‘उर्गेनको घोडा’ उपन्यासबाट नेपाली आख्यान आकाशमा चम्किएका युग पाठक सफल स्तम्भकार हुन् । अध्येता पाठक मूलतः राजनीतिक, सामाजिक विषयमा कलम चलाउँछन् । पाठकलाई साहित्यका विविध पक्षबारे केही प्रश्न:
तपाईंको बुझाइमा साहित्य के हो ?
आफ्नो जीवन, समाजसँग अन्तक्र्रिया गर्ने र दुनियाँका रहस्यबारे बुझ्ने, अभिव्यक्त गर्ने चाहना मान्छेमा सधैँ रहन्छ । मान्छेको मस्तिष्कमा सधैँ प्रश्न हुन्छन् र जवाफ नखोजी ऊ सन्तुष्ट हुन सक्दैन । यही खोजको आकांक्षाले मान्छेले दर्शन, धर्मशास्त्र, गाथा, कथा, व्याख्या, साहित्य आदिको रचना गरेको हो ।
समाज विकासका क्रमसँगै मान्छेको जीवनका आधार, शैली र विशेषता बदलिन्छन् । यो देश, काल सापेक्ष प्रक्रिया पनि हो । मान्छेले आफ्नो समाज, उत्पादन प्रक्रियालाई कसरी हस्तक्षेप गर्छ भन्नेमा यो भर पर्छ । समयको अन्तरालमा बनेका परम्परा पनि मान्छेसँग हुन्छन्, ती परम्पराले उकुसमुकुस पारेपछि त्यसलाई बदल्ने संघर्ष पनि हुन्छ । संघर्षले जन्माउने गाथा अझ बेग्लै भएर आउँछ । अनुभव र अनुभूतिहरू बदलिन्छन् । इतिहास, लोकगाथा आदिले पुरानो पुस्ताका अनुभव र अनुभूतिलाई जोगाइराखेको पनि हुन्छ र नयाँ पुस्तामा त्यसको छाप छाडेको हुन्छ ।
संसारमा संग्रहालय त्यसै बनेका होइनन् । तर, मान्छे संग्रहालयसँग सन्तुष्ट हुन सक्दैन । उसलाई नयाँ समयको नयाँ अभिव्यक्ति, व्याख्या, गाथा र भाका पनि चाहिन्छ । मान्छे निरन्तर नयाँ प्रकारले सास फेर्न खोज्ने प्राणी हो । त्यस्तो नयाँ श्वासप्रश्वासका लागि उसले नयाँ साहित्यको रचना गर्छ ।
संक्षेपमा भनौं, इतिहास र वर्तमानका पुरातन र ताजा स्मृतिलाई नयाँ श्वासप्रश्वासको लयमा ढाल्न साहित्यको रचना गरिन्छ । मान्छेको मानसिक उन्ननयन, अनुभूति र अनुभवहरूको आदान–प्रदानमार्फत एकअर्कालाई समृद्ध पार्न साहित्य लेखिन्छ । साहित्य एक गाथा हो, कविता हो, लय हो र चिन्तनको आदान–प्रदानका लागि बनेको एक जादुगरी औजार हो । यो ताजा अनुभव र अनुभूतिको संग्रहालय पनि हो, भविष्यको यात्राका निम्ति उडान भर्न मनोवैज्ञानिक विमानले टेक अफ गर्ने एक विमानस्थल पनि हो ।
महाभारत नै हेर्नुस्, यसले लामो कालखण्डका विभिन्न समयका कथालाई पचाएर साहित्यिक अभिव्यक्ति दिन्छ । जातक कथा हुन् वा बाइबलका कथा, तिनले खास समयको समाजलाई चित्रण मात्र गर्दैनन्, अभिव्यक्तिको विशिष्ट शैली पनि निर्माण गर्छन् र काल्पनिकतामार्फत मान्छेलाई मनोवैज्ञानिक शक्ति पनि प्रदान गर्छन् । आधुनिक समयका उपन्यास, कथा, कविता, गीत आदिले पनि त्यही काम गर्ने हुन् । आफ्नैबारे लेखिएको कथा जब आफैंलाई नयाँ लाग्छ, साहित्य त्यहीँनेर जन्मन्छ ।
