अन्य

'कुञ्जिनी' कथा

लीला लुइँटेल​

नेपाली स्नातकोत्तर प्रथम वर्षका हामी सहपाठीहरू मिलेर २०४६ साल मंसिर ५ गते साहित्य कुञ्ज नामक संस्थाको स्थापना गर्‍यौँ। हामीले सर्वसम्मतिबाट यसको अध्यक्ष कृष्णप्रसाद पोखरेल, सचिव ईश्वरचन्द्र वाग्ले, सहसचिव ईश्वरी उपाध्याय तथा कोषाध्यक्ष उषा अधिकारीलाई बनायौँ। सदस्यहरूमा मसहित (लीला ढकाल), शारदा अधिकारी, मधुसूदन गिरी, खेमराज निरौला, पुण्यप्रसाद सुवेदी तथा हिमांशु चौधरी थियौँ। विदेशबाट नेपाली पढ्न आएका असमका अरुण भट्टराईलाई उपाध्यक्ष र भुटानका छत्रपति फुयँललाई हामीले सदस्य बनाएका थियौँ। कुनै आर्थिक स्रोत नभएका बेलामा पनि हामीले त्यतिबेला सदस्यहरूबाटै व्यक्तिगत रूपमा चन्दा उठाएर कार्यक्रम गर्थ्यौं। २०४७ फागुन १४ गते हामीले 'नेपाली कविता वर्तमान र भविष्य' शीर्षकमा विचार गोष्ठी आयोजना गर्‍यौँ। हाम्रो उत्साहलाई देखेर त्यतिबेला पत्रम् पुष्पम््समेत गर्न नसक्ने स्थिति बुझेरै पनि तत्कालीन प्राज्ञ सदस्यद्वय कृष्णचन्द्रसिंह प्रधान र ईश्वर बल्लभले पनि बडो सदाशयताका साथ अत्यन्त विचारमूलक एवं गहन कार्यपत्र तयार गरी हामीलाई देखाउनु भएको स्नेहका लागि हामी उहाँहरूप्रति आभार प्रकट गर्छौं।

हामीले २०४६ सालमा स्थापना गरेको स्पष्ट हुँदाहुँदै २०५६–२०५७ मा गठित साहित्य कुञ्जका अध्यक्ष मुकुन्द घिमिरेले कुञ्जिनी (वर्ष ५अंक ८, २०५७) पत्रिकामा साहित्य कुञ्ज हामीले स्थापना गरेको नभई २०२२ सालमा ठाकुरप्रसाद पराजुली र माधव भट्टराईको सक्रियतामा स्थापित भनेर इतिहासलाई बंग्याउँदै एउटा प्रायोजित एवं भ्रमपूर्ण सम्पादकीय लेखे।

यसैगरी २०४८ साल साउन ८ गते हामीले नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि साधनारत पारिजात र बदरीनाथ भट्टराईलाई अभिनन्दन गरेका थियौँ। पारिजातलाई अभिनन्दनका लागि मनाउन सकिँदैन तसर्थ पारिजातका सट्टामा अर्काे साहित्यकार सोच्नुहोस् भनेर त्यतिबेला कतिपय गुरुले सल्लाह पनि दिनुभएको थियो। नेपाली साहित्यकै उल्लेखनीय प्रतिभा तथा मेरा अति आदरणीय व्यक्तित्व पारिजातप्रति रहेको मेरो सम्पर्क, आस्था एवं विश्वासका कारण उहाँलाई मनाउने जिम्मा मेरो भयो भनी म अडिग रहेकी थिएँ र यसमा म सफल पनि भएकी थिएँ।

हाम्रो परिश्रम एवं सक्रियताबाट प्रभावित भएर यस अभिनन्दन कार्यक्रमका लागि तत्कालीन डिन प्रेमकुमार खत्री र प्रोक्टर प्रेमनारायण अर्यालले हार्दिकताका साथ आर्थिक सहयोगका गर्नुका साथै हाम्रा ससाना क्रियाकलापमा समेत स्वयं उपस्थित भएर अनेक सल्लाह र सुझाव दिई प्रत्यक्ष ढंगले सक्रियता देखाइरहनु भएको थियो। साथै, अभिनन्दित स्रष्टाहरूलाई ल्याउन–लैजान उहाँहरूले कुनै गाडीवाला पदाधिकारीलाई अनुरोधसमेत गरिदिनु भएको थियो। उहाँहरूले त्यतिखेर देखाउनु भएको सदाशयता एवं तत्परता हाम्रा लागि सदैव अविस्मरणीय रहेको छ।

