अन्य

जोडी ढुकुरझैँ हरिहर-शकुन्तला

एउटा आवाज सुन्न हरिहर हुरुक्कै हुन्थे र हप्ता पर्खन्थे। त्यो आवाज प्रत्यक्ष भने थिएन, रेडियोबाट बज्थ्यो। जुन आवाजसँग हरिहर हारेका थिए।

'मलाई उनको आवाज मधुर लाग्थ्यो,' हरिहर शर्मा स्मृतिको नेपथ्यतिर चियाउँछन्, 'साझा कोठामा एउटा रेडियो थियो, सातामा एकपटक शनिबार रेडियो नाटक बज्थ्यो, होस्टेलका सबै विद्यार्थी रेडियोमा झुम्मिन्थ्यौँ।'

शकुन्तलालाई कसैले सुनाएछ- तपाईं गुरुङ, उहाँ बाहुन। बाहुनहरूको त सानैमा बिहे हुन्छ। कतै उहाँको गाउँमै बिहे भएको त छैन?

रेडियो नेपालको जमाना थियो, हरिहरमा जवानीको ज्वार छल्कँदो थियो। स्त्री आवाजले मात्रै पनि आकर्षित गर्ने उमेर, त्यसमाथि उनलाई व्याकुल बनाउने गरी बोल्थिन्– शकुन्तला गुरुङ। यो ०३० सालतिरको कुरा हो, जतिबेला शकुन्तला गुरुङ नेपाली नाट्य क्षेत्रमा स्थापित नाम थियो। सँगसँगै रेडियोबाट प्रसारण हुने उनको ओजस्वी आवाज लोकप्रिय थियो। उनी तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे थिइन्।

हरिहर भने अमृत साइन्स कलेजमा आइएससी पढ्दै थिए, होस्टेल बसेर। जहाँ एउटा रेडियो थियो, जसले तरंगमार्फत उनको हृदय शकुन्तलातिर डोर्‍याइरहेको थियो।

अन्ततः समयले उनलाई शकुन्तलासम्म पुर्‍यायो। उनी पनि प्रज्ञा प्रतिष्ठानमा जागिरे भए, दुवै सँगै नाटक खेले, माया लाए र भेट भएको तीन वर्षपछि बिहे गरे।

हरिहर दम्पती, बलियो सम्बन्धको उम्दा उदाहरण हो। आज चार दशक भयो, यी दुईको दाम्पत्य जीवन सुरु भएको। समय धेरै घर्किसकेको छ तर माया उही छ। गुरुङकी छोरी र उपाध्याय बाहुनका छोराको कसरी माया बस्यो र बिहे भयो होला?

'हो, उहाँ मेरो आवाज मन पराउनुहुन्थ्यो,' जोडी ढुकुरझैँ हरिहरको आडैमा बस्न आएकी शकुन्तला बोलिन्। चिया ल्याउने बहानामा उनी बैठक कक्षमा आएकी थिइन्, सायद उनलाई चासो थियो– मेरा पतिसँग मेरैबारे यिनले के सोध्दै छन्?

सुखद दाम्पत्य जीवनबारे कुरा गर्न हरिहरले सोमबार लाजिम्पाटस्थित आफ्नै घरमा समय दिएका थिए। बैठक कक्षलाई उनले सुनौला सम्झनाको स्टेसन बनाए।

त्यो एकोहोरो झगडा

विवाहपछि यो दम्पतीको दाम्पत्य जीवन निकै सरल रेखामा हिँड्यो, कुनै उतारचढाव आएन। रंगमञ्च क्षेत्रमा व्यक्तिका सम्बन्धलाई लिएर अनेक शंका, उपशंकाको छुट्टै मञ्च बनाइनु नौलो होइन। अत्यन्तै सुखद हो, हरिहर दम्पतीले त्यस्तो मञ्च कल्पनुसम्म परेन।

'अहिलेसम्म हामीबीच त्यस्तो झगडा भएकै छैन, रिसाएर केही समय नबोल्नुपर्ने गरी,' हरिहर भन्छन्, 'मन नपरेको कुरामा यसो झर्कनु त स्वाभाविकै हो।'

यति लामो दाम्पत्य जीवनमा सम्झना हुने गरी झगडै भएन त, कतै हरिहरले ढाँटे कि! झगडाबिनाको माया के माया?

'सामान्य ठाकठुक त भइहाल्छ,' शकुन्तला बोलिन्। उनलाई केही भन्नुरैछ, उनले पुरानो प्रसंग कोट्याइन्।

हरिहर दम्पती, बलियो सम्बन्धको उम्दा उदाहरण हो। आज चार दशक भयो, यी दुईको दाम्पत्य जीवन सुरु भएको। समय धेरै घर्किसकेको छ तर माया उही छ।

शकुन्तलालाई कसैले सुनाएछ– तपाईं गुरुङ, उहाँ बाहुन। बाहुनहरूको त सानैमा बिहे हुन्छ। कतै उहाँको गाउँमै बिहे भएको त छैन?

