अन्य

संगीतसँग साक्षात्कार

ज्ञानेन्द्र विवश

पाटन दरबार क्षेत्रस्थित केशवनारायण चोक । गोधूलि साँझ चराहरू आ–आफ्नो गुँड फर्कंदै छन् । मानिस भने प्राचीन दरबारको आँगनमा भित्रिँदै छन् । आकाशमा सूर्यको अनुपस्थितिसँगै चन्द्रमाको उपस्थिति भइसकेको छ । धर्तीमा अँध्यारो ओर्लिसकेको छ । ऐतिहासिक चोकमा राम्रैसँग रात भित्रिँदै छ । डबलीमा सांगीतिक समारोहको सौजन्य सार्वजनिक हुँदै छ। 

समारोहमा सहभागी हुन आउनेले प्राचीन दरबारको प्रांगणका कुर्सीहरू क्रमशः भरिँदै छन् । भित्तामा चित्र र मूर्तिकला सजाइएका छन् । नेपाली र जापानी कलाकारबीच कला–संगीतको सिर्जना प्रस्तुत हुँदै छ । दुई मित्र देशका कलाकर्मीले सिर्जना गरेका प्रदर्शित कलाकृति सबैले हेरिसके । अब सबै व्यग्र छन्, सुमधुर संगीत–संसारमा समाहित हुन् । संगीतको तालमा ताली बजाउँदै लट्ठिन ।

डबलीमा कलाकारहरू आ–आफ्ना बाजागाजा मिलाउँदै छन् । नेपाली पोसाकमा नेपाली, जापानी पोसाकमा जापानीहरू । सांगीतिक सुसेलीको दुई देशीय धड्कन एकै स्वर–समष्टिमा समाहित भएर गुन्जने तर्खरमा छ । संगीत भनेको सबैको प्रिय वस्तु रहेछ । संगीतले सबैलाई लोभ्याउने रहेछ । जुनेली साँझको त्यस अवसरमा अब संगीत–तरंगले श्रोताका मन तरंगित पार्नेछ । सांगीतिक मूच्र्छनाले मोहित पार्ने छ, उपस्थित सबैलाई ।

भमराका भुनभुन, चराका चिर्बिर, खोलाखहरेका खलबल, झरनाका झर्झर, बतासका वेग, मेघका गर्जन, बच्चाका रुवाइ, यी सबै प्राकृतिक संगीतका सुसेली हुन् । संगीतका सुमधुर स्वर हुन् । संगीतका सात स्वरको शुभारम्भ पशुपक्षी र प्रकृतिकै आवाजको अनुकरण हो । मानव मनले विकास गरेको ‘स्वर–व्यञ्जन’ हो । यही ‘नाद–सौन्दर्य’ को उच्छवासले मनलाई उत्कर्षतिर लैजान्छ । यसकै संयुक्त सम्मिलनमा सुर, ताल, लय, छन्द, भाव प्रवाहित हुन्छ ।

यसमा बेग्लै प्रकारको आवाज हुन्छ । पृथक स्वर–सरोवरको इन्द्रेणी हुन्छ । आफ्नै लय, ताल र गति हुन्छ । आवाजको झंकारमा मिठास पस्किने नौलो क्षमता हुन्छ । संगीतले सबैलाई मोहित पार्छ । संगीतमा सबै रमाउन पाउँछन् । संगीतले मन भुल्याउँछ । संगीतले मन बहलाउँछ । संगीतले मनलाई आनन्द प्रदान गर्दछ । दुःख र सुख जहिले पनि संगीतले मनलाई शान्ति प्रदान गर्छ । अनेक स्वरहरूको मिश्रण, अनेक आवाजको कम्पन, अनेक वाद्यवादनको गुञ्जन हो संगीत । नृत्यमय मुद्राको शारीरिक गतिशीलता प्रदान गर्ने संगीत नै हो । सत्ययुगदेखि कलियुगसम्म संगीतको प्रभाव र प्रेरणा असीमित र अद्वितीय छ । 

संगीत हामीले सानैदेखि सुन्दै आएका छौँ । संगीतलाई हामीले बुझेर वा नबुझेर मन पराउँदै आएका छौँ । जीवनको धड्कन भएर संगीत गुञ्जन्छ । संगीत हाम्रा कान हुँदै मनसम्म स्पर्श गर्न आउँछ । संगीत वास्तवमा जीवनकै सुसाइ, स्पन्दन र तरंग हो ।

‘हार्मनी नेपाल–जापान’ र ‘नेपाल–जापान कला, संस्कृति समाज’ नामक संस्थाले कला–संस्कृति आदान–प्रदान कार्यक्रम गरेको थियो । कार्यक्रममा जापानबाट मूर्ति, चित्र, वादन, नृत्य विधाका कलाकार आएका थिए । नेपाली कलाकार पनि आ–आफ्ना सिर्जनासहित उपस्थित थिए । 

