अन्य

मेलामा कोरियन स्वाद

गत साता कोरियन खाना मेला (फुड फेस्टिभल) आयोजना हुँदा सुनधारास्थित आर्मी अफिसर क्लब झकिझकाउ थियो। कोरियन स्वाद लिन स्कुले विद्यार्थी मात्र होइनन्, पाका उमेरका व्यक्ति पनि उत्सुक देखिन्थे। उनीहरू कोरियन परिकारको स्वाद लिन लामबद्ध भएका थिए। फेस्टिभलमा निःशुल्क कोरियन परिकार चाख्ने व्यवस्था मिलाइएको थियो। एकैथलोमा कोरियन परिकार चाख्न पाउँदा सहभागी दङ्ग देखिन्थे।

कोरियन परिकारबारे जानकारी दिन त्यहाँस्थित परराष्ट्र मन्त्रालयले फेस्टिभल आयोजना गरेको हो। आयोजकका अनुसार फेस्टिभलमा कोरियन खाना र खाजाका ३० भन्दा बढी परिकार राखिएको थियो।

नेपाली परिकारलाई कोरियनसँग दाज्ने र एक अर्काको संस्कृति साट्न उद्देश्यले कोरियन परराष्ट्र मन्त्रालयले हरेक वर्ष फेस्टिभल आयोजना गर्छ।

फेस्टिभलमा किन्ची, किम्बाव, ब्रेड, विविम वाष, पेनाचलगायत परिकार राखिएको आयोजकले जनाएको छ। यी परिकार कोरियामा प्रचलित छन्। सहभागीले कोरियन स्वाद मात्र होइन, परिकार बनाउनसमेत सिके।

फेस्टिभलमा सभामुख ओन्सरी घर्ती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री दिलनाथ पुरी, उद्योगी, कलाकारलगायतले कोरियन स्वाद लिए। उनीहरूलाई कोरियन परराष्ट्र मन्त्रालयका पदाधिकारीले कोरियन परिकार दिएका थिए।

फेस्टिभलले कोरियन परिकारको स्वाद लिएको सहभागी भक्तपुर कौशलटारकी सबिना बस्नेतले बताइन्। 'कोरियन परिकारबारे सुनेकी मात्रै थिएँ। मेलामा कोरियन परिकार चाख्ने रहर पनि पूरा गरायो,' उनले भनिन्।

फेस्टिभलमा कोरियनको पनि सहभागिता रहेको संयोजक टासी लामाले जानकारी दिए। 'यो पर्वले दुई देशबीचको सम्बन्धलाई कसिलो बनाउन मद्दत गर्छ,' उनी भन्छन्, 'मेलामा लाग्ने सबै खर्च कोरियन सरकारले बेहोर्छ, हामीले सहयोगीको भूमिकामात्रै निभाउँदै आएका छौं।'

मेलाका खाने परिकारमात्रै थिएनन्, कोरियामा बनेका शृङ्गारिक सामग्री पनि राखिएको थियो। कोरियामा उत्पादन भएका कस्मेटिक सामग्री, चाउचाउ, कोरियन ब्राण्डका कपडा राखिएको थियो। मेला अवलोकन र परिकार चाख्न आएका अधिकांशले मेलामा राखिएका कोरियन संस्कृति झल्काउने सामग्रीको किनमेल गरेका थिए।

यसैबीच, कोरियन वर्ल्ड के–पप फेस्टिभल र हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको छ। कोरियन संस्कृति र भेषभूषा समेटेका गीतमा नृत्य गर्न र लय भर्न २० भन्दा बढी टोली सहभागी थिए।

५/५ जनाको समूह रहेको टोलीले कोरियन गीतमा नृत्य प्रस्तुत गरे। प्रतियोगिता जित्ने टिमलाई कोरियामा हुने के पप फेस्टिभलमा सहभागी गराइन्छ। यो वर्ष प्रतियोगितामा के–हपर्स टोली विजयी भएको आयोजकले जनाएको छ। हाजिरीजवाफ प्रतियोगितामा मिनाल राई विजयी भएका छन्। उनले कोरियामा हुने अर्न्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन्।

प्रकाशित: २० जेष्ठ २०७४ ०२:४१ शनिबार

मेलामा कोरियन स्वाद