अन्य

नेपालभाषाका पारसमणि

लिवालीस्थित डेराघरको ढोकाअघिल्तिर बिरामी रामशेखर नकर्मी डेढ घन्टादेखि हामीलाई कुरिरहेका थिए। ठाउँ पत्ता नलागेर चक्कर लगाइरहेका हामीलाई लिन आउने कोही थिएन। जब पत्ता लाग्यो, ती किंवदन्तीमा सुनिएका नेपालभाषाका असाधारण लेखक, नाट्यकर्मी र अभिनेता हुन् भन्ने पत्याउनै हामीलाई मुस्किल पर्‍यो। उभिन उनलाई छड टेक्नुपर्थ्यो। बोल्दा ओठ काम्थ्यो। भित्र कुनै रोगले गलाइरहेको बाहिरैबाट प्रस्ट देखिन्थ्यो। महाभूकम्पमा भक्तपुरको इनाचोस्थित घर भत्केपछि उनी लामो समय बिरामी परे। अनि वृद्धाश्रममा बस्न थाले। त्यसपछि डेरामा सरे। अस्तव्यस्त दुइटा खाट, असरल्ल भाँडाकुँडा र लुगाफाटा अनि मधुरो बत्तीको प्रकाशमा कवि रामगोपाल आशुतोष उनको विवरण टिप्न थाले। कुरा गर्दागर्दै उनकी कान्छी छोरी गोमा कामबाट फर्किइन्। लगत्तै, घरधन्दामा व्यस्त भइन्।

जीवनको अन्तिम घडीमा सार्वजनिक परिचय नभएका सर्वसाधारणझैँ उनी गुमनाम भएर बिदा भए। तर, तिनले बु‰नु जरुरी छ, जसरी नेपालीमा विजय मल्ल, गोविन्द गोठाले, रमेश विकलको स्थान छ, नेपालभाषामा रामशेखरको सम्मान त्यही स्तरको छ। जसरी नेपाली नाट्य क्षेत्रमा प्रचण्ड मल्ल, हरिहर शर्माको स्थान छ, नेपालभाषाको नाटकमा रामशेखरको स्थान त्यतिकै छ।

भक्तपुरकै बासिन्दा भएर पनि उनको जीवनको अन्तिम अध्यायतिर मात्र म सम्पर्कमा पुग्न सकेँ। मलाई सधैँ डर हुन्थ्यो, प्रसिद्ध व्यक्तिहरू अरूलाई उपेक्षा गर्छन्। यस्तो उपेक्षा मलाई असह्य हुन्थ्यो। तर, महाभूकम्पपछि उनको दुर्दशाबारे पढेपछि उनलाई भेट्न म आतुर भएँ। उनका लागि के गर्न सकिएला भनेर हामी खुबै घोरियौँ। अन्ततः नेपाली भाषी स्रष्टालाई मात्र दिइँदै आएको चक्रपाणि स्मारक पुरस्कार दिलाउन मैले गरेको सिफारिस चक्रपाणि स्मारक समितिले सदर गर्‍यो।

नेपालभाषाका पारसमणि

पारसमणिले छोएपछि फलाम पनि सुन हुन्छ भन्ने किंवदन्ती छ। रामशेखर नकर्मी नेपालभाषाका यस्तै एक पारसमणि थिए। उनले कथा, उपन्यास, नाटक, प्रहसन र पटकथा लेखे। नाटक, प्रहसन, टेलिफिल्म, फिल्ममा अभिनय र निर्देशन गरे। जेमा हात हाले उनले, सप्पैलाई 'सुन' बनाइदिए।

