अन्य

‘भाँडाकुँडा मेरा नाटकका पात्र हुन्थे’

नीर शाह, अभिनेता
२०१० सालमा काठमाडौँ, सानो गौचरणमा मेरो जन्म भयो । हाम्रो खास थातथलो जुम्ला हो । मेरो हजुरबुबाको पुस्ता काठमाडौँमा बसाइ सरेको थियो ।
मैले थाहा पाउने बेलामा घरको आर्थिक अवस्था संकटग्रस्त थियो । हामी कृर्षिमा निर्भर थियौँ । पछिल्लो समय मात्रै हो, हाम्रो आर्थिक अवस्था सुध्रेको । प्राथमिक शिक्षा मैले घरमै लिएँ । प्रतापबहादुर भण्डारी मेरो घरको गुरु हुनुहुन्थ्यो । उहाँले मेरो घरमै आएर पढाउनुभयो । साक्षर बनाउनुभयो । पछि एकैपटक डिल्लीबजारको विजय माध्यमिक विद्यालयमा ५ कक्षामा भर्ना भएँ । उसबेला स्कुल जाने चलन त्यति थिएन । टोल–टोलमा शिक्षक बोलाएर पढ्ने गरिन्थ्यो । पढाइमा म राम्रै थिएँ तर मेरो प्राथमिकतामा पढाइ कहिल्यै परेन ।
पढाइभन्दा अतिरिक्त क्रियाकलापमा बढी रुचि थियो । नाटक, कविता लेखन, खेलकुदमा सानैदेखि रुचि थियो । तीमध्ये नाटकमा मेरो सानैदेखि उग्र अभिरुचि थियो ।
२०२२ सालमा राष्ट्रिय नाचघरमा उपत्यकाव्यापी नाटक प्रतियोगितामा हाम्रो नाटक उत्कृष्ट बनेको थियो । म आफैँले पहिलो पटक निर्देशन गरेको नाटक ‘गरिबको आँशु’ले सार्वजनकि प्रदर्शनीका लागि मौकासमेत पाएको थियो । स्कुलमा आफनो लक्ष्यबारे निबन्ध लेख्दा पनि ‘नाटक निर्देशन गर्न चाहन्छु’ भनेर लेख्थेँ । घरमा बस्दा पनि काठका टुक्राटाक्री, भाँडाकुँडालाई पात्र बनाएर नाटक खेल्थेँ । ती वस्तु जुटाउन आमाले पनि सघाउनुहुन्थ्यो ।

२०२४ सालमा एसएलसी दिएँ । एसएसलसीपछिको पढाइ दिल्ली र दार्जिलिङमा पूरा गरे । दार्जिलिङमा रहँदा मेरो सानैदेखिको रुचिले झन् फस्टाउने मौका पायो । त्यहाँ नाट्य संगीतको वातावरण निकै रमाइलो थियो । त्यहाँ रहँदा अंगेजी नाटकमा पनि खेल्ने अवसर पाइयो । चलेका नाटककारका प्रसिद्ध नाटकमा पनि अभिनय गरेँ ।
स्कुलमा पढ्दा मैले युनियनबाट विद्यार्थीको नेतृत्वको गर्ने अवसर पनि पाएँ । त्यसले ममा नेतृत्व क्षमताको विकास पनि  भएको थियो । स्कुल पढ्दा केटी साथी धेरै थिए । मलाई मन पराउने पनि थिए । तर, म अलि परिपक्व भएर प्रस्तुत हुने भएकाले केटीहरूले त्यो भावना व्यक्त गर्न सकेनन् । म पनि माया–प्रेम भनेर लागिनँ ।
मेरो विवाह मागी हो । बिहेको लागि केटीको घरमा माग्न गएको १८ महिना पछि २०३३ सालमा हाम्रो बिहे भयो । त्यो समयमा एक अर्कालाई हामीले राम्रोसँग चिन्ने मौका पायौँ । बिहे हुने बेलासम्म हामी प्रेमी–प्रेमिका पनि भैसकेका थियौँ ।
बिहे पछि श्रीमती पनि मेरो कला यात्राको सहयात्री भएकी छिन् । उनले मेरा धेरै नाटक र फिल्महरूको वेशभूषा डिजाइनको जिम्मा लिएकी छिन् । मैलै गर्ने अभिनयमा टिप्पणी गर्छिन् । यसले मेरो अभिनय सुधार गर्न पनि सहयोग पुगेको छ ।
जिन्दगीलाई अहिले फर्केर हेर्दा स्कुले जीवनमा फेरि फर्केर जान पाए हुन्थ्यो जस्तो लाग्छ । त्यो बेलामा स–साना कुराले पनि ठूलो सन्तुष्टि दिन्थे । तर, चाहेर पनि अब त्यो स्वर्णिम समयमा फर्किन सकिन्न ।
प्रस्तुतिः रामकुमार

 

प्रकाशित: ३० वैशाख २०७४ ०९:२० शनिबार

भाँडाकुँडा मेरा नाटकका पात्र हुन्थे नागरिक परिवार