समाज र इतिहासप्रति जिम्मेवार भएर लेख्नेभन्दा सस्तो भावुकताबाट प्रेरित भएर लेख्नेहरूको बजार देखिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
बजारको आफ्नो नियम छ, व्याकरण छ । बजारमा के बिक्छ र बिक्दैन भन्ने नियम हुन्छ । बजारका हजार दाउ भन्ने उखानै छ । आजको जमानामा बजारको अभिन्न अंगको रूपमा विज्ञापन आएको छ । प्रायः विज्ञापनले झुट बोल्छ । ध्यान खिच्ने, आकर्षण पैदा गर्ने र बजारका वस्तुप्रति मान्छेको मोह जगाउने काम विज्ञापनले गर्छ । कतिपय विज्ञापनले देखाएको अतिशय आकर्षण उपभोगमा पुग्दा उपभोक्ता निराश र ठगिएको अनुभूति गर्छ । विज्ञापनको यो नै मुख्य चरित्र हो । त्यसैले बजारमा के बिक्छ भन्ने कुरा उपभोक्ताको विवेक वा रुचिले होइन, विज्ञापनले तय गरिरहेको हुन्छ । बजारले उपभोक्ताको रुचिअनुसारका वस्तु उत्पादन गर्छ र बेच्छ भन्ने कुरा पुरानो भइसक्यो । सत्य के हो भने, बजारले आमसमाज र मानिसका रुचि नै बदल्दिन सक्छ, नयाँ रुचि जन्माउन र हुर्काउन पनि सक्छ । साहित्यको बजार यो यथार्थभन्दा बाहिर छैन । नेपालमा साहित्यले बजारको ध्यान तानेको धेरै भएको छैन । यहाँ व्यावसायिक प्रकाशकले बजारमा उपस्थिति देखाएको त्यस्तै दश वर्ष जति भयो । नत्र पाठ्यपुस्तक, गाइड, गेसपेपर आदि छापेर प्रकाशकले पैसा कमाएका थिए । साझा प्रकाशन, रत्न पुस्तक जस्ता साहित्यलाई प्राथमिकतामा राखेर किताब छाप्ने प्रकाशक साहित्यका पुस्तक हजार प्रति पनि नबिक्ने गुनासो गर्थे । लेखकले रोयल्टीका भरमा बाँच्ने कल्पना गर्न सक्दैनथ्यो । प्रायः लेखकको लेखन फुर्सदको वा मिसनको काम हुन्थ्यो ।
अहिले परिस्थिति केही फरक परेको छ । पुस्तक बिक्न थालेका छन् । केही लेखक रोयल्टीकै भरमा बाँच्ने र पूर्णकालीन लेखक बन्ने सम्भावनामा टेकेर जोखिम उठाउन तयार पनि भएका छन् । साहित्य वा गैरसाहित्यका पुस्तकको बिक्री पनि बढेको छ ।
पछिल्लो समय उपन्यास लेख्ने र छाप्ने क्रम ह्वात्तै बढेको छ, यसका खास कारण छन् ।
पहिलो, आख्यान सधैँ मान्छेको रुचिमा पर्ने गरेको छ । धर्मग्रन्थ हुन् वा लोकगाथा, आख्यानलाई नै कविता वा गीतको शैलीमा व्यक्त गर्ने परम्परा विश्वभरिका समाजको सबैभन्दा पुरानो परम्परा हो । सबै धर्मशास्त्रले दर्शन वा विचारका विषयलाई आख्यानको कलेवरभित्र राखेर कविता वा गीतको शैलीमा नै अभिव्यक्त गरेका छन् । त्यसैले आख्यानमा मान्छेको सामान्य रुचि भइहाल्छ ।
