काठमाडौं-‘हजुर, हजारमा मात्र ५० रुपैयाँ बढी हो । कति दिउँ हजुर, हजार कि दुई हजार ?’ व्यापारीले यसरी सोधे, मानौं उनले जुत्ता बेचिरहेका छन्।
‘सक्कली त हो नि ?’ बटुवाले यसरी शंका व्यक्त गरे, उनले पनि जुत्ता किनिरहेका छन्।
‘सक्कली हो, हेरेर लैजानुस्,’ मानौं जुत्ता व्यापारी आफ्नो इमानप्रति दृढ र सामानप्रति विश्वस्त छन्।
‘तीन–चार हजारको लैजान्छु, अलि मिलाइदिनुस् न,’ बटुवाले बार्गेनिङ गरे।
नोटहरु साटिनु स्वाभाविकै हो। तर, यो सहर हो । यहाँ नोटहरु साटिँदैनन् मात्रै, खरिद–बिक्री पनि हुन्छन्। माथिको ‘बार्गेनिङ’ कुनै सामान व्यापारी र ग्राहकबीचको होइन । यो त नोट व्यापारी र बटुवाबीचको हो।
हिन्दुहरुको महान पर्व दसैंमा टीका लगाएर दक्षिणा दिइन्छ । दक्षिणामा नयाँ नोट दिने प्रचलन पछिल्लो समय बढ्दो छ । राष्ट्र बैंकले सर्वसाधारणलाई सर्वसुलभ नयाँ नोट साट्ने व्यवस्था गर्न नसक्दा बजारमा नयाँ नोटको खरिद–बिक्री पनि चलेको देखियो ।
०००
सुन्धाराचोकदेखि न्युरोड गेटबीचको सडकपेटी । जहाँ सधैंजसो काँक्रा, कागती, खुर्सानी, कस्मेटिक सामान र लत्ताकपडा बेच्न राखिएका हुन्थे । तर, मंगलबार बिहान साढे १० बजेतिर नोटको खरिद–बिक्री चल्यो ।
५, १०, २०, ५० र १०० रुपैयाँका नयाँ नोट बेच्न राखिएका थिए । एक्कासि पैसाको बिस्कुन देखेपछि बटुवा केहीबेर अलमलिए।
त्यही लहरमा एक वृद्ध भने हजारका नयाँ नोट एक सय रुपैयाँ बढी लिएर बिक्री गरिरहेका थिए।
‘तीन हजार लिन्छु, मिलाएर दिनुस् न,’ एक बटुवाले उनीसँग बार्गेनिङ गरे । वृद्धले भने, ‘मिल्दैन, मिल्दैन।’
कति बटुवाले नयाँ नोट बिक्री गरेको अनौठो मानेर हेरिरहेका थिए । ‘सुरुमा त मलाई अचम्म लाग्यो,’ बटुवा हरिदेव भट्टले भने, ‘नक्कली हो कि जस्तो पनि लाग्यो । सबैले सडकमा पैसा किनेको देख्दा अनौठो र रमाइलो पनि लाग्यो।’
एक महिलाले त्यही ठाउँमा पहिलेदेखि नै केही बढी लिएर सिक्कासँग नोट साट्ने गर्छिन् । उनीसँग टेम्पु, माइक्रोका चालक, सहयोगीले सिक्का साट्ने गर्छन् ।
‘मैले त चानचुन मात्रै बेच्ने हो, एक सयको पाँच रुपैयाँ बढी लिन्छु । त्यही पनि सधैं व्यापार हुँदैन,’ उनले भनिन्।
नोटको बिक्री भइरहेको हेर्नेहरुको ठूलै भिड लाग्यो। सडकपेटी अवरुद्ध नै भयो । त्यसको केहीबेरमा काठमाडौं महानगरपालिकाको प्रहरी टोली आयो। डिएसपी विष्णुप्रसाद जोशीको नेतृत्वमा आएको टोलीले भिडलाई हटाउन थाल्यो।
सडकमा नयाँ नोट फिँजाइएको देखेर जोशीले सोधे, ‘के गरेको यहाँ ?’
