अन्य

नारा मात्रैले महिला सशक्त हुँदैनन्

शोभा ज्ञवाली
यस वर्षको मार्च ८ मा संसारभरि १०७ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । विश्वका महिलाले आफ्नो हकहितबारे जोडतोडले आवाज उठाएर महिला दिवस मनाए । नेपालमा पनि करिब चार दशकदेखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आइएको छ । यो वर्षको राष्ट्रिय मूल नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने रहेको छ भने अन्तर्राष्ट्रिय नारा ‘बदलिँदो परिवेशमा कामकाजी महिलाः सन् २०३० सम्ममा बराबरी पाइला’ भन्ने रहेको छ । यो वर्षको महिला दिवसको ‘थिम’ भने ‘बी बोल्ड फर चेन्ज’ भन्ने थियो । परिवर्तनका लागि साहसपूर्वक प्रस्तुत हुन सक्नुपर्छ भन्ने उद्देश्य राखेर नै यो ‘थिम’ राखिएको बुझ्न सकिन्छ । १०६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको मूल नारा ‘लैंगिक समानताका लागि पाइला हाराहारीः सन् २०३० सम्म हिस्सा बराबरी’ रहेको थियो । यसै गरी, १०५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘मानवताका लागि महिला सशक्तीकरणः व्यवहारमा उतारौँ’ भन्ने थियो ।
अघिल्लो वर्ष र यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नाराले हरेक क्षेत्रमा महिलाको हिस्सेदारी बराबरी पु¥याउने लक्ष्य राखेको देखिन्छ । यस वर्षको राष्ट्रिय नारा पनि महिलालाई सीपयुक्त बनाउने र स्वरोजगारीमार्फत उनीहरूको सशक्तीकरण गर्ने भन्ने रहेको छ । दिवसका लागि तयार गरिएका नाराले महिला अधिकारका विषयमा बोकेको गहनताको थोरै मात्र व्यवहारमा लागू गर्न सक्ने हो भने हामी महिला सशक्तीकरणमा छलाङ मार्न सक्छौँ । तर, हामी वर्षौंदेखि आकर्षक नारा तय गर्न मात्र केन्द्रित भइरहेका छौँ । दिवसका अवसरमा शहरबजारमा केही महिला जम्मा भएर गोष्ठी र सेमिनार गरेकै भरमा मात्र महिलाले भोगेका समस्या समाधान हुने अवस्था छैन । शहरमा बसोबास गर्ने र पढेलेखेका महिलाले केही अवसर पाए पनि अधिकांश महिलाले अहिले पनि वेदनामय जीवन बिताइरहेका छन् । महिलालाई हरेक क्षेत्रमा पुरुष सरह हिस्सेदारी दिन पुरुषप्रधान मानसिकता अहिलेपनि अवरोधका रूपमा रहेको छ । जुन काम महिलाले पुरुषको भन्दा पनि कुशलतापूर्वक गर्न सक्छे त्यस्ता काम पनि महिलालाई के दिनु ? महिलाले सक्दैनन् भनेर ‘अण्डरइस्टिमेट’ गर्ने गरिन्छ । महिलाले कुनै क्षेत्रमा आफ्नो कुशलता देखाएर आफ्नो क्षमता प्रमाणित गर्दापनि उसलाई विश्वास नगर्नेहरू प्रशस्तै भेटिन्छन् ।

हामी वर्षौंदेखि आकर्षक नारा तय गर्न मात्र केन्द्रित भइरहेका छौँ । महिला दिवसका अवसरमा शहरबजारमा केही महिला जम्मा भएर गोष्ठी र सेमिनार गरेकै भरमा मात्र महिलाले भोगेका समस्या समाधान हुने होइनन् ।


