अन्य

प्रेम भरिया !

सौरभ कार्की

एकमन उघारेर पर्दा, चियाउन भन्दैछ झ्याल

कतै जल्यो कि सडकछेऊ, एक झिल्को लालीगुराँस ?

‘लालीगुराँस, अजम्बरी चम्पाचमेली, जे भने नि हुन्छ हजुर म त नेपाली...’ पल्लो कोठामा रोमी, लक्ष्मी, सोविता र देवी नाच्नका लागि ताल मिलाउन खोजिरहेथे । यता प्रिन्स गितारमा ‘रातो र चन्द्र सूर्य’ बजाउनका लागि लिड ट्युन गर्न खोजिरहेथ्यो । शिशिर ड्रमसेटको लेग बास मिलाउँदैथ्यो । सञ्जीव रातो र चन्द्र सूर्यको रिदम म्याच अप गर्न खोजिरहेथ्यो । कुमार मादलमा ताल मिलाउन खोज्दैथ्यो । अनिल भोकल प्राक्टिस गर्दैथ्यो । म भने बास गितारको स्ट्रिङ्स मिलाउँदैथेँ ।

कहिले पल्लो कोठाको गीतले हामीलाई डिस्टर्ब गथ्र्यो त कहिले हामीले बजाएको गितार र ड्रमको भोल्युमले उनीहरूलाई । सानो कक्षाकोठामा हामी रातो र चन्द्र सूर्यको धुन खोजिरहेथ्याँै । केटीहरू लालीगुराँसलाई अझ अजम्बरी बनाउन आफ्नो हात र खुट्टाको चाल मिलाउन खोजिरहेथे । हामी त्यसबेला कक्षा ८ मा पढ्थ्यौँ ।

हामी अभ्यास गरिरहेको कोठाको ढोका विस्तारै खुल्यो र एउटा मान्छे चुपचाप भित्र छिरेर सर बस्ने चियरमा बस्यो । त्यो मान्छेले आफ्नो मैलो ज्याकेटको खल्तीबाट बाँसुरी निकाल्यो र त्यसमा ‘रातो र चन्द्र सूर्य’को धुन मस्त भएर फुक्न थाल्यो । हामी दङदास परेर उसलाई हेर्न थाल्यौँ ।

‘यो प्रेम भरिया हो ।’ साथीहरूमध्ये कसैले त्यसो भने । मैले प्रेमलाई पहिलोपटक देखेको त्यहीँ हो । 

खासै धेरै बोल्दैनथ्यो प्रेम । उसले कुमारले बोकिराखेको मादल लियो र झ्याउरे भाकाका केही गीत बजाउँदै गाउन थाल्यो । पल्लोपट्टि बजिरहेको लालीगुराँस अजम्बरीको धुन पनि रोकियो ।

हामीलाई प्रेम रमाइलो मान्छे लाग्यो ।

–प्रेमको घर जिलु हो रे । उसकी श्रीमती अर्कैसँग हिँडेपछि उसको मगज हल्का सड्किएको छ रे !

–हैनहैन । प्रेम त सिन्धुपाल्चोकतिरबाट माओवादीले लखेटेपछि यता आएको हो रे !

–माओवादीले भारतीय सेना भएका कारण उसको घर जलाइदिएपछि ऊ फर्केर आयो रे । फर्केर आउँदा त श्रीमती पनि गायब ! अनि उसले भारी बोक्न थालेको हो रे ।

यसरी स्कूलमा प्रेम बारे भोलिपल्टबाटै अनेक किस्सा सुनिन थाल्यो । उसको थरभन्दा पहिला उसको सिंगो नाम प्रेम भरिया भनेर बुझ्न थालिसकेका थियाँै हामी । ऊ कहाँ बस्थ्यो ? उसको घर कहाँ हो ? हामीले कहिल्यै थाहा पाएनाँै ।

सदरमुकाम चरिकोटको मुटु, सातदोबाटोको प्रतीक्षालयमा भारी कुरिरहँदा प्रेम बाँसुरी बजाउँथ्यो । मलाई भने उसको छेउमा बसेर बाँसुरीको धुन सुनिरहुँझैँ लाग्थ्यो ।

ड्ड         

चकमन्न छैन आज सडक

निहुरीमुन्टी ‘न’ उभिएका सडकबत्तीहरू

बाँचून् कि नबाँचून लोडसेडिङ ?

