अन्य

१६ का सोह्र

सन्को २०१६ लाई बिदा गर्दैरहँदा संसारभरका पुस्तकप्रेमीले भने वर्षभरि प्रकाशन भएका वा पढेका पुस्तकमध्ये उम्दा पुस्तकको सूची तयार पारिरहेका छन्। सन् २०१६ भरि कैयाँ पुस्तकप्रेमीले कम्तीमा १२ पुस्तक पढिसिध्याउने ‘कसम’ खाए होलान्। कतिपयले कसम पूरा गरे होलान् कतिपयका निम्ति गाह्रो पनि पर्‍यो होला! संसारभरिका पढन्ते, पुस्तक विक्रेता र प्रकाशकहरूले भने आफूले निकालेका मध्ये सबैभन्दा बढी बिक्री भएका पुस्तकको सूची बनाइसकेका छन्। यस्तोमा विभिन्न वेबसाइट र पत्रिकाहरूको अध्ययनपछि टिम अक्षरले पनि एउटा सूची बनाएको छ– उत्कृष्ट पुस्तकहरूको सूची।

भारतमा २०१६ बढी पुस्तक सार्वजनिक हुने वर्षममा परेको छ। यस पटक अमिताभ घोष, अरबिन्द अडिगाजस्ता लेखकका उपन्यास बजारमा आए। अनलाइन कम्पनी फ्िलपकार्टले निकालेको सूचीअनुसार भारतभर रूचाइएका पुस्तक यस प्रकारका छन्।

१. वन इन्डियन गर्ल (चेतन भगत)ः उपन्यास बजारमा आउनुअघि नै यसले चर्चा कमाइसकेको थियो। यसले ह्यारी पोर्टर एन्ड कर्स्ड चाइल्डको बिक्रीलाई समेत उछिनेको छ। हेर्दाकी उति राम्री नभएकी युवती राधिका मेहताको कोणबाट लेखिएको ‘वन इन्डियन गर्ल’लाई नेपालमा पनि रूचाइएको छ, विशेषगरी युवा पाठकले।

२. ह्यारी पोर्टर एन्ड द कर्स्ड चाइल्ड (जेके रोलिङ)ः दुष्ट जादुगर भेल्डेमर्टलाई परास्त गरिसकेपछिको २० वर्षपछिको घटनालाई लिएर लेखिएको यो पुस्तक उपन्यास भने होइन। जेके रोलिङको विषयलाई अन्य दुई लेखक ज्याक थोर्न र जोन टिफनीले मिलेर लेखेका हुन्। यो फिल्मको स्त्रि्कनप्लेका रूपमा बजारमा आएको छ। पछि यसलाई नाटकका रूपमा न्युयोर्क र लन्डनमा प्रदर्शनसमेत गरिएको थियो। यसलाई रोलिङका ह्यारी पोर्टर उपन्यासजत्तिकै रूचाइएको छ। यसमा ह्यारीका सन्तानलाई होगवार्ट स्कुल अफ बिचक्राफ्टमा जादु सिकाउन पठाइएको घटनावरपर नाटक केन्द्रित छ।

३.  एभ्री वन ह्याज अ स्टोरी (सावी शर्मा)ः सावी शर्माको पहिलो उपन्यास ‘एभ्री वन ह्याज अ स्टोरी’मा चार मुख्य पात्रको कथा अघि बढाइएको छ। मीरा नामक लेखिका कथा खोज्दै विभिन्न व्यक्तिसँग कुरा गर्दै अघि बढ्ने क्रममा विभान र किबरजस्ता पात्र भेट्छिन्। निशा र मीराको कथा पनि सँगै अघि बढ्छ। आलोचकहरूले उतिसारो नरूचाएको यो उपन्यासलाई पाठकले भने यसको तीव्र रफ्तारको कथावाचनलाई मन पराए।

४. आवर इम्पोसिबल लभ (दुर्जोय दत्त)ः केही समययता लेखक दुर्जोयले रविन्दर सिंह र चेतन भगतलाई पछ्याउँदै उनीहरूकै शैलीका उपन्यास बजारमा ल्याइरहेका छन्। दानिस र आयशा, एकअर्कामा बिल्कुलै नमिल्ने साथी कसरी पछि सँगै बस्न थाल्छन् भन्ने कथा यसमा बुनिएको छ।