दोस्रो, आख्यानका कथावस्तु र प्रस्तुतिको रोजाइको सन्दर्भमा । अंग्रेजीमा ‘पल्प फिक्सन’ भन्ने एउटा विधा नै छ । हल्काफुल्का विषयमा लेखिएका मनोरञ्जनात्मक उपन्यासलाई ‘पल्प फिक्सन’ भन्छन् । पाउलो कोहेलो, चेतन भगतका उपन्यास ‘पल्प फिक्सन’ हुन् । नेपालमा पनि यस्ता उपन्यास लेख्ने चलन आएको छ । सुबिन भट्टराई यस्तै उपन्यास लेख्छन् र उनको उपन्यास बिक्छ पनि । साहित्यको बजार विस्तार हुनासाथ ‘पल्प फिक्सन’को बजार बन्नु अनौठो होइन । विवादास्पद वा चर्चित व्यक्तित्वका जीवनी वा संस्मरण पनि बिक्छन् । विवेक शाहको ‘मैले देखेको दरबार’ वा रुक्मांगत कटवालको संस्मरण यस्तै पुस्तक हुन् । यस्ता पुस्तक बिक्नुमा सम्बन्धित पुस्तकको महत्ताले भन्दा धेरै खास व्यक्तिको विवादास्पद छवि वा ठूलो रहस्यमय घटनाले पैदा गरेको रुचिले काम गरेको हुन्छ ।
जहाँसम्म तपाईंले भन्नुभएको सस्तो भावुकताको कुरो छ, भावुकता भनेकै के हो भन्ने प्रश्न यहाँ उठ्छ । भावुकता, दया, माया, परोपकार इत्यादि व्यक्तिगत अनुभूतिका कुरा मात्र होइनन्, सामाजिक चेतना र सम्बन्धका उपज हुन् । गरिब, माग्ने वा सडक बालबालिकालाई दया गरेर लेखिने साहित्य पनि हुन्छ । विधवा वा दलितको अवस्थालाई चित्रण गरेर भावुक हुने साहित्य पनि हुन्छ । तर, त्यस्तो भावुकता वा दया केका लागि भन्ने मुख्य हो ।
गरिबलाई दया देखाएर भावुक हुने लेखक गरिबहरू संगठित भएर अधिकारका निम्ति आवाज उठाउँदा तुरुन्तै छटपटाएको पनि देखिएको छ । चलेको व्यवस्था, परम्परा, रितिथितिको दायराभित्र विधवालाई दया देखाएर भावुक हुने कवि विधवाले समाज व्यवस्थाविरुद्ध विद्रोह गरेको खण्डमा समाज बिगार्न लागेको भनेर प्रतिरोधमा उत्रेको पनि देखिएको छ । चलिआएको परम्परा वा समाज व्यवस्थाको चेतनाभित्र भावुकता चित्रण गर्ने कुरा मेरा निम्ति उदात्त वा प्रगतिशील चेतना होइन । त्यस्तो भावुकता बिक्न सक्छ, बिक्नुको यो सर्त मेरा निम्ति स्वीकार्य छैन ।
बिक्ने वा बजार लिने नै कुरा गर्दा नयाँ समाज वा सिर्जनशील र जागरुक मान्छे निर्माण गर्ने साहित्य, कला वा अन्य कुनै विषयको पनि बजार निर्माण गर्नुपर्छ । बजार पुँजीवादी विज्ञापन प्रणालीको मात्र दास होइन, बजारलाई सिर्जनात्मक कामका निम्ति पनि उपयोग गर्न सकिन्छ।
साहित्य धर्म, नश्ल, वर्ग र राष्ट्रवादको भावुकता र दायराभन्दा माथि हुनुपर्छ भन्ने, अनि धरातलीय यथार्थलाई ताराजस्तो आदर्श मान्ने तर राज्यको कमजोर नीति र चेतनाका कारण वर्गीय, क्षेत्रीय, जातीय, लैंगिक, शैक्षिक र सांस्कृतिक रूपमा पछाडि परेकालाई उपेक्षा गरेर साहित्य लेख्ने प्रवृत्ति पनि छ, यसमा स्पष्ट पार्न एउटा सचेत लेखकको लेखन वा भूमिका कस्तो हुनुपर्ला ?
