शेखर खरेल
खुशवन्त सिंहको दिल्लीस्थित घरको जस्केलाबाट एक दिन अजबको खाम छि¥यो । त्यसमा लेखिएको थियो– ‘खुशवन्त सिंह, बास्टर्ड, इन्डिया’ । दिल्लीका नामी विल्डर सोवा सिंहका छोरा खुशवन्तले लेखक–पत्रकारको निजत्वसँगै प्रसिद्धि पनि बनाइसकेकाले उनलाई चिन्नेहरू प्रशस्तै थिए । उनका नाममा दिनहुँ सयौँ चिठीपत्र हुलाकमा ओइरिने हुँदा त्यो अपूरो ठेगानाको खामले पनि आफ्नो मुकाम भेट्न सकेको थियो । तर, विचित्रको त्यस पत्र हात लाग्दासम्म पनि खुशवन्तले संयम् छाडेनन् । त्यस निन्दाको पुलिन्दालाई च्यातचुत, थुकथाक, किचिमिची गरेर रद्दीको टोकरीमा फाल्नुको सट्टा उनले खामलाई निक्कै जतनले संग्रह गरे । कुनै एन्टिक वा विभुषणझैँ आलमारीमा सुरक्षित राखे । साँझको ह्विस्की सेसनका लागि खुशवन्तको घर पुगिरहने पत्रकार एवं लेखक विनोद मेहता अरुको उछित्तो काढ्ने पत्रकार र अरूप्रति निर्मम हुन सक्ने लेखक र पत्रकारका जातले कुन हदसम्म आफूउपरको आलोचनालाई सहजरूपमा लिन सक्छन् भन्ने कुराको दुर्लभ उदाहरण खुशवन्त सिंह थिए भनेर सिंहको देहान्तलगत्तै ‘आउटलुक’ पत्रिकामा ओबिच्युअरी लेखेका थिए ।
यता सरहद पारी नेपालमा ‘मोक्षान्तः काठमान्डु फिभर’को प्रकाशनमार्फत् नवोदित लेखक कुमार नगरकोटीले नेपालको साहित्यिक दुनियाँमा साँच्चिकै ‘फिभर’ ल्याइदिए । नेपाली साहित्यमा त्यसअघि कहिल्यै नपढिएको नगरकोटीय शैलीको प्रशंसा र निन्दा गर्ने दुवैथरी मैदानमा निस्किए । नगरकोटीको पोल्टामा प्रशंसा भन्दा निन्दाको भारी बढी रह्यो । तर पनि निन्दाले उनको निद्रा भने भंग गरेन । खरो र निर्मम आलोचकको छवि बनाएका समीक्षक लेखक हरि अधिकारीले ‘मोक्षान्तः काठमान्डु फिभर’ को पोस्टमर्टम गरिदिए, ‘मोक्षान्तः काठमान्डु फिभर’ ले पाठकको मनमस्तिष्कमा एउटा राम्रो आख्यानको पुस्तकले पैदा गर्ने आनन्दको तरंग फैलाउन सक्दैन । असल साहित्यमा हुनुपर्ने प्रसाद गुणहरू एउटै पनि नपाइने हुनाले यसले पाठककको सम्मान पाउन सक्ने सम्भावना अत्यन्तै न्यून देखिन्छ ।’ अधिकारीले ‘मोक्षान्तः काठमान्डु फिभर’ ले पाठकको सम्मान पाउने सम्भावनलाई न्यून आँकेको थोरै समयभित्रै पुस्तक पुनमुद्रित भयो । दोस्रो संस्करणमा समीक्षाका फूलबुट्टे प्रशंसाहरू छाप्ने परम्परालाई तोड्दै नगरकोटीले अधिकारीका निर्मम शब्दहरूलाई नै ‘ब्लर्ब’ को शिरानमा राखे । ‘कसले कस्तो टिप्पणी गरे भन्नेमा ‘हु कियर्स’ टाइपको मान्छे म’, नगरकोटी सुनाउँछन्, ‘प्रकाशकका तर्फबाट दोस्रो संस्करणमा ‘ब्लर्ब’ राख्ने कुरा भएपछि मैले हरि अधिकारीको चेतावनी राख्ने भए मात्र आफ्नो मञ्जुरी दिए“ ।’ समीक्षालाई सदिक्षा ठान्ने नगरकोटीको त्यस प्रथम पुस्तकको दोस्रो र त्यसपछि क्रमिक संस्करणहरूमा छापिँदै आएका छन् । त्यसमा मुद्रित अधिकारीका संशययुक्त ‘पाठकको न्यून सम्मान’ भन्ने शब्दहरू पढ्दा अब कति हजार प्रति छापिएपछि चाहिँ न्यून सम्भावना मेटिन्छ भन्ने जिज्ञासा उठ्छ ।
