अन्य

पाका कलाकार, परिपक्व सिर्जना

भनिन्छ उमेरले बूढो भए पनि मान्छेको मन र प्रतिभा कहिल्यै बूढो हुँदैन। उमेरका कारण शरीर कमजोर होला, तर प्रतिभाशाली मान्छेको सोच कमजोर हुँदैन। उमेर जतिजति बढ्यो प्रतिभा पनि झन्झन् निखारिँदै जान्छ। त्यही भएर होला, सेतै कपाल फुलेका पाका कलाकारहरू बुढ्यौलीसम्म पनि सिर्जनामा रमाएका छन्। अरु क्षेत्रमा लागेका व्यक्तिलाई उमेर उत्तरार्द्धतिर लाग्दा दिन कटाउन मुस्किल परे पनि सिर्जनामा लागेका व्यक्तिका हकमा त्यसो नभई झनै व्यस्त बन्न पुग्छन्।

पाका कलाकारहरूको सम्मान गर्नेतर्फ राज्यको ध्यान नपुगेको भन्दै अधिकांश कलाकारले दुःख व्यक्त गरेका छन्। बाल्यकालदेखि नै कला क्षेत्रमा समर्पित गर्दै आएका कलाकारहरू आफूलाई राज्यले हेर्नु आफ्नो हक नै भएको बताउँछन्।

कलाकारितामा जमेका ८० जर्षीय मनुजबाबु मिश्र अहिले पनि चित्र सिर्जनामा सक्रिय छन्। गीत गाउने, पुस्तक लेख्ने, चित्र कोर्ने र नाटक मञ्चन गर्ने कार्यमा सानैदेखि सौख रहेको उनी बताउँछन्। 'हरेक मानिसको जीवनको सुरुवात फरक कार्य र विधाबाट हुन्छ, मेरो पनि कलाकारिताबाट भएको थियो,' उनी सम्झन्छन्, 'उमेरले ४ वर्षमा टेक्दा मैले गीत रेर्कड गरेको रहेछु, अहिले त बाल्यकालका धेरै कुरा भुल्न थालिसकेँ, तर पनि कहिलेकाहीँ बालापनले झस्काउँछ।' सानै उमेरदेखि नै गीत गाएका मिश्र एउटै विधामा भने सीमित रहेनन्। युवा अवस्थामा पुग्दा नाटक मञ्चन र लेखनतर्फ जमे। उनले लेखेका र मञ्चन गरेका बालक र वदला  नाटक अहिलेको समाजसँग पनि मिल्दा छन्। 'स्कुल पढ्दा चित्र कोर्ने धोको थियो,' मिश्रले भने, 'तर सिकाउने गुरु भेटिनँ, अरुको चित्र हेर्दै चित्र कोर्न अभ्यास गर्न थालेँ।'

फरकफरक विधामा रमाएका मिश्रको जीवनको अन्तिम धोको कलासम्बन्धी दुईवटा पुस्तक प्रकाशन गर्नु रहेको छ। यी पुस्तकको ८० प्रतिशत काम सकिएको उनी बताउँछन्। 'उमेर छँदा धेरै क्षेत्रका काम गरियो,' मिश्रले भने, 'ती काम अरुले पनि जानून् र सिकून् भनेरै यी पुस्तक लेख्ने आँट गरेको हुँ, तर बुढ्यौलीमा पुस्तक लेख्नु निकै कठिन रहेछ।' मनुजबाबुका चित्रमा सामाजिक, मनोवैज्ञानिक, राजनीतिक र अन्तर्राष्ट्रिय व्यंग्य पाइन्छ।

घाम नअस्ताउँदै सुतिहाल्ने र मध्यरातमा उठेर चित्र बनाउन थाल्ने यी सर्जकलाई घरबाहिर भेट्नु दुर्लभजस्तै छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि समारोह वा सार्वजनिक ठाउँमा उनी देखिएनन्। आफ्नै घरबाट उनी बाहिर आउन मानेनन्, बरु घरभित्रै बसेर चित्र कोरिरहे, कलम चलाइरहे।

उमेर बढ्दै जाँदा कलाकारिता गर्न अप्ठेरो पर्दैन भन्ने प्रश्नको उत्तरमा उनले भने, 'कलाजस्तो आनन्द दिने पेशा अरु के नै होला र? अरु पेशामा लागेका व्यक्तिलाई ७० कटिसकेपछि दिन बिताउन गाह्रो होला, तर कलाकार बाचुञ्जेल  सुखी हुन्छ।'