५. देवलोक (देवदत्त पटनायक)ः दन्त्यकथाका ज्ञाताका रूपमा परिचय बनाएका लेखक देवदत्त पटनायकको पछिल्लो पुस्तक देवलोक (देउताहरूको बासस्थान) मा विष्णु, शिव र अन्य देवीका मन्दिर भए पनि ब्रह्मा र इन्द्रका किन मन्दिर छैनन्? असुर, राक्षस, यक्ष र पिशाचबीचको भिन्नता के छ? पाण्डवहरूले किन स्वर्गमा बस्न पाएनन्? तिनीहरू किन नरक पुगेजस्ता रोचक प्रश्नका उत्तर उनले यस पुस्तकमा दिन खोजेका छन्।

६. सि स्वाइप्ड राइट इन्टु माइ हर्ट (सुदीप नागरकर)ः भारतीय युवाको रोमान्टिक मनोभावनालाई यस पुस्तकमा उनिएको छ। यसमा एउटा कलेज ड्रामा, युवाप्रेम, इर्ष्या, मित्रता र अरुबाट परित्यक्त भावना राम्रोसँग प्रस्तुत गरिएको छ।

७. दिस लभ द्याट फिल्स राइट (रविन्दर सिंह)ः ‘आई टु ह्याड अ लभ स्टोरी’बाट उपन्यास लेखनमा छिरेका रविन्दर सिंहले निरन्तर आफ्नो पोल्टाका पाठकलाई पकडमा राखिरहेका छन्। बीचमा उनले आफूजस्तै युवापुस्ताका नयाँ लेखकहरूले लेखेका छोटा कथाहरू ‘लभ स्टोरिज द्याट टच्ड माई हर्ट’ सम्पादन गरेका थिए। उनको यो उपन्यासलाई पनि पाठकले रूचाएका छन्।

८. द सियालकोट सागा (अश्विन सांघ्वी)ः अरविन्द र अरबाज नामक दुई मन मिल्ने साथीको कथा यस उपन्यासमा बुनिएको छ। हत्या र दुष्ट्याइँका घुर्मौला कोणले यसलाई एउटा रोचक उपन्यास बनाएको छ।

९. कोमेथ द आवर (जेफ्रे आर्चर)ः बेलायती लेखक जेफ्रे आर्चरको यो उपन्यासमा एम्मा र ह्यारी क्लिफ्टनको संघर्ष देखाइएको छ।

१०. फर्गेट मि नट, स्ट्रेन्जर (नोभोनिल चक्रवर्ती)ः नोभोनिलको ‘स्ट्रेन्जर’ टि्रयोलजीअन्तर्गतको यो रोमान्स उपन्यासको अन्तिम भाग हो। मुम्बई निवासी रिभानाले लामो समयदेखि भोगिरहेको पीडाको यस उपन्यासमा उत्तर पाउँछे।

११. ह्वेन ब्रिद विकम्स एयर (पल कलानिथि)ः अन्तर्राष्ट्रिय रूपमा बेस्ट सेलर भइसकेको लेखक पलले आफ्नो जीवनको अन्त्य निकट भयो भन्ने महसुस गरेपछि लेखेको आत्मकथा हो यो। यसमा उनले जगदीश घिमिरेको आत्मसंस्मरणमा जस्तै आफ्ना निजी भोगाइ, माइलोमाजस्तो क्यान्सर लागेपछि बद्लिएको जीवनबारेको सोच समेटेका छन्। पुस्तक बजारमा आउनुअघि देहान्त भएका पलको यो कथा संसारभर रूचाइयो।