कला साहित्य भनेको रचनाकारको चेतनाको संवाहक हो । तपाईंको चेतना जसरी निर्माण भएको छ वा तपाईंले आफ्नो चेतनालाई जुन धरातलमा टेकाउनुभएको छ, तपाईंले लेख्ने साहित्य त्यही चेतनाको दायराभित्रबाट पैदा हुन्छ । रचनाकारको सौन्दर्यबोध पनि मानेको, ठानेको, जानेको र रुचाएको चेतनाबाटै जन्मने हो ।
तपाईंलाई अर्को कुनै मानिसको गालामा कुनै फोका परेको दृश्य देख्दा हाँसो उठ्छ र तपाईं हास्यकलाकार हो भने तपाईं त्यही फोका गालामा राखेर अरु मानिसलाई हँसाउन खोज्नुहुन्छ। तपाईं अलि सचेत कलाकार हो भने फोका परेका मानिसलाई त्यस्तो दृश्यले हाँसो उठ्दैन, बरु चित्त दुख्छ भन्ने ख्याल गर्नुहुन्छ र हास्य कलाकारको हैसियतमा कुनै रचनात्मक दृश्य वा सामाजिक सन्दर्भ खोजेर हास्यकला रचना गर्नुहुन्छ । लेखक वा कलाकारको चेतनाले फरक पार्ने कुरा यही हो ।
अरु कसैले मःमः खान नजानेको, कोही कुप्रो परेर हिँडेको वा कसैको बोली अरुभन्दा भिन्नै भएको कुरालाई हास्यको विषय बनाउने भनेको समाज व्यवस्थाको चेतनालाई सर्लक्क अपनाएको हो । यस्तै विषयलाई टेलिसिरियल, सिनेमा वा साहित्यको विषय बनाउनु नेपालमा आमकुरा हो । जब तपाईं चलिआएको परम्पराले समाजलाई अघि बढ्न नदिएको, मान्छेलाई रचनात्मक वा आविष्कारक हुन नदिएको कुरा देख्नुहुन्छ र समाजलाई नयाँ चेतनातिर लैजाने साहित्य वा कलाको रचना गर्नुहुन्छ, त्यो विद्रोही वा परिवर्तनकारी चेतनाले साहित्यकलालाई मात्र होइन, आममानिसको सौन्दर्य चेतना र स्वादलाई नै बदलिरहेको हुन्छ ।
दलितलाई खुब माया गरेको भनिएका साहित्य वा सिनेमामा छुवाछुत वा दलितलाई हेपिएको विषयलाई उठाएको धेरै देखिएको छ । तर, जब दलित निर्माण गर्ने सत्ता वा समाज व्यवस्थालाई बदल्ने विषय आउँछ, बदल्नका लागि चाहिने नयाँ पात्र वा प्रवृत्ति चित्रण गर्नुपर्ने हुन्छ, त्यतिबेला त्यस्ता साहित्य वा कलाले तुरुन्तै भाग्ने ठाउँ खोज्छन् ।
एकथरी साहित्यकार वा कलाकार जातपात, मातृभाषा वा विविध संस्कृतिको अधिकारको कुरा गर्नेबित्तिकै तर्सन्छन्, तटस्थ भएझैं अभिनय गर्छन् वा जातको कुरा गर्नुहुन्न भन्छन् । मलाई लाग्छ, जुन परम्पराले तपाईंको दैनिक जीवन, सामाजिक चालचलनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ, त्यसलाई नदेखेझैं गर्नु कुनै तटस्थता होइन, त्यो त सत्ताको भाष्य र विचारलाई मान्नु हो ।
नेपाली समाजको कुरा गर्दा बिहेबारी होस् वा चाडपर्व, दैनिक जीवनमा हुने कुराकानी होस् वा प्रेमको कुरा, त्यस्तै जात व्यवस्था, जातीय वा भाषिक भिन्नता र अन्तर्विरोधले ठूलो प्रभाव पारिरहेको देखिन्छ । बाहुन जातिभित्रै विभिन्न तह छन्, एकले अर्कालाई होँच्याउने उखान छन्, बिहेबारी नमान्ने दम्भ छ, प्रेमीहरू तर्सनुपर्ने अवस्था छ भने यो विषय नदेख्ने विषय हो त ? वा यो फगत सामान्य आचरणको रूपमा मात्र चित्रण गरेर पुग्ने विषय हो ? यसभित्रको समाजशास्त्र के हो ? यसको राजनीतिक र सांस्कृतिक अन्तर्विरोध के हो ? यी चीज नखुट्याई तपाईं प्रेम वा सामाजिक तनावलाई कसरी बुझ्न सक्नुुहुन्छ ? यी सब चीजलाई किनारमा छाडेर तपाईंले सिर्जना गर्ने साहित्यले मनोरञ्जन त देला, तर समाजको गतिलाई प्रभावित गर्ने सौन्दर्य सिर्जना गर्न सक्दैन ।
गणतन्त्रपछि हाम्रोमा खासगरी सतही ढंगले लेखिएका युद्धविरोधी वा साधारण संस्मरणजस्ता लाग्ने साहित्यले बजार पाएको देखिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?