शकुन्तलाको मनमा चिसो पस्यो, शंका बढ्न थाल्यो। यता बिहे गरेको केही महिनामै हरिहर प्युठान घर गएका थिए। अहिलेजस्तो यातायात सुविधा नभएकाले उनी एक्लै गएका थिए।

शकुन्तलामा झनै शंका बढ्यो– पक्कै पनि पत्नी भेट्न गएको हुनुपर्छ।

'मलाई त लाग्यो, उहाँले बिहे गरिसक्नुभएको छ र घरकीलाई फकाउन जानुभएको हो,' शकुन्तला भन्छिन्, 'उहाँ फर्केर आएपछि मैले भनेँ– मलाई ढाँट्ने? त्यहीबेला हाम्रो झगडा भयो।'

हरिहर भने यसलाई झगडा मान्दैनन्। 'झगडा दोहोरो हुन्छ नि, त्यो त एकोहोरो झगडा थियो, मिसअन्डरस्ट्यान्डिङमा,' उनले भने, 'मैले होइन भनेपछि सकियो।'

घुम्न नपाएको गुनासो

बिहेअघिको कुरा हो, प्रज्ञा प्रतिष्ठानले भानुभक्त नाटक पोखरालगायत स्थानमा मञ्चन गर्‍यो। कलाकारका रुपमा शकुन्तला र हरिहर पनि थिए। पोखरामा अन्य कलाकार साथीहरू घुम्न निस्कन्थे, फोटो खिच्थे। हरिहर भने शकुन्तलासँग घुम्न र फोटो खिच्न चाहन्थे। तर, शकुन्तला तर्कन्थिन्।

'खोइ किन हो! यिनी मान्दै मान्दिनथिन्,' हरिहर शकुन्तलातिर फर्केर गुनासो गर्छन्, 'नाटक लिएर पोखरा, धरान, धनकुटा, विराटनगर गयौँ। कहीँ पनि हामीले सँगै फोटो खिचेनौँ, सँगै घुमेनौँ। सँगै हिँडेर बदनाम मात्रै गर्छ, बिहे गर्दैन भनेर हो कि?'

पतिको पुरानो अधुरो इच्छा सुनेपछि शकुन्तला एक लहर खुलेर हाँसिन् र बोलिन्, 'उहाँले मलाई मन पराउनुहुन्छ भन्ने त्यहाँ कसैकसैलाई थाहा भइसकेको थियो। सँगै फोटो खिच्न त भएन नि, मेरा बाउआमाले थाहा पाए मार्दैनथे र मलाई?'

रंगमञ्चमा भेट

शकुन्तलाका बाबु भारतीय सेनामा थिए। सेनाबाट अवकाशपछि उनी काठमाडौंस्थित भारतीय दूतावासमा काम गर्न थाले र काठमाडौंमै घर गरे। उनको पुर्ख्यौली घर भने त्रिशूली हो। शकुन्तला काठमाडौंमै जन्मिन्, हुर्किन्। उनी केटाकेटी छँदा काठमाडौंमा विभिन्न नाट्य समूह सक्रिय थिए। ती समूहबाट शकुन्तला सानैदेखि नाटकमा लागिन्। प्रज्ञा प्रतिष्ठानमा कलाकारको रुपमा जागिरे भइन्, ०२६ देखि। सँगसँगै रेडियो नाटकहरूमा पनि काम गर्न थालिन्।

हरिहर प्युठान चौरपानीका हुन्, उपाध्याय बाहुन परिवारका। उनका बाबु बुवाको निमानन्द पहिले भारतीय आर्मीमा थिए, पछि कर्मचारीका रुपमा काम गरे, भारतको आसाममा। निमानन्दलाई परिवार पनि लैजाने सुविधा थियो, हरिहर बाबुसँगै आसाममा बसेर स्कुल लेभल पढे। र, कलेज पढ्न काठमाडौं आए।

सानैदेखि नै उनी नाटकमा रुचि राख्थे। स्कुलमा हुने नाटक प्रतियोगितामा भाग लिन्थे, पुरस्कार पनि जित्थे। तर, रंगमञ्चतिरै भविष्य खोज्ने उनको सोच थिएन। काठमाडौं आएपछि मात्रै उनी रंगमञ्चतिर मोडिए। सायद उनलाई शकुन्तलाको आवाजले तानेको थियो। 

