अन्य

चित्रकलामा ढलेको टेको

ज्ञानेन्द्र विवश

नेपाली चित्रकलामा गत दुई महिनाबीच दुई स्थापित चित्रकारको अवसानले अपूरणीय क्षति भएको छ । मृत्यु आफैँमा एक पीडादायी विषय हुँदै हो र यसलाई कसैले रोक्न सक्दैन । यो क्षतिको अभाव पूरा हुन पनि निकै समय लाग्नेछ । देश–विदेशमा आफ्नो सिर्जनात्मक क्षमताद्वारा नेपाली कलाकारितालाई व्यापक पार्न यी दुई कलाकारको ठूलो भूमिका छ । आर्थिक उपार्जनका साथै देशकै इज्जतको काममा पनि महŒवपूर्ण योगदान छ । हुन त मृत्युपछिको चर्चा–परिचर्चा वा प्रशंसाले मृतात्माको योगदानलाई कुनै असर पार्दैन । तथापि जीवितास्थामै यस पंक्तिकारले उनीहरूको व्यक्तित्व र कृतित्वका पक्षमा धेरै चिनारी लेखन गरिसकेको छ, किताबकै रूपमा ।

यी दुवै कलाकारले स्पष्ट र गहकिलो सिर्जनात्मक कलाकर्मद्वारा आ–आफ्नो कलाविधामा जिन्दगीभर सेवा गरेको कुरा बिर्सन मिल्दैन । अब उनीहरूको कामको उचित सम्मान गरिनु र नेपाली कलाजगत्ले उनीहरूलाई सदा सम्झिरहन सक्ने कार्यको प्रारम्भ गर्नु अति आवश्यक छ ।

यी दुवै कलाकारले स्पष्ट र गहकिलो सिर्जनात्मक कलाकर्मद्वारा आ–आफ्नो कलाविधामा जिन्दगीभर सेवा गरेको कुरा बिर्सन मिल्दैन । अब उनीहरूको कामको उचित सम्मान गरिनु र नेपाली कलाजगत्ले उनीहरूलाई सदा सम्झिरहन सक्ने कार्यको प्रारम्भ गर्नु अति आवश्यक छ । यस आलेखमा उनका बारेमा संक्षिप्त जानकारी दिने चेष्टा गरिएको छ ।
नेपाली पौभा चित्रकलामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका शान्त स्वभावका र सधँै बिहानदेखि बेलुकासम्म आफ्नो पसलमा बसेर विभिन्न देवीदेवताका चित्र बनाइरहने, तान्त्रिक देवताको प्रतिमा लक्षणका ज्ञाता अग्रज कलाकार ज्ञानकर बज्राचार्यको गत फागुन १३ गते ६२ वर्षको अल्पायुमा स्वर्गारोहण भयो । लामो समयदेखि सुगर र ब्लडप्रेसरका बिरामी बज्राचार्य एक महिना अस्पतालमा बसेर एक साताअगाडि घर फर्किएका थिए ।
त्यसैगरी चरा चित्रकलामा प्रख्यात कलाकार हिरालाल डंगोलको चैत ४ गते साँझ ७७ वर्षको उमेरमा निधन भयो, भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा । केही सातादेखि उनको क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । त्यसअघि वयोधा अस्पतालमा केही दिन उपचार भएको थियो । कलाकार डंगोलले नेपाली चराका विषयमा पाँच दशकदेखि निरन्तर कला सिर्जना गरिरहेका थिए ।
यी दुवै कलाकारको पार्थिक शरीर यो संसारमा छैन । तर उनीहरूले भावी पुस्ताका लागि धरै उच्चस्तरीय कलाकृति छाडेर गएका छन् ।
पौभाकलाका हस्ती मानिने ज्ञानकरको निधन हुनु केही महिनाअघि ‘बुद्धिस्ट आर्ट ग्यालरी’ ले उनको कलायात्रा विषयक चर्चा र प्रदर्शनी प्रस्तुत गरेको थियो । हालै ‘नेपाल ललितकला पत्रकार समाज’ ले पनि ‘कलाका कुरा’मार्फत् उनको कला यात्राका विषयमा छलफल गरेको थियो । उनीहरूको निधनपछि श्रद्धाञ्जली समारोहमा कलाकारले व्यक्त गरेका विचारले पनि दिवंगत कलाकारको योगदान अमूल्य रहेको देखाउँछ । यसले नेपाली कलाजगत् शोकाकुल हुनुका साथै उनीहरूको अभावमा ठूलो खाडल परेको कुरालाई बिर्सन सकिँदैन ।
नेपाली कलाको मौलिकता बोकेको तर नयाँ पुस्ताले बिर्सन थालेको पौभाकला बचाउने ध्याउन्नमा हरपल व्यस्त थिए– कलाकार ज्ञानकर बज्राचार्य । उनी प्राचीन सहर भक्तपुरको पुख्र्यौली घर साःकोथा, लायकुमा बस्दै आएका थिए । उनको जन्म यसै ठाउँमा २०११ सालमा भएको हो । सोही घरमा बसेर उनी दिनरात नभनी पौभाकलाको सिर्जना कर्ममै व्यस्त भए । मावली बाजे ज्ञानबज्र बज्राचार्यको प्रभाव र प्रेरणाले उनी यस क्षेत्रमा लागेका थिए, परम्परागत कला, संस्कृति बचाऊ अभियानमा जुटिरहेका थिए ।
केही वर्षदेखि एक चित्रपुस्तक प्रकाशनको तयारीमा पनि उनी काम गर्दै थिए । प्रकाशोन्मुख उनको पुस्तकमा नेवार संस्कारमा सबैभन्दा बढी पुजिने गणेशको दुई सय ५० भन्दा बढी चित्र भिन्न–भिन्न मुद्रामा कोरिने उनले बताएका थिए । त्यसका लागि उनले दुई सयभन्दा बढी अवस्थितिका गणेश आकृतिलाई पूर्णस्वरूप प्रदान गरिसकेका थिए । उनको असामयिक अवसानसँगै उनको कार्य पनि अधुरो रह्यो । उनको कला हेर्नबाट नेपाली कलाप्रेमी एक प्रकारले बञ्चित भएका छन् ।
चार दशकदेखि भक्तपुरमा पौभाकलाको पसल चलाएर बस्दै आएका ज्ञानकरका सिर्जना पर्यटकमार्फत् विभिन्न मुलुकसम्म पुगेका छन् । तिनले नेपाली परम्परागत कलाको पहिचान फैल्याउन ठूलो मद्दत गरेको उनको विश्वास थियो ।