‘नयाँ नोट साटेको हजुर,’ जवाफ दिए नोट बेच्नेले ।
‘यसरी बाटामा नोट साट्न पाइन्छ ?’ जोशी कड्किए ।
‘हामीले बढी पैसा लिएका छैनौं । एक सयको पाँच रुपैयाँ त हो । त्यो त चानचुन साट्नेले पनि लिँदै आएको छ,’ नोट व्यापारीले जवाफ दिए ।
‘हो त, चानचुन साट्दा सयमा पाँच रुपैयाँ बढी त लिइरहेका छन् । पशुपतिमा श्रद्धालुले पनि साटेर मन्दिरमा चढाउँछन् । ठाउँठाउँमा टेम्पोचालक, माइक्रोचालकले पनि साट्छन्,’ यही सोचे डिएसपी जोशीले ।
फेरि पनि भने, ‘यसरी सडकमा नोट फिँजाउँदा कसैले लुट्न सक्छ । दोष तपाईंहरुकै हुन्छ, नबस्नुस् यहाँ।’
तर, नयाँ नोट किन्न लागेका सर्वसाधारणले आग्रह गरे, ‘दसैंको दक्षिणामा नयाँ नोट चाहिन्छ । कहाँ साट्न जानु ? छाडिदिनुस् हजुर।’
‘सर्वसाधारणले नै आग्रह गरेपछि मैले थोरै–थोरै हातमा लिएर साट्नुस्, भिड नगर्नुस् भनेर छाडिदिएँ,’ जोशीले नागरिकसँग भने, ‘सर्वसाधारणकै आग्रहका कारण मैले कसैलाई पक्रन पनि सकिनँ ।’
नेपाल राष्ट्र बैंकले आइतबारदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न थालेको छ । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणका लागि राजधानीमा नौवटा सटही काउन्टर रहेका छन्।
मुद्रा व्यवस्थापन विभाग थापाथलीमा बिहानै ५ बजेदेखि नै सर्वसाधारण नयाँ नोटका लागि लाइन लाग्छन्। ज्येष्ठ नागरिक, अपांगता भएका र अशक्तका लागि छुट्टै काउन्टरको व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
५ बजे लाइनमा बसे पनि ७ बजेपछि मात्रै कुपन वितरण गरी एकजनाले ३७ हजारसम्म नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ।
यो वर्ष राष्ट्र बैंकले आठ अर्बको नयाँ नोट दसैंका लागि जारी गरेको छ। नयाँ नोट बजारमा आएपछि साटिने पुराना नोट भने बैंकमै हरेक वर्ष खिचिन्छ।
सामान्यतः नयाँ नोटको बढी प्रयोग दसैंमा गरिन्छ । तर, पुराना गभर्नरका नाम भएका नोटका बदलामा नयाँ गभर्नरका नाममा नयाँ नोट ल्याउने एउटा मेसो पनि दसैंको ‘नयाँ नोट’ बनेको छ।
अहिलेका गर्भनर चिरञ्जीवी नेपालको नामको ५० को नोट पनि यही मेसोको एउटा उदाहरण हो ।
नयाँ नोट छाप्न करोडौं खर्च लाग्ने र कमिसनको खेल पनि चल्ने अर्थविद् बताउँछन्।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली स्टकका आधारमा हरेक दुई वर्षमा नयाँ नोट छापिने र नोट छाप्दा लाग्ने खर्च भने छाप्ने प्रविधिका आधारमा तय हुने बताउँछन् । ‘धेरै अघिको कुरा त म भन्न सक्दिनँ । तर, राष्ट्र बैंक एउटा सिस्टममा चलेको संस्था हो,’ ज्ञवालीले भने, ‘नराम्रा एक–दुई व्यक्तिका कारण कमिसन लगायत काम अपवादका रुपमा हुन्न भन्न सकिन्न।’
प्रकाशित: १९ आश्विन २०७३ ०१:३३ बुधबार