अन्य

तीन कविता : उडान

सौरभ कार्की

उडान

बुवाले, आमाले अनि यो समाजले

उसलाई भनेको छ– तेरी बहिनीको रक्षा गर्नु।

उसलाई प्रष्ट थाहा छ

कसरी निर्वाह गर्ने हो यो जिम्मेवारी

उसका शंकालु नजर मेरो वरिपरि घुमिरहन्छन्।

म को केटोसँग हिँड्छु?

मेरा केटा साथी को को छन्?

अनि मेरो को केटी साथी राम्री छे?

उसलाई यो सब बु‰नु छ।

उसले मेरो रक्षा गर्नुको अर्थ

मेरो परिवारको इज्जत जोगाउनु हो।

ऊ इज्जतको पहरेदार

म इज्जतको बन्द एउटा खाम।

मेरो दाजु

मलाई बु‰नभन्दा धेरै बढी

मलाई बुझाउन खोजिरहन्छ।

–तैँले यसो नगर्नु

–तँ यो ठाँउमा नजानु

–तैँले यस्तो मान्छेको संगत नगर्नु।

आदिआदि...अनेकअनेक।

 

उसको आँखामा मेरोखातिर

सधैँ एउटा त्रास दौडिरहेको देख्छु।

मेरो दाजु

अखबारका पृष्ठमा

बलात्कारको खबर पढेपछि खुब डराउँछ।

र, निन्याउरो भएर हेर्छ मलाई–

त्यो मायालाग्दो अनुहार।

मैले कत्तिपटक

मेरो दाजुले बन्द कोठाभित्र

आफ्ना साथीहरूसँग–

छिल्लिएको बैंशालु गफ गरेको सुनेकी छु।

मेरो दाजु मेरो हैन

म हिँड्ने बाटोको रक्षा गर्छ।

हैन हैन, मेरो बाटोको पनि हैन

ऊ मेरो यात्राको रक्षा गर्छ।

अहँ, सायद यात्राको पनि हैन

त्यो यात्रामा आइपर्ने गलत नजरको रक्षा गर्छ।

अन्ततः

ऊ मलाई नहिँड्न भन्छ र मेरो रक्षा गर्छ।

मेरो दाजुले राम्ररी बुझिसकेको छ

उसले मेरो रक्षा गर्नुको अर्थ

मेरो उडानको रक्षा गर्नु छ।

म ऊजत्तिकै स्वतन्त्र एउटा पंक्षी।

ठेगाना

यो कविता हैन, दृश्य हो।

यो सहरमा सधैँसधैँ दोहोरिरहने एउटा दृश्य।

म अहिले कोटेश्वरको जाममा छु

मेरो बाइकको ठीकअगाडि रोकिएको छ–

पुरानो अन्नपूर्ण ग्यास टेम्पो।

टेम्पोभित्र म देखिरहेछु

–पुरानो ग्यास स्टोभ एक थान

–एक थान ग्यास सिलिन्डर

–एकएक थान मैलो सिरक–डस्ना

–एउटा सानो जुत्ता राख्ने र्‍याक

–ठाँउठाँउमा जाली च्यातिएको एउटा किचेन र्‍याक

–खुट्टा भाँच्चिएको टेबल एउटा

–एउटा स्टिलको बाटाभरि अटाउने भाँडाकुँडा

–सायद कपडा कोचिएको दुई थान बोरा

–र, एउटा कालो म्याट्रेस

त्यही म्याट्रेसको आडमा

लुगलुग काम्दै च्यापेर आफ्नो हात तिघ्राबीचमा

कुचुक्क परेर

झुस्स दाह्री पालेको

एउटा टिठलाग्दो अनुहार।

लमतन्न सुतेको यो सडकमाथि

कत्तिचोटी गर्‍यो होला उसले ओहोरदोहोर

आफ्नो झिटीगुन्टा बोकेर?

किन सर्न लागेको होला ऊ कोठा?

के मिलेन होला घरबेटीसँग?

सोध्यो कि सोधेन होला घरबेटीले उसलाई

ऊ पुग्ने नयाँ घरको ठेगाना?

जसरी सोधेको थियो पहिले–

ऊ आएको ठेगाना?

उसले गर्ने कामको प्रकृति

र, चासो उसको परिवारबारे?

भेटिँदाखेरीजस्तो छुटिँदाखेरी सोध्ने

हालखबर पनि त नहुँदो हो सायद।

सोच्दैसोच्दै टाढा नियालिरहेथेँ

झिलिक्क बल्यो हरियो बत्ती।

हामीले पछ्यायौँ आआफ्नै ठेगाना। 

 

छुट्यो एउटा कविता

त्यो डाँडाछेउ उड्दैगरेको बादल

यसैगरी यहाँबाट,

के देखिएला र फेरि कहिल्यै?

यो हावाको ठीक यस्तै

कहिले होला र संगीत सुरम्य?

तिमी सोध्छयौ मलाई– केही छुट्यो कि कहीँकतै?

आखिर छुट्नु नै पो के छ र?

मलाई नभनेर तिमीले

मनमै राखेका केही मीठा बात

वा मैले केही बोल्न नसकेर

भर्खरै खुइय गर्दै निभाएको ठूटो चुरोट

आखिर छुट्नु नै पो के छ र?

तिम्रा फिँजारिएका केशराशि

जसको काप कापबाट

मेरो अनुहारसम्म घाम चियाउन आइपुग्थ्यो

तिमीलाई पत्तै नदिई म

हरेक खुसी लुकामारी खेलिरहन्थेँ।

आँखिर छुट्नु नै के थियो र

सिवाय एउटा प्रेमिल समय?

बिदाइको लागि मैले हल्लाएको हात

तिमीबाट छिप्दै खसेका केही थोपा आ“सु

बोली अड्किएर थर्थराएको अधर

कपाउदै हात शुभयात्रा एसएमएस लेखेको Ôण

वा जा“दै गरेकी तिमीलाई हेर्न नसकेर

झुकाएका यी दुई आ“खा

हामीले यो सहरमा स“गै नापेका पँैतालाका डोब

स“गै फेरेको एउटै बतास

सँगै रुझेको एउटै झरी

त्यो गल्लीछेउको चियापसलमा

हामीले चिया पिएको स्टिलको गिलास

वा तिमीले र मैले

स“गै गाउँदै हिँडेका पुराना गीतहरू

यीबाहेक छुटेको छैन अरु केही।

थियो तिमीलाई पुग्नु टाढा

सक्दैनथे म रोक्न तिमीलाई

र पनि छाडेर जानुअघि फर्केर हेरेको भए हुने

कमसेकम थाहा त पाउँथ्यौ

कि तिमी जानेबित्तिकै एउटा मन चँुडिएर खस्यो

सुकेको पातजस्तै हा“गाबाट चुपचाप चुपचाप।

र छुट्यो उही पुरानो स्टेसनमा

तिमीलाई हात हल्लाइरहेको तिम्रो पुरानो प्रेमी।

प्रकाशित: १२ चैत्र २०७३ ०४:४५ शनिबार

कविता उडान