उनले बनाउने मुख्य कला ‘तुला पौ’ हो । यो कलालाई विदेशीले पनि निकै मन पराएको उनको भनाइ थियो । यो चित्रको महŒव र विशेषताबारे उनले भनेका कुरा पनि यहाँ स्मरणीय हुन्छ । उनका अनुसार बटारेर राखिने किसिमको पत्रलाई ‘तुला पौ’ भनिन्छ । लामो आकारको भएकाले यस्तो चित्रलाई राख्न सजिलोका लागि पनि बेरेर राख्ने गरिन्छ । यो चित्र क्यानभासमा बनाइन्छ । यसको प्राचीन रूप चिना, ताम्रापत्र आदि हुन् । यसमा बोधिसत्व, गणेश, अष्टमातृका, अष्टगणेश, दशदिक्पाल आदिका चित्र हुन्छन् ।
उनको विचारमा आजभोलि पश्चिमी र आधुनिक शैलीका पौभाकला पनि भित्रिएका छन् । त्यसले यस क्षेत्रमा विकृति आइरहेको बताउँदै उनले भनेका यी भनाइ यतिबेला मननीय लाग्छ– त्यसका लागि हामीले सर्वप्रथम आफ्नो मौलिकतालाई बचाउन आवश्यक छ । त्यही भएर पुराना कालको सिर्जनात्मक पक्ष र यसको महŒवलाई बचाएर राख्न यस संस्थामार्फत् काम थालनी गरिएको हो । मुख्य कुरा हामीले परम्परागत कलामा हाम्रो पुरानो विधिलाई बिर्सिनु हुँदैन । पुरानो विधिमा नयाँपन दिएर परम्परालाई यथावत राख्नुपर्छ ।

उनले यस किसिमको परम्परागत कलामा काम गर्न थालेको १० वर्षकै उमेरदेखि हो । यस हिसाबले आधा शताब्दीदेखि नै उनी परम्परागत पौभाकलाको सिर्जनात्मक फाँटमा मृत्युपर्यन्त अविच्छिन्न संलग्न रहे । यसका लागि उनले कुनै गुरुकहाँ गएर सिकेनन् । कुनै विद्यालय वा कुनै प्रशिक्षण अथवा तालिममा पनि भाग लिएनन् । बरु आफूले सिकेको कुरा अरूलाई सिकाए । यस्ता आदरणीय कलाकारको अवसानले विशेषतः पौभाकलामा ठूलो क्षति पुगेको छ ।

