पोखराबाट करिब ७० किलोमिटर बढेपछि पुगिन्छ, तनहुँको बन्दीपुर नगरपालिकामा पर्ने बिमलनगर। डुम्रे बजारबाट २ किमि पर्तिर पुग्दा सुरुमा कसैले भेउ पाउँदैन, त्यहाँ के छ भनेर। किनकि भित्तामा फर्केर हेर्दा आडैमा खसिहाल्छ कि जस्तो चट्टाने पहरो र बाँयातिर मर्स्याङदी सुसाईरहेको देखिन्छ।
बाहिरबाट हेर्दा स–साना र पुराना घरले बिमलनगरको आकृति केही निराशलाग्दो देखाउँछ। तर, जब त्यहाँको बास्तविकता बुझिन्छ, मनै छुने साहसिक पर्यटकीय पुर्वाधार सहित बिमलनगर पर्यटकको स्वागतमा तम्तयार छ।
र्याफ्टिङ
मर्स्याङदीको र्याफ्िटङ भनेपछि पर्यटक हुरुक्कै हुन्छन्। शान्त गतिमा मर्स्याङदीमा र्याफ्िटङ गर्न पाइन्छ। लम्जुङ र तनहुँ सीमाबाट सुरु गरेर साँढे ४ घण्टामा करिब ३५ किमि पार गरेर बिमलनगर पुग्न सकिन्छ। छोटो दुरीमा गर्न तुरतुरेबाट विमलनगरसम्म करिब १४ किमि जलयात्रा गर्न २ घन्टा लाग्छ।
'र्याफ्िटङमा मर्स्याङदी राम्रो गन्तव्य हो। वर्षमा ३ सय जति विदेशी र्याफ्िटङ गर्छन्,' सिद्धगुफा विकास समितिका अध्यक्ष तथा हेलेन एण्ड रक्किल्याण्ड रेस्टुरेन्टका संचालक लालकुमार श्रेष्ठले भने।
चट्टान आरोहण
चट्टान आरोहणका लागि समेत बिमलनगर चर्चित छ। समितिले राजमार्ग आडैको चुनपहरोमा पर्यटन वर्ष २०११ को अवसर पारेर आरोहण सुरु गरेको थियो। ७० मिटर अग्लो पहरोमा ०६३ सालमै फलामका नटबोल्ट गाडिएको थियो। त्यहाँ वर्षमा करिब ४ सय विदेशी पर्यटक र ३ सय नेपाली आरोहण गर्छन। पहरोमा १ सय ६० वटा नट बोल्ट गाडिएका छन्। एकैपटक २० जना चढेर ओर्लन मिल्छ।
क्यानोनिङ
क्यानोनिङ (छाँगावरोहण) डोरीको सहायताले पानीको छाँगोमा भिज्दै कलात्मक ढंगले तल झर्ने खेल हो। क्यानोनिङ गर्दा विशेष प्रकारको हेल्मेट, सुट र हार्नेस प्रयोग गरिन्छ। कोक्च सामुदायिक वनभित्रको ९० मिटर अग्लो झरनामा क्यानोनिङ गराइन्छ।
र्याप्लिङ
एशियाकै ठुलो गुफाको पहिचान बनाएको छ सिद्ध गुफाले। जुन स्थानीयले ०४४ सालमा पत्ता लगाएका थिए। स्थानीय चन्द्रबहादुर थापा, नरबहादुर पुन, नारायण कुमाल, वारेन्ट काट्रोस लगायतले। गुफामा पौराणिक सामानहरु, पाला, धुपौरो, सुरो, रुद्राक्ष, माटोको भाँडा आदि भेटिएका छन्।
गुफा ९६ मिटर अग्लो छ। ४ सय ४० मिटर लामो छ। दुइमुखे गुफामा जाडोमा तलबाट पसेको हावा माथिबाट निस्कँदा तातो हुन्छ। गर्मीमा माथिबाट पसेको हावा तलबाट निस्कँदा चिसो हुन्छ। गुफा घुम्नेलाई राहत मिल्छ। गुफामा देवीदेवता, नाग, श्रीपेच लगायत आकृति छन्।