आफूलाई फरक ठाउँमा स्थापित गर्न सफल अर्का चित्रकार हुन् टेकवीर मुखिया। भैँसेपाटीस्थित उनकै निवासमा कुराकानी गर्न पुग्दा उनी घरी बाल्यकालमा फर्कन्थे त घरी युवावस्थामा। 'मलाई बाल्यकालमा चित्र यसरी कोर्नुपर्छ भनेर सिकाउने कोही थिएन,' उनले सम्भि्कए, 'म आफ्नै अभ्यासबाट निखारिएको हुँ, युवाअवस्थामा दिनको २२ घन्टासम्म काम गरेँ।' त्यसो त उनको मेहनतको छाप धेरै नेपाली मनमा बसिसकेको छ। पुस्तकको आवरणकारिता सम्झने बित्तिकै 'मु' लेखेको धेरैलाई याद आउँछ। त्यो मु उनै टेकवीर मुखिया हुन्। लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, विश्वेश्वरप्रसाद कोइलाका सुम्निमालगायत थुप्रै कृतिको आवरण उनले सजाइसकेका छन्। अहिलेसम्म करिब पाँच हजार किताबको आवरण चित्र कोरेको उनी बताउँछन्। 'सुरुमा चित्र बनाउन निकै असहज थियो,' उनले भने, 'हिजोआज कृतिको सार भन्नासाथ त्यसको भाव चित्रमा उतार्न सक्छु।' पूर्वराजा ज्ञानेन्द्रका तीन वटा पुस्तकका कभर पनि सित्तैमा बनाइदिएको उनले बताए। 'मैले युधीर शमशेर थापाको पाण्डुलिपि पढेर गाता बनाउने जिम्मा पनि पाएको थिएँ,' उनी भन्छन्, 'सांसदहरूले लगाउने लोगो कोर्न जस्तो अप्ठेरो अन्य चित्र कोर्दा भएको थिएन।' उनी सानैदेखि चित्रका पारखी थिए, कोही मान्छे देख्यो कि तस्बिर दुरुस्तै उतारिदिन्थे।

दार्जीलिङमा छँदा उनले हिन्दी फिल्मका थुप्रै पोस्टर बनाए। २९ वर्षको उमेरमा उनी काठमाडौँ आए। 'दार्जीलिङबाट काठमाडौँ आउँदा नेपालमा औँलामा गन्न सकिने कलाकार थिए,' कलाकारितामै सात दशक बिताएका मुखिया भन्छन्, 'चन्द्रमान मास्के, लैनसिंह वाङ्देल, शशी शाह, उत्तम नेपालीसँग पनि केही सिक्ने र सँगै काम गर्ने मौका पाएँ।'

मुखियाले भनेजस्तै हरेक चिजमा कला छ। कला नभएको ठाउँ नै छैन। बोल्ने कला, लेख्ने कला, खाने कला हरेक क्षेत्रमा कला। आखिर मानिसको दैनिक जीवन नै अनेक कलामा चलेको छ। १९९७ सालमा जन्मिएका शशी शाह पनि चित्रकलामा ख्यातिप्राप्त कलाकार हुन्। २० वर्षको उमेरदेखि चित्रकलाको माध्यमबाट कलाकारितामा हामफालेका शाहले त्रिभुवन विश्वविद्यालय र नेपाल प्रज्ञा–प्रतिष्ठानमा ३१ वर्ष काम गरे। उनी ललितकला क्याम्पसमा प्रिन्सिपल पनि भए। 'कला क्षेत्रमा काम गर्ने मेरो बाल्यकालदेखिको सोच हो,' शाहले भने, 'म कलाकारितामा नलागेको भए जीवन यति सार्थक र सुखी हुँदैनथ्यो।'

विशेषगरी चित्रमा घोडाका अनेक रूप उतार्ने उनले बनाएका पेन्टिङ जापान, अमेरिकालगायत देश पुगेका छन् भने नेपालमा थुप्रै कार्यालयमा उनले कोरेका कला सजिएका छन्। 'सानोमा चित्र कोर्न साह्रै मन लाग्थ्यो,' उनले भने, 'विदेशी कलाकारका चित्र हेरेर चित्र कोर्न सिकेको हुँ।' बम्बइको जेजे कलेज अफ आर्टबाट बीए उत्तीर्ण उनी उमेरले बुढ्यौली टेकिसक्दा पनि कला क्षेत्रमा पनि उत्तिकै  सशक्त छन्। 'उमेर ढल्किँदै जादा आँखा अलि कमजोर भएको छ,' उनी भन्छन्, 'कलाकारिता क्षेत्रको मोह र रहर अझै मेटिएको छैन, जति बाँच्छु यसैमा समर्पित हुन्छु।'