शान्त, एकान्त दरबारको परिसरमा क्रमशः स्वरको सुसेली प्रतिध्वनित हुन थाल्यो । शास्त्रीय राग–अनुरागका अकथनीय आवाज गुञ्जिए । संगीतको सुसाइमा दर्शक अवाक् भए । नेपाली र जापानी संगीतमा सबै अघाउँजी भए । त्यसबेला संगीतबाहेक अरू केही सुनिएन । संगीतकै संवाद, संगीतकै विवाद, संगीतकै भलाकुसारी । 

कार्यक्रममा सासा यासुकोले जापानी बाजा ‘सानमिसेन’ को प्रस्तुति प्रस्तुत गरिन् । मोरिता मिनाकोले ‘उडिशी शास्त्रीय नृत्य’ गरी सबैलाई मोहित पारिन् । त्यसैगरी सुगिमोतो ज्युनइचिरोको मूर्तिकला र इमामुरा केइकोको जापानीशैलीका कला प्रदर्शनी गरिएको थियो । उक्त कार्यक्रममा सितारवादक सवन जोशीको एकल र सामूहिक शास्त्रीय संगीत मुख्य आकर्षण बन्यो । सितारको ध्वनितरंगमा झंकृत नहुने बिरलै थिए होलान् । सितार एउटा शास्त्रीय बाजा । यही बाजाको शास्त्रीय मान्यतामा माझिएको स्वरले मनलाई शास्त्रोक्त गहिराइमा पु¥यायो । मन आनन्दित बनेर रमायो । 

जोशीको सितार वादन, मिलेश तन्डुकारको तबला र सुरेशराज बज्राचार्यको सरोद वादनको मुख्य प्रस्तुति थियो । गितारमा फिरोज बज्राचार्य र किबोर्डमा ताजावा योसिताका थिए । तिनका पृथक स्वर, शैली र सुसाइले संगीतप्रेमीको मन आकर्षित पार्ने क्षमता राख्यो । लयको अविचलित र अविच्छिन्न अन्तरा श्रुतिमधुर हुने नै भए । त्यसैले उपस्थित श्रोताले समय बितेको चालै पाएनन् । संगीतसँग सबै साक्षात्कार भए ।

कुनै प्रस्तुति शास्त्रीय वाद्यवादनमा एकत्रित थिए । कुनै कार्यक्रम नेपाली र जापानी बाजामा फरक स्वर–स्वादमा केन्द्रित बने । मूलतः संगीतमा कति र कसरी आनन्दमय अनुभूति बाँड्न सकिन्छ ? संगीत र कलाबीचको सम्बन्ध कस्तो छ ? यी विषय–सन्दर्भमा कार्यक्रमले राम्रो सन्देश सम्प्रेषण ग¥यो । साँझको सानो समारोहले सकारात्मक प्रभाव पा¥यो । एक प्रकारले फरक सोंच र समयका साथ समारोहले अलग्गै आयाम निर्माणमा सघायो । 

नेपाली र जापानी कला–संगीतको सामूहिक सिर्जनामा एकै भावभूमिको सौन्दर्य भेटियो । त्यसले हाम्रो परम्परागत संगीतको सिलसिला समृद्ध रहिआएको स्पष्ट झलक पनि प्रस्तुत ग¥यो । यो गौरवमय सांस्कृतिक विरासत हो ।

कला र संगीत भनेको जहाँको भए पनि मानिसको हृदय स्पर्श गर्ने हुन्छ । त्यसमा भाषा वा व्याख्याको कुनै आवश्यकता पर्दैन । सबैले बुझ्ने, सबैले सुन्ने–हेर्ने कला र संगीत वास्तवमा जीवनसापेक्ष सिर्जना–कर्मका शाश्वत सत्य हुन् । यिनको गहिराइमा पुग्नुपर्छ । गहिराइमा पुगेपछि बल्ल यिनको महिमाबोध हुन्छ । मान्छे यसैमा समाहित पनि हुन पुग्छन् । संगीत–साधनामा तल्लीनका लागि नयाँ धुन, नवीन लय र नौलो संगीत–सिर्जना नै सबैभन्दा ठूलो प्राप्ति हो ।

यसरी संगीतसँग साक्षात्कार हुन पुगिन्छ । आफैँलाई बिर्सिएर लय, ताल, स्वर र सुसेलीको सागरमा मस्त हुन सकिन्छ । यो संगीतको आकर्षण हो । 