चाहे लागोस् कि नलागोस् जून ?

अब त बस् उठ्नु छ सदियौँदेखिको भोको– पागल ‘प्रेम भरिया’

सल्काउनु छ उसले– सडकछेऊ मिल्काइएको पुरानो गणतान्त्रिक चुरोट ।

र फाल्नु छ उसले– एक फाँको धुवाँ ।

 

एकमन उघारेर पर्दा– चियाउन भन्दैछ झ्याल

कतै दौडिइ पो सके कि– ‘प्रमिथस’हरू बोकेर आगो छातीमा ?

 

हामी कक्षा १० मा पढ्दासम्म चरिकोटभरि प्रेम भरिया पागलमा दरिइसकेको थियो । ऊ सातदोबाटोको प्रतीक्षालयमै सुत्थ्यो । मानिसले फालेको ठूटो चुरोट टिपेर खान्थ्यो । अनि एकसुरले बाँसुरीमा अनौठा धुन निकालिरहन्थ्यो ।

सायद ऊ बाँसुरीमा आफ्नो जीवनको लय बजाउँथ्यो, जो कसैले बुझ्न सक्दैनथे ।

प्रेम भरियाबारे थप अनेक किस्सा सुन्नमा आइसकेको थियो ।

–थाहा छ, प्रेम भरिया त भित्ताहरूमा ‘प्रेम’ लेख्दै हिँड्छ नि ।

–प्रेम भरिया त राम्रो अंग्रेजी बोल्छ रे ।

–त्यसले त कुनै केटी देख्नैहुन्न । समात्न खोजीहाल्छ ।

–प्रेम भरिया २० र १०० को नोटमात्र चिन्छ । भारी बोकिसकेपछि कसैले उसलाई अरु नोट दियो भने लिन मान्दैन । २० र १०० को मात्र लिन्छ ।

यीमध्ये केही किस्सा सत्य पनि थिए । ऊ अंगार र चकले घर तथा सडकका भित्तामा ‘प्रेम’ लेखिहिँड्थ्यो । कतैकतै खम्बातिर प्रेमवाद लेखेको देखिन्थ्यो । तर, त्यो प्रेमवाद प्रेमले लेखेको थिएन । ऊ त मात्र आफ्नो नाम कोथ्र्यो । कहिलेकाहीँ ‘आई लभ यु’ भनेर पनि लेख्थ्यो प्रेम । चक वा अंगार भेट्यो कि उसलाई पसलतिरका भित्तामा प्रेम लेख्दैगरेको भेटिन्थ्यो । बडो कमलोेसँग भित्तो सुम्सुम्याउँदै ऊ आफ्नो नाम ती भित्ताहरूमा कोरिरहन्थ्यो । उसलाई त्यसबखत कसैले भारी बोक्न बोलाए पनि जाँदैनथ्यो ।

ठूलाबडाले साना बच्चाको मगजमा प्रेम भरिया पागल हो भनेर भरिदिइसकेका थिए । बच्चाहरू सकेसम्म उसको छेउमा पर्दैनथे । केही उरन्ठेउला बच्चा भने परैबाट ढुंगा हान्थे । प्रेम कहिले चुपचाप हिँड्थ्यो त कहिलेकाहीँ बच्चालाई गाली गथ्र्यो । तर, ढुंगा फर्काएर कहिल्यै हानेन ।

कुकुरहरू प्रेमलाई देखेर यसरी भुक्थे कि सायद ती पनि चाहन्थे कि ऊ छेउ नपरोस् । मानिसहरू उसलाई देख्नेबित्तिकै छिछी र दुरदुर गर्न थाल्थे । बडो अचम्मको ‘कम्बिनेसन’ थियो चरिकोटका मानिस र कुकुरबीचको– प्रेम भरियाप्रति ।