पहिलो कार्यकालमा मेरो सक्रियता देखेर दोस्रो कार्यकालमा पनि मलाई साथीहरूले मलगायत मधुसूदन गिरी र शारदा अधिकारीलाई चयन गर्नुभयो। दोस्रो कार्यकालको चयनका बेला केही साथीले राजनीतिक रंग दिन खोजे पनि हामी कोही पनि यसमा सहमत भएनौँ र राजनीतिनिरपेक्ष ढंगले यसलाई अघि बढाउन सफल भयौँ। यस कार्यकालका केही कार्यक्रममा आफूलाई प्रगतिवादी एवं निकै ठूलो कवि ठान्ने साथीले अत्यन्त अश्लील एवं भद्दा रचना सुनाएर साहित्य कुञ्जलाई बदनाम गराउने प्रयास गरे पनि उनी सफलचाहिँ हुन सकेनन्। दोस्रो वर्षको परीक्षा सकिएर शोधपत्र तयारीका लागि हामी केही साथी तितरबितर भए पनि त्यतिखेर पहिलो वर्षमा अध्ययनरत् विप्लव ढकाल, पद्मा अर्याल, श्रीहरि फुयाँल, मुकुन्द पथिकलगायतका साथीहरूको लगन एवं परिश्रमबाट साहित्य कुञ्ज अघि बढ्दै गयो। दोस्रो कार्यकालमा हामीले निकै कष्ट र परिश्रमका साथ कुञ्जिनी नामक पत्रिकाको पहिलो अंक प्रकाशन गर्‍यौँ। यसका हरेक गतिविधिमा त्यतिखेर नेपालीमा अध्ययनरत् जापानी साथी हारुहितो नोजुले देखाएको तत्परता एवं सक्रियता पनि प्रशंसनीय रहेको थियो। उनको सक्रियता नभएको भए हामी त्यतिखेर कुञ्जिनी पत्रिका पनि प्रकाशन गर्न सक्दैनथ्यौँ सायद। यसरी अनेकौँ दुःखकष्टका साथ जोगाइएको कुञ्जिनी अहिले मतदान प्रक्रियाबाट गठन हुन थालेकामा मलाई असाध्यै खुसी लागेको छ।

हामीले २०४६ सालमा स्थापना गरेको स्पष्ट हुँदाहुँदै २०५६–२०५७ मा गठित साहित्य कुञ्जका अध्यक्ष मुकुन्द घिमिरेले कुञ्जिनी (वर्ष ५अंक ८, २०५७) पत्रिकामा साहित्य कुञ्ज हामीले स्थापना गरेको नभई २०२२ सालमा ठाकुरप्रसाद पराजुली र माधव भट्टराईको सक्रियतामा स्थापित भनेर इतिहासलाई बंग्याउँदै एउटा प्रायोजित एवं भ्रमपूर्ण सम्पादकीय लेखे। उक्त सम्पादकीयमा २०२२ सालमा गठन भएको 'नेपाली साहित्य परिषद्' लाई पुरानो नाम परिवर्तन गरी सञ्चालन गर्न थालेको भनी इतिहासलाई बंग्याएर मनगढन्ते एवं कपोलकल्पित कुरा लेखी सम्पूर्ण विद्यार्थीवर्गमा भ्रम छर्ने प्रयास गरिएको छ। यसभन्दा अझ अघि बढेर उनले उक्त सम्पादकीयमा दोस्रो कार्यकालको कार्यकारी सदस्यकै रूपमा रहेका मधुसूदन गिरी तथा शारदा अधिकारीलगायत मेरो नामसमेत हटाउने काम गरी कार्य समितिमै नभएका अन्य व्यक्तिका नाम थपेर उल्लेख गरी गलत विवरण पेस गरेका छन्।

यसपछि २०६१/२०६२ सालमा गठन भएको कार्यकारी समितिबाट प्रकाशित कुञ्जिनी (वर्ष १२, अंक ९, २०६१/२०६२) मा टीकाहरि बरालद्वारा लिखित 'कुञ्जिनी पत्रिका र यसमा प्रकाशित विभिन्न शीर्षकका लेखहरू' शीर्षक लेखमा पनि साहित्य कुञ्ज २०२२ सालमा नै स्थापना भएको हो भनी इतिहासलाई ओझेलमा पार्ने प्रयास गरियो। यसै कार्य समितिका अध्यक्ष अशोक थापाले पनि इतिहासलाई बंग्याउने कुत्सित नियतले कुञ्जिनी २०२२ सालमा नै स्थापना भएको हो भनेर सम्पादकीय लेखे।   

साहित्य कुञ्जलाई दर्ता गराउनेदेखि लिएर यसको विस्तार एवं विकास गराउन त्यसबेला हामीले सानो परिश्रम गरेका थिएनौँ। त्यतिखेर हामीसँग कुनै आर्थिक स्रोत थिएन, हामीले आफ्नो व्यक्तिगत खर्च कटाएर यस संस्थालाई जोगाएका हौँ। जिल्ला प्रशासन कार्यालयमा दर्ताका लागि प्रक्रिया अगाडि बढाउन जाँदा भोगेका भुक्तमान एवं अप्ठ्याराहरू अरू कुनै बेला भनौँला–लेखौँला।