०३० सालमा प्रज्ञा प्रतिष्ठानले विज्ञापन गरेर नाटक कलाकार माग्यो, हरिहर छानिए। त्यसपछि न हरिहर र शकुन्तलाको कर्मथलो रंगमञ्च बन्यो।

हरिहर भन्छन्, 'मैले भेट्दा त उनी कुशल अभिनेत्रीका रुपमा स्थापित भइसकेकी थिइन्।'

०००

शकुन्तलाको घर लाजिम्पाट, हरिहर लैनचौर होस्टेलमा बस्ने। कमलादी अफिसबाट फर्कंदा उनीहरू लैनचौरसम्म सँगै हुन्थे। अफिसमा सँगै नाटक खेल्नु, रिहर्सल गर्नु त छँदै थियो, खाजा खान पनि उनीहरू सँगै निस्कन थाले। यसरी नै माया हुर्कंदै थियो।

'त्यो माया शब्दमा व्यक्त भएको थिएन, माया गर्छु भनेर मैले भनेको पनि थिइनँ,' हरिहर भन्छन्, 'माया नभनेरै हुँदो रैछ।'

शकुन्तलाका दाजु पढेलेखेका थिए। बहिनी कहाँ, कोसँग हिँड्दै छे, ख्याल गर्थे। आफ्नी बहिनीसँग निकट हुन खोज्नेसँग उनले पनि परिचय गरे। कार्यालयको सम्बन्ध परिवारसम्म पुग्यो। हरिहर शकुन्तलाको घरमा पनि जान थाले।

बाहुनका छोराले गुरुङकी छोरी बिहे गर्लान्, यो त्यही स्तरको सम्बन्ध हो भन्ने शकुन्तलाको परिवारलाई परेको थिएन, यस्तै शंका भने थियो। शकुन्तलाको परिवारले बिस्तारै बुझ्न थाल्यो कि हरिहरले आफ्नी चेलीलाई मन पराउँछन्।

वातावरण पनि त्यस्तै बन्दै गयो, आफूले शकुन्तलालाई मन पराएको र बिहे गर्न चाहेको कुरा हरिहरले शकुन्तलाको परिवारसमक्ष राखे।

हरिहर भन्छन्, 'उहाँहरु स्वजातमै छोरीको बिहे गर्ने सोचमा हुनुहुन्थ्यो। मलाई पनि स्वजातमै बिहे गर्नुपर्छ भन्नुहुन्थ्यो तर मैले कुरा राखेपछि भने कुनै प्रतिक्रिया जनाउनुभएन, सहज रुपमै लिनुभयो।'

हरिहरका बुवा त्यतिबेला भारत आसाममा थिए, घरमा आमा थिइन्। बिहेको स्वीकृति लिन हरिहर प्युठान घरमा पुगे। घर–परिवारबाट सकारात्मक नै जवाफ आयो।

'घरमा काकाले मेरो बिहेको कुरा सहर्षै स्विकार्नुभयो, तर आमाले अलि नरमाइलो मान्नुभयो। स्वाभाविकै पनि थियो, त्यो बेला समाजको चलनअनुसार आमाले छोराको बिहे स्वजातसँग नै होस् भन्ने चाहनुहुन्थ्यो,' हरिहर भन्छन्, 'फेरि पनि आमाले बिहेको स्वीकृति दिनुभयो।'

त्यतिबेला प्युठान–काठमाडौं आऊजाऊ सहज थिएन। एक्लै काठमाडौं फर्केर हरिहरले शकुन्तलासँग बिहे गरे, ०३३ फागुनमा। हिन्दू परम्पराबमोजिम भएको विवाहमा जन्ती हरिहरका सँगीसाथी नै थिए।

हरिहरको परिवार पछि कपिलवस्तुमा बसाइँ सर्‍यो। अहिले हरिहरका बाबुआमा कपिलवस्तुमा बस्छन्। बाबु ९४ र आमा ८७ लागिन्। हरिहर चार भाइमध्ये जेठा हुन्। चाडपर्वमा बाबुआमा बढीजसो हरिहरकै घरमा आउँछन्।

पानीको धारोसँगै हाँसो छचल्कियो

विवाह गर्नेताका हरिहर डेरामा बस्थे, पुतलीसडकमा। एक्लो विद्यार्थी जीवन, उनले बाहिर होटलमा खान्थे। बिहेको दिन ससुरालीमै खाए। जब राति शकुन्तलालाई लिएर डेरा फर्के, अलिअलि भोक बढेझैँ भयो।

शकुन्तलाले सोधिन्, खोइ त भान्सातिर खानेकुरा केही छैन? हरिहर बिहेको पहिलो रात सम्झन्छन्, 'मैले छैन भनेँ, उनी मुसुक्क हाँसिन्।'