दोस्रो जनआन्दोलनपछि माओवादी जनयुद्ध र त्यसले पारेको प्रभावमा टेकेर साहित्य लेख्ने काम एक हदसम्म भयो । छापामार वा जनयुद्धमा प्रत्यक्ष संलग्न लेखकका संस्मरण, उपन्यास, कथा, कविता आदि पनि प्रकाशित भए । त्यसैगरी जनयुद्धलाई फगत केही मानिसको रोमान्टिक युद्धका रूपमा चित्रण गरेर लेखिएका साहित्य पनि आए ।
मेरो विचारमा जनयुद्ध एउटा व्यापक र बहुआयामिक सामाजिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक प्रक्रिया थियो । यसका विविध आयामलाई ठीकसँग आत्मसात् र अध्ययन नगरी यसबारे लेखिने साहित्य तपाईंको पूर्वाग्रहबाहेक केही हुँदैन । जनयुद्धमै लागेको लेखकले पनि यसका सबै आयाम भोग्न सम्भव थिएन, त्यसैेले उसैका लागि पनि जनयुद्ध अध्ययनको विषय हो । जनयुद्ध न युद्धमा प्रत्यक्ष संलग्न मानिसको अनुभवमा समेटिन सक्छ, न त बाहिर बसेका यसबारे फरक मत वा विरोध वा रिस राख्नेको अनुभूतिमै अटाउन सक्छ । जनयुद्ध र यसले समग्र समाज तथा विश्व व्यवस्थासँग गरेको अन्तक्र्रियालाई नबुझी र अध्ययन नगरी यसबारे लेखिने साहित्य स्वतः पूर्वाग्रही हुने सम्भावना रहन्छ ।
कसैले जनयुद्धलाई परैबाट हे¥यो, अब ऊ यसबारे साहित्य लेख्न चाहन्छ भने एक–एक पात्रबारे अनुसन्धान गरेर र त्यो पात्रभन्दा बाहिरको बहुआयामिक प्रक्रियालाई बुझेर मात्र लेख्न सक्छ । यो जटिल, खर्चिलो र लामो समय लाग्ने काममा जोसुकैलाई लाग्न सम्भव पनि छैन । जसले हिम्मत गर्छ, उसले पनि कत्तिको सरसहयोग पाउँछ भन्न गाह्रो छ । यो थकाउने काममा लेखक लागेनन् भनेर गुनासो गर्ने ठाउँ पनि छैन ।
केही लेखक आफूलाई प्रगतिशील भन्छन् र संस्थागत रूपमै लागेका पनि छन्, के यो आवश्यक छ ? वा, प्रगतिशील र अप्रगतिशीलको मापदण्ड के लाग्छ यहाँलाई ?
