अन्य

संविधान संशोधन विधेयक पारित नभए पनि चुनावको मिति तोकिन्छ: प्रधानमन्त्री

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित हुन अफ्ठ्यारो परेको खण्डमा पनि मधेसी मोर्चासँग सहमति गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताएका छन्। बुधबार भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले भने ‘मधेसी मोर्चाले सहमति भएमा मात्रै गते तोक्दा ठिक हुन्छ भनेका कारण अवधि तोकिएको छ। मोर्चासँग समझदारी हुँना साथ गते कुनै पनि बेला तोकिन्छ।’

                संविधान संशोधन विधेयक पारित गराउने नै पहिलो कोशिस भएको र पारित हुन अफ्ठ्यारो भएमा केही दिनभित्रै समझदारी बनाउने अर्को कोशिस पनि भएको प्रधानमन्त्री दाहालले बताए। ‘निर्वाचनको तयारी अगाडी बढेको छ । सहमतिपछि मिति पनि तोकिन्छ । अब चुनाव हुन्न भनेर कसैले भ्रम नछरौं । एमालेलाई पनि म यही आग्रह गर्छु’ उनले भने । बैशाख जेठमा निर्वाचन गराउन आयोगलाई भनेका कारण तयारी अगाढी बढेको उनले बताए।

 प्रधानमन्त्री दाहाल आज भरतपुर र यस आसपासका क्षेत्रमा आयोजना हुने सिलान्यासहितका चारवटा कार्यक्रममा सहभागि हुने छन्।

                प्रधानमन्त्री दाहालले भरतपुरमा बन्न लागेको प्रदर्शनी केन्द्रको सिलान्यास गर्ने छन्। त्यस्तै घर बनाउने निर्माण व्यवसायीहरुको जिल्ला स्तरीय समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक यमबहादुर परियारका अनुसार प्रधानमन्त्री दाहाल मंगलपुरमा आयोजना हुने अरु थप दुईवटा कार्यक्रममा सरिक भएर आजै काठमाडौं फर्कने छन्।

                मंगलपुरमा सहिद पार्कको सिलान्यास र सुकुम्वासी परिवारलाई लालपुर्जा वितरणको कार्यक्रम आयोजना भएको संयोजक परियारले जानकारी दिए । यी सार्वजनिक कार्यक्रमका अलवा पार्टीको आन्तरिक भेलालाई पनि सम्बोधन गर्ने नियमति कार्यक्रम यस पटक पनि कायमै छ । प्रधानमन्त्री दाहाल यसअघि पुस २५ गते मात्रै चितवन महोत्सवको उद्घाटन गर्न आएका थिए।

                त्यसअघि उनी आदिवासी जनजाति महासंघको केन्द्रीय महाधिवेशन उद्घाटन गर्न आएका थिए। प्रधानमन्त्री दाहाल पहिलो पटक चितवन आउँदा जिल्ला प्रशासन कार्यालयको नव निर्मित भवन उद्घाटन गरेका थिए । चितवन दाहालको गृह जिल्लासमेत हो । दोस्रो पटक प्रधानमन्त्री भएपछि उद्घाटन र सिलान्यासका कार्यक्रममा बढी समय नखर्चने सार्वजनिक अभिव्यक्ति दिए पनि उनले त्यस्ता कार्यक्रमको मोह त्याग्न सकेका छैनन्।

 

 

प्रकाशित: २६ माघ २०७३ ०६:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App