अन्य

‘सत्यको बाटो हिँडेर यहाँसम्म आइपुगेँ’

इला शर्मा, निर्वाचन आयुक्त

‘महिलाजस्तो बलियो कोही पनि हुँदैन । म आफूलाई चार जना पुरुषभन्दा बलियो ठान्छु ।’
निर्वाचन आयोगकी आयुक्त इला शर्माको ‘एट्टिट्युड’ हो यो । उनको यो ‘एट्टिट्युड’ यत्तिकै बनेको होइन । पुरुषको वर्चस्वशाली समाजमा महिलाका रूपमा आफ्नो अस्तित्व कायम गर्न, एउटा छवि निर्माण गर्न हजारौँ तगारा नाघेर यहाँसम्म आइपुगेपछि इलाले यस्तो एट्टिट्युड बनाइन्– ‘म चार जना पुरुषभन्दा बलियो छु ।’
बागलुङको गलकोटे ठकुरी परिवारमा जन्मेकी थिइन् इला । उनकी आमा असाध्यै संघर्षशील महिला थिइन् । आजसम्मको सफलता यात्राको श्रेय उनी आमालाई दिन्छिन् । ‘मेरी आमा नै मेरो आदर्श हो,’ इलाले भनिन् ।
 उनी तीन वर्षकी हुँदा बुबाको निधन भएको थियो । ‘बुबासँग हुर्कने मौका पाइनँ,’ उनले पिताको अभावमा हुर्कनुपरेको थियो, ‘आमाबाट सबै कुरा सिकेँ ।’ आमा उनलाई पढ्न निकै प्रेरणा दिन्थिन् । उनकी आमा कवि थिइन् । ‘छन्दमा राम्रा कविता लेख्नुहुन्थ्यो,’ इलाले सम्झिइन् ।
उनले सानैदेखि किताबको संगतमा हुर्कने मौका पाइन् । धनुषाबाट बुबासँगै बनारस पुर्याइएकी इला उतै हुर्केकी हुन् । राणा शासनका बेला नेपालमा कुनै पनि प्रकाशन थिएनन् । त्यसबेला उनका हजुरबुबाले बीपी कोइरालाका बाबु कृष्णप्रसाद कोइरालासँग मिलेर बनारसमा नेपाली प्रकाशन गृह खोलेका थिए । इलाका अनुसार त्यहाँबाट उनीहरूले ‘गोर्खाली’ पत्रिका पनि निकालेका थिए ।
बनारसमा आफ्नै प्रकाशन गृह भएकाले नेपाली भाषाका पुस्तकको खाँचो थिएन । अन्य पुस्तक आमाले किनेर दिन्थिन् । आमाले पढ्न दिएको भीमनिधि तिवारीका किताब पढेर इला नेपालको कल्पना गर्थिन् ।
उनकी आमा पढ्नमा जोड दिन्थिन् । छोरीको लुगाको उनलाई पर्वाह थिएन, थियो त छोरीले पढ्ने किताबको । गान्धी आश्रमका खद्दरका कुर्ता–सुरुवाल लगाएर आफू हुर्केको इलाले बताइन् । ‘मलाई रंगीचंगी कपडा लगाउन कम्ता रहर लाग्दैनथ्यो,’ उनले बाल्यकाल सम्झिन्, ‘तर, आमा लुगाभन्दा किताबमा जोड दिनुहुन्थ्यो ।’

 इलाकी आमा उनलाई पढ्न जोड दिन्थिन् । छोरीको लुगाको उनलाई पर्वाह थिएन, थियो त छोरीले पढ्ने किताबको । गान्धी आश्रमका खद्दरका कुर्ता–सुरुवाल लगाएर उनी हुर्किन् ।