प्रगतिशील साहित्यकारको सबैभन्दा ठूलो संगठित संरचना प्रगतिशील लेखक संघ हो । खास गरेर वामपन्थी खेमाका लेखकको संगठन हो यो । त्यसैले प्रगतिशील भनेको वामपन्थी लेखक हो भन्ने स्वतःसिद्ध जस्तो पहिचान बन्न पुगेको छ । वामपन्थी लेखकहरू आफूलाई प्रगतिशील भएको दाबी गर्दै आइरहेका छन् ।
यही कारणले प्रगतिशीलताको परिभाषाबारे बेलाबखत चर्चा र सैद्धान्तिक लेख प्रकाशित हुने गरेका छन् । यसकारण एकथरी लेखक भन्ने गर्छन्– लेखक हुनेबित्तिकै ऊ स्वतः प्रगतिशील भइहाल्छ कुनै कम्युनिस्ट पार्टीको ब्रान्ड बोक्नुपर्दैन ।
यो बहस आफ्नो ठाउँमा छ । मेरो विचारमा प्रगतिशील लेखक संघ अस्तित्वमा हुनुले कुनै हानि गरेको छैन, बरु लेखकलाई संगठित रूपमा काम गर्ने स्पेस दिएको छ । यो संगठनले गर्न सक्ने जति काम गर्न सकेको छ कि छैन वा यसको संरचनागत समस्या के छन्, त्यो छुट्टै बहसको विषय हो । यस्ता संगठनले संगठित रूपमा समाजलाई प्रगतितिर लैजाने मेसो मिलाए अझ राम्रो हुन्छ ।
प्रगतिशीलताको मापदण्ड समाज सापेक्ष हुन्छ । नेपालको सन्दर्भमा जे–जस्ता सामाजिक, राजनीतिक, आर्थिक कारणले व्यक्तिलाई, समुदायलाई वा किसान, मजदुरलाई सीमान्तकृत तुल्याएको छ, गरिब तुल्याएको छ, शोषण गरेको छ, त्यसलाई कलात्मक ढंगले उजागर गर्ने र विभेद तथा शोषणमुक्त समाजको सौन्दर्य सिर्जना गर्ने साहित्य प्रगतिशील साहित्य हो ।
कम्युनिस्ट पार्टी वा प्रगतिशील लेखक संघकै मानिस पनि नेपालका जटिल सामाजिक, राजनीतिक सवाललाई बेवास्ता गर्ने गरिरहेका छन् । कम्युनिस्ट पार्टीभन्दा बाहिर रहेर पनि त्यस्ता समस्याविरुद्ध विद्रोह बोल्ने लेखक पनि छन् । राजतन्त्रले खोपेको राष्ट्रवादको गोरेटोमा चुपचाप हिँड्ने वा उग्र पैरवी गर्ने कथित प्रगतिशील लेखकभन्दा सीमान्तकृत समुदायले हक पाउने नयाँ राष्ट्रियताको चेतना भएको लेखक बढी प्रगतिशील हो ।
साहित्य राजनीतिक विचारधाराबाट अलग हुनुपर्छ वा निर्देशित हुनु हुँदैन भन्ने पनि छन् । नेपाली साहित्यभित्र मुद्दा वा राजनीतिक बहस टड्कारो हुन नसकेको हो ? वा, यो आवश्यक छैन ?
साहित्य र राजनीतिको सम्बन्धबारे जे–जति बहस नेपालमा भएको छ, त्यसले बहसलाई धेरै हदसम्म बहकाएको महसुस हुन्छ । राजनीतिक चेतना वा विचारधाराको कुरा अनिवार्य रूपमा कुनै राजनीतिक दलको घोषित विचारधारा नै हुनुपर्छ भन्ने छैन । तर हाम्रोमा बहस यहीँ गएर कचपल्टिने गरेको छ ।
अगाडि नै भावुकताको सन्दर्भमा भनिसकेको छु, कुनै पनि लेखकको विचारधारा उसले आफ्नो समाजबाट जस्ताको तस्तै टिप्ने विचार हुन्छ कि त्यसलाई बदल्ने विचार हुन्छ भन्नेमा भर पर्छ । नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादलाई मान्छु भन्ने तर ०४६ पछि कांग्रेसले अपनाएको बजार अर्थतन्त्र र निजीकरणको नीति मान्ने भन्ने कुरा बिल्कुल फरक कुरा हुन् । लेखकले विचारधारालाई मान्छ कि पार्टीको तात्कालिक नीतिलाई भन्ने कुराले फरक पार्दोरहेछ भन्ने यो उदाहरण हो ।
समाजलाई अल्झाइरहने धागोहरू चुँडाल्ने काम एउटा विचारधाराले गर्छ, त्यही धागोमा नयाँ पुस्तालाई पनि अल्झाउने काम अर्को विचारधाराले गर्छ । कुरा वर्ग संघर्षका गर्ने तर वर्ण व्यवस्थाले नेपालमा जन्माएको वर्गीय संरचनालाई बेवास्ता गर्ने वा नकार्नेहरू पनि छन् । त्यसैले कुरो कुन पार्टीको विचारको गफ गर्ने भन्ने होइन, आफ्नो समाजअनुकूल प्रगतिशील बाटो रोज्ने मुख्य हो ।
भनिन्छ, अविकसित राष्ट्रहरू सांस्कृतिक साम्राज्यवादमा नजानिँदो किसिमले फस्छन्, विश्वका ठूला पुरस्कार र भाषाको अन्धाधुन्ध भक्त हुन पुग्छन् । त्यस्तै, उत्पादनका साधनको बजार विस्तार वा पुँजीवादलाई आफ्नो पोल्टामा पारिराख्न शक्तिशाली राष्ट्रहरू भाषा, संस्कृति र साहित्यको सहारा लिन्छन् । सांस्कृतिक साम्राज्यवादमा हामी कहाँ छौँ ?