श्रेष्ठ सिरपा विजेता पूर्ण पथिकको एउटा कथा छ, पखाः। त्यसमाथि रामशेखरले लघु चलचित्र बनाए। त्यो नेपालकै नवयथार्थवादी सिनेमाको नमूना बन्यो। एसियन टेलिभिजन कन्फरेन्समा त्यसले 'फ्युचर अफ एसिया' को सम्मान पायो। यो सनातन समाजद्वारा अछुत बनाइएकी, चरम गरिबीमा बाँच्न विवश एक विधवा च्यामिनीको हृदयविदारक कथा हो त्यो। यस संसारमा उसको भन्नु एउटा बालक छोराबाहेक कोही हुँदैन। उसले समाजका कथित माथिल्लो जातिका मान्छेलाई झुक्किएर पनि छुनु हुँदैन। तर, तिनका घर, चोक र बहाल उसैले सफा राखिदिनुपर्छ। त्यसबापत उसलाई दिइने थोरै ज्याला, लत्ताकपडा र अन्नले छोरा र आफ्नो छाक टार्न अनि आङ ढाक्न मुस्किल हुन्छ। अतः छोरा भोजभतेरमा फालिएको फोहोर र बासी खानेकुरा खोज्दै हिँड्छ। एक दिन त्यसकै कारण ऊ छेराउटीको सिकार हुन्छ। समाजका अघिल्तिर थाहा पाउने गरी वैद्य उसको उपचार गर्न आउन सक्दैन। जब समाजलाई चुनौती दिँदै, जातका सबै पर्खाल नाघ्दै ऊ आइपुग्छ, बच्चा मरिसकेको हुन्छ। हसीमजाकबाट सुरु भएर हसीमजाकमै सकिने सिनेमालाई वाहवाही गर्ने हाम्रा समीक्षकहरूले यो सिनेमा हेर्न पाएका छैनन् या भ्याएका छैनन्! सूर्यमाला शर्माले गरेको च्यामिनीको भूमिका, दुई बालक प्रतिमान कर्माचार्य र सुभाषराम लाछी अनि गणेश सायमी, सुमन चित्रकार, नारायणदेवी प्रधान, रोशन नवीन चित्रकारले गरेको अभिनयमा खोट लागउने ठाउँ छैन। युट्युबमा पाइने यो सिनेमा यति वाचाल छ कि नेपालभाषा नजाने पनि यसलाई राम्ररी बु‰न सकिन्छ।

किंवदन्तीका पात्र

नेपालभाषा र कलाक्षेत्रमा उनी किंवदन्तीका पात्रजस्तै थिए। उनको 'नसफाःगु चा' (चिरिएको रात) मकवानपुरको पालुङ गाउँका गरिब किसानको संघर्षगाथा हो। प्रेमशान्ति तुलाधरका शब्दमा यो 'नेपालभाषाको उपन्यासमा मात्र नभई गद्यसाहित्यमै प्रगतिवादको बाटो अँगाल्ने पहिलो कृति हो।' नेपाली भाषी लेखकका लागि मदन पुरस्कारको महŒव जति छ, त्यतिकै महŒव नेपालभाषामा श्रेष्ठ सिरपाको छ। नकर्मीले यसै कृतिबाट श्रेष्ठ सिरपा र गंकी बसुन्धरा पुरस्कार पाए। उनको यही उपन्यास अनि 'सिमात फःफ स्व' र 'अगति' जस्ता कथा नेपालभाषाको स्नातकोत्तर तहको पाठ्यक्रममा समावेश छन्।

'सिमात फःफ स्व' (रुखहरूले मुन्टो बटारे) उनका उत्कृष्ट कथाहरूको संग्रह हो। सामान्य कुरा भनेझैँ गरी जीवनको गहिरो अनुभूतिमा पुर्‍याउने उनका कथाहरूको चरित्र उच्च राजनीतिक छ। यसमा गोदावरी वा पनौतीको बाह्रवर्षे मेलाको झल्को आउँछ। राजाको सवारीप्रति सर्वसाधारणको चासोमा केन्द्रित भएझैँ लाग्ने यस कथाले अन्ततः राजतन्त्रप्रति नै चरम व्यंग्य गर्छ। राजाको दर्शन गर्न अधीर भएर बसेका सर्वसाधारणलाई प्रहरीले अनावश्यक दुःख र यातना दिन्छ। कथाको नायक लंगौटी मात्र लगाएर नुहाउन लागेको हुन्छ। स्वर्गीय आमालाई जल चढाउन लाग्दा राजाको सवारी हुनै लाग्यो भनी प्रहरीले तानेर निकाल्छ। भीडलाई प्रहरीले तितरबितर पारिसकेको हुन्छ। उसको लुगा समाउने काकाभाइ नै गायब हुन्छ। तर, राजाको सवारी हुँदैन। अन्ततः मान्छेहरू नुहाउन फुकालेको कपडासमेत नपाउँदा नांगै, एउटा लंगौटीका भरमा वनैवन घर फर्कन बाध्य हुन्छन्। 'स्वतिपायँ' (फाँसीको फन्दा) भित्रको अर्को कथा 'लोग्नेस्वास्नी' को नायक गुरुङ आफ्नी प्यारी श्रीमतीलाई मालिककहाँ 'पठाउन' बाध्य हुन्छ। अन्ततः ढोका फोडेर ऊ आफ्नी पत्नीसँग खेलिरहेको मालिकसँग विद्रोह गर्न पुग्छ। नेपालभाषाका थुप्रै रचना नेपालीमा अनुवाद गरेका कथाकार ध्रुव मधिकर्मीका अनुसार उनका हरेकजसो सिर्जनामा विद्रोही चेतना, जीवनप्रति अगाध प्रेम र आशावादिता छ। सीमान्त वर्गका उनका पात्रहरू न्याय र समता अनि परिवर्तनका लागि सदैव संघर्षरत् हुन्छन्। नकर्मीका आख्यानमा धेरैजसो उनकै वरिपरिका देखे–जानेका पात्रहरू नै हुन्छन्। 'सिमा त फफः स्व' मा नुहाउन जानेको लुगा हेरेर बस्ने काकाभाइ भन्ने पात्र उनकै संगाती तथा नेपालभाषाकी चर्चित कवि प्रतिसरा सायमीका पिता थिए।