१२. हिडन ओराकलः द ट्रायल्स अफ एपोलो (रिक रिओर्डन)ः जसरी नेपालमा महाभारतका कथालाई उपन्यास बनाउने चलन सुरु भएको छ, प्राचीन दन्त्यकथालाई पश्चिमाहरूले धेरै पटक दोहन गरिसकेका छन्। पछिल्लो कडीमा ‘द हिडन ओराकलः द ट्रायल्स अफ अपोलो’को सफलताले सर्वसाधारणमा मिथप्रतिको आकर्षण प्रमाणित गर्छ। यसमा मानव, देवता र अर्धदेउताबीचको द्वन्द्वलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ। देवताहरूबीच द्वन्द्व भयो र त्यसलाई मारेर बदला लिनुपर्‍यो भने के गर्ने भन्ने प्रश्न वरिपरि यो उपन्यास घुमेको छ।

१३. द गर्ल अफ माई ड्रिम्स (दुर्जोय दत्त)ः २०१६ मा सबैभन्दा बढी बिक्री भएका पुस्तकमा १३ औँ नम्बरमा दुर्जोय दत्तको यो उपन्यास पनि परेको छ। यो सूचीमा पर्ने उनी पहिलो भाग्यमानी पनि हुन्। गाडी दुर्घटनापछि कोमामा रहेको दमनले ब्युँतिएपछि आफ्नी प्रेमिकाको देहान्त भएको चाल पाउँछ। तर, आफ्नी प्रेमिकाको नाउँ, प्रेयसीसँगका अघिल्ला गतिविधि सबै बिर्सिन्छ।

१४. डबल डाउनः डायरी अफ विम्पी किड (जेफ किने)ः डायरी अफ विम्पी किडबाट एकाएक चर्चामा आएका जेफको पछिल्लो रोचक उपन्यास डबल डाउनमा ग्रेग हेफ्नीको उही पुरानो रोनाधोना, असफलताउन्मुख जीवनका कथा नै सर्वसाधारणलाई लोभ्याउन सफल भएको छ। यसमा प्रयुक्त रेखाचित्रमार्फत् व्यक्त गरिएको अमेरिकी हाइस्कुलको एउटा बेबकुफ हेफ्नीको कथा फेरि पनि रूचाइएको छ। जेफको विम्पी किडमाथि एघारौँ पुस्तक हो।

१५. लाइफ मन्त्र (सुब्रत रोय)ः सहारा कम्पनीमा अर्बौं रुपैयाँ घोटाला गरेको आरोपमा जेल जीवन बिताइरहेका सुब्रत रोयले लेखेको पुस्तक लाइफ मन्त्रलाई पनि खुबै रूचाइएको छ। जीवनमा आन्तरिक शान्ति र खुसी कसरी हासिल हुन सक्छ भन्ने विषयमा उनले आफ्नो जीवनको उदाहरण पुस्तकमा दिएका छन्।

१६. रेखाः द अनटोल्ड स्टोरी

टीभी पत्रकार तथा लेखक यासेर उस्मानले यसअघि ‘राजेश खन्नाः द अनटोल्ड स्टोरी अफ इन्डियाज् फस्ट सुपरस्टार’ लेखेर चर्चा बटुलेका थिए। यस पटक चर्चित अभिनेत्री रेखाका बारेमा पुस्तक लेखेर सबैको ध्यान खिच्न सफल भए। १४ वर्षको उमेरबाट फिल्मी दुनियाँमा छिरेकी रेखा बलिउडमा ग्ल्यामरस अभिनेत्रीमध्येमा गनिन पुगेको कथालाई लेखकले पस्किएका छन्।

अन्य ‘नोटेबल’ किताब

प्राइभेट लाइफ अफ मिसेज शर्मा (तरिका कपुर)ः तरिका कपुरद्वारा लिखित अघिल्लो उपन्यास ‘ओभर–विन्टर’ले म्यान एसियन लिटररी प्राइजको लामो सूचीमा नाम चम्काएको थियो। त्यसयता उनको नाम बिकाउ लेखिकामध्येमा गनिएकै हो। यस पटकको उपन्यासमा परम्परा र आधुनिकताबीचको चर्को संघर्षलाई आधार बनाएर ‘द प्राइभेट लाइफ अफ मिसेज शर्मा’ बजारमा आएलगत्तै चर्चा बटुलिसकेको थियो। उपन्यासले दिल्ली निवासी रेनुका शर्माको जीवनकथा भन्छ, जहाँ उनी एउटी घरेलु स्त्री, कर्तव्यले ओतप्रोत पत्नी, आफ्ना सन्तानका लागि मरिमेट्ने आमा र सासु–ससुराका लागि सेवासुश्रुसामा मग्न बुहारीको भूमिकासँगै कसरी उनी यसको विपरीत जीवन बाँचिरहेकी छन् भन्ने बताउँछ।

