अन्य

पाँच नम्बर प्रदेशलाई तलमाथि गरियो भने निर्णायक लडाई लड्छौं: रायमाझी

काठमाडौं–सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लालाई टुक्र्याउने काम गरिए निर्णायक लडाई गर्ने चेतावनी दिएका छन्।

शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले भने, ‘७ प्रदेशको टुँगो लागिसकेको छ, संविधानमा हाम्रापनि केही रिजर्भेसन थिए, तर सीमांकनको सामान्य हेरफेर बाहेक पहिल्यै मिलेर बसेका जिल्लाहरु टुक्र्याउने काम भयो भने हामी अर्को निर्णायक आन्दोलनमा उत्रिन्छौं।’

विवादित जिल्लाहरु झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरमा हात हाल्न नसक्ने अनि मिलेर बसेका जिल्लाहरुमा हात हाल्ने काम भए आफूहरु कुनै हालतमा नमान्ने बरु सशक्त आन्दोलनमा उत्रिने

उनले पाँच नम्बर प्रदेशलाई तलमाथि गरिए आफूहरु कुनै हालतमा नमान्ने बताउँदै त्यसको प्रतिकार र विरोधको लागि निर्णायक लडाई लड्ने चेतावनी दिए।

विवाद नभएको ठाउँमा अनावश्यक विवाद बल्झाउन यस्तो षडयन्त्र गरिएको उनको आरोप छ। रायमाझीले अघि थपे, ‘भुईँको टिप्न खोज्दा, गोजीको खस्ला त्यतापट्टी सोच्नुपर्छ।’ उनले आन्दोलन गरेरमात्रै सबै कुरा पाउने भए आफूहरुलाई पनि संविधानमा चित्त नबुझेको बताउँदै भने,‘अरे, सबै कुरा आन्दोलन गरेरमात्रै हुने हो भने हाम्रा माग र विचार पनि संविधानमा समेटिनुपर्छ, हामी पनि आन्दोलन गर्छौं।’ रायमाझीले प्रश्न गरे, ‘मधेसी दलको मात्रै किन ? हाम्रोपनि विषयमा संविधान संशोधन हुनुपर्छ।’

विवादित जिल्लाहरु झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरमा हात हाल्न नसक्ने अनि मिलेर बसेका जिल्लाहरुमा हात हाल्ने काम भए आफूहरु कुनै हालतमा नमान्ने बरु सशक्त आन्दोलनमा उत्रिने रायमाझीले चेतावनी दिए। उनले पहिलो पार्टी मात्रै भएर नहुने भन्दै संविधान संशोधनको लागि दुई तिहाई चाहिने भएकाले प्रमुख दलहरुवीच सहमति अनिवार्य आवश्यक रहेको बताए । उनले आक्रोश पोखे,‘हैसियत सानो छ अनि ठूलो कुरा गर्ने?’ अहिले बजारमा आइरहेको यस्ता हल्लाले संविधान कार्यान्वयन हुन नदिने षडयन्त्र भैरहेको रायमाझीको आरोप थियो।

 

प्रकाशित: ८ आश्विन २०७३ १०:०८ शनिबार

नम्बर प्रदेशलाई तलमाथि गरियो भने निर्णायक लडाई लड्छौं रायमाझी