अन्य

असफलता अर्थात् ‘टर्निङ प्वाइन्ट’

काठमाडौँको सम्पन्न परिवारमा जन्मिएकाले उनलाई कुनै अभाव थिएन । सानैदेखि चञ्चले स्वभावकी उनी पढाइमा भने निकै कमजोर थिइन् । पढाइलाई लिएर परिवार पनि चिन्तित थियो । कतिसम्म भने उनी पढाइमा कमजोर छिन् भन्ने बुझेरै स्कुलले दिएको पढाइसम्बन्धी रिपोर्ट उनका बाबुले कहिल्यै पल्टाएर हेर्दैनथे ।

खासमा उनको पढाइमा रुचि नै थिएन, बुवाको खुसीका लागि मात्र पढ्थिन् । उनी भन्छिन्, ‘म सिर्फ बाबाका लागि पढ्थेँ, पास भएर बाबाको मुहारमा खुसी ल्याउनु एउटा मात्र उद्देश्य थियो ।’

मन नलागी–नलागी पढेर उनले एसएलसी त दिइन्, तर असफलता व्यहोरिन् । उनी गणितमा अनुत्तीर्ण भइन् । एसएलसीमा फेल भएपछि एक वर्ष पढाइमा ब्रेक लाग्यो । यो समयलाई उनले बालमन्दिरमा स्वयंसेवा गरिन् । सम्पन्न परिवारमा जन्मिएकाले उनलाई कुनै कुराका लागि बाहिर निस्कनुपर्दैनथ्यो । घरको कम्पाउन्डभित्रै सबै कुराको व्यवस्था थियो । एसएलसी फेल भएपछि मात्र उनी स्वयंसेवकका रूपमा बाहिरी वातावरणमा निस्कन पाइन् । यही क्रममा उनले त्यहाँका बालबालिकाबारे राम्रोसँग बुझ्ने अवसर पाइन् । अर्काे वर्ष एसएलसी पास भएपछि उनी जेभिएर एकेडेमीमा भर्ना भइन् । प्लस टु भने उनले लगातार पास गरिन् । त्यसपछि सेन्ट जेभियर्समा सामाजिक सेवा विषयमा स्नातक तह पढ्न सुरु गरेकी उनलाई पहिलो वर्ष नै कलेजले निकालिदियो ।

निकै हक्की स्वभावकी उनी मनमा कुरा राख्न सक्दिनथिन् । कलेज पढ्दा उनको एक शिक्षकसँग विवाद भयो । त्यसैले कलेजले उनलाई सन् २००५ मा एक वर्षका लागि निष्कासन ग¥यो । त्यो उनको जीवनको महŒवपूर्ण ‘टर्निङ प्वाइन्ट’ बन्यो । बालमन्दिरमा स्वयंसेवा गर्दा बालबालिकाको अवस्थालाई नजिकबाट नियालेकी उनी कलेजको प्रोजेक्टको सिलसिलामा केन्द्रीय काराकार पुगेकी थिइन्, उनको नजर अभिभावकसँगै कारागारमा रहेका बालबालिकामाथि प¥यो । बाबुआमाले कसुर गरे पनि बेकसुर र अबोध बालबालिका पनि अभिभावकसँगै कारागारमा बसिरहेको दृश्यले उनको मन छोयो । कलेजले निष्कासन गरेपछि त्यसै वर्ष उनले त्यस्तै बालबालिकाका लागि काम गर्न ‘प्रारम्भिक बाल विकास केन्द्र’को स्थापना गरिन् । कलेजले नराम्रो विद्यार्थी घोषणा गरेर निकादिएपछि सुरु गरेको कामले उनलाई विश्व चर्चित ‘सिएनएन हिरो २०१२’ तथा ‘सिएनएन सुपर हिरो’ बनायो, बालबालिकाका क्षेत्रमा काम गर्ने रोलमोडल पुष्पा बस्नेतका रूपमा स्थापित गरायो ।

