अन्य

विधा अलमलको बिगबिगी

साहित्यमा विधागत लेखनमात्रै गर्ने कि विधाभञ्जन गर्ने भन्ने बहस चल्दै आएको भए पनि यसभित्रको अन्योल भने कायमै छ। गद्य–पद्य अथवा आख्यान–गैरआख्यान गरी छुट्याइएका साहित्यिक विधाभित्रका उपविधाहरू प्रचलनमा थुप्रै हुँदाहुँदै पनि कुनै विधा नै नछुट्टिएका कृति साहित्यिक बजारमा आउनेक्रम बढिरहेको छ। लेखक स्वयंले मेरो लेखन यो विधाभित्रको हो र यसको अध्ययनबाट पाठकलाई यस किसिमको लाभ पुग्न सक्ने मेरो विश्वास छ भनेर ढुक्कसाथ भन्न नसकेको अवस्थाको कृतिको अध्ययनबाट पाठकलाई के कति लाभ पुग्ला भन्ने बहस पनि पुस्तक प्रकाशनसँगै चलाउनुपर्ने हो। विशेषगरी निबन्ध, उपन्यास, कथा, संस्मरण, जीवनीजस्ता विधामा यो समस्या देखिँदै आएको छ।

पाठक विज्ञ त हुँदै हुन्, तर सबैको रूचि र क्षमता एकै किसिमको हुन्छ भन्ने हुँदैन। लेखकले आफूले त्यत्रो मेहनत गरेर लेखिसकेपछि मैले यो विधामा लेखेको हुँ, यसलाई पाठकले यही रूपमा बुझिदिनु होला भनेर हिम्मत गर्न सक्नुपर्छ। लेखकले भनिसकेपछि पाठकले त्यसअनुरूपको पाउन सकेन भने उसले प्रतिक्रिया जनाउने सीमित हक पाएकै हुन्छ, तर विधा नै छुट्याइदिनुपर्नेजस्तो गहन जिम्मेवारी पाठकलाई सुम्पिएर लेखक पन्छनु ठीक होइन।

पत्रकार विजयकुमारको विधा नै नछुट्टिएको कृति 'खुसी'ले अघिल्लो वर्षको नेपाली भाषाको चर्चित पुरस्कार 'मदन पुरस्कार' नै पायो। पाठकीय दृष्टिले हेर्दा वास्तवमा यो कृति कुन विधाको हो त भनेर छुट्याउन सकिने अवस्था छैन। 'देशका ठूलाबडा, नेता, उद्योगपतिहरूको भीडमा सबैभन्दा ठूलो र सबैले मानेको एकमात्र म नै हुँ र मैले जसलाई जे भने–गरे पनि कुनै खतबात लाग्दैन' भनेजस्तो गरी सबैलाई खुइल्याएर लेखेको 'मपाईं' विधाको उनको लेखनमा अन्य पत्रकारको त झन् कुनै मूल्यबोध नै गरिएको छैन।  साहित्यकार जगदीश घिमिरेले आफ्नो पुस्तक 'अन्तर्मनको यात्रा'लाई आत्मलाप भनिदिएर संस्मरणको अर्को पाटो देखाएका थिए। तर, चलनचल्तीमा आएर स्थापित नभइसकेको र अर्काको नक्कलजस्तो देखिने भएकोले पनि हुन सक्छ, अन्य लेखकले खुलेर आत्मलाप भन्न सकिरहेका छैनन्। यस्तो समस्या देखिएका थुप्रै पुस्तक नेपाली बजारमा आएका छन्। अझ कतिपय लेखकले त आफ्नो पुस्तकलाई जबरजस्ती विधाको खोल ओडाएर पाठकलाई नाक खुम्च्याउने अवसर दिएका छन्। निबन्ध र संस्मरणलाई कथा भनिदिने, कथालाई निबन्ध भनिदिने, जीवनीलाई उपन्यास नै भनिदिने लेखकीय हेलचेक्र्याइँले केही आश गरिएका लेखकबाटै पाठक ठगिएका र भड्किएका उदारहण पनि प्रशस्त छन्।

कविशिरोमणि लेखनाथ पौड्यालले आफ्नो कृति 'तरुण तपसी'लाई महाकाव्य नभनेर 'नव्यकाव्य' भनिदिएथे, तर समालोचकहरूले भने यस कृतिलाई महाकाव्यकै कोटीमा राखिदिएका छन्। उनले त्यसो भन्नुको पछाडि आफूले सोचेअनुसार तयार पार्न नसकेको कारणले हुन सक्छ।  यसमा केचाहिँ स्पष्ट छ भने, लेखनाथले विधामा अलमलिएर यसो भनेका चाहिँ पक्कै पनि थिएनन्।