सेलेक्सन डे (अरविन्द अडिगा)ः अरविन्द अडिगाको नयाँ उपन्यास धेरैका लागि प्रतीक्षाको विषय बनेको थियो। उनको पहिलो उपन्यास ‘ह्वाइट टाइगर’ले नै सन् २००८ मा म्यान बुकर पुरस्कार जितेर उपन्यास र उपन्यासकार दुवैलाई चर्चाको शिखरमा पुर्‍याएको थियो। क्रिकेटमा आधारित नयाँ उपन्यासले दुई युवाको कथा अघि बढाउँदै सामाजिक र नैतिक टिप्पणी गरेको छ।

फर्गटन अफेयर (कञ्चना बनर्जी)ः कञ्चना बनर्जीको प्रथम उपन्यास ‘अ फर्गटन अफेयर’मा सागरिक मेहताले नौ वर्षे वैवाहिक जीवनलाई छाडेर एकल जीवन रोज्ने निर्णय गरेकै दिन दर्दनाक दुर्घटनामा परेर कोमामा पुगेको कथा बुनिएको छ। कोमामा छ महिना बिताएपछि ब्युँझदा उनलाई विगतका कुनै स्मरण नभएपछि उनका पति रिषभले गुडगावँमा एक्लै छाडिदिन्छन्।

क्लाइमेट चेन्ज एन्ड द अनथिंकेबल (अमिताभ घोष)ः उपन्यासकार अमिताभ घोषको पहिलो ननफिक्सन पर्यावरणीय परिवर्तनले ल्याएको परिवर्तनको अकल्पनीय हिंसाका बारेमा रहेको छ। उनले यसको गाम्भीर्य नबुझिएकाले वातावरणीय विनाश रोक्न संसार अक्षम भएको टिप्पणी गरेका छन्।

इट्स अल इन द प्लानेट्स (प्रीति सेनोय)ः प्रीति सेनोयको नवीनतम उपन्यासले २७ वर्षे अंकित उनको नजिककी साथी सुबु र निधिका बारेमा बताउँछ। सम्भावना, भाग्य र नियतिको कथाले ओतप्रोत यस उपन्यासले पाठकलाई बाँधिराख्छ।

बेलायती पाठक

‘तपाईंसँग कस्ता पुस्तक छन् देखाउनुस्, म तपाईंको चरित्र देखाइदिन्छु,’ यस्ता कुरा हिजोआज फेसबुकमा टिप्पणीका रूपमा पढ्न पाइन्छ। हिजोआज अनलाइनमार्फत् पुस्तक खरिद–बिक्री ह्वात्तै बढेका कारण पुस्तक किन्ने ठाउँहरू अमेजन र इबेले तपाईंको मनशाय बु‰न थालेका छन्। जस्तोः बालबालिका कसरी हुर्काउने भन्ने किताब किन्न थाल्नुभयो भने कम्प्युटरले बुझिसक्छ, तपाईं बच्चा जन्माउने उपक्रममा हुनुहुन्छ या त बच्चा हुर्काउने। त्यस्तै, यात्रासम्बन्धी कुनै पुस्तक उठाउनु भयो भने तपाईं भ्रमणमा निस्कन लाग्नुभयो भन्ने बु‰छ। तर, वर्षभरिमा सबैभन्दा बढी के पढियो भन्ने सूचीले भने को र के लोकप्रिय रहेछ भन्ने बु‰न सजिलो हुन्छ।