त्यसो त कलाकारितामा लागेका व्यक्तिको भौतिक शरीर नरहे पनि कला भने बाँचिरहेको हुन्छ। कलाकारितालाई बाल्यकालदेखि नै माया गर्ने अर्का व्यक्ति हुन् ललितपुर पाटन गाःबहालका बुद्धिराज वज्राचार्य। बाल्यकालमा हिरो बन्ने सपना थियो उनको। हिरो बन्न भारतको एक फिल्म उद्योगले निमन्त्रणा पनि गरेको थियो। घरायसी समस्याले जान नपाएको उनी बताउँछन्। आफ्नो सानैदेखिको रूचिको क्षेत्रमा लाग्न नपाएपछि वज्राचार्यको जीवनले नयाँ मोड लियो। उनी भन्छन्, 'फिल्म क्षेत्रबाहेक कलाकारिता र सम्पदा क्षेत्रमा लागेर काम गर्नु मेरो सानैदेखिको सोख थियो, २००६ सालमा राजा मोहनशमशेर जबरालाई मैले सिंहदरबार अगाडि डान्स र नाटक देखाएको थिएँ,' उनले भने, 'डान्स र नाटक राम्रो देखाएको भन्दै त्यो बेला राजा महेन्द्रले २५ रुपैयाँ दिएका थिए।'

८० कटेका वज्राचार्यले १२ वर्षको उमेरदेखि नाट्यक्षेत्रमा काम गरे। 'मलाई त्यो बेलाको ३२ तालमा डान्स गर्न आउँछ, गीत संगीतलाई पनि मैले उस्तै माया गर्छु,' उनले भने, 'आफैले गाएका र रचेका आधा दर्जनभन्दा बढी गीतका क्यासेट अझै पनि सुरक्षित राखेको छु।' राम्रो स्वर भएकै कारण उनलाई पाटनबासीले कोइली नाम दिएका हुन्। पाटन क्षेत्रमा उनलाई बुद्धिराज भन्दा कोइली भनेर चिन्ने धेरै छन्। २०१२ सालमा उनले खेलेको फिल्म ललितपुरको अशोक हलमा रिलिज भएको थियो। त्यस बेला फिल्म हेर्न पाउनु पाटनबासीको लागि सौभाग्य नै रहेको वज्राचार्यको भनाइ छ। लामो समय सम्पदा र पञ्चायतकालमा पर्यटन मन्त्री समेत भएका उनको कलाकारिताको भोक अझै मेटिएको छैन। उनी आफ्नो नयाँ गीति एल्बम ल्याउने तयारीमा छन्। 'मेरो सानैदेखिको सोख कलाकारिता हो, तर घरायसी समस्याले गर्दा मैले आफ्नो जीवनको मुख्य समय सम्पदा र सामाजिक क्षेत्रमा बिताएँ,' उनले भने, 'यी कामका बीचमा आफ्नो कलाकारितालाई पनि सँगसँगै हिँडाएँ, अब जति बाच्छु त्यो समय गीत संगीत र नाटक क्षेत्रमा बिताउन चाहन्छु।'

पेशागत रूपमै कलाकारितामा लागेर फरक पहिचान बनाउने कलाकार हुन् रत्न बेहोसी। उनी २०१० सालदेखि गायनमा लागे। 'रेडियो नेपालमा नेपालभाषा र नेपालीभाषाको गीत गाउने पहिलो कलाकार मैँ हुँ,' उनले भने। उनको अनुभवमा त्यो बेला गीत रेर्कड गर्न साह्रै गाह्रो हुन्थ्यो। आफूले नेपालभाषाका ५० भन्दा बढी गीत गाइसकेको पनि उनले बताए। 'मैले नेपालभाषामा मात्रै होइन नेपालीभाषाका १० भन्दा बढी गीतमा स्वर दिएको छु,' उनले सुनाए, 'अझै पनि गीत गाउने धोको छ, गाउँदागाउँदै प्राण त्याग्न पाए अरु केही चाहिँदैन।'