स्कुले केटीहरू र कलेज पढ्ने युवती सकेसम्म उसको छेउमा पर्न खोज्दैनथे । उसलाई देखेपछि टाढैबाट सडकको अर्को कुनामा हिँड्न थाल्थे । यस्तो लाग्थ्यो, हजुरआमाले सुनाउने कथाको भूत हो प्रेम, उनीहरू त्यसलाई देख्दा तर्सिन्थे । थाहै नपाइ कतैबाट प्रेम छेउमा आइपुगेको रहेछ भने सातदोबाटो बजार नै उचाल्ने गरी चिच्याउँथे । प्रेम त्यस्तो व्यवहार गर्न खोज्ने केटीहरूलाई देख्नेबित्तिकै झन् नजिक गएर तर्साउन खोज्थ्यो ।

गरिबी वा चोट, यकिन त भन्न सक्तिनँ तर समयक्रमसँगै प्रेमको परिचय भरियाबाट पागलमा परिणत भइसकेको थियो । चरिकोट बजारले अघोषितरूपमा प्रेम भरियालाई पागलको उपमा दिइसकेको थियो ।

ऊ भने कहिलेकाहीँ मानिसलाई व्यंग्य गथ्र्यो ः

–यत्रो भारी बोकेको पनि जम्मा १० रुप्पे दिन्छन् । अनि उल्टो म पो पागल !

–यस्तो मीठो खाना पनि फाल्छन् मान्छेहरू । अनि उल्टो म पो पागल अरे । यति भनिसकेपछि ऊ प्लास्टिकमा राखेर फालिएको खाना टिप्थ्यो र प्रतीक्षालयमा बसेर खान थाल्थ्यो ।

ड्ड         

 

यो त्यही सडक हो

जहाँ धेरैपटक डराउँदै हिँडेको छु म ।

आज यही सडक गाउँदैछ आफ्नै सन्नाटाको लय

चिनाउँदैछ आफ्नै त्रासको सनसनीपूर्ण आवेग

उठाउन खोज्दैछ एउटा युग निदाएको ‘प्रेम भरिया’ ।

 

एकमन उघारेर पर्दा– चियाउन भन्दैछ झ्याल

कतै फुक्यो कि ‘प्रेम भरिया’ले बाँसुरीमा नयाँ क्रान्तिको बिगुल ?

कक्षा १० को परीक्षा सकेपछि मैले थप पढ्न दोलखा छाडेँ, काठमाडाँै आएँ । बिदामा कहिलेकाहीँ चरिकोट जाँदा प्रेम भरियालाई सातदोबाटो चोकतिर देख्थँे । उसको दिनचर्या उस्तै थियो । चरिकोट आउने–जाने मानिसहरू बदलिरहन्थे, तर प्रेम भरियाको नाममा लागेको पागलको ट्याग हटेन । मैले पहिलोपटक भेट्दा शालीन बस्न रूचाउने प्रेम केही सन्काहाजस्तो भइसकेको थियो ।

१२ कक्षाको पढाइ सकेपछि म फेरि चरिकोट फर्किएँ । चरिकोटलाई पनि सिंगो देशजस्तै ६२÷६३ को जनआन्दोलन लागेको थियो । आन्दोलनमा प्रेम भरिया पनि देखिन्थ्यो ।

पुलिसले लठ्ठी बजाउँदा आन्दोलनकारीहरु आफूले हातमा बोकेको पार्टीको झन्डा फालेर दौडिन्थे । प्रेम भरिया ती झन्डाहरू बटुल्थ्यो । यसरी हरेक दिन प्रेम भरिया भुइँमा झरेका झन्डाहरू बटुल्थ्यो र भोलिपल्ट बिहानै आन्दोलनकारीलाई दिन्थ्यो । पुलिसले अघिल्ला दुई–चार दिन त प्रेम भरियालाई केही गरेन । तर, पछिपछि भने प्रेम झन्डा बटुल्न जाँदा पुलिस लठ्ठी लिएर उसलाई पनि खेद्न खोज्थे, हिर्काउन खोज्थे । तर पनि प्रेम भरियाले झन्डा बटुल्न छोडेन ।

सातदोबाटोको प्रतीक्षालयछेउमा केही कार्टुन जम्मा पारेर सुत्ने ओछ्यान र केही कपडाले बेरबार पारेर आफ्नो एउटा कोठाजस्तो तयार पारेको थियो प्रेम भरियाले । हरेक बेलुकी आफूले जम्मा पारेका झन्डाहरू बडो जतनसाथ ऊ आफू सुत्ने ओछ्यानछेउमा राख्थ्यो र भोलिपल्ट बिहान ती झन्डा आन्दोलनकारीलाई दिन्थ्यो ।