गुफाको माथिल्लो गेटबाट पस्नेले सुरुमा ३० मिटर डोरीमा झुण्डिएर ओर्लिनुपर्छ। हार्नेसमा डोरी बाँधेर माथिबाट ओर्लिदा गाइडले सघाउँछन्। ३० मिटर ओर्लिएपछि ३० मिटर लम्बाईको समथर भाग भेटिन्छ। त्यो पार गरेपछि ३६ मिटर अग्लो अर्काे छाँगो आइपुग्छ। त्यो छाँगो पनि कहालिलाग्दो भीरमा डोरीको भरमा ओर्लिनुपर्छ। माथिल्लो गेटबाट पसेपछि पहिलो तलामा ओर्लिसकेपछि दोश्रो तला ओर्लिदा निकै डरलाग्दो हुन्छ। डोरीमा झुण्डिर तल झर्दा ज्यानै सिरिङग हुन्छ।
गुफामा ०६४ सालदेखि र्याप्लिङ सुरु भएको हो। र्याप्लिङ गरेबापत विदेशीले २५ सय रुपैयाँ तिर्नुपर्छ। माथिल्लो गेटबाट पसेको मान्छे डोरीको भरमा झुण्डिएर ९६ मिटर तल झरेपछि बल्ल तल्लो गेटबाट पसेका मान्छेसँग भेट हुन्छ। श्रेष्ठका अनुसार अमेरिका, फ्रान्सका पर्यटक र्याप्लिङ गर्न रुचाउँछन्।
र्याप्लिङका लागि चाहिने सामानको चाँजोपाँजो समितिले मिलाउँछ। र्याप्लिङ र क्यानोनिङ एउटै प्रकृतिका गतिविधि हुन्। फरक, क्यानेनिङ आउटडोर गतिविधि हो, यो पानीको छाँगोमा भिज्दै गरिन्छ। र्याप्लिङ गुफाभित्र (इनडोर)गतिविधि हो। माथिल्लो मुखबाट छिरेर तल ओर्लिनुलाई र्याप्लिङ भनिन्छ भने तलबाट पसेर माथि निस्कनुलाई जुमर क्लाइम्बिङ भनिन्छ। गाइड दीपक सुनार बाहेक अरुले जुमर क्लाइम्बिङ गर्न सकेका छैनन्।
गुफा घुम्न विद्यार्थीले १०, बयस्कले २० र विदेशीले सय रुपैयाँको टिकट काट्नु पर्छ। गुफा घुम्न वर्षमा करिब १ लाख नेपाली पुग्छन्। गुफा पुग्न पृथ्वी राजमार्गको विमलनगरबाट एक किलोमिटर दुरी पक्कि सिंढीको बाटो उक्लिनुपर्छ।
गाई फारम
तनहुँ र गोरखालाई छुट्टयाएको मर्स्याङदी नदी पारिपट्टि गोरखाको च्याङ्ली पर्छ। अहिले पालुङटार नगरपालिकामा गाभिएको छ। च्याङलीका कृषक राजेन्द्रराज पन्त कहलिएका गाईपालक हुन्। उनले सिलगुढीबाट २ लाख ५० हजार रुपैयाँमा ७ वटा गाई ल्याएका थिए। तीनैबाट बिस्तार भएको पन्तको कामधेनु गाई फारममा अहिले २ सय ८० गाई छन्। ती मध्ये १ सय २५ वटाले दुध दिन्छन।
उनले होलिस्टेन, फ्रिजेन र जर्सी जातका गाई पालेका छन्। दैनिक ११ सय देखी १२ सय लिटरसम्म दुध बेच्छन्। अहिलेसम्म करिब २३ लाख दर्शकले उनको फारम अवलोकन गरिसकेका छन्। पृथ्वी राजमार्ग छाडेर मर्स्याङदी नदी तरेर करिब १ किलोमिटर कच्चि बाटो उक्लेपछि गाइफारम पुगिन्छ। कृषि क्षेत्रमा कार्यरत संघसंस्था, सहकारी, समूह पन्तको फारममा जान्छन्। समूहमा जानेले टिकट काटेरै उनको फारम अवलोकन गर्नुपर्छ।
बन्दीपुुर होमस्टे
बन्दीपुरले 'पहाडकी रानी' को पहिचान बनाएको छ। विस १८१७ सालदेखि बन्दीपुरमा नेवार जातिको बसोबास सुरु भएको हो। भक्तपुरबाट आएका व्यापारीले यहाँ बसोबास थालेका थिए। विस २०२५ सालमा बन्दीपुरबाट सदरमुकाम दमौली सरेपछि यहाँ चहलपहल घट्न थालेको थियो। बन्दीपुरमा करिब दुई सय वर्ष पुराना घर अझै पनि छन्। कतिपयले पुराना घर स्याहार गरेर होटल चलाएका छन्।