भर्खरै अर्का सिद्धहस्त चित्रकार हिरालाल डंगोलको निधनले नेपाली चित्रकलामा अर्को अपूरणीय क्षति भएको छ । कलाकार डंगोलको कलाकर्म चराचुरुंगीको चित्रकारिता थियो । चराका चिरपरिचित चित्रकार डंगोलले अधिकांश चराका चरित्रलाई चिरफार गरे, जुन विश्वव्यापी भइसकेका छन् । त्यसो त, चराको चित्रमय चुरिफुरीलाई चित्रकलामा चिरफार गर्ने उनी एक्लो होइनन् । उनको परिवार नै चरा चित्रकलामा संलग्न छ । त्यसैले चराका चुरिफुरी डंगोल परिवारको चित्रकलामा स्पष्ट देख्न सकिन्छ । चराका चिर्बिरको चर्तिकला देख्न र सुन्न समेत पाइन्छ, उनीहरूका चित्रकलामा । उनले आफ्ना दुई छोरा र दुई छोरीका साथ संयुक्त चित्रकला प्रदर्शनी दुई महिना अगाडि आयोजना गरेका थिए । उनको त्यो प्रदर्शनी ऐतिहासिक र अन्तिम हुन पुग्यो ।

बिहान चराका चर्को चिरिबिरीसँगै समग्र डंगोल परिवारको तल्लीनता हेर्न लायक हुन्थ्यो । अनेक प्रजातिका चरा, तिनको बासस्थान, वातावरण आदिलाई कलात्मक स्वरूपमा जीवन दिने यो चित्रकार परिवारको दैनिकी नै हो । चराका अनेक जिन्दगीका पत्र केलाउँदै तिनमा रङको सौन्दर्य पोख्नु, उनीहरुका लागि पूजा, प्रार्थना, कल्पना, सपना सबै हो ।

अब आफ्ना अभिभावक तथा पिता र गुरुको निधनले डंगोल परिवारमा ठूलो शोक थपिएको छ । तर यो शोकलाई शक्तिमा बदलेर पिता पथमा हिँड्नु त छँदै छ, साथै उनका अधुरा कामलाई पूरा गरिदिनुपर्ने पनि प्रमुख काम हुन्छ ।

कलाकार हिरालालले सोल्टीमोडमा ‘डंगोल आर्ट ग्यालरी’ को स्थापना गरेका थिए । दुई दशकभन्दा बढी समय त्यस ग्यालरीमा उनले नेपालमा पाइने विभिन्न थरीका चित्र राखेका थिए । नेपाली मात्र होइन, विशेषगरी नेपाल घुम्न आएका विदेशी उनको ग्यालरीमा झुम्मिन्थे । चराचुरुंगीका चित्रकला देखेर उनीहरू अत्यन्त मोहित भएको मैले देखेको छु । ०४५÷४६ को जनआन्दोलनताका उनको ग्यालरीमा निकैपटक ओहोर–दोहोर गरेको छु । मैले पनि त्यहाँ उनीसँग घन्टौं चराका विषयमा चर्चा गरेको छु । चरा–संवादमा समय गुजारेको छु ।   

कुन ठाउँमा कस्ता चरा पाइन्छन् ? कुन चरा सबैभन्दा सुन्दर हुन्छन् ? कति चरा बनाइसक्नुभयो ? चराको खोजीमा कहाँ–कहाँ पुग्नुभयो ? आदि मेरा जिज्ञासामा उनी मन खोलेर बताउँथे । म उनको मुखबाट चराको यात्रा–कथा सुनेर गद्गद् हुँदै फर्कन्थें । विदेशी पाहुनासँग उनले नेपाली चराचुरुंगीबारे चर्चा–परिचर्चा गरेको सुनेको छु । यसरी चराको व्याख्या गर्न पाएपछि चरा चित्रकारलाई पनि ठूलो आनन्द र आत्मसन्तुष्टि हुन्थ्यो । अन्य पाहुनासँगै मलाई पनि ग्यालरीका चरा हेर्दा मानसिक शान्ति मिल्थ्यो । म ग्यालरीमा बसी चराको सुन्दरता पिउँथे ।

नेपालका विभिन्न भेगका वनमा पाइने चराका चित्र उनको ग्यालरीमा शोभायमान थिए । विदेशी पाहुनाले उनको चराचित्र देखे, तर हेर्दाहेर्दै कति चरा ग्यालरीबाट ‘विदेश उडे’ । थुप्रै विदेशीले नेपालको सम्झनास्वरुप नेपालका चरा किनेर लगे । यसरी नेपालका चरा विदेश ‘उडेपछि’ बल्ल यहाँ चरा पर्यटक आउने क्रम बढ्यो । चरा, चित्र र चित्रकारको सपना विपना बनेको थियो । वास्तवमा चित्रकार हिरालाल डंगोलले जिन्दगी नै यसमा व्यतीत गरे, यस क्षेत्रमा आफ्नो उज्यालो चिनारी स्थापित गरे । उनको अभावमा अब उनकै चेला तथा सन्तान पुस्ताले चराचित्रकलाको मर्म र महŒवलाई विस्तार गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।

gyanendravivas@gmail.com

प्रकाशित: १९ चैत्र २०७३ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App