जुन समाजमा महिलालाई पुरुषसरह अवसर र अधिकार प्राप्त छ, त्यो समाजले नै धेरै उन्नति गरेको देखिन्छ । नारी र पुरुषलाई एउटा रथका दुइटा पांग्राको उपमा यसै दिइएको होइन । संख्याका हिसाबले समाजमा बराबरी हिस्सेदारी भएका नारीलाई अवसर र अधिकार पनि बराबर नै दिनुपर्छ । देशको आधाभन्दा बढी जनसंख्या भएका महिलालाई अवसरबाट वञ्चित गरेर, उनीहरूलाई अगाडि बढ्नबाट रोकेर देशको विकास सम्भव छैन । आधाभन्दा बढी जनसंख्या चुलोचौकोमा मात्रै सीमित हुने अवस्था कायम रहँदासम्म हाम्रो विकासको गति तीव्र हुन सक्दैन । महिलालाई पनि अवसर र मौका दिएर देश विकासमा सक्रिय बनाउनुपर्छ ।
 वर्षमा एक दिन महिला दिवस मनाएर मात्र हामीले महिलाका हक–अधिकार स्थापित गर्न सक्ने अवस्था छैन । ३ सय ६५ दिनै महिलाका अधिकारमा निरन्तर आवाज उठाउनुपर्ने अवस्था छ । समाजमा रहेका अन्धविश्वास र कुरीतिबाट महिलाहरू पीडित हुने क्रम बढ्दो छ । महिलामाथि हुने हिंसा र अत्याचारका घटना वृद्धि भइरहेका छन् । त्यसैले हामीले हरेक दिन महिला अधिकारका पक्षमा आवाज उठाइरहनुपर्ने स्थिति छ । छोरीलाई सानैदेखि छोरासरह अवसर दिएर उसको पढाइमा विशेष ध्यान पुर्याउन सकियो भने ऊ पछि गएर सक्षम महिला बन्न सक्छे । छोराछोरीबीच भेदभाव गर्ने, छोरीलाई कम महत्व दिने तर छोराले भनेजति सबै पुर्याइदिने काम आमाबाबुबाटै हुने गरेकाले पनि छोरीहरू पछि परिरहेका छन् । महिलाले कुनै गल्ती गरिन् भने पुरुषहरूले उनलाई टिकिखान दिँदैनन् । तर, पुरुषले कुनै काम बिगारेमा भने महिलाहरूले सहेर बस्नुपर्ने हुन्छ । महिला भनेका कमजोर नै हुन्छन् भन्ने पुरुष मानसिकतामा परिवर्तन हुन जरुरी छ ।
नेपाली महिलाका मुख्य समस्या भनेको उनीहरूले गर्ने कामले मान्यता पाउन नसक्नु हो । घरधन्दा गर्ने, बच्चा हुर्काउने, श्रीमान्लाई सहयोग गर्नेलगायत थुप्रै महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने महिलाले गरेका धेरै कामको गणना हुँदैन । एउटी महिलाले घरधन्दामा बिताएको समयलाई उसको आयआर्जनसँग जोड्ने कुनै संयन्त्र छैन । एउटा पुरुष घरबाहिर निस्केर दुईचार हजार कमाएर घर फर्किंदा पनि उसले कमाइ गरेको ठहर्ने तर महिलाले घरमा बसेर घण्टौँ श्रम गर्दा पनि उसको श्रमको मूल्यांकन नहुने अवस्थाले गर्दा नेपाली महिलाहरू पछि परिरहेका छन् । आफ्नो काम गणनामा नपर्दा महिलाको शिक्षा, उनीहरूको आत्मसम्मान, सीप तथा क्षमता विकास लगायतमा असर परिरहेको छ ।
प्रतिभाशाली, सक्षम र हिम्मतिला महिला प्रशस्तै छन् । शहरमा मात्र होइन गाउँमा पनि यस्ता महिला छन् । तर, उनीहरूले अवसर नपाएका कारण आफूमा भएको हिम्मत देखाउन पाएका छैनन् ।
महिला सशक्तीकरणका लागि उनीहरूलाई आरक्षण दिएर हरेक क्षेत्रमा अघि बढ्न प्रोत्साहित गरिनुपर्छ । सयौँ वर्षदेखि वञ्चितीकरणमा परेका महिलालाई प्रतिस्पर्धाका आधारमा मात्र अघि बढ्नुपर्छ भनियो भने ८० वर्षीय वृद्ध र २५ वर्षीय युवाका बीच दौड प्रतियोगिता गरेको जस्तो हुन्छ । त्यसैले, निश्चित अवधिसम्म क्षमता विकासका लागि महिलालाई आरक्षणको व्यवस्था गर्नुपर्छ । संवैधानिक तथा कानुनी रूपमा आरक्षणको व्यवस्था लागू पनि भएको छ । यसलाई पूर्ण कार्यान्वयनका लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्छ ।
महिलालाई क्षमता अनुसारको अवसर प्रदान गर्नुपर्छ । कामकाजी महिलाले पनि घरायसी काम गरिरहेका हुन्छन् । जागिर वा पेशा नभएका महिला त झन् पूरा समय घरायसी काममै हुन्छन् । तर, घरायसी कामको आर्थिक तथा सामाजिक मूल्यांकन हुने गरेको छैन । महिलाले घरधन्दामा बिताएको समयलाई पनि आर्थिक उपार्जनसँग जोडेर हेर्नुपर्छ ।

 

 

 

प्रकाशित: १० वैशाख २०७४ १०:१३ आइतबार

नारा मात्रैले महिला सशक्त हुँदैनन् नागरिक परिवार