आधिकारिक रूपमा अभिलेखित एवं संरक्षित ऐतिहासिक सामग्रीलाई बंग्याएर कुत्सित नियतले गरिएको यसखाले लेख देखेका दिन जीवनमा कहिल्यै अनुभूत नभएको दुःखले मलाई चिमोटिरहेको छ। यसरी इतिहासलाई बंग्याएको जानकारीले त्यतिबेलाको साहित्य कुञ्जका पदाधिकारीलगायत अन्य सम्पूर्ण साथीहरूलाई दुःखी बनाएको छ भन्ने अनुमान गर्न गाह्रो पर्दैन, किनकि त्यतिखेर कार्य समितिमा हामी सीमित साथीहरू भए पनि यसमा नेपाली अध्ययन गर्ने सबै साथीको उत्तिकै सक्रियता एवं योगदान रहेको छ। अझ नेपाली विषयइतरका साथीहरू पनि सदाशयतापूर्वक आफ्ना कक्षा छोडीछोडी यसका नियमित कार्यक्रममा सरिक हुनुहुन्थ्यो। कुनै कार्यक्रम गर्दा हामीले महिला छात्रावासका साथीहरूलाई गुहार्थ्यौं, उहाँहरूले हार्दिकतापूर्वक सहयोग गर्नुहुन्थ्यो।

यसमा आफूले गरेको काम अरूले गरेको भनिदिए तथा आफ्नो नाम उल्लेख गरिदिएनन् भनेर मलाई दुःख लागेको होइन। आफूले स्थापना गरेको संस्था अरूले स्थापना गरेको भनेर लेखिदिए भन्ने पनि गुनासो होइन। हामीले स्थापना गरेको साहित्य कुञ्ज अरूले नै गरिदिएको भनेर लेखे पनि यसबाट त्यस कार्य समितिमा रहेका हामी कसैलाई पनि कुनै हानिनोक्सानि भएको छैन अनि हामीले स्थापना गरेको भनेर लेखिदिएको भए पनि हामीलाई कुनै ठूलै उपलब्धि हासिल हुनेवाला पनि छैन। अनि नियतवश लेखाइएका ठाकुर पराजुली र माधव भट्टराईको सक्रियतामा स्थापना गरिएको भनिदिँदा पनि उहाँहरूलाई पनि कुनै ठूलै कुरा प्राप्त भएन होला, कुरो नियतको हो। एउटा उच्चशिक्षित व्यक्ति अर्काको कुत्सित नियतको गोटी भई दिउँसै रात पार्ने काममा संलग्न भएर सदाका लागि स्वयं तल झर्ने मानिसको संकीर्ण मानसिकता देख्दा ती लेखक महानुभावप्रति दया लागेको हो। २०४६ सालमा स्थापना भएको स्पष्ट जानकारी पाएरै अनि प्रकाशित सामग्री एवं अभिलेख देख्दादेख्दै २०२२ सालमा ठाकुरप्रसाद पराजुली र माधव भट्टराईको सक्रियतामा स्थापित भनेर इतिहासलाई बंग्याउने कुचेष्टा गर्नुका पछाडि के रहस्य छ? अनि २०२२ सालमा गठन भएको 'नेपाली साहित्य परिषद्' लाई पुरानो नाम परिवर्तन गरी सञ्चालन गर्न थालेको भनी हामीलाई पनि थाहा नभएको कुरा उहाँहरूले चाहिँ कुन स्रोतबाट र कसरी थाहा पाउनु भयो? अनि प्रकाशित रूपमै रहेको दोस्रो कार्य समितिमा भएका व्यक्तिको नाम हटाएर कार्य समितिमै नभएका मान्छेका नाम उल्लेख गरी गलत एवं भ्रामक विवरण पेस गर्नुको नियत के हो? त्यो पनि एकपटक नभएर पटकपटक! यसबाट व्यक्तिगत रूपमा जसलाई जेजस्तो फाइदा भए पनि आलेखित एवं संरक्षित सामग्रीको इतिहास बंग्याउने कार्य इमानदारी एवं नैतिकताका दृष्टिले कसैको पनि हितमा हुँदैन। यस्ता कार्य सूर्यलाई हत्केलाले छेकेर अँध्यारो भो भनेजस्तै हास्यास्पद एवं लज्जास्पदबाहेक अरू केही हुन सक्तैन अनि झुठ जतिसुकै ठूलो स्वरमा चिच्याएर जतिपल्ट दोहोर्‍याए पनि सत्यमा परिवर्तन हुन सक्दैन।

यसरी इतिहासलाई बंग्याएर गलत विवरण लेखिदिने मुकुन्द घिमिरे, टीकाहरि बराल तथा अशोक थापालाई सम्बन्धित गुरुहरूबाट आशिर्वादका साथै अन्य केही त पक्कै पनि लाभ भएकै हुनुपर्छ, अन्यथा केही पनि लाभ नहुने भए यस कलियुगमा उहाँहरूजस्तो उच्चशिक्षित व्यक्ति यस्ता गलत एवं निन्दनीय कार्यमा त पक्कै नलाग्नुपर्ने हो! अनि गलत विवरण दिएर इतिहास बंग्याउन प्रेरित गर्ने गुरुहरूलाई चाहिँ के लाभ मिल्यो र कस्तो तुष्टि प्राप्त भयो यति लामो समय बितिसक्दा पनि मैले केही बु‰न सकेको छैन!

प्रकाशित: ५ चैत्र २०७३ ०५:१२ शनिबार

कुञ्जिनी कथा