अन्य

सुरिलो परिवार

–रामकुमार डिसी
तेत्तीस वर्षअघि गायिका कुन्ती र संगीतकार शिलाबहादुर मोक्तानले लगनगाँठो कसेका हुन् । गीतसंगीतले उनीहरूको जोडीलाई चर्चित बनायो । यो जोडीका दुई छोरी छन्, शीतल र सुवानी मोक्तान । उनीहरू पनि संगीत क्षेत्रमै आबद्ध छन् । सबै सदस्य एउटै पेशामा आबद्ध भएका परिवार कमै पाइन्छन्् । तीमध्ये एक हो, मोक्तान परिवार ।
परिवारका सबै सदस्य संगीत क्षेत्रमा लागेकाले घरमा गीतसंगीतकै कुरा बढी हुने गायिका कुन्ती मोक्तान बताउँछिन् । ‘पारिवारिक कुरा पनि हुन्छन् तर गीतसंगीतका कुरा भने अलि बढी हुन्छन्,’ उनले भनिन्, ‘नयाँ गीत, त्यसको रेर्कडिङअघि र रेकर्डिङपछि कस्तो भयो ? के भयो ? भनेर छलफल गर्छौं ।’
शिलाबहादुर मोक्तानका अनुसार नयाँ गीतसंगीतको सिर्जना हुँदा पहिले घरबाटै प्रतिक्रया लिने–दिने गरिन्छ । ‘सबैको सल्लाह–सुझाव लिने, प्रतिक्रिया दिने र आवश्यक परेमा परिमार्जन पनि गरिन्छ,’ उनले भने ।
परिवार एउटै पेशामा हुँदा फाइदा बढी हुन्छ होला कि बेफाइदा ? मोक्तान परिवार फाइदा बढी हुने बताउँछ । ‘फाइदा नै बढी हुँदो रहेछ । सबै संगीतमा भएकाले संगीतकै कुरा बढी हुन्छ । साथीभाइ पनि संगीत क्षेत्रकै हुन्छन्,’ शीतल मोक्तानले भनिन्, ‘सबैभन्दा ठूलो फाइदा एकले अर्काको कुरा सजिलै बुझ्छौँ । काम गर्न पनि सजिलो हुन्छ ।’
आफ्नो बिँडो छोरीहरूले समातेको देख्दा मोक्तान दम्पती दंग छ । ‘पारिवारिक वातावरणले छोरीहरू पनि संगीततिर आकर्षित भए जस्तो लाग्छ,’ शिलाबहादुरले भने, ‘कार्यक्रममा जाँदा उनीहरू पनि हामीसँगै जान्थे । घरमा हामीलाई अभ्यास गरेको देख्थे । अर्को कुरा, रगतमै पनि गीतसंगीत आयो कि जस्तो लाग्छ ।’ आफूहरूलाई बुबाले सानैमा गिटार, भ्वाइलिन बजाउन सिकाएको सुवानी मोक्तान बताउँछिन् ।
गायिका र संगीतकार घरमै हुँदा धेरै सजिलो भएको कुन्तीको भनाइ छ । ‘मेरो लागि गीत बनाउँदा मेरो स्वरको रेन्ज, गाउने क्षमता, शैली सबै कुरा थाहा भएकाले उहाँलाई संगीत गर्न सजिलो हुन्छ,’ कुन्तीले भनिन् ।
कार्यक्रममा सपरिवार बोलाउँदा सबैले सँगै गाउने अवसर पनि जुर्ने गरेको शिलाबहादुर बताउँछन् । ‘हामीले एउटा राष्ट्रिय गीत पनि गाएका छौँ । जसमा सबैको स्वर समावेश छ,’ उनले भने, ‘‘गीत मेरो नेपाल हो, भावना हो हिमाल’ बोलको गीतमा हामी सबैको स्वर अटाएको छ । दिनेश अधिकारीले लेखेको यो गीत हिट्स एफएमका लागि गाइएको थियो ।’ परिवारका सबैलाई बोलाउँदा स्टेज कार्यक्रममा त्यही गीत गाउने गरेको कुन्ती बताउँछिन् । ‘चारै जनाको स्वर भएका एकदुई वटा गीत अझै बनाउने सोचमा छौँ,’ उनले भनिन् ।
दिनभर जति व्यस्त रहे पनि मोक्तान परिवारमा साँझमा भने सबैको जमघट हुने गरेको छ । शनिवार बिदाका दिन उनीहरूले घर बाहिर घुम्न जाने, रमाइलो गर्ने, बाहिरै खाने, फिल्म हेर्ने गरेका छन् । ‘बिदाको समय परिवारसँगै बिताउँछौँ । कुराकानी गर्छौं,’ कुन्तीले भनिन्, ‘यसबाहेक, वर्षमा एक पटक काठमाडौँबाहिर पोखरा, पाल्पा, लुम्बिनी र चितवनलगायत ठाउँमा घुम्न गइरहन्छौँ ।’
मोक्तान परिवारको दुई पुस्ता संगीतमा आबद्ध छ । ‘परिवारमा हामी दुई पुस्ताको मान्छे छौँ,’ कुन्तीले भनिन्, ‘गीतसंगीतको पुरानो शैली हामीले अपनाएका छौँ भने छोरीहरूले नयाँ शैली पछ्याएका छन् ।’ गायनमा आमाबुबा र छोरीहरूले फरक शैली पछ्याए पनि उनीहरूले एकअर्काका गीत सुन्ने, सुनाउने र सिक्ने गर्छन् । ‘हामी उनीहरूलाई पुराना गीत सुनाउँछौँ । उनीहरूले हामीलाई नयाँ गीत सुनाउँछन्,’ शिलाबहादुरले भने, ‘हाम्रो गीत रेकर्डिङ हुँदा उनीहरूले सुन्छन् । ‘यसो गर्दा राम्रो हुन्थ्यो’ भन्छन् । उनीहरूको पुस्ताका गीत पनि हामीलाई सुनाउँछन् । अनि, सुझाव माग्छन् ।’
अनुशासित, समझदार र सहयोगी सदस्य भए मात्रै परिवार सुखी र बलियो हुने कुन्तीको मान्यता छ । आर्थिक अभावलाई उनी पारिवारिक फाटोको कारण बताउँछिन् । ‘आर्थिक अभावले मान्छेलाई चिन्तित बनाउँछ । त्यसैले, आर्थिक पक्ष बलियो बनाउन एकले अर्कालाई सहयोग गर्ने र ‘सिम्पल लिभिङ हाई थिङ्किङ’मा रहने गर्नुपर्छ,’ उनले भनिन् ।

 

 

प्रकाशित: २८ चैत्र २०७३ १०:५३ सोमबार

सुरिलो परिवार नागरिक परिवार