जब आफूले लेखेको कुरामा स्वयं लेखक जिम्मेवार छैन र विधामा स्पष्ट हुन सक्दैन भने उसको लेखनबाट पाठकले कस्तो स्वाद पाउला? 'मैले यस विषयमा केन्द्रित रहेर आफ्नो लेखनीलाई पाठकसम्म पुर्‍याउन चाहेको हुँ' भनेर पाठकलाई आफ्नो कृतिभित्र पस्ने बाटो लेखक स्वयंले देखाउनैपर्छ।

विधा अलमलको सन्दर्भको उदाहरणको रूपमा साहित्यकार एवं पत्रकार हरि अधिकारीको २०६९ सालमा प्रकाशित 'साठी वर्षपछि' नामक कृतिलाई पनि लिन सकिन्छ।  यस कृतिमा उनी राम्रैसँग अलमलिएका छन् र पाठकलाई पर्दाभित्र राख्न खोजेका छन्। यस कृतिको लेखकीय मन्तव्यमा उनले भनेका छन्– 'यस पुस्तकमा संगृहित गद्य–रचनाहरूलाई साहित्यमा प्रचलित शास्त्रीय नियमका नजरबाट हेरेर कुन विधाअन्तर्गत राख्न सकिन्छ भन्ने विषयलाई लिएर म स्वयं नै त्यति प्रष्ट हुन सकेको छैन। यी रचनामा मूलतः मेेरो जीवनका अनेकन् अनुभव र अनुभूतिका सम्झनाहरू समेटिएकाले यिनलाई संस्मरणात्मक निबन्धको कोटीमा राख्न सजिलो हुन्छजस्तो चाहिँ मलाई लागेको छ।' अर्कोतिर फेरि उनले नै 'साठी वर्षपछि' शीर्षक राखेर कोष्टकमा संस्मरण र निबन्ध पनि भनेका छन्।  उनीजत्तिको लेखक त अलमलमा परेका छन् भने अन्य रहरले लेखनमा आएकालाई के भन्न मिल्छ र!

एउटा लेखकको मूलधर्म भनेको आफ्नो लेखनमा आफू स्वयं स्पष्ट भएर ज्ञान, सीप, बुद्धि र विवेक आमपाठकसमक्ष बाँड्नु हो। मनका भावहरू लेखिदिएको हुँ, बाँकी सबै पाठकको जिम्मामा छोडेको छु भनेर लेखक आफ्नो जिम्मेवारीबाट भाग्नु हुन्छ कि हुँदैन? यो बहस अब घनीभूतरूपमा चलाउनुपर्ने देखिन्छ।

यहाँ मूलरूपमा उठाउन लागिएको प्रसंग लेखक हरि अधिकारीको नवीनतम् कृति 'एक्लो नायक'को हो। यस पुस्तकबाट साहित्यिक लेखनमा केही गम्भीर प्रश्न उब्जिएका छन्। उनी सामान्य लेखकमात्रै हुँदा हुन् त उनको लेखनीलाई लिएर उति चर्चा–परिचर्चा आवश्यक थिएन, तर विधागत लेखनमा विशेषगरी कविता र कथाका क्षेत्रमा अब्बल मानिएका र अरुका सिर्जनामा कडा टिप्पणीकारको छवि स्थापित गरेका अधिकारीको आफ्नै लेखनमा चाहिँ किन अलमल त भन्ने पाठकीय चासो आउनु स्वाभाविक छ।

'एक्लो नायक'लाई उनले उपन्यासको पगरी दिएका छन् र पनि फेरि स्वयंले नै लेखकीयमा भनेका छन्– 'एक्लो नायक विशुद्ध आख्यान होइन, न त यो विशुद्ध ऐतिहासिक वृत्तान्त नै हो। यसमा मैले समसामयिक नेपालको इतिहासलाई आख्यानात्मक ढंगले प्रस्तुत गर्ने जमर्को गरेको छु। ...त्यसैले यो जीवनीपरक आख्यानको कृतिलाई नेपाली कांग्रेसको इतिहास, नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास र समग्रमा आधुनिक नेपालको इतिहास पनि भन्न सकिन्छ भन्ने मेरो विचार छ।'