प्रवेश विन्दु

खासमा, नेवारी चाडपर्व नै उनका लागि कलाक्षेत्रमा प्रवेश गर्ने बिन्दु थियो। १९९४ मा भक्तपुर नगरपालिका वडा नं– ६ इनाचोमा जन्मेका नकर्मी जनैपुर्नेमा रातभरि नाटक हेरेर बस्थे। नाटक हेर्दाहेर्दै उनलाई पनि अभिनय गर्ने रहर जाग्यो। नृत्यकला मन्दिरले 'साहसी महिला' नाटकमा पहिलो पल्ट अभिनय गर्ने अवसर दियो। इमेज न्युज एफएमको 'जीवनका रंगहरू' मा सुरजवीर वज्राचार्यसँग उनले भनेका छन्, 'पहिला युवतीहरूको प्यारो हुन नाटक खेल्ने रहर जाग्यो, पछि यही मेरा लागि परिवर्तन, न्याय र समताको साधन बन्यो।'

२०२८ सालमा अहिलेका प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठहरूले काठमाडौँमा मुनासः मार्फत् ख्यालः (प्रहसन) प्रतियोगिता गर्थे। हरेक वर्षजसो रामशेखरको ख्यालः प्रथम हुन्थ्यो। श्रेष्ठका अनुसार प्रतियोगितामा निर्धारित समय नाघ्दै जाँदा उनको ख्यालःको नम्बर काटिँदै जान्थ्यो। यसरी नम्बर काटिँदा पनि उनकै प्रहसन प्रथम हुन्थ्यो। नकर्मीकै सहयात्री कलाकार राजेन्द्रमान शाक्यका अनुसार उनले 'लाता' भन्ने प्रहसनमा राजतन्त्रप्रति व्यंग्य गर्दै गीत बनाएका थिए, जुजु बाँला, जनता द्याँला। राजा राम्रा, जनता भोकै। समयले लाटालाई पनि बाठो बनाउँछ भन्ने त्यसको सन्देश थियो। पञ्चायतको बेला यति ठूलो साहस गर्नु सामान्य कुरा थिएन। यो सुइँको पाएर प्रशासनले प्रहसन रोक्न आदेश दियो। तर, उनले रोकेनन्। आफू पटक्कै नहाँसी बोल्ने तर अरूलाई पेट मिचीमिची हँसाउने यी लोकप्रिय कलाकारलाई प्रहरीले खोज्दै आयो, कसैले नचिनाइदिँदा उनी बचे। वज्राचार्यसँगको वार्तामा नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठ भन्छन्, 'रामशेखरले व्यंग्य गर्दा पनि नेपालकै चित्र आउँथ्यो।'