असल र अब्बल लेखकहरू आत्मसमीक्षा गर्छन् । आलोचनालाई सहज स्वीकार्ने उनीहरू अरूभन्दा आफैप्रति निर्मम हुन्छन् । आलोचनाको ग्राह्यताका कारण नै यस कोटीका साहित्यकारहरू उम्दा रचना गर्न समर्थ रहन्छन् । मृत्युशैय्यामा पुगेका महाकवि देवकोटाले ‘मुनामदन’ बाहेक मेरा सबै रचना जलाइदिनु भन्नु आत्मसमीक्षाको अनुपम उदाहरण हो । उता, ‘प्लाजेरियज्म’ को बात लागेपछि शंकर लामिछानेले लेखनबाटै अवकाश लिनु आत्मसमीक्षा र लेखकीय नैतिकताको अर्को अतुलनीय घटना थियो ।
देवकोटाको उद्घोष र लामिछानेको अवकाशले करिब आधा शताब्दी काटिसकेको समकालीन साहित्यका लेखकहरूले आलोचनालाई कसरी ग्रहण गरिरहेका छन् अनि आत्मसमीक्षा र लेखकीय नैतिकतामा कति खरो उत्रिइरहेका छन्, त्यो विवेचनाको विषय हुन सक्छ । आज पनि, तीन सय पृष्ठभन्दा बढी लेखिएको उपन्यासको ड्राफ्ट आफूलाई चित्त नबुझेपछि डढाउने नारायण ढकाल हाम्राअगाडि छन् र अविश्रान्त सिर्जनशील छन् । आफ्ना लेखन आफैलाई चित्त नबुझ्दा दर्जनौँ पटक पुनर्लेखन गर्ने लेखकहरू पनि हाम्रासामुन्ने छन् । यो हाम्रो साहित्यको सुनौलो र सामथ्र्यशाली पक्ष हो ।
तर, क्लिसेझैँ सुनिने नेपालको पठनसंस्कृतिको विस्तार र बजारले हाम्रो साहित्यलाई कति उन्नत र साहित्यकारलाई कति उन्नयनशील सँगसँगै आत्मनिर्भर पनि बनाएको छ ? यसबारे वस्तुगत समीक्षा गर्नु सान्दर्भिक हुन्छ । साहित्य पाठक वा बजारको उपभोगका लागि लेखिइन्छ भन्ने फोस्रा तर्क गर्नेहरूले आफ्ना रचना बजार पुग्नुपूर्व लेखक स्वयंलाई नै सन्तुष्ट बनाएको छ, त्यसबारे हेक्का गर्नु आवश्यक होइन र ? आफूलाई नै चित्त नबुझाएको लेखनले पाठकलाई सन्तुष्ट पार्न सक्ने क्षमता राख्दैन । आज नेपाली साहित्यको धारलाई गम्भीरतापूर्वक नियाल्ने हो भने हाम्रा अधिकतर लेखन एउटा पेन्डुलमझैँ आत्ममुग्धताको एक छेउ र रोइलोको अर्को छेउबीच झुत्ती खेलिरहेको छ । असाधारण लेखकीय क्षमता र गुणवत्ता भएका कतिपय लेखकहरूले ल्याङ्फ्याङ् रचना पस्किएर आफ्ना प्रसंशकहरूलाई निराश बनाएका कैयन् उदाहरण भेट्न सकिन्छ । त्यस्ता हतारका लतार पढ्दा ती लेखकहरूले पाठक भन्दा प्रकाशक प्रसन्न गर्ने उद्यम गरेको बुझ्न कठिन पर्दैन । बिक्री मात्र साहित्यिक विशिष्टता वा गुणवत्तताको मापन हो भने, जे बिक्छ त्यही विशिष्ट हुनुपर्ने होइन र ? भारतमा माहाश्वेतादेवी भन्दा बिकाउ त चेतन भगत हुन्, यस दृष्टिले भगत नै श्रेष्ठ सर्जक हुनुपर्ने होइन त ?