डुम्रेबाट एक किलोमिटर अघि (पोखरातिर) बढेपछि त्यहाँबाट नागबेली बाटो चढे बन्दीपुर पुगिन्छ। बन्दीपुरा पुरानो सहर मात्र नभई गर्मी छल्न गतिलो गन्तव्य पनि हो। पर्यटकलाई लक्षित गर्दै होटल खुलेका छन। बन्दीपुरबाट उत्तरतिर फर्किदा देखिने गोरखा र तनहुँको फाँटले मनै लोभ्याउँछ। अनि लम्जुङ, मनास्लु लगायत हिमालको दृश्यले मन बहलाउँछ। बन्दीपुरमा होटल मात्र होइनन, बजारभित्रै पिपलथोकमा होमस्टे संचालनमा छ।
बिमलनगरबाट करिब साढे ३ घण्टा हाइकिङ गरे पनि बन्दीपुर पुग्न सकिन्छ। कोक्च सामुदायिक वनको बाटो हुँदै बन्दीपुर उक्लिन सकिन्छ। जंगलको बाटैबाट नागबेली मर्स्याङदी नदी र लम्जुङ तथा मनास्लु सहित हिमाली श्रृंखला अवलोकन गर्दै उकालो चढ्दा समय बितेको पत्तै हुँदैन। मर्स्याङदी वारी डुम्र्रे बजारको माथिल्लो भाग (भन्सार क्षेत्र) र नदी पारिको पालुङटार नगरपालिकाको फाँटले रमाइलो अनुभव दिलाउँछ।
दृश्यावलोकन बाहेक जंगलमा चराको चिरविर सुन्न पाइन्छ। अनि सुनाखरी सहित विभिन्न जडिबुटी र जनावर पनि देख्न सकिन्छ। बिमलनगरमा बसेका पर्यटक हाइकिङ गर्दै बन्दीपुर उक्लिन्छन्। चरा र सुनाखरी अवलोकनमा विदेशीको बढी रुची हुन्छ। गाउँले बिमलनगरमै होमस्टे संचालनको तयारीमा छन्। त्यसका लागि सात घरमा पुर्वाधार बनाएका छन्। होमस्टेको संख्या बढाएर १० घर बनाउँदा २० जना पाहुना अट्छन्।
प्याराग्लाइडिङ
साहसिक पर्यटकको अर्काे प्रडक्ट हो, प्याराग्लाइडिङ। बन्दीपुरमा पनि प्याराग्लाइडिङमा उड्न पाइन्छ। पोखराका कम्पनिले उडान गराउँछन्। बन्दीपुरको भञ्ज्याङस्थित १ हजार २ सय १५ मिटर उचाइबाट उडान गरेर पिप्लेस्थित ८ सय ६५ मिटर उचाइको मैदानमा अवतरण गर्न पाइन्छ। उडान र अवतरण अवधिमा बन्दीपुर बजार, हिमाली श्रृंखला, डुम्रे र गोरखाको पालुङटार फाँटको दृष्य अवलोकन गर्न पान्छ। बन्दीपुरको पुरानो बजार अवलोकन सहित हिमाली श्रृंखला, आसपास वनजंगल, नदी, झरना लगायत अवलोकनमा प्याराग्लाइडिङ उपयुक्त हुन्छ। बन्दीपुरबाट धवलागिरी, माछापुच्छ्रे सहित अन्नपूर्ण रेञ्जसम्म देख्न पाइन्छ।
पर्यटन बोर्ड पोखराका अधिकृत सूर्य थपलिया बिमलनगरसँग पर्यटनको अथाह सम्भावना रहेको बताउँछन्। विभिन्न साहसिक गतिविधि सहित एग्रो टुरिजमका लागि बिमलनगर नमूना रहेको उनको भनाइ छ। 'बिमलनगरलाई उपयोग गर्न सके पोखराको पर्यटन क्षेत्रले फाइदा कमाउन सक्छ। त्यसका लागि पोखरेली पर्यटन व्यावसायीले प्याकेजमा बिमलनगरलाई जोड्नुपर्छ,' उनले भने, 'बिमलनगरलाई पर्यटनमा जोड्ने हो भने पर्यटकको नेपाल बसाई अवधि बढाउन सकिन्छ।'
प्रकाशित: ९ पुस २०७३ ०४:०८ शनिबार