बेलायती पाठकमाझ लोकप्रिय भएका पुस्तकहरूको सूची हालै अमेजनले जारी गरेको छ। अमेजनका वरिष्ठ पुस्तक सम्पादक क्रिस सेलुपले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस पटकको बढी बिक्री भएका पुस्तकको सूची हेर्दा सर्वसाधारणलाई साहित्यिक उपन्यासदेखि थि्रलर र संस्मरणले मोहित बनाएको देखिन्छ।’

बेलायतमा जेके रोलिङको ह्यारी पोर्टर शृंखलाको जादु अझै कायम छ। यो पुस्तक त बजारमा आउनुअघि नै जुन संख्यामा माग आएको थियो, त्यसले यसअघिका सबै ‘प्रिअर्डर’ कीर्तिमान भंग गरेको अमेजनको भनाइ छ।

१. ह्यारी पोर्टर एन्ड द कर्स्ड चाइल्ड, भाग १ र २ः रोलिङको यो पुस्तकमा ह्यारी अब मिनिस्ट्री अफ म्याजिकमा कामदार छ। काम भनेपछि मरिहत्ते गर्ने हुनाले घरमा समय दिन नसकिरहेको र उसको छोरो एल्बस सेभेरस पोर्टरले आफ्नो बुवा ह्यारीले छाडेको महानतालाई धान्न धौधौ परेको कथा यसमा समावेश छ।

२. ह्वेन ब्रिद बिकम्स एयरः पल कलानिथीले ३६ वर्षभन्दा बढी न्युरोसर्जनका रूपमा काम गर्दै रहँदा सानी छोरी हुर्काउनु, पत्नीसँगको सम्बन्ध र मेडिकल क्षेत्रमा अर्थपूर्ण योगदान पुर्‍याउन सकेकामा सन्तुष्टिको झलक पुस्तकमा पढ्न पाइन्छ। यो पुस्तक अमेरिकामा पनि वर्षभरि नै सर्वाधिक बिक्रीको सूचीमा रहिरह्यो।

३. द ह्विस्लरः जोन ग्रिसमको यो थि्रलर उपन्यासले न्यायाधीशको दुविधाबारे बताएको छ। न्यायाधीश भन्नेबित्तिकै इमानदार र बुद्धिमान हुनुपर्छ, कसैप्रति पूर्वाग्रही हुनु हुँदैन। एक जना न्यायाधीशको सानो गल्तीले पूरै न्यायिक प्रणालीलाई नै बदनाम गर्न सक्छ। गल्ती गर्नेलाई दण्ड दिन्छन् भन्ने विश्वास हुन्छ, तर न्यायाधीशले कानुनलाई बंग्याएर घुस लिएपछिको अवस्था के हुन्छ भन्ने कथानक यो उपन्यासको मूल विषय हो।

४. द लास्ट माइलः डेभिड बाल्डाकीको यो उपन्यासले मेल्भिन मार्स नामक युवाको कथा भन्छ, जसले २० वर्षअघि आफ्ना अभिभावकको हत्या गरेको थियो। उसलाई मृत्युदण्ड दिनुअघिका अन्तिम घन्टा दिन काट्नुपर्दाको अवस्था उपन्यासले देखाएको छ। एमस डेकर नामक एफबीआईको एजेन्टले पछि मेल्भिनको कथाले अर्कै मोड लिएको चाल पाएपछि मेल्भिनलाई सहयोग गर्न तत्पर हुन्छ।

५. किलिङ द राइजिङ सनः हाउ अमेरिका भेन्क्विस्ड वर्ल्ड वार टु जापानः बिल ओरेलीले ‘किलिङ’ शृंखलामा केही वर्षयता इतिहासका प्रमुख घटनामा आधारित पुस्तक लेखिरहेका छन्। मार्टिन डुगार्टको सहयोगमा लेखिएको यो पुस्तकमा हिरोसिमा र नागासाकीमा खसालिएको अणु बमका बारेमा विस्तारमा बताइएको छ। यो ‘किलिङ’ शृंखलाको छैटौँ पुस्तक हो। यसअघि उनले ‘किलिङ लिंकन, किलिङ केन्नेडी, किलिङ जिसस, किलिङ प्याटन र किलिङ रेगनजस्ता पुस्तक लेखिसकेका छन्। यो पुस्तकको सर्वत्र प्रशंसा भएको छ। यो पुस्तकले चलनचल्तीका अमेरिकी इतिहासका पुस्तकभन्दा फरक तरिकाले प्रस्तुत गरिएकामा प्रशंसा पाएको छ।