तर पनि ठूलो जनसंख्या र अर्थतन्त्र भएको मुलुकमा लेखकको पोल्टामा एउटा सहुलियत फुत्रुक्क खस्ने रहेछ । जो बिक्छ, ऊ आर्थिकरूपमा टिक्छ र लेखन कर्ममार्फत् एउटा आरामदायी जीवन बाँच्न सक्छ । नेपालजस्ता देशमा खड्किने कुरा यही हो । यहाँ जिजिविषाका कारण नै लेखन पूर्णकालीन पेशा बन्न सकिरहेको छैन । केही लेखकले आफूलाई पूर्णकालीन लेखकका रूपमा स्थापित गर्ने प्रयास गरिरहेका देखिन्छन् । तर, झस्काउने कुराचाहिँ के हो भने, नेपालमा सम्भवतः त्यस्ता लेखक छैनन्, जसको ‘ब्रान्डभ्यालु’ स्थापित भइसकेको होस् । जसरी एउटा ‘ब्रान्डभ्यालु’ भएको चित्रकारको चित्र निश्चित रकमबाट सुरू हुन्छ, त्यसरी नै ‘ब्रान्डभ्यालु’ भएको लेखकको कृति निश्चित प्रति छापिन्छ । बिक्रीको माथिल्लो ग्राफ अनुमानको विषय हो, तर न्यूनतम अंक लगभग निश्चित नै हुन्छ । यहाँ सेयरबजारझैँ कुनै लेखकको कुनै एक कृति बीसौँ हजारको संख्यामा बिक्छ र लगत्तै अर्को कृति धरतीमा नाक रगड्न पुग्छ । मेरा यशस्वी लेखक मित्र मनु मन्जिलले भन्ने गरेझैँ लेखकलाई आफ्नै सामथ्र्यमाथि विश्वास नभएर उनीहरू अरूको सहारा खोजिरहेका हुन्छन् । मनुले पुस्तकको एउटा अभिभाज्य हिस्सा नै बनिसकेको ‘भूमिका’ नामको कर्मकाण्डलाई बाँसको मेरुदण्डको संज्ञा दिएका छन् । कृति बिकाउने र छिटो मिडिया सेलिब्रिटी बन्ने ध्येयमा विराट छाती लिएर निर्बन्ध विचरण गर्नुपर्ने लेखक गुट, उपगुट र सिन्डिकेटको हिस्सा बनेका अनेकौँ उदाहरण हामी भेट्न सक्छौँ । त्यसैगरी, प्रसंशाप्रति त निस्पृह हुनुपर्ने सर्जकहरू झनै पुरस्कारप्रति आशक्त भएका र पुरस्कारका लागि उत्तेजित हुने र रोइलो काढ्ने गर्नेसम्म देखिन्छन् !
व्यावसायिकता हरेक पेशासँग जोडिने अनुशासन, जीवनदृष्टि र जीवनशैली हुन् । पत्रकार व्यावसायिक हुन सक्छ, डाक्टर व्यावसायिक हुन सक्छ भने किन लेखक व्यावसायिक हुन सक्दैन ? एउटा लेखकले आफू खेताला होइन भनेर किन गरिमापूर्ण जीवन जिउने प्रयास गर्न सक्दैन ? सबै पेशाका मान्छेले आफ्ना पेशाधार निर्धारण गर्न सक्छन् भने त्यसमा लेखक पनि अपवाद हुन सक्दैन । चार दशकअघि नै शंकर लामिछानेले भूमिकाको पारिश्रमिक तोकेर पेशाधार बनाएका थिए, जुन आजको उपभोक्तावादी समयसम्म आइपुग्दा लेखकको जिजिविषाको एउटा भरपर्दो आधार बनिसकेको हुनुपर्ने थियो । लामिछानेले रोपेका व्यावसायिकताको वृक्ष अहिलेसम्ममा झ्याँगिनुको साटो त्यो लगभग मृतप्राय छ । साहित्यका सबैखाले मञ्चहरू जस्तैः विमोचन, सेमिनार, मेला आदिमा हाम्रा लेखक निःशुल्क र सर्वसुलभ छन् । यसरी लेखकहरूले आफ्ना लक्ष्मणरेखा तोक्न सकेका छैनन् नै, लामिछानेले दशकौँ पहिले देखेको पेशाधारको सपना आफ्नो समयका लागि मात्र नभएर उनीहरूले आउने पुस्तासम्मका लागि तुहाइदिएका छन् । मञ्च र माइक देख्दैमा उत्तेजित हुने कतिपय लेखकहरूका कारण नै साहित्यमा व्यावसायिकता विकसित हुन नसकेको हो ।
सारांशमा, लेखकको सत्ता त्यसबेला मात्र स्थापित हुन्छ, जुनबेला लेखक शक्तिशाली हुन्छ । लेखक शक्तिशाली त्यो बेला हुन्छ, जब लेखन प्रभावकारी हुन्छ । लेखन त्यसबेला प्रभावकारी हुन्छ, जब लेखक आत्ममुग्धताबाट मुक्त भएर आत्मसमीक्षामा पुग्छ । गुटको जालो, पुरस्कारको चास्नी, प्रशंसाको कोलाहलबाट मुक्त भएर जब लेखक उन्नयन, आत्मसम्मान र व्यावसायिकता सोपान गर्छ, त्यो समय लेखकको मेरुदण्डमा कसैले बैशाखी लगाइदिनुपर्दैन । लेखकको सत्ता स्थापित भइसकेको त्यस समयमा लेखक स्वयं नै शक्तिशाली बनिसकेको हुन्छ ।
प्रकाशित: २२ आश्विन २०७३ १०:२८ शनिबार