भोलिपल्ट बिहानैदेखि उनीहरू भान्साका सामान जोड्न लागे। अनि, घरबार सुरु भयो।

अहिले यो दम्पती लाजिम्पाटस्थित घरमा बस्छ। बिहेको केही वर्षमै उनीहरूले यहाँ घडेरी किने। घरको जग हाल्नुभन्दा पहिले नै धारो जोडे र पहिलोपटक धारो खोले, पानी छचल्कियो, उनीहरूको हाँसो पनि धारोसरी छताछुल्ल भयो।

'धारो राखेर खोल्यौँ, धारोबाट ठूलो पानी आयो, छहरा नै खसेजस्तो। त्यसपछि एकअर्कालाई हेरेर दंग परेर हाँस्यौँ,' हरिहर सम्झन्छन्, 'त्यतिबेलै हो हामी सम्झना हुनेगरी सँगै हाँसेको।' यो ०३८ सालको कुरा हो, ०४० मा त उनीहरू घर बनाएर सरे। जग्गा किन्ने बेला शकुन्तलाले इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार पाएकी थिइन्, पुरस्कार राशि १५ हजार रुपैयाँ थियो।

'छोरा भो भन्दा लजाएर भाग्नुभो'

हरिहर दम्पतीका दुई छोरा छन्। पहिलो सन्तान सुख हुँदा यिनीहरू वागबजारमा डेरामा बस्थे। शकुन्तलालाई राति सुत्केरी व्यथा लाग्यो। हरिहरले पत्नीलाई वीर अस्पताल पुर्‍याए, यो ०३५ सालको कुरा हो।

त्यसको भोलिपल्ट शकुन्तलाले छोरालाई जन्म दिइन्। शकुन्तला अस्पतालमा छन् भन्ने खबर पाएका साथीहरू भेट्न आए। विजयबहादुर मल्ल पनि आइपुगे, मल्ल त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा सदस्य थिए।

विजयबहादुरले हरिहरलाई भने, 'ल बाबु भएकोमा बधाई छ है।'

शकुन्तला भन्छिन्, 'उहाँ (हरिहर) त लजाएर भाग्नुभो।' शकुन्तलाका अनुसार विजय र हरिहरको बाबुछोराको जस्तै सम्बन्ध थियो।

 

लोभलाग्दो सम्बन्धको रहस्य

शकुन्तला धार्मिक प्रवृत्तिकी छन्। सांस्कृतिक पर्वहरू रुचि दिएर पछ्याउँछिन्। 'उनी मेरो खुट्टा ढोग्छिन्, खासखास सांस्कृतिक पर्वका बेला। अनि तीजमा व्रत बस्छिन्,' हरिहर भन्छन्, 'पत्नीले पतिको खुट्टा ढोग्नुपर्छ भन्ने मान्यतादेखि अलिकति पर छु। तर उनको त्यस्तै इच्छा छ त म त्यसको विरोध गर्दिनँ।'

पतिको खुट्टा ढोग्नेबारे शकुन्तला भन्छिन्, 'यो चलिआएको परम्परा हो, रमाइलो लाग्छ।'

हरिहरका लागि शकुन्तला मायालु, प्रेमिल र विश्वासिली छन्। यही गुणले त यो दम्पतीको सम्बन्ध लोभलाग्दो छ।

कुन तत्व वा गुणले होला त यो दम्पतीको सम्बन्ध यति दरिलो बनेको? 'म पनि त्यसको खोजीमा छु,' हरिहर भन्छन्, 'सायद विश्वास होला, हामीबीच बलियो विश्वास छ। त्यसमाथि उनी असाध्यै ज्ञानी र व्यावहारिक छन्। सम्बन्ध कसरी बलियो हुन्छ भन्ने कला उनले बुझेकी छन्। व्यावहारिक कलामा उनी उल्टै मलाई सम्झाउँछिन्।'

जागिरे जीवनमा यो जोडीले कैयौँ नाटक सँगै खेल्यो। हरिहरले अहिलेसम्म ७० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्, शकुन्तलाले एक दर्जनभन्दा बढीमा।

दुवै अहिले जागिरे जीवनबाट अवकाशमा छन्। तर, अभिनयबाट अवकाश लिएका छैनन्। हरिहर भन्छन्, 'पछिल्लोपटक उनले फिल्म क्लासिक र मेरो लभ स्टोरीमा अभिनय गरिन्, मैले धनपति र लालपुर्जामा गरेको छु, हाम्रो अभिनय यात्रा रोकिएको छैन।'  

प्रकाशित: २६ चैत्र २०७३ ०४:५६ शनिबार

जोडी ढुकुरझैँ हरिहर-शकुन्तला