अन्य

कार्कीलाई सात दिनभित्र उपस्थित हुन आदेश

काठमाडौं–सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको म्याद तामेलीमा अवरोध पु¥याउनेलाई सात दिनभित्र आफैं अदालतमा हाजिर हुन मंगलबार आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले अदालतको म्याद तामेलीमा अवरोध गर्नुको  कारणसहित लिखत जवाफ लिएर स्वयं अदालतमा उपस्थित हुन कार्कीसहित चारजनाका नाममा आदेश जारी गरेको हो ।

म्याद तामेलीमा अवरोध गरेको आरोपमा कार्कीका सहयोगीविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा सुनुवाइ गर्दै इजलासले यस्तो आदेश दिएको हो । अधिवक्ता ओमप्रकाश अर्यालले नै कार्कीसहित उनका ज्वाईं प्रबल थापालगायत म्याद तामेली ‘प्रतिकार समूह’ मा संलग्नलाई विपक्षी बनाउँदै कातिक १२ गते अवहेलना निवेदन दर्ता गराएका हुन् । यो आदेशसँगै कृषि विकास बैंकका अध्यक्ष एवं पूर्व कानुन सचिव प्रमोद कार्की, महानगरिय प्रहरी वृत्त बानेश्वरका सई नकुलराज गौतम र कार्कीका कान्छा ज्वाईं थापा पनि अदालत तानिएका छन् ।

पहिलो तामेलदार शम्भु खत्रीबाट कार्कीको म्याद तामेली नभएपछि कात्तिक १ गते खटाइएका नयाँ तामेलदारलाई पनि ‘प्रतिकार समूह’ मा रहेका उनीहरूले अवरोध गरेका थिए ।  म्याद तामेलीमा अवरोध गर्ने कार्य न्याय सम्पादनविपरीत भएकाले किन कारबाही नगर्ने हो भन्दै जवाफ दिन आदेशमा भनिएको छ ।

अर्यालको निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले अदालतलाई असहयोग गर्ने विषयलाई गम्भीर रुपमा लिनुपर्ने भनेको छ । अदालतको आदेश अवज्ञा गर्दा विधिको शासनमाथि प्रहार हुने र न्यायिक परम्परालाई असर पर्ने आदेशमा उल्लेख छ ।  म्याद तामेलीमा अवरोध गर्नेले वडासचिव सरिता राईलगायत अन्यसँग समेत कुराकानी गरेको देखिएको अदालतको आदेशमा उल्लेख छ । सर्वोच्चले म्याद तामेली रोक्न वडा कार्यालयलाई समेत अवरोध पु¥याउने काम कार्कीका ‘प्रतिकार समूह’ का सदस्यहरूले गरेकाले त्यसमा जवाफ दिन आदेश जारी गरेको हो  ।

म्याद तामेलीमा अवरोध गरे मुलुकी ऐनको अदालतको बन्दोबस्तीसम्बन्धी महल अनुसार १५ दिन कैद, एक हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । मुलुकी ऐनको उक्त व्यवस्थाबमोजिम सात दिनभित्र अदालतमै आफैं उपस्थित नभई जबाफ नदिएमा उनीहरूमाथि कारबाही हुने छ  । अदालतको आदेश बुझेको मितिबाट समयावधि गणना हुने छ ।

दुई पटकसम्म अवरोध गरिएको कार्कीकोे म्याद तामेली तेस्रो पटक सर्वोच्चका नयाँ तामेलदारले चलाखीपूर्वक वडा सचिवको रोहवरमा स्थानीयको मुचुल्का खडा गरी तामेली गरेका थिए । दसैं बिदा सकिएलगत्तै कार्कीनिवास वानेश्वर हाइट पुगेको सर्वोच्चको टोलीलाई पहिलो चरणमा स्यामसुङ मोबाइल कम्पनीका कर्मचारीले अवरोध गरेका थिए । मोबाइल कम्पनीले घर भाडामा लिएकाले कार्कीको नामको म्याद टाँस्न नमिल्ने जिकिर कर्मचारीले गरेका थिए । 

कर्मचारीले अवरोध गरेपछि सर्वोच्चको टोलीले काठमाडौं महानगरपालिका –१० को कार्यालय पुगेर वडा सचिव सरिता राईलाई म्याद तामेलीको मुचुल्का खडा गर्ने स्थानमा गइदिन अनुरोध गरेको थियो । राईले आउने जानकारी दिएपछि सर्वोच्चका दुई तामेलदार पुनः कार्की निवास पुगेका थिए । कार्की निवास पुग्दा उनका कान्छा ज्वाईं थापा नेतृत्वको युवा टोलीले अवरोध पु¥याएका थिए ।