अध्ययनअनुसार संगीत सुन्दा स्वास्थ्यका लागि धेरै फाइदा छ । कतिपय देशमा बिरामीको उपचार विशेष संगीतको श्रवण गराएर गरिन्छ । संगीतले मानिसलाई बेग्लै ताजापनको अनुभूति गराउँछ । संगीतले मानिसलाई मानसिक शान्ति र आनन्द प्रदान गर्दछ । कामपछिको विश्राम होस् या कामकै क्रममा पनि मानिस संगीतमा झुम्ने गर्छन् । 

अधिकांश स्रष्टाहरू संगीत सुन्दै सिर्जनामा रमाउँछन् । विश्वका प्रसिद्ध साहित्यकार, चित्रकार, मूर्तिकार बिनासंगीत सिर्जना गर्न सक्दैनन् । आजका पुस्ताको के कुरा कानमा ‘हेडफोन’ हरपल घुसेकै हुन्छ । गीत–संगीतमा तिनीहरू झुमिरहेकै हुन्छन् । त्यसैले संगीतको लोकप्रियता हिजोदेखि आजसम्म झन् बढिरहेको छ । संगीतले मन नवीकृत गरिरहेछ ।

नृत्यको शास्त्रीयतालाई नियालौँ । कति मूर्तिकलाका स्वरूप संगीतकै प्रभावमा निर्माण भएका देखिन्छन् । कुनै नृत्य–मुद्रामा आकृतिबद्ध छन् देवदेवीहरू । प्रायः देवताका मूर्तिकलामा नृत्यभावको आकार–प्रकार देख्न सकिन्छ । हिन्दू तथा बौद्ध देवदेवीका प्रचलित मुद्रा, आसन र अवस्थाहरू कति ‘लयात्मक’, कति ‘कलात्मक’ । संगीतकै प्रभावले निर्मित ‘रूपहरू’ ।

शिवको हातमा देखिने डमरू र कृष्णले बजाउने बाँसुरीको बाजाबिना तिनको चिनारी नै अधुरो रहन्छ । विष्णुको हातमा शंख होस् कि नारायण–नारायण भन्दै हिँड्ने नारदको हातमा पनि बाजाकै वा संगीतकै साथ–सहयोग सम्मिलित रहेको पाइन्छ । विद्याकी देवी सरस्वतीको हातमा विणा संगीतको उत्कृष्ट उदाहरण हो । यी बाजाले हाम्रा देवदेवीलाई चिन्न र तिनको स्वरूपलाई सुन्दर बनाउन समेत मद्दत पु¥याएको छ । 

वास्तवमा संगीतको महŒव र आवश्यकता आजको मात्रै होइन । यसप्रतिको आकर्षण उहिल्यैदेखिको निरन्तरता हो । बाजा भएन भने हाम्रो जीवनका कुनै पनि संस्कार कर्म हुँदैनन् । सामाजिक, धार्मिक, पारिवारिक कर्म केही हुन सक्दैनन् । संगीतले हाम्रो जीवनलाई जोडेको छ । संगीतले हाम्रो सनातन परम्परालाई अक्षुण्ण राख्दै आएको छ । जन्म, विवाह र मृत्यु तथा सांस्कृतिक उत्सवहरूमा बाजाको भूमिका ठूलो छ । 

नेवार समुदायमा गरिने बूढोपास्नीमा सन्तानले आफ्ना बुबाआमालाई बाजागाजाका साथ देवस्थलको परिक्रमा गराउँछन् । हरेक साँझ–बिहानको पूजा–आरतीमा घन्टी बजाउँदै संगीतको स्वर उरालिन्छ । शंख, डमरू बजाइन्छ । भजन–कीर्तनमा तबला, हार्मोनियम, मृदंग आदि बजाइ आध्यात्मिक अनुरागको आरम्भ गरिन्छ । देवतालाई बाजाले स्वागत गरिन्छ । खटजात्रामा बाजा बजाउँदै गाउँसहर घुमाइन्छ । 

बिहेमा बाजा बजेन भने त्यो विवाह उत्सवको के अर्थ ? तिहारमा भैले र देउसेहरूले मादल बजाएनन् भने तिहार आउनुको के मजा ? त्यसैगरी जुनसुकै जात्रामा पनि बाजा चाहिन्छ । बाजाबिना जात्रा सञ्चालनै हुँदैन । बाजा नबज्दा जात्राको रौनक नै रहँदैन । बाजाकै अगुवाइमा मात्र जात्रा हुन्छ । संगीत वा बाजाले पार्ने प्रभाव सधैं सकारात्मक रहँदै आएको छ । बाजा र जीवनको घनिष्ट सम्बन्ध छ । 