उनका नाटक र कथाहरूमा स्थानीयताको गाढा रङ हुन्थ्यो। 'धिन्ताल्ल' उनका प्रसिद्ध प्रहसनहरूको संग्रह हो। तिनमा पञ्चायतको विरोध, पुराताŒिवक चोरीचकारीप्रति प्रहार र तल्लो वर्गका मान्छेप्रति गहिरो सहानुभूति हुन्थ्यो। जिमी अजी (मेरी बज्यै), अस्पताल या जा (अस्पतालको भात), थौँ मन्त्री वइगु (आज मन्त्री आउँछन्), तन्त्र ट्याब्लेट, बाह्र बजे, टुरिस्ट गाइड, रानी पुःखु (रानीपोखरी) उनका प्रसिद्ध प्रहसन हुन्। बाह्र बजे, न्हिसुतु, झोकमनिम्ह उनीद्वारा निर्देशित लोकप्रिय टेलिफिल्म हुन्। नेपालभाषाका फिल्म 'सिलु' का पटकथाकार, 'राजमति' का सहलेखक, महका टेलिशंृखला '१५ गते', 'लक्ष्मी' आदिका अभिनेता नकर्मीले राजा वीरेन्द्रको हत्यापछि एउटा चर्चित कृति लेखे, 'पर्सि मसिन्हिम महारानी' (सारी नलाउने महारानी)। स्वर्गनर्क, भैलः ख, न्हुच्छे अरा (न्हुच्छे दाइ) उनका अन्य चर्चित सिर्जना हुन्।

जीवनको भूमरी

भक्तपुर दरबार क्षेत्रस्थित श्रीपद्म माविमा भर्ना भए पनि उनले पढाइ पूरा गर्न सकेनन्। पछि प्राइभेट परीक्षाबाटै स्नातकसम्म उत्तीर्ण गरे र दूर सञ्चार संस्थानमा जागिर खाए। त्यस क्रममा उनी पालुङ, धनगढी, विराटनगर खटिए। पालुङ बस्दा त्यहीँको जनजीवनमा आधारित भएर प्रसिद्ध उपन्यास 'नसं फाःगु चा' लेखे, जुन पछि जापानी भाषामा अनुदित पनि भयो। उनी जागिरको कठोर बन्धन र अनुशासनमा टिक्न सक्ने स्वभावका मान्छे थिएनन्। अतः जागिर छाडेर लेखन र कलाक्षेत्रमा होमिए। तर, कला क्षेत्र उनले ठानेजस्तो फलदायी थिएन। जीवनको उत्तरार्द्धमा उनलाई परिवार व्यवस्थित गर्न नसकेको, छोराछोरीलाई उचित शिक्षादिक्षा दिन नसकेकोमा पछुतो थियो। त्यसैले उनले आफ्ना छोराछोरीलाई कला क्षेत्रमा लाग्न प्रेरित गरेनन्। तैपनि, उनका एक छोरा चित्रकार छन्।

नेपाली भाषाका साहित्यकार, कलाकार भएका भए उनको जिन्दगीको अन्तिम अध्याय सायद यति गुमनाम र दुःखद् हुने थिएन। नेपालभाषाको साहित्य र कला क्षेत्रमा असाधारण योगदानबापत नेवार समाजले अभिनन्दन र सम्मान गरे पनि गैरनेवारी समाजलाई उनको योगदानबारे थाहै भएन। साहित्यमा बाह्रखरी सिक्दै गरेका लेखकले ठूलो कभरेज पाउने, करिना कपुरले छोरा पाउँदा पूर्ण कदको तस्बिर छाप्ने मिडियाले महŒव दिएन। साहित्यका निर्धारकहरूले चासो दिएनन्। सरकारी एकेडेमीले थाहा नपाएजस्तो गर्‍यो। गैरनेवार सर्वसाधारणसामु उनलाई चिनाउनुपर्दा मदनकृष्ण–हरिवंशको टेलिफिल्म '१५ गते' मा शर्मिला मल्लको पिताको भूमिका गर्ने थारू र 'लक्ष्मी' मा लक्ष्मी बन्ने लाटी केटीको दुःखी पिताको भूमिका गर्ने पात्रको उल्लेख गर्नुपर्ने हुन्छ। जब कि उनको असली परिचय नेपालभाषाको साहित्य र नाटकमै छ।