इलाले आमाबाट जीवन बाँच्न सिकिन् । ‘जस्तोसुकै समस्यासँग जुध्ने आँट मैले आमाबाटै बटुलेकी हुँ,’ उनले भनिन् ।
इलाका पति नवराज इन्सपेक्टर थिए । २०५६ सालमा सशस्त्र द्वन्द्वका बेला उनी माओवादीबाट जाजगरकोटमा मारिएका थिए । इलाले ३२ वर्षको उमेरमा एकल महिलाको जिन्दगी सुरु गर्नुप¥यो । श्रीमान् बितेपछि उनको जीवनमा थप संघर्षमय भयो । त्यतिबेला जेठी आठ र कान्छी छोरी छ वर्षका थिए । नाबालक छोरीहरूलाई हुर्काउने र पढाउने तथा आफ्नो करिअरलाई सँगसँगै लैजाने चुनौती पहाडभन्दा कम अग्ला थिएनन् । ‘जिन्दगीसँग हार नमानेकाले नै मैले चुनौती पहाडहरू छिचोल्न सकेँ,’ उनले भनिन् ।
उनकी जेठी छोरी सची अहिले भारतको आईसीआईसीआई बैंकमा कार्यरत छिन् । कान्छी शैव्या एमबीए अध्ययनरत छिन् । छोरीहरू आफूले सोचेजस्तो बाटोमा हिँडिरहेकाले इला खुशी छिन् । ‘मैले आमाबाट सिकेँ, मेरा छोरीहरूले मबाट सिके,’ उनले भनिन्, ‘मलाई हाम्रो यो पारिवारिक सिकाइ परम्परामा गर्व छ ।’
इलाले बनारसबाट जीवविज्ञानमा बीएससी गरिन् । गोरखपुर युनिभर्सिटीबाट एलएलबी गरेपछि नेपाल फर्केकी थिइन् । एलएलएम पढ्न यूएस जाने विचारले टोफेल पढ्न सुरु गरिन् । त्यत्तिकैमा उनको विवाह भएको थियो । विवाह गर्ने बेला उनी २० वर्षकी थिइन् ।
सँगसँगै उनी २०४५ सालमा उनी पत्रकारितामा प्रवेश गरिन् । नेपाल प्रेस इन्स्टिच्युटको दोस्रो ब्याचमा उनले कक्षा लिइन् । इन्टर्नसिपका लागि ‘द राइजिङ नेपाल’मा गएकी थिइन । त्यसैबेलादेखि उनले जागिर सुरु गरिन् । राइजिङ नेपालमा संसद् रिपोर्टर, डेस्क सम्पादक र फिचर सम्पादकका रूपमा १३ वर्ष काम गरिन् । पहिलो ब्याचमै नेपाल ल कलेजबाट एलएलएम गरिन् । कानुनको उच्च अध्ययनपछि पत्रपत्रिकामा लेखनमार्फत महिलाका सरोकार र सवाल उठाइरहिन् । उनले अन्तर्राष्ट्रिय कानुन, व्यापार मामिला, मानवअधिकार र विकास क्षेत्रमा अनुभव बटुलेकी छिन् । बेल्जियममा कानुन एवं अपराध संकायमा पीएचडी गर्ने  क्रममा सन् २०१३ मा उनी निर्वाचन आयुक्त नियुक्त भइन् । उनले पीएचडी सक्न भ्याएकी छैनन् । भन्छिन्, ‘निर्वाचन सकिएपछि पीएचडी सक्छु ।’

 ‘आफू सत्य र सही बाटोमा हिँडे कसैले केही गर्न सक्दैन । म सत्यको बाटो हिँडेर यहाँसम्म आइपुगेकी हुँ ।’


जिन्दगीमा उनले थुप्रै मान्छे र थुप्रै प्रवृत्तिलाई झेलिसकेकी छिन् । खुट्टा तान्न खोज्ने, ईष्र्याले जल्ने, कुरा काट्ने, मन नपराउने...सारा स्वभाव र प्रवृत्तिका मान्छेलाई इलाले बेहोरिसकेकी छिन् । उनको जीवन मन्त्र एउटै छ– ‘आफू सत्य र सही बाटोमा हिँडे कसैले केही गर्न सक्दैन । म सत्यको बाटो हिँडेर यहाँसम्म आइपुगेकी हुँ ।’

(नागरिक परिवारबाट)

 

प्रकाशित: २३ वैशाख २०७४ ०९:२५ शनिबार

सत्यको बाटो हिँडेर यहाँसम्म आइपुगेँ नागरिक परिवार