उनले कार्की घरमा नबस्ने भन्दै अदालतको म्याद तामेली सूचना टाँस्न नदिने तर्क गर्दै अवरोध गरेका थिए । उनीरूले कार्की अख्तियारको सरकारी निवासमै बस्ने भएकाले उक्त स्थानमै जान सर्वोच्चका कर्मचारीलाई भनेका थिए ।  पूर्व कानुन सचिव कार्कीले आफूलाई वडा नागरिक मञ्चको अध्यक्ष दाबी गर्दै व्यक्ति नबस्ने घरमा म्याद तामेली गर्न नमिल्ने तर्क गरेका थिए । प्रहरी सई गौतमले पनि सर्वोच्च अदालतका कर्मचारीलाई अवरोध पु¥याएका थिए । प्रहरीले सादा पोसाकमा उपस्थित भएर अदालतको म्याद तामेली गर्न रोकेको सार्वजनिक भएपछि उनको आलोचना भएको थियो । अदालतमा अवहेलना मुद्दा दर्ता भएपछि उनी अप्ठेरोमा पर्ने देखिएको छ ।

कार्कीका ज्वाईं थापा एन्फाका पूर्व अध्यक्ष तथा राप्रपा नेपालका सांसद गणेश थापाका भान्जा पनि हुन् । गणेश थापाविरूद्धको भ्रष्टाचार मुद्दामा मुछिएका उनलाई अख्तियारले सफाइ दिएको थियो । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले भने उनलाई भ्रष्टाचारको अभियोगमा कारबाही गरेको थियो । यसअघि अदालतले म्याद तामेलीमा असहयोग गरेको अभियोगमा तामेलदार खत्री, काठमाडौं महानगरपालिका–१० का वडा सचिव र खरिदारसँग लिखित जवाफ मागेको थियो ।  उनीहरूलाई न्यायिक कार्यमा अवरोध गरेको अभियोगमा कारबाही किन नगर्ने भन्ने प्रश्न अदालतले सोधेको  थियो ।

तामेलदार खत्री, वडासचिव राई र खरिदार सुभास आचार्यलाई अदालती बन्दोबस्तको १११ नम्बर बमोजिम कारबाही हुनुपर्ने भन्दै सर्वोच्चका रजिष्ट्रार श्रीकान्त पौडेलले इजलाससमक्ष प्रतिवेदन पेस गरेका थिए । रजिष्ट्रार पौडेलको प्रतिवेदन अनुसार न्यायाधीश इश्वर खतिवडाको इजलासले किन कारबाही नगर्ने भन्दै तीनै जनालाई प्रश्न सोधेको थियो  । 

तामेलदार खत्रीले जिम्मा पाएको म्याद तामेलीको काम बदनियत राखेर नगरेको तथा वडासचिव राई र खरिदार आचार्यले म्याद तामेलीमा अदालतलाई सहयोग नगरी बाधा पु¥याएको भन्दै टिप्पणी उठाएर रजिष्ट्रारले आइतबारको इजलासमा पेस  गरेका थिए ।  खत्री, राई र आचार्यले आफ्नो लिखित जवाफ अदालतमा बुझाइसकेका छन् । सर्वोच्चले अर्को सुनुवाइमा उनीहरूमाथि कस्तो कारबाही हुने भन्ने निर्णय गर्ने छ ।  राष्ट्रपतिको कार्यालय, शितलनिवासलाई समेत विपक्षी बनाइएको म्याद तामेली सूचनामा कार्कीलाई अख्तियारको प्रमुख आयुक्त नभई पूर्व मुख्य सचिवका रुपमा चिनाइएको छ ।  

अख्तियारमा कार्कीको नियुक्तिविरुद्धको मुद्दा पुनरवलोकन माग गर्दै अधिवक्ता अर्यालले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उक्त निवेदनमा सर्वोच्चले तथ्यमा प्रवेश गरी पुनः सुनुवाइ हुने आदेश गरेको थियो । कार्कीको मुद्दा पुनरवलोकन हुने उनको पक्ष म्याद तामेली गर्न नदिने रणनीतिमा लागेको थियो । तर नयाँं तामेलदारले चलाखीपूर्वक म्याद तामेल गरेका थिए । म्याद तामेली बुझ्न कार्की पक्षले देखाएको रवैयाको चौतर्फी आलोचना भएको थियो । कार्कीको कार्यशैलीलाई लिएर उनीविरुद्ध महाभियोग लगाइएको छ । महाभियोग संसद्मा पुगेको छ ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०१:५६ बुधबार

कार्कीलाई दिनभित्र उपस्थित हुन आदेश