हामीकहाँ लोकप्रिय परम्परागत अनेक बाजाहरू छन् । हाम्रा प्रत्येक संस्कार कर्ममा तिनको गुञ्जन आवश्यक हुन्छ । त्यस्तै विविध जातिका लोकभाका र लोकबाजाको आफ्नै महŒव छ । स्थानीय जात्रा, मेलापर्वमा बजाइने बाजा अलग्गै हुन्छ । बाजाबिना सांस्कृतिक उत्सव हुँदैन, भए पनि शोभा बढ्दैन । 

त्यस्तै, कुनै पनि सामाजिक, राजनीतिक वा धार्मिक समारोहमा सांगीतिक कार्यक्रमले सबैलाई आनन्द बाँड्छ । मान्छे झुम्छन्, रमाउँछन् । ग्रामीण पाखोदेखि सहरी चोकमा समेत संगीतको स्वर सुसेलिन्छ । संगीतको लयमा शब्द र स्वरको गीतिभाव जन्मन्छ । त्यसले सबैलाई आकर्षित पार्छ । संगीतमा देवता र मानिसलाई मोहनी लगाउने शक्ति हुन्छ, निराशामा पनि आशा जगाउँछ । एकान्तमा पनि साथी बन्छ यो । भीडभित्र पनि यसको छुट्टै स्थान छ । 

संगीतको प्रभाव र प्रेरणा दुवै छ । संगीत हिजोदेखि आजसम्म उत्तिकै प्रिय छ । यसको जग शास्त्रीय संगीत हो । यसको मौलिक आधार शास्त्रीय संगीत हो । यो १३औँ शताब्दीदेखि मुसलमान र हिन्दू संस्कृतिको सम्मिश्रणबाट विकसित हँुदै आएको हो । शास्त्रीय संगीतमा सितार, सरोद, हार्माेनियम, तबलाजस्ता बाजा पर्छन् । त्यसैगरी ध्रुपद, खयाल, ठुमरी, गजल, भजन, कर्वालीजस्ता गायनशैली यस संगीतअन्तर्गत् पर्दछन् । संगीतको श्रीगणेश ‘सारेगमपधनि’ बाट हुन्छ । यो शास्त्रीय संगीतको आधारभूमि र व्याकरण हो । 

संगीतले आज व्यावसायिक सफलता हासिल गरिसकेको छ । देश–देशान्तरमा संगीतको लोकप्रियता बढिरहेको छ । संगीतले अनेक लय, भाका, रस र अनेक रङ पैदा गर्दछ ।

प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा नेपाली, भारतीय र पाकिस्तानी संगीतसाधकको शास्त्रीय समारोह सुनेको छु । तिनले बजाउने बाजा, लय, ताल र सुरको सौरभ कम चित्ताकर्षक हुँदैनथ्यो । कम आनन्ददायी बन्दैनथ्यो । कानले सधैं सुनिरहुँ लाग्ने । कति लामो ताल, कति छिटो–छिटो बाजा बजाएको । राग अलाप्ने शैली पनि परिपक्व ! जे छोए पनि उत्तिकै सुमधुर स्वर निकाल्ने । कस्तो जादु ! कस्तो हातको ताल हो ?

धाक कधा गेना.....धाकतिर किटधाक गेना ।
धागे तिना किना... ताक कता केना ।

तबला सिकाइको प्रारम्भिक चरणमा काइदाको तालमा सुमित श्रेष्ठले हातका औँलाहरू तबलामाथि चालिरहेको छ । उसले सिकेको तबलामा अब ऊ राम्रैसँग भिजिसकेको छ । त्यसैले उसका कलिला हातका औँलाहरू तबलामा पर्दा एउटा अलग्ग आवाज आउँछ । सिकारु भएकाले अहिले नै जुनेलो भुटेझैँ पटटट एकनाशको यस्तो आवाज गुन्जिदैन । तर, तबला वादनको प्रारम्भिक मिठासको अनुभव म गरिरहेको छु । म अर्को कोठामा बसेर छोराको मेहनतमा अग्रज साधकको आवाज घोलेर सुनिरहन्छु । 

अनौठो सांगीतिक सुसेलीले दिनभरिको तनाव कम हुन्छ । मन शीतल र शान्त हुन्छ । कार्यालयबाट थाकेर फर्कंदा तबलाको ध्वनि–तरंगमा तैरिँदै जान्छु । तबला पूर्वीय बाजाको राजा मानिन्छ । त्यसैले सिक्ने र सिकेर अनेकौँ ताल निकाल्ने यही बाजा हो । 

प्रकाशित: ३० वैशाख २०७४ ०६:२२ शनिबार

संगीतसँग साक्षात्कार