 गम्भीर प्रश्न यहीँनिर उठ्छ– के इतिहास लेखन र उपन्यास लेखन एकै साँचोका दुई उपज हुन् त? भनिन्छ, इतिहास भनेको तथ्य, तिथिमितिसहितको घटनाको दस्तावेज हो, भलै यो बलिया र विजयीको पक्षपोषण गरिएर लेखिएको किन नहोस्।  तर, उपन्यास? यो त आख्यानात्मक लेखन हो र पूरै काल्पनिक मात्रै पनि हुन सक्छ। उपन्यासमा घटना, पात्र, तिथिमिति, परिवेश सही नै हुनुपर्छ भन्ने छैन, तर पनि क्रम र लेखन सिलसिला भने मिल्नैपर्छ। अधिकारीको यस कृतिमा थुप्रै अमिल्दा पक्ष र सन्दर्भ पाइन्छन्। जम्मा ३१ अध्यायमा विस्तारित उपन्यासका कुनै खण्ड त एउटै प्रसंगमा आउँदाआउँदै अनायासै खण्ड विभाजनमा परेका छन्। यस कृतिको अध्ययनपश्चात् जोसुकै सचेत पाठकले यसलाई 'नेपाली कांग्रेसको अपूरो इतिहास' मान्नेछन्। कांग्रेसको जन्म सन्दर्भदेखि लिएर नेपालको राजनीतिमा यस पार्टीले खेलेको भूमिका, राजनीतिमा आएका उतारचढाव, राजनीतिक घटनाक्रमलाई नेपाली कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराईको निधनसम्मको समयका घटनाक्रमलाई जोडेका छन्। लेखनको उठान नै भट्टराईको निधन भएको मिति २०६७ फागुन २० बाट गरेका छन्। प्रारम्भिक खण्डहट्टमा भट्टराईको सेवामा स्वैच्छिकरूपमा रहेकी अमिता कपालीको प्रस्तुतिको शैलीमा लेखेर उनले पाठकलाई थप अर्को गुमराहमा पारेका छन्। इतिहासलाई उपन्यासको शैलीमा ढाल्ने दुस्प्रयासस्वरूप यसो गरिएको हुनसक्छ, तर पछि गएर स्वयं भट्टराईकै शैलीमा पनि पुनः लेखेका छन्।

नेपालको राजनीतिमा भट्टराई एक कुशल नेता मानिन्छन्। उनको लगानी र योगदान नेपाली कांग्रेस पार्टीमा उच्च छ, तर उनको उच्च मूल्यांकन गर्नका लागि उत्तिकै योगदान भएका अन्य पात्रलाई खुइल्याउनुलाई लेखकको इमानदारी कदापि मान्न सकिँदैन। प्रस्तुत कृतिको विमोचनका क्रममा मन्तव्य व्यक्त गर्ने वक्ताद्वय– अर्जुननरसिंह केसी र लक्ष्मण घिमिरेले उपन्यासको नामकै सन्दर्भमा समेत आपत्ति जनाएका थिए। कुनै व्यक्ति नायक हुनका लागि अन्य थुप्रै व्यक्तिको भीडबाट उठेर नायकी देखाएको हुनुपर्छ। जब प्रतिस्पर्धा हुन्छ र सबैभन्दा अब्बल ठहरिएर नायक साबित हुन्छ भने त्यतिबेला अन्य व्यक्तिको भूमिका पनि उत्तिकै महŒवपूर्ण रहेको हुन्छ। यहाँ त झन् विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, सुवर्णशमशेरलगायतका अन्य थुप्रै नेताको भूमिका पनि उत्तिकै महŒवपूर्ण रहेको देखिन्छ। इतिहास जगजाहेर हुँदाहुँदै पनि बीपी कोइरालासमेतलाई निचो देखाउनु, गणेशमानलाई त्यागीमै सीमित पार्नु र गिरिजाप्रसादलाई हरप्रयत्नले खुइल्याउनु लेखकको एकमात्र उद्देश्य कृतिमा देखिन्छ। बीपीको मेलमिलापको नीतिलाई समर्थन नगर्नु पार्टीमा भट्टराईको एउटा विद्रोह थियो। यसमा कुनै प्रकारको नायकीपन झल्किँदैन। पार्टीलाई टुक्राउन मलजल पुर्‍याइदिने तर नेनृत्व लिनचाहिँ अस्वीकार गर्ने पनि नायकीपन होइन। प्रतिस्पर्धामा उत्रिने तर हारेपछि अरुलाई दोष थोपरेर उम्किनुमा पनि नायकीपन देखिँदैन। गणेशमानले भट्टराईका बारेमा 'गंगा आए गंगादास, जमुना आए जमुनादास' भनेका थिए। यसलाई मनन् गर्ने हो भने नायकीपनको विरुद्धमा विश्लेषण हुन सक्छ। भट्टराई व्यक्तिगतरूपमा निस्वार्थी नेता हुन्। यसमा कुनै दुविधा छैन, तर उनी एक्लो कदापि होइनन्। देशको सबैभन्दा ठूलो पार्टीको सभापति, देशको मन्त्रिमण्डलको नेतृत्वकर्ता प्रधानमन्त्री, अनेक प्रतिस्पर्धामा हारजित व्यहोरिरहेको व्यक्ति कसरी एक्लो

