको सुन्दरता र परम्परागत पर्स हो भन्ने जानेपछि पर्यटक आकर्षित हुन्छन््,' उनी भन्छिन्, 'केटाकेटीले समेत किन्ने रहर गर्छन्।'

कुनै समय थैली महिलाको सान थियो। थैलीको आकार, यसको बुट्टा र भित्र राखिएका नोटले उनीहरूको वैभव नापिन्थ्यो। 'थैलीको मोटाइ हेरेर पैसाको आँकलन लगाउथ्यौं,' थिमीकी दिलमाया प्रजापती भन्छिन्, 'थैली बोक्न निकै रहर लाग्छ।' ६ वर्षदेखि नै थैली बोकेकी उनले ५० वर्षमा पनि उत्तिकै प्यारो लाग्ने सुनाइन्।

'पर्स बोक्ने गरेकी छु। तर, धेरैपटक हराएको छ,' उनले भनिन्, 'पटुकामा बाधिने भएकाले थैली कमै हराउँछ।' पछिल्लो समय थैली उपहार प्रयोग हुने थालेको छ। कतिपय महिलाले थैलीमा पैसासँगै मोबाइल पनि राख्ने गरेका छन्।

थिमीकी सरु श्रेष्ठ पर्स बोक्छिन्। तर, उनकी ७० वर्षीय आमाका लागि भने तीनमुखे थैली नै प्यारो छ। बाल्यकालयमा आमाको थैलीसँग नजिकिएको उनलाई अझै याद छ। आमाको पटुकीमा रहेको थैली उतिबेला हाम्रा लागि अहिलेको एटिम मेसिनभन्दा पनि भरपर्दो थियो,' श्रेष्ठले भनिन्, 'भोक लागेर थैली नजिक पुगेपछि खाली हात कहिल्यै फर्केको रेकर्ड छैन।'

अहिले भने पहिले जस्तो थैलीको प्रयोग देखिँदैन। उनलाई भने थैली देख्दा आमाकै न्यास्रो लागेर आउँछ। सीमित मात्रामै भए पनि थैलीको उत्पादन र बिक्रीले यसको अस्तित्व भने जोगाइराखेको छ। त्यसैले त चलचित्रका गीतमा मात्र होइन, भक्तपुरका पुराना गल्लिमा पनि थैली जीवितै छ।

प्रकाशित: २६ जेष्ठ २०७४ ०५:०७ शुक्रबार

आमाको सुर्के थैली