सम्पन्नताले नदिएको खुसी सेवाबाट

सामान्यतया मानिस खुसी प्राप्त गर्न भौतिक सम्पन्नताका पछाडि दगुर्छन् । तर, पुष्पाको हकमा यो लागू हुँदैन । उनी जन्मजातै सम्पन्न हुन् । तर त्यो सम्पन्नताले उनलाई खुसी दिन सकेन । उनी भन्छिन्, ‘सायद मानिससँग जे कुराको अभाव हुन्छ, त्यही प्राप्त गर्ने चाहना हुन्छ।’ उनले आफ्नो पारिवारिक पृष्ठभूमिबाट बाबुआमालाई खुसी बनाउन सकिनन् । उनका बाबुआमाको एउटै सपना थियो, छोरीले पढेर ठूलो मान्छे बनोस् । तर उनले त्यसको उल्टो गर्दै गइन् ।

पढाइमा कमजोर प्रदर्शन गर्ने उनले अरुका बालबालिकाको स्याहारसुसार गर्न थालिन् । ‘मैले यसो गर्दा मेरो बाबु निकै रिसाउनुभएको थियो,’ उनी भन्छिन्, ‘तर म आफ्नो कामबाट खुसी थिएँ ।’

पछि उनको कामले चौतर्फी प्रशंसा पायो, उनीप्रति परिवार पनि खुसी भयो ।

पुष्पा भन्छिन्, ‘भौतिक सम्पन्नताले खुसी दिन सक्दैन । खुसी त त्यतिबेला मिल्छ, जतिबेला तपाईंले आत्मैदेखि महसुस गरेको काम गर्नुहुन्छ र त्यसबाट सफलता मिल्छ ।’ उनले अहिले आफूले सोचेअनुसारको काम गरिरहेकी छिन् र त्यसैबाट उनलाई खुसी मिलिरहेको छ ।

हिसाब गोलमाल, उत्तर सही

पढाइमा कमजोर हुँदा उनले स्कुलदेखि कलेज पढ्दासम्म साथीहरूबाट हेपिनुप¥यो । कलेज अध्ययन गर्दा उनी अध्ययनमा कमजोर छिन् भन्ने थाहा पाएपछि आफूलाई जेहेन्दार ठान्नेहरूले हेपाहा र कमजोर दृष्टिले हेर्ने गरेको उनको गुनासो छ ।

स्कुल तहमा पनि उनले यस्तै व्यवहार साथीसंगीबाट सहनुपथ्र्याे । उनी गणितमा निकै कमजोर थिइन् । प्लस टु अध्ययनका क्रममा उनले अघिल्लो बेन्चमा बस्ने साथीसँग गणित सिक्न खोज्थिन् । तर साथीले उनलाई त्यति सिकाउँदैनथे ।

हिसाब गर्न नजानेपछि उनले गणितका प्रश्नलाई गोलमाल ढंगले गर्थिन् । तर साथीसँग सोधेर भए पनि उत्तर भने ठीक लेख्थिन् । यसप्रति उनको बुझाइ थियो, ‘उत्तर सही भएपछि शिक्षकले पूरै हिसाबमा ध्यान दिँदैनन् ।’ स्कुल तथा कलेज पढ्दा असहयोग गर्ने तथा यसले के नै गर्ली र भनेर प्रश्न गर्ने साथीले अहिले भेट हुँदा सीधा नजरले हेर्न समेत नसक्ने उनको अनुभव छ।

अमेरिका सपना

जेभिएर एकेडेमीबाट प्लस टु सकेपछि पुष्पाको लक्ष्य अमेरिका जाने थियो । त्यसका लागि परिवार पनि तयार थियो । त्यतिबेला अमेरिका जाने लहर नै चलेकाले उनलाई पनि अमेरिका जाने इच्छा जागेको थियो । तर अमेरिका गएपछि मेहनत गर्न सक्छु कि सक्दिनँ भन्ने डरले भने उनको मनमा ढ्यांग्रो ठोकिरहेको थियो ।