 हुन्छ? लेखकले एक्लो भनेर लेखी त दिए तर पुष्टिका आधारहरू दिन सकेका छैनन्। यस कारण पनि उनी एक्ला हुँदै होइनन्, यसमा लेखक मूल सन्दर्भमै चुकेका देखिन्छन्।

लेखकले आफ्नो लेखकीयको लेखनक्रममा आफूले सहयोग लिएका केही लेखकको नाम लिएका छन्। यी व्यक्तिले नेपाली कांग्रेसको इतिहास लेखेका छन्– डा. राजेश गौतम, डा. सूर्यमणि अधिकारी, पुरुषोत्तम बस्नेत, माथवरसिंह बस्नेत, भोला चटर्जी, प्रदीप गिरि, बालचन्द्र शर्मा, गृष्मबहादुर देवकोटा, श्रीभद्र शर्मालगायतका थुप्रै नाम लिएर आफ्नो लेखनीलाई आधिकारिकता दिलाउने प्रयास गरेका छन्। उल्लिखित विद्वान्हरूका कृतिलाई अन्तिममा सन्दर्भसूचीको रूपमा राखिदिएका भए ती कृतिको सम्मान पनि हुने थियो।

प्रस्तुत कृतिमा सम्पादन हुन छुटेका थुप्रै शब्द र वाक्यांश पनि छन्। केही अर्थ नै नलाग्ने शव्दसमेत भेटिन्छन्, जस्तै– रक्ताभ (हुनुपर्ने रक्तिम?), आनन्दाभूति– हुनुपर्ने आनन्दानुभूति?), भनक– हुनुपर्ने छनक?)। यस्ता अस्पष्ट शव्दहरू थुप्रै पाइन्छन् भने अब केही यस्तै अस्पष्ट वाक्यांश पनि हेरौँ–

–ड्युटीमा खटिएका र गाडी आएको देख्नासाथ खबर गरिहाल्नु भन्ने आदेश पाएका दुई सिपाहीको चहलपहल थियो। (दुई जनाको मात्रै ड्युटीमा चहलपहल कसरी हुन्छ? चहलपहल भनेको त खुसीको कामकाज हो, मनोरञ्जनको छटपटी हो र भीडभाड बुझाउने शब्द हो। )

–दुवै विशिष्ट राजबन्दीहरू बीपीको कोठामा भेला भएका थिए। (दुई जना एकै ठाउँमा बस्नुले भेला शब्दलाई कुन हदसम्म प्रयुक्त गराउला?)

–नियतिले भट्टराई र सिंहलाई एउटै जेलमा आठ लामा वर्षहरु बिताउनुपर्ने दुर्भाग्यको रेखासमेत कोरिदिएको थियो। (यो वाक्य गठनको अस्पष्टतामा केही भन्नै नपर्ने छ।)

–प्रौढा अध्यापिका, ३५ वर्षकी सुश्री। ( ३५ वर्षकीलाई प्रौढा भनिहाल्न मिल्छ कि मिल्दैन?)

–कुनै पनि कृति प्रकाशित गर्दा सामान्यतः प्रकाशनको वर्ष–समयकाल लेखिन्छ नै तर लगभग ४ सय पृष्ठको एक्लो नायकमा कतै पनि प्रकाशन वर्ष उल्लेख गरिएको छैन।

भट्टराई एक्ला थिए, अविवाहित थिए तर पनि म कुमारचाहिँ हैन है भन्थे। गाई नपाली नै गाईको दूध खान पाइन्छ भने गाई पाल्ने झञ्झट को गरोस् भन्थे। सांसद भएर रक्सी खानलाई पैसा जुटेको छ भन्थे। आफूलाई मन नपरेको पत्रकार होस् वा नेता भित्ता पुर्‍याएर गाली गर्थे। उस्तै पर्दा धोती फर्काएर देखाइदिन्थे पनि। राजनीतिक पीडित सहयोग कोषको रकम आफूखुसी आसेपासेलाई बाँडेको आरोप पनि लागेकै हो। यतातिर लेखक अधिकारीले आँखा चिम्लिएका छन्। भट्टराई केन्द्रित अधिकारीको यो कृतिले नायक पात्र  र उनी स्वयंलाई के कति उठाउला? उठिसकेको छविलाई अझ होच्याउने काम पो गर्ने हो कि?