यसरी ६२÷६३ को जनआन्दोलनमा उसले पनि सघायो । बैशाख ११ गतेको विजयजुलुस निस्कने बेला प्रेम भरियाको अनुहारमा अबिर रातै पोतिएको थियो । ऊ बडो उन्मादका साथ विजयजुलुसको अग्रपंक्तिमा नेपालको झन्डा बोकेर नाचेको थियो । चरिकोटले घोषणा गरिदिएको पागललाई चरिकोटले नै लोकतन्त्रको उन्मादमा उमंगका साथ नाचेको देख्यो । मान्छेहरू कहिले प्रेमकै तालमा ताल मिलाउँदै नाच्थे त कहिले ऊ नाचेको देखेर हर्षले ताली पिट्थे ।

साँझपख प्रेम भरियाले आफूले बटुलेको विभिन्न पार्टीका झन्डा तहतह मिलाएर कुनामा राख्यो । र, त्यो तहको सबैभन्दा माथिपट्टि उसले नेपालको झन्डा राख्यो । उसले त्यो रात अबेरसम्म प्रतीक्षालयमा बसेर बाँसुरी बजायो ।

त्यसपछिका रात जतिसुकै चिसो किन नहोस्, उसले ती झन्डाको ओछ्यान कहिल्यै बनाएन । झन्डा ओढेर पनि कहिल्यै सुतेन ।

ड्ड         

 

आज बिहानैदेखि ‘प्रेम भरिया’ बटुलिरहेथ्यो सडककुनामा फालेको च्यातिएका कपडा र बोलिरहेथ्यो ऊ एक्लै ।

साला मान्छेहरू

उपहास गर्दै मेरो नांगो छातीको

फाल्छन् यत्ति राम्रा कपडाहरू

उल्टो म पो पागल अरे !

म बटुल्छु– यी सारा कपडा

र, बनाउँछु अब यसको एउटा स्वरूप

यो कपडा अब एउटा कुरूप मान्छे बन्नेछ,

जोजसले फाल्यो उसैको प्रतिमूर्ति बन्नेछ ।

हो, आजको रात अलि ज्यादा चिसो हुन सक्छ ।

बरु उदांगै रहोस् मेरो यो छाती

म यो प्रतिमूर्ति जलाउनेछु ।

र युगाँैगुग त्यसैको न्यानो ताप्नेछु ।

आहा !

सातदोबाटो आज रातैभर उजेलो हुनेछ ।

हो म बाल्नेछु कुरूपका अनुहार

अझ उल्टो म पो पागल अरे !

 

आज दिनैभरि ‘प्रेम भरिया’

एक्लैएक्लै मुस्कुराइरह्यो ।

 

२०६५ जेठ १५

प्रेमले एकाबिहानै पशुपति डाँडादेखि सातदोबाटो चोकसम्म बेसुरको गीत गाउँदै, सडककिनारमा मिल्काइएका काम नलाग्ने भनिएका कपडा बटुलिरह्यो । त्यो दिनभरि उसले भारी पनि बोकेन ।

गणतन्त्र घोषणा गरिएको दिन, चरिकोट पनि सिंगो देशजस्तै खुसीमा झुमिरहेथ्यो । मानिसहरू गणतन्त्रलाई स्वागत गर्न सातदोबाटोलाई गणतान्त्रिक चोक घोषणा गर्दै राताराता अक्षरमा गणतान्त्रिक नेपाल २०६५ जेठ १५ लेखिरहेका थिए ।

विभिन्न राजनीतिक दलका नेता भाषण गर्दैथिए । जनता ताली बजाउँदैथिए । प्रेम भरिया भने प्रतीक्षालयमा चुपचाप मुस्कुराइरहेथ्यो ।