अमेरिका गएर भाँडा माझ्नुपर्छ, कठोर काम गर्नुपर्छ भन्ने उनले सुनेकी थिइन् । त्यसले उनलाई त्रास सिर्जना गरिदिएको थियो । किनभने उनले घरमा कहिल्यै एउटा गिलाससम्म पनि माझेकी थिइनन्। त्यहाँ गएपछि परिवारले पैसा नपठाउलान्, बस्ने तथा कलेज फी आफैँले तिर्नुपर्ने होला भन्ने जस्ता कुराले उनीमा डर पैदा गरिदियो । त्यसैले अमेरिका सपना त्यागेर उनी सेन्ट जेभियर भर्ना भएकी थिइन्।

बालबालिका र अभिभावकबीच सेतुको भूमिका

बालबालिकाको क्षेत्रमा काम गर्न सुरु गरेको एक दशकभन्दा लामो समयावधिमा पुष्पाले एक सयभन्दा बढी बालबालिकालाई अभिभावकको जिम्मा लगाइसकेकी छन् । अहिले पनि उनी कैयौं बालबालिकाको भरोसा बनिरहेकी छन् ।

संस्थाकै सुविधासम्पन्न भवनमा राखेर स्तरीय शिक्षा तथा हेरचाह गरिरहेकी उनले बालबालिका र अभिभावकबीच सम्बन्ध सुमधुर बनाउन विभिन्न प्रयास गर्दै आएकी छन् । बाबुआमाप्रतिको माया जगाउन उनले हरेक बालबालिकाको कोठामा भगवान् गणेश तथा ती बालबालिकाका आमाबाबुको तस्बिर पनि राखिदिने गरेकी छन्।

उनी भगवान् गणेशसँगै बाबुआमाको तस्बिरमा पनि पूजा गर्न लगाउँछिन्। यसले बालबालिकामा आफ्ना अभिभावकप्रति सकारात्मक धारणा बन्ने उनको विश्वास छ। पुष्पा बालबालिकालाई हेरचाह मात्र गर्दिनन्। संस्थामार्फत उच्च शिक्षाको अवसर प्रदान गर्ने उनले बालबालिकाले अध्ययन पूरा गरेर संस्था छाड्ने बेलासम्म आत्मनिर्भर बनाउने वा उनीहरूको बाँकी जीवन सहज बनाउने प्रयास समेत गर्छिन्। यसका लागि आफूले हुर्काएका बालबालिकाको अध्ययनअनुसार उनीहरूको बैंक खाता खोलेर नगद समेत राखिदिने गरेकी छन् ।

पुष्पा भन्छिन्, ‘हामीले प्लस टु अध्ययन पूरा गरेका बालबालिकाको खातामा एक लाख रूपैयाँ जम्मा गरिदिन्छाँै, स्नातक तह पूरा गरेकाको खातामा दुई लाख र स्नातकोत्तर गरेकाको खातामा दुई लाख जम्मा गरिदिन्छौँ । स्नातकोत्तरसम्म आइपुग्दा कुल पाँच लाख रूपैयाँ बैंकमा डिपोजिट हुन्छ ।’

उच्च शिक्षा पूरा गरी संस्थाबाट बिदा हुँदा यो रकमले केही सहज हुने पुष्पा बताउँछिन् । ‘सामान्यतया बालगृहमा बस्ने बालबालिकासँग बालगृह छाडेर जाँदा कहाँ जाने, के गर्ने भन्ने अन्योल नै हुन्छ तर हामी बालबालिकालाई शिक्षादीक्षा मात्र होइन, उनीहरूको भविष्यबारे पनि सोच्छाँै,’ उनले भनिन् ।