साम्राज्यवादले समाज व्यवस्थाका सबै प्रणालीमा प्रभाव पार्छ । दोस्रो विश्वयुद्धपछि प्रत्यक्ष साम्राज्य बनाउने साम्राज्यवादको अन्त्य भयो । संसारभर स्वतन्त्र देशहरू अस्तित्वमा आए । त्यसपछि साम्राज्यवादले बिल्कुल नयाँ रूप धारण ग¥यो । त्यो मूलतः आर्थिक र सांस्कृतिक साम्राज्यवादका रूपमा प्रकट भएको छ ।
आइएनजिओ, एनजिओ संस्कृति, उपभोक्तावाद, मिडिया विस्फोट र इन्टरनेट प्रणालीमार्फत सांस्कृतिक र आर्थिक साम्राज्यवाद सबै गरिब र कमजोर मुलुकमाथि हाबी भएका छन् । नेपालमा यसको प्रभाव नहुने प्रश्नै उठ्दैन । मैले यसअघि पनि भन्दै लेख्दै आएको छु, नेपालमा सात सालको क्रान्तिलगत्तै अमेरिकी साम्राज्यवाद बजार अर्थतन्त्र, विकास जस्ता आर्थिक विचारधारामार्फत प्रवेश गरेको थियो । आइएनजिओ प्रणालीको जालोमा अहिले हाम्रो राज्यका सम्पूर्ण अंग फसिसकेका छन् । यसका असर तपाईंले आंकलन गर्न नसक्नेगरी भयानक भइसकेको छ ।
हाम्रा दलित, कमैया मुक्तिका एजेन्डा हुन् वा महिला, बालबालिका वा जनजातिका मुद्दा हुन्, एनजिओ आइएनजिओको पोल्टामा पुगेका छन् । राजनीतिक दलका भ्रातृसंगठन यस्तै सञ्जालको प्रभावमा छन् । हामीले आफैंलाई बुझ्ने र बदल्ने चेतना नै जिम्मा लगाइसकेपछि बाँकी रहन्छ, पाल्सी कुरा । परनिर्भरताको यो हदले हाम्रा लेखन, प्रकाशन र अनुसन्धान पद्धतिमा कुन स्तरको प्रभाव परेको होला अनुमान गर्न सकिन्छ ।
विकासका लागि विज्ञान र प्रविधिको विकल्प छैन । के ‘साइन्स–फिक्सन’बाट त्यस्तो माहोल सिर्जना गर्न सकिँदैन ? हामीकहाँ ‘साइन्स फिक्सन’को प्रयोग वा बहस त्यति हुन नसकेको हो?
साइन्स फिक्सनले कमसे कम रुढीग्रस्त चेतनालाई वैज्ञानिक चेतनातिर लैजान मद्दत गर्ने सत्य हो । तर, हाम्रोमा ‘साइन्स फिक्सन’ लेख्ने चलन अत्यन्त कमजोर छ । कारण के भने हाम्रो समाज, यसको दैनिक व्यवहार, अर्थव्यवस्था केही पनि वैज्ञानिक अनुसन्धान वा प्रयोगमा पुगेको छैन । जब समाजमै छैन, तब कहाँबाट आउनु ? तैपनि एउटा लेखकको सशक्त चेतनाले त्यसलाई ल्याउन सक्थ्यो, त्यस्तो कोसिस पनि हामीले गर्न सकेका छैनौं ।
प्रस्तुति: ध्रुवसत्य परियार
प्रकाशित: १६ वैशाख २०७४ ०४:०८ शनिबार