यस्तै, २०७३ मा अर्का चर्चित लेखक बुद्धिनारायण श्रेष्ठको कृति प्रकाशित भएको छ– जङ्गे–बुद्धे। सीमाविद्का रूपमा ख्याति कमाएका र 'नेपालको सिमाना' नामक कृतिमा मदन पुरस्कारसमेत पाएका श्रेष्ठको करिब पाँच सय पृष्ठको यो कृति कुन विधा केन्द्रित हो भन्ने छुट्याउन सकिँदैन। प्रा.डा. खेम कोइराला बन्धुको ५० पृष्ठ लामो भूमिकाको अलमल एकातिर छ भने अर्कोतिर कृतिलाई कुन विधामा राख्ने त भन्ने अन्योल त छँदैछ। आफ्नो भनाइमा लेखकले लेखेका छन्– 'पुस्तकमा सीमा साहित्यका कुरा परेका छन् भने जीवन वृत्तान्त(बायोग्राफी) र आत्मवृत्तान्त(अटो–बायोग्राफी) जोडिएका छन्। यसमा अलिकति दर्शनशास्त्रका कुरा पनि गाँसिएका छन्। यसैले यो पुस्तक 'बाउन्ड्रिज–बोर्डर लिटरेचर–बायोग्राफी–अटोबायोग्राफी–फिलोसफी'सँग सम्बन्धित रहेको छ।' तर, पुस्तकका लेखक बुद्धिनारायण भए पनि उनी स्वयं खेम कोइराला बन्धु बनेर आफ्ना कुरा लेखेका छन्। बुद्धेले यसो गरेछ भनेर अर्काको लवजमा आफ्ना कुरा बकेको कत्ति पनि मिल्दो छैन। आफूले आफ्नो भोगाइ, अनुभव र जीवनको लय लेख्दा अर्कोको भाकामा ढाल्नुपर्ने बाध्यता किन पर्छ? यसलाई पाठकले कसरी पढ्ने र कुन लयमा बु‰ने?

त्यस्तै, वरिष्ठ पत्रकार हरिहर विरहीको भर्खरै प्रकाशित पुस्तक 'आगो निभेको छैन' (२०७३) उनको पहिलो कृति हो र यसलाई कुन विधाअन्तर्गत राख्दा उपयुक्त हुन्छ भन्नेमा उनी स्पष्ट हुन सकेका छैनन्। आफ्नो भनाइमा उनले लेखेका छन्–...यो के हो? आत्मकथा नै हो कि? सम्झनाहरूको बिस्कुनमात्र हो कि? पाठक र विज्ञहरू जे भन्नु हुन्छ, त्यही हो यो। जे भए पनि, यसलाई आत्मकथा भन्ने हो भनेचाहिँ स्पष्ट गरिदिउँ यो पूर्ण छैन।

पाठक विज्ञ त हुँदै हुन्, तर सबैको रूचि र क्षमता एकै किसिमको हुन्छ भन्ने हुँदैन। लेखकले आफूले त्यत्रो मेहनत गरेर लेखिसकेपछि मैले यो विधामा लेखेको हुँ, यसलाई पाठकले यही रूपमा बुझिदिनु होला भनेर हिम्मत गर्न सक्नुपर्छ। लेखकले भनिसकेपछि पाठकले त्यसअनुरूपको पाउन सकेन भने उसले प्रतिक्रिया जनाउने सीमित हक पाएकै हुन्छ, तर विधा नै छुट्याइदिनुपर्नेजस्तो गहन जिम्मेवारी पाठकलाई सुम्पिएर लेखक पन्छनु ठीक होइन।

यहाँ केही चर्चित लेखकका पुस्तकलाई उदाहरणका रूपमा लिइएको हो। विधा अलमलका यस्ता कृतिको संख्या धेरै छ। पाठकले लेखक पढ्ने कि लेखकको लेखनी? लेखक ठूलो कि उसको लेखनी ठूलो? लेखकले आफ्नो मनलाग्दी गरेर पाठकलाई ठगी गर्न हुन्छ कि हँुदैन? यस्ता कुरामा पनि अब बहस हुनु आवश्यक छ।

प्रकाशित: ७ फाल्गुन २०७३ ०६:५२ शनिबार

विधा अलमलको बिगबिगी