लामो समयसम्म आफूसँग बसेका बालबालिका संस्था छाडेर बाबुआमाको जिम्मा लगाउँदा भने उनी निकै भावुक हुने गर्छिन् । ‘पहिलेपहिले निकै गाह्रो हुन्थ्यो, अहिले बिस्तारै बानी पर्दै गएको छ,’ उनले भनिन्। उनी देशभर रहेका कारागार बालबालिका मैत्री बनाउने अभियानमा समेत जुटेकी छन् । पुतली घरकी समेत संस्थापक रहेकी उनले हाल देशभरका कारागारमा अभिभावकसँगै रहेका बालबालिकाका लागि खेलौना सहितको पुतली बक्स तथा पोषणयुक्त खाद्यपदार्थ समेत उपलब्ध गराउने तयारीमा जुटेकी छन्।

‘प्रारम्भिक बाल विकास केन्द्र’मा बस्दै आएकी एक छोरी हाल काठमाडौं विश्वविद्यालयमा स्नातक तह अध्ययन गर्दै छन् । शिक्षामा उनले गरिरहेको प्रगति देखेर पुष्पा दंग छन् । उनी बालबालिकाको हेरचाह मात्र गर्दिनन, स्तरीय अध्ययन र स्तरीय जीवनशैली समेत प्रदान गर्दै आएकी छन् ।

एकैपटक दोहोरो खुसी

पुष्पाले कुनै सम्मानको लोभमा वा आर्थिक आम्दानीका लागि बालबालिकाको हेरचाहमा जुटेकी होइनन्। काम गर्दै जाँदा सफलता पनि सँगै मिल्दै गयो । स्कुल तथा कलेज पढ्दा उनलाई जहिल्यै बाबुलाई खुसी बनाउन नसकेको पिरलोले सताउँथ्यो तर जब उनले बालबालिकाको क्षेत्रमा राम्रो काम गरेको भन्दै सिएनएन बाट सम्मानित भइन्, त्यतिबेला उनलाई एकैपटक दोहोरो खुसी मिल्यो ।

पहिलो खुसी संसारभरबाट सहभागी प्रतिस्पर्धीलाई पछाडि पार्दै सिएनएन को उपाधि हात पारेकामा थियो। अर्को, आफ्नो सफलतामा बाबुआमा खुसी भएकाले उनीमा खुसी थपिएको थियो । ‘मैले राम्रो अध्ययन गरेर बाबुआमाको मुहारमा खुसी ल्याउन सकिनँ तर त्यसभन्दा बढी खुसी विश्वभर मेरो कामको उचित मूल्यांकन हुँदा मेरो बाबुआमाको मुहारमा देखियो । यो मेरा लागि सबैभन्दा ठूलो खुसी थियो ।’

अझै बाल्यकालकै बेड

उनी पारिवारिक रूपमा मात्र होइन, हाल आफ्नै मेहनतबाट पनि सम्पन्न जीवन जिउन सक्ने भएकी छन्। सिएनएन हिरो तथा सुपर हिरो हुँदा प्राप्त रकमबाट उनले बालबालिकाका लागि सुविधासम्पन्न घर पनि बनाएकी छन् । तर उनी आफू भने अहिले पनि बाल्यकालकै बेडमा सुत्ने गर्छिन् । आर्थिक रूपमा सम्पन्न हुँदैमा जीवन शैलीमा परिवर्तन गरिहाल्नुपर्छ भन्ने मान्यताबाट उनी टाढा छन् ।

‘म अहिले पनि सानो छँदा बाबाले ल्याइदिनुभएको बेड प्रयोग गर्छु,’ उनले भनिन् । तीन कक्षामा पढ्दा बाबाले तीन हजार रूपैयाँमा ल्याइदिएको सिलाइ मेसिनलाई पनि आफूले अहिलेसम्म प्रयोग गरिरहेको उनी बताउँछिन् । सिलाइ मेसिन ल्याउँदाको पल सम्झँदै उनी भन्छिन्, ‘बाबाले रातो मारुतीको पछाडि राखेर उक्त मेसिन ल्याइदिनुभएको थियो । त्यो बिग्रन्छ भनेर म आफैँले समाएर ल्याएकी थिएँ ।’

