अन्य

बम आतंक फैलाउनेलाई कडा कारवाही गर्न चेतावनी

काठमाडौं– विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनले चेतावनी दिएका छन्। बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका तीनै संगठनका प्रमुखहरुले मंगलबार नै संयुक्त पत्रकार संमेलनमार्फत प्रेस विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन्।

उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु आपराधिक काम भएको टिप्पणी गरे। शान्ति क्षेत्रमा यसरी बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप थियो। सिलवालले यस्ता घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्न नसके कडा आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए । उनले चन्दा आतंक, संगठन विस्तार जस्ता कुरा रोक्न सम्बन्धित निकायलाई आग्रह समेत गरे। बम आतंक गराउनमा अध्ययनका लागि नेपाली विद्यार्थीलाई विदेश पठाउन चाहने तत्वको हात रहेको उनको आशंका थियो।

यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतंकमा संलग्नलाई कडा  कारबाही गर्न माग गरे। बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक  रुपमा त्रसित भएको भन्दै शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा  यस्ता  घटना हुनु दुःखद् भएको टिप्पणी गरे।

राज्यले यस्ता घटना नियन्त्रण नगरे आफूहरु चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी केसीले दिए। एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप लगाए।

राजनीतिक आवरण वा कुनै दलको संगठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा पनि शिक्षा मन्त्रालय मौन बस्नु दुर्भाग्य भएको शाहीको तर्क छ। यस्ता आक्रमण नरोकिए आफूहरु पनि आक्रमणको विरुद्धमा अगाडि बढ्ने उनको चेतावनी छ।

कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले आजको घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालय समक्ष कुरा राखेर  दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिएका छन्।

 

प्रकाशित: ४ आश्विन २०७३ ०८:३२ मंगलबार

बम आतंक फैलाउनेलाई कडा कारवाही गर्न चेतावनी