अन्य

फिँजिँदै–फैलिँदै ढाका

–रचना श्रेष्ठ
केही समयअघि सम्पन्न ‘न्युयोर्क फेसन विक सिजन ३’ मा नेपाली फेसन डिजाइनर पुनम क्षत्री गौतमले तयार पारेको ढाकाको सारी र ब्लाउज लगाएर एक जना अन्तर्राष्ट्रिय मोडल र्याम्पमा उत्रिइन् । वल्र्ड फेसन परेडले आयोजना गरेको फेसन सोमा पुनमले नेपालका विभिन्न १४ जातिका परम्परागत पहिरन प्रस्तुत गरेकी थिइन् । ढाकाबाट बनाइएका पहिरनको प्रशंसा भएको पुनमले बताइन् । ‘मैले ढाकाको सारी र ब्लाउज फेसन सोमा प्रस्तुत गरेँ । सबैले खूब प्रशंसा गरेका थिए,’ उनले भनिन् ।
गत साउन काठमाडौँमा आयोजित ‘कोतुर फेसन विक न्युयोर्क’ का आयोजक आन्द्रेस आकिनोले पनि नेपाली ढाकाबारे सुनेको बताएका थिए । एक अन्तर्वार्तामा उनले भनेका थिए– ‘मिल्यो भने ढाका फेब्रिकका पहिरन बनाउने योजनामा छु ।’
पहिला नेपालमा मात्र सीमित ढाकाको चर्चा अहिले अन्तर्राष्ट्रियस्तरमा समेत हुन थालेको छ । देशभित्रै पनि ढाकाले प्रशस्तै चर्चा पाउन थालेको छ । पहिला ढाका मात्रै प्रयोग गरी पहिरन बनाइन्थे भने आजभोलि फ्युजन गरी ढाकाका पहिरन बनाइन्छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी धेरै कार्यक्रममा ढाकाको सारीमा सजिएकी देखिन्छिन् । राष्ट्रपतिका लागि आफूले ढाकाको सारी तयार पार्ने गरेको फेसन डिजाइनर कल्पना लिम्बूले बताइन् । ‘राष्ट्रपति ज्यूले मैले बनाएको ढाका सारी असाध्यै रुचाउनुहुन्छ,’ लिम्बूले भनिन् । सभामुख ओनसरी घर्तीमगर पनि विभिन्न कार्यक्रममा ढाकाको सारीमा देखिन्छिन् । राजनीतिक उच्च तहका महिलाको रोजाइमा मात्र पर्दैन ढाका, नेपाली कलाकारले पनि उत्तिकै रुचाउने गरेका छन् ।
लामो समयदेखि ढाका फेब्रिककै डिजाइन तयार पार्दै आएकी डिजाइनर लिम्बूका अनुसार उनले गायिका अञ्जु पन्त, हास्य कलाकार विल्सनविक्रम राई, सुनील थापालगायत थुप्रै कलाकारका लागि ढाकाका पहिरन तयार पार्ने गरेकी छिन् ।
गायिका अञ्जु पन्त आफूले आजभोलि ढाकाकै पहिरन बढी लगाउने बताउँछिन् । ‘ढाकाको छुट्टै पहिचान र मौलिकता छ । नेपाली ढाकाको ड्रेस लगाउँदा गौरवको अनुभूति हुन्छ,’ उनले भनिन् । हालै, उनी बुटवलको एक कार्यक्रममा बैजनी रङको ढाका–सिल्क गाउनमा देखिइन् । ‘ढाकाको फ्युजन गरिएको त्यस गाउनको धेरैले तारिफ गरे,’ उनले भनिन्, ‘आगामी कार्यक्रममा हरियो रङको ढाकाका सारी लगाउनेछु ।’
हास्यकलाकार विल्सनविव्रmम राईलाई पनि ढाका फेब्रिक निकै मन पर्छ । डिजाइनर कल्पना लिम्बूले तयार पारेको हरियो र रातो रङको ब्लेजरमा पहिलो पटक आफू अस्ट्रेलियाको एक कार्यक्रममा स्टेजमा उत्रिएको उनी बताउँछन् । ‘अन स्क्रिन र अफ स्क्रिन प्रायः ढाकाको टोपी र कोट छुटाउँदिनँ,’ उनले भने, ‘ढाका टोपी शिरमा नभए कस्तो–कस्तो लाग्छ ।’
पहिला चोलो, टोपी, सल मात्र बन्ने ढाकाका अहिले फ्युजन गरी वानपिस, गाउन, लेहंगा, सारी–ब्लाउज, स्कर्ट, ज्याकेट, वेस्ट कोट, टिसर्ट, सर्ट, ट्राउजर, दौरासुरुवाललगायत महिला र पुरुष दुवैका पहिरन बनाइने डिजाइनर लिम्बू बताउँछिन् । ‘मैले ढाकाकै पहिरन मात्र बनाउँछु,’ उनले भनिन्, ‘ढाकाको फेसन र व्यवसाय दुवैलाई मर्न नदिन फ्युजन गरी ढाकाका पहिरन बनाउन थालेकी हुँ ।’ दुई÷चार वर्षयता ढाकाको फेसन बढी चलेको लिम्बूको अनुभव छ । ‘यसको माग विदेशतिर पनि बढेको छ,’ उनले भनिन्, ‘युवा, वृद्ध सबैका लागि फरक–फरक डिजाइन बनाउँछु ।’ युवाले गुलाबी, नीलो, हरियो, रातो रङ मन पराउने उनको भनाइ छ ।
फेसन डिजाइनर रीता सिंहका अनुसार अहिले ढाकालाई सामान्य मानिसदेखि कलाकारले समेत रुचाउन थालेका छन् । ‘अहिलेका मानिसमा स्वदेशमै उत्पादित कपडा लगाऊँ भन्ने चेत पसेको छ । त्यसैले ढाकाको फेसन फक्रिएको छ,’ उनले भनिन्, ‘पहिला सेतो, रातो, हरियो रङको मात्रै ढाकाको कपडा बन्थ्यो र बुट्टा पनि सीमितै हुन्थे । तर, अहिले विभिन्न रङ र बुट्टामा ढाकाका डिजाइन बन्न थालेका छन् ।’ ढाकाबाट पहिरन मात्रै नभई कुसन कभर, पर्दा, ल्यापटकप ब्याग, जुत्ता, पर्स, ब्यागलगायत सामान पनि बनाइने डिजाइनर सिंह बताउँछिन् ।

 

 

प्रकाशित: १० वैशाख २०७४ ०९:५९ आइतबार

फिँजिँदै–फैलिँदै ढाका नागरिक परिवार