अन्य

कर्पोरेट लेभल लक्षित नेवारी खाना

नेवारी खाना भन्नेबित्तिकै ‘भेराइटी' को सम्झना भइहाल्छ। पिरो, अमिलो, साँधेको, पोलेको, उसिनेको सबैखाले स्वाद नेवारी परिकारमा पाइन्छ। यसले अन्य जातजाति तथा विदेशीको समेत मन लोभ्याएको छ। रेस्टुराँ हबकै रूपमा परिचित काठामाडौंको लाजिम्पाटमा विभिन्न नेवारी, चाइनिज, कन्टिनेन्टल खानाका साथ आफ्नो पहिचान बनाउन सफल भएको छ, हाइल्यान्ड फुड्स नेवारी रेस्टुरेन्ट एन्ड बार। लाजिम्पाटको माछापुच्छ्रे बैंकबाट पूर्वतिर दुई सय मिटरजति अगाडि बढेपछि हाइल्यान्ड फुड्सको बोर्ड देखिन्छ। एक वर्षअघि खुलेको यस रेस्टुरेन्टको मेनुमा विभिन्न खाले एक सय ५५ परिकार भेटिन्छ। तर, नामै नेवारी रेस्टुरेन्ट भएकाले विशेष गरी यहाँ स्वाद लिन आउने ग्राहकले नेवारी खाना नै चाख्न खोज्छन्।

नेवारहरूको मूल थलो काठमाडौं उपत्यका हो। त्यसैले आफ्नो समुदायको खानाबारे धेरैलाई जानकारी होस् भनेर नेवारी खानामा विशेष जोड दिइएको रेस्टुरेन्टका कार्यकारी अध्यक्ष रविना श्रेष्ठ बताउँछिन्। एक वर्षको अवधिमा तामाङ, गुरुङ, लामा, राई सबैले नेवारी खाना मन पराएको अनुभव उनी पोख्छिन्। ‘यहाँ पारिवारिक वातावरणमा मीठा तथा स्पाइसी नेवारी खानाको स्वादमा रमाउन सकिन्छ,' उनले भनिन्।

छोयला, समयबजी, बारा, चटामरी, सुकुटी, सेकुवालगायत नेवारी खाना विशेषगरी कर्पोरेट लेभलका ग्राहकलाई लक्ष्य गरिएको छ। एउटै चिजलाई फरक–फरक शैली र स्वादमा पस्कने हुँदा नेवारी खानाको नाम सुन्नेबित्तिकै मुख रसाउँछ, आँत हरहराउँछ।

‘यहाँ आउने धेरैको मुखबाट पहिले त समयबजीकै अर्डर आउँछ,' श्रेष्ठले भनिन्। ग्राहकहरू समयबजी खानकै लागि त्यहाँ पुग्ने गरेको पाइन्छ। हाइल्यान्ड जाने ग्राहक धेरैले रुचाउने समयबजीमा ६ परिकार समावेश गरिएको हुन्छ। चिउरा, बोडी, अचार, बफ/चिकेन छोयला, आलु, बारा, भटमास, साग र आलुतामाको तरकारी यसमा समावेश गरिएको हुन्छ। बारा मासबाट बनाइन्छ। नेवार समुदायमा बारा हरेक चाडपर्व, भोज, पूजामा नभई नहुने परिकारमा रूपमा पनि चर्चित छ। यो तीन प्रकारको हुन्छ– सादा, अन्डा र मिक्स बारा।

प्रशस्त पार्किङ एरिया रहेको यस रेस्टुरेन्टमा एकैपटकमा दुई सय ५० जनासम्मले बसेर खान सकिने श्रेष्ठले जानकारी दिइन्। कलश, पानस, डाँफे नाम गरी रेस्टुरेन्ट तीन तलासम्म छ। पारिवारिक भेलाका लागि हल प्रयोग गर्न सकिने उनी बताउँछिन्। बिहान ९ देखि राति १० बजेसम्म खुल्ने हाइल्यान्डमा दिउँसोको ३ देखि ४ बजेसम्म नेवारी खाना पारखीको भीड लाग्ने गर्छ। काठमाडौंमा आउने पर्यटक पनि यहाँको नेवारी खानाका पारखी बनेका छन्। ‘विदेशीहरू त नेवारी भोज भनेर खान आउने गरेका छन्,' उनी भन्छिन्। नेपालीलगायत कतिपय विदेशी पनि समयबजी भनेपछि हुरुक्कै हुने गरेको उनले देखेकी छन्। चिउरा चपाउन नसक्ने केही विदेशीलाई भने चिउराको ठाउँमा खाना दिने चलन पनि चलाएको छ, यस रेस्टुरेन्टले। यहाँ हरेक महिनाको १ गते र १५ गते नेवारी भोज आयोजना गर्ने गरिन्छ। त्यसका लागि काठमाडौंका विभिन्न ठाउँबाट दुई दिनअघि बुकिङ पनि हुन्छ। यसको लागि मेनु पनि छुट्टै तयार पारिएको छ। यसमा नेवारी भोजमा हुने समयबजी, बारा, छोयला, यमरीलगायत समेटिएको हुन्छ।

नेवारी खानासँग विशेषगरी पेय पदार्थ ‘अयला' पनि यहाँ आउने ग्राहकले निकै रूचाउँछन्। नेवारले अयला रमाइलो मान्दै पिए पनि अन्यले भने अरु पेय पदार्थ नै मगाउने गरेका छन्। ‘अयला कडा हुन्छ, त्यसैले बानी नपरेका ग्राहकले पिउन सक्दैनन्,' उनले भनिन्। 

प्रविधिसँग जोडिई खानासँगै रमाइलो पल साट्नका लागि हरेक तलामा छुट्टाछुट्टै वाइफाइको व्यवस्था समेत गरिएको छ। श्रेष्ठका अनुसार कर्पोरेट लेभलमा कार्यरत नेवारी खानाका पारखी थुप्रै यहीँ आउने गरेका छन्।

प्रकाशित: ९ वैशाख २०७४ ०५:१८ शनिबार

कर्पोरेट लेभल लक्षित नेवारी खाना