पोखरा–विदेशी यात्रुसहित एकवर्ष अघिदेखि बेपत्ता पोखरा अल्ट्रालाइट कम्पनिको अल्ट्रालाइट जहाज आइतबार बिहान फेला परेको छ । पोखरा विमानस्थलबाट उडेपछि हराएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्राटुक्रा अवस्थामा फेला परेको हो ।
पोखरा अल्ट्रालाइट कम्पनिका संचालक पोमनारायण श्रेष्ठले समुन्द्र सतहदेखि करिब १२ हजार फिट उचाईमा टुक्राटुक्रा अवस्थामा जहाज फेला परेको बताए ।
‘सम्पर्कविहीन हुनासाथ हामीले खोजी सुरु गरेका थियौं । एकवर्षभन्दा बढी समयसम्म खोजी गर्दा बल्ल फेलापरेको छ,’ उनले भने । जहाजको खोजिका लागि पटकपटक हेलिकोप्टर र आफ्नै जहाज पठाएको उनले बताए ।
जहाज पोहोर साल असोज २१ गते हराएको थियो । पोखरा विमानस्थलबाट उडेको ‘९एन एएलआइ’ कलसाइन भएको उक्त जहाजलाई रसियन पाइलट ५० बर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए । जहाजमा दक्षिण अफ्रिकी महिला ४० बर्षीया एलिजावेथ वेल यात्रारत थिइन् । ‘माउन्टेन फ्लाइट’ का लागि एक घण्टाको समय लिएर उडेको जहाज उडान भरेको ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
जहाजमा यात्रारत पाइलट र यात्रु दुवैको मृत्यु भएको र उनीहरुको शरीरको हड्डि मात्र फेला परेको श्रेष्ठले बताए । ‘शरीरको हड्डि र खप्पर, तथा दाँत र जहाजको पांग्रा सहित केही भाग संकलन गरेर ल्याएका छौं,’ उनले भने, ‘जहाजको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको थियो । मानव हड्डि परपर उछिट्टएको अवस्थामा थिए ।’ उनले भने ‘ब्लाकबक्स भने फेला पार्न सकिएन । त्यही भएर दुर्घटनाको कारण यकिन भएन ।’
आइतबार सशस्त्र प्रहरीको पोखरास्थित कालिका गणका प्रहरी हवल्दारद्वय पूर्णलाल देवकोटा र तेजेन्द्र बुढा हेलिकोप्टरमा गएर जहाज र मानवहड्डि संकलन गरेका थिए । ‘हेलिप्याडबाट उत्रेर आधाघण्टा उकालो लागेपछि जहाज दुर्घटनास्थलमा पुग्न सकियो,’ देवकोटाले भने, ‘छरपष्ट हड्डि र जहाजका केही भाग संकलन गरेर ल्यायौं ।’
तस्बिरमा हराउनु अघि र दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अल्ट्रालाइटका अवशेष। तस्बिर सौजन्यः सशस्त्र प्रहरी