भाषाको भेद

खासमा, हाम्रो समाज अझै जातिवादी छ। हामी नेवार, राई, लिम्बु, मगर, थारू, मैथिल, थकाली, भोजपुरी, अवधीलाई नेपाली भाषामा लेख्नु खस आर्य समुदायलाई जस्तो सजिलो छैन। किनभने, खस नेपाली भाषा हाम्रो रगतमै थिएन। यस भाषामा लेख्न र बोल्न हामीले एउटा सिंगै सभ्यताको नदी तर्नुपरेको छ। नेपाली भाषामा छापिनै मुस्किल परेपछि रोल्पाका किरण पुनले नवीन विभास, दाङका कृष्णराज चौधरीले सर्वहारी, टीकाराम पुनले उदासी उपनाम राख्नुपरेको थियो। रोशन शेरचन, उदय जीएम, स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, ध्रुव मधिकर्मी, सुरेश किरण, फूलमान बल, बिना थिङ, मुक्तान थेबा, राजु स्याङ्तान, रामगोपाल आशुतोष, श्याम साहलगायत हामी साहित्यकार अनि सीके लाल, राजेन्द्र महर्जन, श्याम श्रेष्ठजस्ता स्तम्भकारले नेपाली भाषामा खस आर्य समुदायकै प्रतिस्पर्धामा लेख्नु साधारण कुरा होइन। तर, अझै पनि यहाँका टाठाबाठा नेपाली साहित्य र वाङ्मयमा हाम्रो अस्तित्व सजिलै स्वीकार्दैनन्। यस्तो स्थितिमा रामशेखर नकर्मीजस्ता मातृभाषी लेखक गुमनाम हुनु अनौठो होइन। अनि जीवनको अन्तिम घडीमा सार्वजनिक परिचय नभएका सर्वसाधारणझैँ उनी गुमनाम भएर बिदा भए। तर, तिनले बु‰नु जरुरी छ, जसरी नेपालीमा विजय मल्ल, गोविन्द गोठाले, रमेश विकलको स्थान छ, नेपालभाषामा रामशेखरको सम्मान त्यही स्तरको छ। जसरी नेपाली नाट्य क्षेत्रमा प्रचण्ड मल्ल, हरिहर शर्माको स्थान छ, नेपालभाषाको नाटकमा रामशेखरको स्थान त्यतिकै छ। जसरी नेपालीमा लेख्ने कविहरू चम्किरहेका छन्, नेपालभाषामा पनि त्यतिकै चम्कन सक्ने कविहरू छन्। त्यहाँ पूर्ण वैद्य, श्यामसुन्दर सैँजु, सुन्दर मधिकर्मी, आनन्द जोशी, योगेन्द्र प्रधान, केशव कर्माचार्य, नर्मदेश्वर प्रधान, सुरेश किरण, प्रतिसरा सायमी, राजभाइ जःकमी, रजनी मिला, शाक्य सुरेन, सुदन खुस, सुधीर खोबी, पुष्प मुनःकर्मी, दया खड्गीजस्ता कवि छन्। आख्यानकारहरू पनि उत्तिकै छन्।

अन्त्यमा

पत्रकार सुनिता साखकर्मीको अनुभवमा जीवनको उत्तरार्द्धमा रामशेखर अत्यन्त निराश थिए। उनीसँग मेरो भेट जम्मा तीनपटक भयो। पहिलोपल्ट उनलाई चक्रपाणि पुरस्कार वितरणको निम्तो दिन जाँदा दोस्रो, पुरस्कार वितरण गर्दा र डेरासम्म उनलाई पुर्‍याउन जाँदा। तेस्रो, उनी क्यान्सरले थलिएपछि यही फागुन १४ गते भक्तपुर क्यान्सर अस्पतालमा जतिखेर उनी आँखा खोलेर हेर्न सक्ने स्थितिमै थिएनन्। तर, पूर्ण होसमा उनले हामीलाई 'हार्दिक नमस्कार' भनेका थिए।  तीनैपल्ट अत्यन्त हार्दिक भएर प्रस्तुत भएका उनले आफ्नो निराशा चुहिन भने दिएनन्। त्यसको दुई दिनपछि बिहानै उनको प्राणपखेरु उडेर गयो। डाक्टरले समेत यो अनुमान गर्न सकेका थिएनन्। मलाई खेद छ, यो लेख उनी जिउँदो हुँदै लेखेर थोरै भए पनि म उनलाई निराशाको तलाउबाट उतार्न चाहन्थेँ, त्यसो हुन सकेन। एकखालको गहिरो अपराधबोधसहित लेख सकाउँदा लाग्दैछ, म पनि तिनै चल्तीका रकमी मान्छेकै भीडको एक सदस्य हुँ।

प्रकाशित: ५ चैत्र २०७३ ०५:२७ शनिबार

नेपालभाषाका पारसमणि