‘कामको सम्मान गर्नेसँग घरबार’

अहिलेसम्म किन विवाह नगर्नुभएको भन्ने प्रश्नको जवाफमा ३२ वर्षीया पुष्पा भन्छिन्, ‘दुईटा हातले लड्डु खान सकिँदैन । कामप्रतिको लगावका कारण बिहेबारे सोच्ने फुर्सद नै भएन ।’ उनी ३० कटेपछिको उमेर नै बिहेका लागि उपयुक्त उमेर भएको बताउँछिन् । ‘मेरो उमेर बिहेका लागि परिपक्व उमेर हो,’ उनले भनिन् । बिहेबारे भने उनले सोचिसकेकी छैनन् । ‘मेरो कामको सम्मान गर्ने र मेरो विश्वास जित्न सक्ने मानिससँग घरबार जोडिन सक्छ, तर अहिल्यै यसबारे केही सोचिसकेको छैन,’ उनले भनिन् ।

आफू सधैँ काममा व्यस्त रहने भएकाले परिवारबाट पनि बिहेका लागि कुनै दबाब नआएको उनी बताउँछिन् । ‘मेरो परिवारले म आफ्नै काममा व्यस्त छु भन्ने कुरा बुझेको छ, त्यसैले कुनै किसिमका दबाब आउँदैन,’ उनी भन्छिन् । अभिभावकसँगै कारागारमा रहेका बालबालिकाको हेरचाह गरिरहेकी उनलाई बालबालिकाले मामु भनेर सम्बोधन गर्ने गर्छन् । पुष्पा पनि आमा बन्न आफैँले बच्चा जन्माउनुपर्छ भन्ने मान्दिनन् ।

सरल जीवनशैली

पुष्पाको दैनिकी निकै सरल छ । लवाइखुवाईमा उनको कुनै तडकभडक छैन । बिहान साढे ५ बजे उठिसक्ने उनी नित्य कर्म गरेपछि कालो चिया र बिस्कुट खान्छिन् । पिरो, अमिलो र चटपटे खान मन पराउने उनलाई चिउरा आलु साँधेको खान सबैभन्दा बढी मन पर्छ । खाना पकाउन मन पराउने उनले बालबालिकाका लागि प्रायः आफैँले खाना पकाउँछिन् । तरकारी खरिद गर्न उनी आफैँ जान्छिन् ।

उनको आफ्नै तरकारी बारी पनि छ । त्यहाँ तरकारी उत्पादनका लागि उनी खटिरहन्छिन् । ड्रेसअपमा पनि उनले खासै चासो दिन्नन् । एउटा तहमा पुगेपछि लवाइखुवाईमा ध्यान दिनुपर्छ भन्ने उनले पनि सुनेकी छन् ।

कतिपयले उनको लवाइखुवाईलाई लिएर कमेन्ट गर्ने गर्छन्, तर उनी यस्ता कुरामा चासो राख्दिनन् । ‘म के खान्छु, के लगाउँछु भन्ने कुरा ठूलो होइन, म के गर्दै छु भन्ने महत्वपूर्ण हो,’ उनी भन्छिन् ।

उनी स्वास्थ्यप्रति पनि खासै सचेत छैनन् । विगतको आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘मैले एकैपटकमा एक किलो जेरी खाएको छु ।’ एसएलसी पास हुँदा एकैपटक २० वटा लालमोहन खाएको पुष्पा बताउँछिन् । खानामा दालभात, तरकारी मन पराउने उनी मासु भने कम खान्छिन् । दिनभर काममा व्यस्त हुने उनी समाजसँग भने खासै घुलमिल छैनन् । दिनभरको व्यस्तताका कारण बेलुका साढे ११ देखि १२ बजेको बीचमा सुतिसक्छिन् ।

 

प्रकाशित: १६ वैशाख २०७४ ०३:०३ शनिबार

असफलता अर्थात् टर्निङ प्वाइन्ट