अन्य

जहाँ भेटिन्छन् चोटग्रस्त बुद्धहरू

शब्द र तस्बिर : शेखर खरेल

मौसम अहिलेको जस्तै वसन्तयामको हो, तर ठीक दुई वर्षअघि। पाकिस्तानको राजधानी इस्लामावादबाट रावलपिन्डी जिल्लातिर हानिँदै गर्दा भूदृश्य परिचितजस्तै लाग्थ्यो। गिर्खौला मरूभूमिका बुट्यानहरूले हाम्रै हिमालपारीको मुस्ताङको झझल्को दिन्थे। तर, सडकछेउका उद्यानहरूमा स्याउ होइन, सुन्तला(सायद जुनार) लटरम्म थिए। उद्यानका कृषकहरू गाडी रोक्दै पर्यटकलाई 'लाइभ' सुन्तलाको रसास्वादनको निम्ता दिइरहेका हुन्थे। यस्तो मौका चुकाउने कुरै भएन।

प्राचीन तक्षशीलाका सेरोफेरो सिरकाप सहर र जुलियान बौद्ध विहारको यात्रा हाम्रा निम्ति पर्यटनभन्दा पनि तीर्थाटनजस्तै थियो। तर, कुनै बेला अध्ययन, अनुसन्धान र अनुष्ठानका कारण संसारभरका ज्ञानी र जिज्ञासुलाई आकर्षित गर्ने तक्षशीलामा अहिले शेषचाहिँ इतिहासको अभिलेख हो। कुनै समय भक्ति राख्नेहरूबाट पूजित मूर्तिहरू कालक्रममा निन्दा गर्नेहरूका प्रहारबाट खण्डित बनेपछि, केही युद्धका अंगभंग सैनिकहरूका भाँती सुरक्षा घेरामा राखिएका थिए भने बाँकी संग्रहालय(तक्षशीला म्युजियम) का सोकेसमा सजाइएका थिए। जे होस् आफ्नो गर्तमा करिब तीन हजार वर्ष इतिहास लुकाएर राखेको तक्षशीलाको बहुप्रतीक्षित भ्रमण साकार हुँदै गएकोमा बुद्ध जन्मभूमिका हामी रोमाञ्चित थियौँ। यस्तो मनोहारी अवसर मिलाइदिएका थिए, पाकिस्तानका लागि तत्कालीन नेपाली राजदूत भरतराज पौड्यालले। राजदूत महोदयको नेपाली लोकशास्त्रीय समूह सुकर्मलाई इस्लामावाद र लाहोरमा सांगीतिक प्रस्तुतिको निम्तोको सिलसिलामा म पनि सुकर्मको टोलीसँगै पाकिस्तान पुगेको थिएँ। र, यसै मेसोमा जुरेको थियो तक्षशीला भ्रमण। 

तक्षशीलामा बुद्धका शिरोच्छित मूर्तिहरू हेरिरहँदा मेरो मानसपटलमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह आए, जसले जीवनभर टुक्राहरूमा विभाजित राज्यलाई अँजुलीमा उठाएर एउटा विशाल राष्ट्रको निर्माण गरे। तर, कहिल्यै कसैका मूर्ति नटुटाएका तिनै राष्ट्रनिर्माताका मूर्ति हामीले नयाँ नेपाल बनाउने नाममा तोडिदियौँ!।

तक्षशीला संग्रहालय(बोलिचालीको अंग्रेजी नाम– ट्याक्सिला म्युजियम) मा इशापूर्वदेखि इशापछाडिका पाँचौ शताब्दीसम्मका गन्धरा कलाकृतिहरू सजाइएका छन्। जसमा बुद्धका मूर्ति एवं कुँदिएका स्तुपाहरूदेखि लिएर ती समयका चल्तीका आभूषण, सिक्का, भाँडावर्तनलगायत सामग्री देख्न सकिन्छ। संग्रहालयबाट केही परको दूरीमा रहेको सिरकाप एउटा सुन्दर सभ्यताको खण्डहर हो। र, त्यही सामुन्नेको केही सिँढी चढाइपछि एउटा थुम्कोमा अवस्थित जुलियान प्राचीन बौद्ध विहार हो। भिक्षुहरूका प्रार्थना भवन, स्तुपाको जगदेखि लिएर चौघेराभित्रको कोत(कोर्टयार्ड) आदिले यस स्थलको भव्यता र बौद्ध दर्शन उत्तर–पश्चिमतिर फैलिएको मात्र होइन उत्कर्षमा पनि पुगेको थियो भन्ने कुराको प्रमाण दिन्छ। तर, तक्षशीला संग्रहालय पुग्दा होस् वा जुलियान बौद्ध विहार परिभ्रमण गर्दा नै, मन दुखाउने कुराचाहिँ यहाँका मूर्ति वा स्तुप सग्ला नभेटिइँदा हो। छिन्नभिन्न र चोटग्रस्त कुनै सैनिकका भाँती शान्तिका अग्रदूत स्वयं नै शान्तिको याचना गरिरहेका झँै अनुभूत हुन्छ। धेरैजस्तो मूर्तिहरू शिरोच्छित छन्। अनि बचेखुचेका सग्ला मुहारहरूमा एउटा कुरा प्रष्ट देख्न सकिन्छ– त्यो हो मुहारका आभूषण, खासगरी बुद्धका तेस्रो आँखामा जडित बहुमूल्य रत्नहरू उप्क्याइएका छन्!