६. हिलबिली इलेजीः अ मेमोएर अफ अ फेमिली एन्ड कल्चर इन क्राइसिसः जेडी भान्सद्वारा लिखित यो संस्मरणमा आफू जन्मेको थलो अमेरिकाको ओहियो राज्यस्थित मिडिलटाउनमा बाल्यकालका समस्यादेखि गरिबीलगायतका विषय उठाएका छन्। न्युयोर्क टाइम्सको बेस्ट सेलर सूचीमा परेको यो पुस्तकलाई समीक्षकहरूले डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्नुका कारण बुझाउने ६ वटा महŒवपूर्ण पुस्तकमध्येको एक मानेका छन्।

७. ट्रुली म्याडली गिल्टीः अस्ट्रेलियाका लियान मोरियार्टीको यो उपन्यासले तीन दम्पति, तीन केटाकेटी र एक आइतबारे बार्बिक्यु पार्टीका दिन भएको अनपेक्षित घटनाका बारेमा बताउँछ। उनको यो सातौँ उपन्यास हो। उनले बालबालिकाका लागि समेत तीन वटा पुस्तक लेखिसकेकी छन्।

८. नाइट स्कुलः अ ज्याक रिचर नोबेलः लि चाइल्डको यो थि्रलर उपन्यासमा ज्याक रिचरले एउटा अमेरिकीलाई फेला पारी १ अर्ब डलर दिनुपर्ने र दिन नसके शृंखलाबद्ध आक्रमणका लागि तयार हुनुपर्ने चिठ्ठी पाएपछिको कथा छ। लि चाइल्डको ज्याक रिचर पात्रमाथि लेखेको यो २१ औँ उपन्यास हो। यस उपन्यासमाथि टम क्रुजलाई लिएर दुई फिल्मसमेत बनिसकेका छन्।

९. द ब्लाक विडोः ड्यानियल सिल्भाको यो थि्रलर उपन्यासमा ग्याब्रियल एलोन भन्ने पात्रको इजरायलको जासुसी संस्था प्रमुख भएपछि कथा अघि बढ्छ। अन्तर्राष्ट्रिय प्लटहरूमा कथा अघि बढ्दै गर्दा पात्र कहिले फ्रान्स त कहिले विभिन्न स्थानमा पुगिरहन्छ। यो ग्याब्रियल एलोन शृंखलाको १६ औँ उपन्यास हो।

१०. डायरी अफ अ विम्पी किड– डबल डाउनः विम्पी किडको यो एघारौँ शृंखलामा बेबकुफ ग्रेगले घरको सामान थन्क्याउने ठाउँमा एउटा पुरानो भिडियो क्यामेरा फेला पार्छ। क्यामेरामार्फत् डरलाग्दो फिल्म बनाएर चर्चा बटुल्ने उसको योजना र बेबकुफीको ट्याग हटाउने उसको चाहना पूरा हुन्छ कि हुँदैन भन्ने यसको मुख्य विषय हो।

११. फिफ्िटन्थ अफेयरः द न्यु विमेन्स मर्डर क्लबः जेम्स प्याटरसनको यस थि्रलर उपन्यासमा मुख्य पात्र जासुस लिन्डसे बक्सरको आनन्दको जीवनका बारेमा बताइएको छ। उनको सानी छोरी, सुखी दाम्पत्य र रमाइलो दैनिकीमाझ सानफ्रान्सिस्को प्रहरी कार्यालयमा दिन गुजि्ररहेको छ। अचानक फोर सिजन्स होटलमा फेला एउटा लास, उसको गलत परिचय, अर्को कोठामा रहेका युवा महिला–पुरुषमाथि गोली हानिएको अवस्थाजस्ता कुराले अनुसन्धान कठिन मात्र होइन, पढ्नलाई रोचक पनि छ।

