अन्य

सप्तकोसीमा डुंगा डुब्यो, ३७ को उद्धार, केही अझै बेपत्ता

इटहरी- सप्तकोसीको मूल भंगालोमा शनिबार डुंगा डुब्दा ३७ जनाको सकुशल उद्धार गरिएको छ। वर्षायाममा पूर्वतर्फ कोसीको मूल भंगालो र पश्चिमतर्फ सानो भंगालोले घेरिने गरेको सुनसरी श्रीलंका टापुका बासिन्दा कोसीपूर्वको प्रकाशपुर आउँदै गर्दा डुंगा डुबेकोमा तत्काल २३ जना र पछि अन्यको उद्धार गरिएको हो।

डुंगामा कम्तीमा ५० यात्रु रहेकाले बेपत्ताको संख्या यकिन हुन सकेको छैन। सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शनिबार साँझ ७ बजेसम्म खोजी गरे पनि कसैलाई फेला पर्न सकेनन्। उद्धारका लागि छवटा मोटरबोट र एउटा डुंगा परिचालन गरिएकोमा आइतबार बिहानैदेखि पुनः खोजी थालिनेछ ।

शनिबार ११ः४५ बजेतिर डुंगा डुबेकोमा उद्धारका लागि टोली पुगेपछि पानी परेकाले केही असहज भएको थियो। साँझ अबेरसम्म खोजी गर्दा पनि बेपत्तालाई फेला पार्न नसकिएको र रातिको बेला जोखिम हुने कारण खोजी कार्य रोकिएको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले बताए।

उद्धार गरिएकी चञ्चला कविरथका अनुसार डुंगामा ३५ वर्षीया सीता कविरथ र अखाई चन्द्रवंशीकी श्रीमती बेपत्ता छन्। डुंगा ठेकेदार तुफान चन्द्रवंशी पनि अहिलेसम्म सम्पर्कमा नआएको जानकारी दिइयो।

प्रहरीले भने डुंगामा सवार ४५ देखि ५० जनासम्म भएको अनुमान लगाएको छ। श्रीलंका टापुमै प्रहरीलाई पठाएर बेपत्ताको संख्या पत्ता लगाउने काम भइरहेको सुनसरीका सिडिओ मोहनबहादुर चापागार्इंले बताए। उनका अनुसार क्षमताभन्दा बढी यात्रु चढ्नु र शनिबार कोसीमा पानीको बहाब बढेकाले बढी गतिमा छालले हाल्ना डुंगा डुबेको हो।

शनिबार दिउँसो २ बजे कोसी ब्यारेजमा सप्तकोसीको बहाब २ लाख ७ हजार ८१५ क्युसेक पुगेको थियो।

श्रीलंका टापुबाट प्रकाशपुरमा लाग्ने साप्ताहिक हाट आउने क्रममा डुंगा डुबेको हो। डुंगामा सवार यात्रु महेन्द्रनगर–५ की दिलमाया कविरथका अनुसार पानीको छाल वेग गति भएको स्थानको आधा भाग त डुंगा कटिसके पनि भरिएको पानी फ्याँक्न नसक्दा डुब्न पुग्यो। डुंगा डुब्नासाथ दाउरा संकलन गर्न गएको अर्को डुंगा नजिकै रहेकाले तत्काल २३ जनाको उद्धार गरिएको उनले बताइन्।

'धन्य भगवानले बचाए र नयाँ जुनी देख्न पाइयो,' दिलमायाले भनिन्, 'बाँच्ने आशा त पूरै मरिसकेको थियो।'

तीन दशकयता डुंगामा कोसीपूर्व आउजाउ गर्दा श्रीलंका टापुका कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २ आश्विन २०७३ ०१:२७ आइतबार

सप्तकोसीमा डुंगा डुब्यो ३७ को उद्धार केही बेपत्ता