सातदोबाटोको भाषण सकिएपछि मानिस घरतर्फ लागे । चोकमा गणतन्त्रलाई स्वागत गरेर पोतिएको रातो अक्षर टाढाटाढाबाट पनि देखिन्थ्यो । प्रेम भरिया त्यो रातो अक्षरछेउ गयो र निकैबेर एकसुरले घोरिएर बस्यो । प्रतीक्षालयमा आएर निकै रातिसम्म बाँसुरीमा अनौठो धुन फुकिरह्यो ।

रात निकै छिप्पिसकेको थियो । त्यसपछि के सुर चलेर हो, प्रेम भरियाले आफूले बटुलेका कपडा गणतान्त्रिक नेपाल २०६५ जेठ १५ लेखिएको ठाउँमा लगेर राख्यो । तहतह मिलाएर राखिएको पार्टीको झन्डा बोकेर आयो । र, देशको झन्डा त्यतै छाड्यो । सबै पार्टीको झन्डालाई कपडा राखिएको ठाउँमा राख्यो । फर्किएर एकपटक देशको झन्डातर्फ हे¥यो । त्यसमाथि आफूले सधैँ बजाउने गरेको बाँसुरी पनि राख्यो र सलाई कोरिदियो ।

चिसो रात, आगोको रापभन्दा तातो हल्ला हावाभन्दा चाँडो फैलियो ः

–सातदोबाटो चोकमा त आगो लागेको छ रे ।

–प्रेम भरियाले चोकमा आगो लगायो रे ।

मानिसहरू घरघरबाट दौडिन थाले । अघिसम्म चुपचाप बसिरहेका प्रहरी पनि दौडिँदै त्यहाँ आइपुगे । आगोको लप्का ठूलो थिएन । मानिसहरूले आगोको राप केहीबेर मुकदर्शक बनेर हेरे । त्यसरी मुकदर्शक बन्नेमा अग्रपंक्तिमा अघि दिउँसो यही चोकमा भाषण गरेर गएका विभिन्न पार्टीका नाम चलेका नेताहरू पनि देखिन्थे ।

मानिसहरू गलल्ल हाँसे ः

–पागलले आगो लगाएछ भनेको त कपडा पो जलाएको रहेछ ।

–पागलको नौटंकी ... !

फेरि एकैछिनमा आक्रोशको साथ भीडबाट कोही करायो ः

–साला प्रेम यति ठूला र लोकप्रिय पार्टीहरूका झन्डा जलाउँछस् ?

–यो पागलले त हाम्रो पार्टीको झन्डा पनि जलाएछ । –अर्को करायो ।

–हो रहेछ, हाम्रो पार्टीको पनि झन्डा जलाएछ । –अर्को करायो ।

–हामीले लेखेको गणतान्त्रिक नेपालमाथि यसले जलाएको कपडाको कालो बस्नेभयो अब । साला पागलले गणतान्त्रिक नेपालमाथि कालो दलेछ । –फेरि अर्को करायो ।

एक्कासि केही मानिस प्रेम भरिया टुसुक्क बसेर तमासा हेरिरहेको प्रतीक्षालयमा गएर उसलाई भकुर्न थाले । प्रेम भरियाले ऐया भनेको पनि सुनिएन ।

भोलिपल्टदेखि प्रेम भरिया बजारमा देखिएन ।

ड्ड         

 

एकमन उघारेर पर्दा– चियाउन भन्दैछ झ्याल

कतै बल्यो कि सडकछेउ– निमुखाहरूमाथिको अत्याचार दनदनी

 

ओ प्रिय चरिकोट, मलाई थाहा छैन अचेल प्रेम भरिया कता छ ? अचेल प्रेम बाँसुरी बजाउँछ कि बजाउँदैन, त्यो पनि मलाई थाहा छैन । बरु हिजो राति सपनामा मैले प्रेमलाई देखेको थिएँ । मेरो सपनामा प्रेम, चरिकोटको मुटु सातदोबाटोको भत्किएको प्रतीक्षालयछेउ डिलमा बसेर बाँसुरीमा अनौठो शोकधुन बजाइरहेथ्यो !

के उसले त्यो दिन हाम्रो सपनाको चिहान बनाएर जलाएको थियो सातदोबाटोमा ? ओ चरिकोट .... !

प्रकाशित: २२ आश्विन २०७३ १०:२२ शनिबार

प्रेम भरिया