१२. बिफोर द फलः टेलिभिजनका लागि स्त्रि्कप्ट लेखक नोआ हलीले फार्गोजस्तो चर्चित शृंखला लेखेर एम्मी, पेन, पिबडी र गोल्डेन ग्लोब अवार्ड जितिसकेका छन्। यस थि्रलर उपन्यासमा भने एउटा निजी विमान ११ व्यक्तिसहित समुद्रमा खस्छ। स्कट बरो र एउटा चार वर्षे बालक मात्र दुर्घटनामा बाँच्छ। जासुसहरूले घटनाको कारण खोज्दै वास्तविकता पत्ता लगाउँछन्।

१३. फुल मि वन्सः हार्लन कोबेको यो थि्रलर उपन्यास पूर्व स्पेसल अपरेसन पाइलट मायाका बारेमा छ। आफ्नो आँखैअगाडि पति जो र दुई वर्षे छोरीको दुई साताअघि हत्या भएपछि त्यसको अन्तर्य खोज्ने कथा हो यो।

१४. क्राइसिस अफ क्यारेक्टरः पूर्व सेक्रेस सर्भिस अधिकृत गेरी बार्नको आत्मकथामा बिल क्लिन्टनको राष्ट्रपतीय कार्यकालमा अनुभूत गरेका कुराहरूको फेहरिस्त यसमा उनिएको छ। खासगरी बिल क्लिन्टन र पत्नी हिलारीको संवेदनशील सम्बन्धका बारेमा खुलेर किताबले बयान गरेको छ। बोस्टन हेराल्ड पत्रिकाले यो किताबको अंश प्रकाशित गरेपछि यसले सर्वत्र चर्चा मात्र पाएन बेस्ट सेलर सूचीमा पर्नसमेत सफल भयो। लेखकले हिलारीलाई झूटा कुरा गर्न पोख्त, विश्वास गर्न अयोग्य, चिसो मान्छेका रूपमा प्रस्तुत गरेका छन्।

१६. द म्याग्नोलिया स्टोरीः चिप गेन्स र जोआना गेन्स पतीपत्नी मिलेर लेखेको यो पुस्तकमा बाल्यकालका संस्मरणदेखि कसरी उनीहरू टेलिभिजनमा लोकप्रिय भए र यसका लागि उनीहरूले केकस्ता काम गर्नुपर्‍यो भन्ने कथा कहेका छन्। जोआनाले लेख्ने गरेको ब्लग हिट हुन थालेपछि दुई पतीपत्नीलाई पुस्तक लेख्ने प्रस्ताव गरिएको थियो।

 

अमेरिकी बेस्ट सेलर

१. ओह, द प्लेसेज यु’ल गो! (डा. सेउस)

२. द लाइफ–चेन्जिङ म्याजिक अफ टाइडिङ अप (मेरी कोन्डो)

३. मि बिफोर यु (जोजो मोयेस)

४. ह्वेन ब्रिद बिकम्स एयर (पल कलानिथि)

५. ओल्ड स्कुल (जेफ किने)

६. ह्यारी पोर्टर कलरिङ बुक (स्कलास्टिक)

७. द गर्ल अन द ट्रेन (पाउला हकिंस)

८. स्ट्रेन्थ फाइन्डर २.० (टम रथ)

९. मिस पेरेग्रिन्स होम फर पेकुलियर चिल्ड्रेन (रान्सम गिग्स)

१०. फस्ट १०० वर्डस् (रोजर प्रिडी)

११. जिसस कलिङ (सारा योङ)

१२. लस्ट ओसिन (जोहान्ना बास्फोर्ड)

१३. ग्रिन एग्स एन्ड ह्याम (डा. सेउस)

१४. द फाइभ लभ ल्यांग्वेजेज (गेरी चापम्यान)

१५. स्पार्क जोयः एन इलुस्ट्रेटेड मास्ट (मेरी कोन्डो)

१६. ह्यारी पोर्टर म्याजिकल क्रिएचर (जेके रोलिङ)

प्रकाशित: १६ पुस २०७३ ०४:५० शनिबार

१६ का सोह्र