संस्कृतमा 'तक्षशीला' को अर्थ काटिएको ढुंगा निर्मित सहर बुझिन्छ। हिन्दूहरूचाहिँ, भगवान् रामका भाइ भरतले आफ्ना छोरा तक्षका नामबाट यस सहर बसाएको भन्ने विश्वास गर्छन्। तर, प्रामाणिक रूपमा चाहिँ तक्षशीलाको विकास इशापूर्वको आठौँ शताब्दीदेखि नै भएको पाइन्छ। एउटा सभ्यता र अझ ज्ञानको केन्द्रको रूपमा पल्लवित तक्षशीलाले समयक्रममा शाक्यमुनि बुद्धको ज्ञान ग्रहण गर्दै आफूलाई एउटा जीवन्त बौद्ध दर्शन केन्द्रमा रूपान्तरित गरेको थियो। बौद्ध दर्शनसँगसँगै कला र संस्कृतिमा पनि यस थलो समृद्ध थियो भन्ने कुरा संग्रहालय र जुलियानका मूर्तिहरू स्वयंमा बलिया प्रमाण हुन्। ग्रिक र रोमन शैलीको प्रभाव देखिने ती गन्धरा कलामा बुद्धका पारदर्शी पहिरन, शरीरका भावभंगी र मुखाकृतिले उत्कृष्ट कलाशैली झल्किन्छ।

तर, सबै राम्रा कुराका एउटा आयु हुन्छ भन्ने भनाइजस्तै तक्षशीला आजचाहिँ एउटा इतिहास मात्र हो। बौद्ध धर्म दर्शनको केन्द्रमा विकसित हुनुपूर्व तक्षशीला आजको भाषामा भनिने एउटा विश्वविद्यालय नै थियो। त्यस्तो विश्वविद्यालय जसलाई आजका अक्सफोर्ड वा हार्वर्डले नै इर्ष्याले हेर्न सक्छन्। राजनीति, कूटनीति र अर्थनीतिका त्रिवेणी चाणक्यदेखि, भाषा र व्याकरणका महारथि पाणिनि, पञ्चतन्त्रका रचयिता विष्णु शर्मा, चरकसंहिताका आविष्कारक चरक आदिले ज्ञान हासिल गरेको तक्षशीलसमानको 'प्राचीन विश्वविद्यालय' संसारको अन्य कुनै भागमा सायदै पाइएला।

तेस्रोदेखि पाँचौँ शताब्दीसम्मका मूर्तिहरूले तक्षशीलाको विनाशलीला पाँचौँ शताब्दीदेखि नै सुरू भएको संकेत गर्छन्। इतिहासकार एवं पुरातŒवविदहरूका अनुसार, तक्षशीलाको विनाश सेन्ट्रल एसियाका हुनास भन्ने युद्धोन्मादी फिरन्ताहरूबाट भएको हो। जसले भिक्षु, विद्वान् र विद्यार्थीलाई लखेटे, मूर्तिहरू तोडफोड गरे र तिनमा जडित रत्नहरू लुटेर लगे। सुरूमा फिरन्ताहरूको हमला र पछि इस्लामको प्रादुर्भावका कारण तक्षशीला एउटा जीवन्त ज्ञान र कौशलको थलोबाट क्रमशः निर्जन खण्डहरमा परिणत हुन थाल्यो।

तक्षशीलामा बुद्धका शिरोच्छित मूर्तिहरू हेरिरहँदा मेरो मानसपटलमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाह आए, जसले जीवनभर टुक्राहरूमा विभाजित राज्यलाई अँजुलीमा उठाएर एउटा विशाल राष्ट्रको निर्माण गरे। तर, कहिल्यै कसैका मूर्ति नटुटाएका तिनै राष्ट्रनिर्माताका मूर्ति हामीले नयाँ नेपाल बनाउने नाममा तोडिदियौँ! जसरी अहिंसा र शान्तिको सन्देश दिने शाक्यमुनि बुद्ध स्वयं तक्षशीलामा हिंसाका सिकार बन्न पुगेका छन्। तर, मूर्ति तोडिँदैमा ज्ञान त मर्दैन नि, सायद चोटग्रस्त हुँदाहुँदै पनि बुद्ध मूर्तिहरूले यस्तै सन्देश दिइरहेका छन्।

 

प्रकाशित: १४ फाल्गुन २०७३ ०४:१६ शनिबार

जहाँ भेटिन्छन् चोटग्रस्त बुद्धहरू