गायक बेहोसीले गाएका गीत जति मार्मिक छन्, उनको जीवन त्यो भन्दा कम मार्मिक छैन। 'म ५–६ वर्षको छँदा मेरो चुडाकर्मको लागि बुबा ज्योतिराज वज्राचार्यले ललितपुरको भिच्छेबहालस्थित आफ्नै टोलका एक जना साहुँसँग १ सय १ रुपैयाँ ऋण लिएका थिए। त्यतिबेलाको नियमानुसार ९९ रुपैयाँसम्म ऋण लिन कपाली तमसुक गरे पुग्थ्यो। तर, बुवाले घर नै बन्धक राखेर रजिस्ट्रेसन पास गरेर ऋण लिनुभयो। पछि ऋण तिर्न नसकेपछि घरबारविहीन हुनुपर्‍यो,' उनी दुःख सुनाउँछन्।

गीत–संगीतको नशाले उनी लठ्ठ थिए, यही कारण घर नभए पनि पर्वाह गरेनन्। कहिले डेरामा त कहिले पाटीमा बास बस्नुपर्दा पनि खासै पीडाबोध भएन उनलाई। घरटोल र मंगलबजारस्थित कृष्ण मन्दिर तथा रेडियो नेपालमा समेत गाउन थालेपछि उनको गायनयात्राले थप उचाइ लियो। उनको प्रतिभा देेखेर नातिकाजी श्रेष्ठ, शिवशंकर मानन्धर र तारादेवीजस्ता नेपाली गीत–संगीतका ख्यातिप्राप्त कलाकारले नेपालीभाषामा पनि गाउन हौस्याए। त्यही प्रेरणाले कलाकार बेहोसीले रेडियो नेपालमा गीत गाउनको लागि स्वरपरीक्षा दिए र उत्तीर्ण पनि भए। डेढ सयको हाराहारी रेडियो नेपालमा गीत गाएका बेहोसीको 'पहाडको उकालीलाई हामी माया गर्छौं' बोलको गीत निकै प्रख्यात छ।

राज्यको ध्यान

पाका कलाकारहरूको सम्मान गर्नेतर्फ राज्यको ध्यान नपुगेको भन्दै अधिकांश कलाकारले दुःख व्यक्त गरेका छन्। बाल्यकालदेखि नै कला क्षेत्रमा समर्पित गर्दै आएका कलाकारहरू आफूलाई राज्यले हेर्नु आफ्नो हक नै भएको बताउँछन्। 'नेपाली कला क्षेत्रलाई यहाँसम्म ल्याउनका लागि पाका कलाकारहरूको ठूलो भूमिका छ,' चित्रकार मुखिया भन्छन्, 'त्यसैले पाका कलाकारलाई राज्यले सम्मान गर्न आवश्यक छ।' बेहोसीले पनि पछिल्लो समय पाका कलाकार ओझेलमा परेको गुनासो गरे। कलाकारितालाई जीवित राख्नका लागि पुराना कलाकारको योगदान ठूलो छ त्यसैले पाका पुस्तालाई हौसला र सम्मान जरुरी छ।

कला बेचेर पनि बाँचिन्छ

कतिपय कलाकार कला बेचेर जीवन गुजार्न धौधौ भएको गुनासो गर्छन्। तर, केही पाका कलाकार भने कला बेचेरै जीवन धान्न सकिने दाबी गर्छन्। इच्छाशक्तिसहित लागिपर्ने हो भने कलाकारिताबाट पनि नाम र दाम दुवै कमाउन सकिने तर्क गर्छन् कलाकार शशी शाह। आफ्नो पालाको साँघुरो कलाकारिता क्षेत्र पछिल्लो समय फराकिलो बन्दै गएको उनलाई लाग्छ। 'हाम्रो पालामा कलाकारिता क्षेत्रमा एकखालको संकट नै थियो, खासै कमाइ पनि थिएन,' उनले भने, 'तर, अहिले कला बेचेर आनन्दले बाँच्न सकिन्छ।'

नयाँ पुस्ताले रूचाएको एउटा पेशामध्ये पर्छ कलाकारिता। पछिल्लो समय कलाकारितामा आकर्षण बढेकै कारण युवापुस्ता यसमा आकर्षित हुँदै गएको छ। तर, पुराना कलाकारजस्तै नयाँ पुस्ताका कलाकार यो क्षेत्रमा जम्न धेरै मेहनत गर्नुपर्ने पाका कलाकारको धारणा छ। 'हाम्रो पालामा १० औँला पनि नभरिने  संख्यामा कलाकार थिए,' मुखियाले भने, 'नयाँ पुस्ता कलाकारिताको गीत–संगीत, फिल्म क्षेत्रमा मात्रै आर्कषित छन्। चित्रकलामा नयाँ पुस्ताको उपस्थिति एकदमै कम छ।'

प्रकाशित: २३ वैशाख २०७४ ०४:३३ शनिबार

पाका कलाकार परिपक्व सिर्जना