अन्य

सवा ३ लाख भूकम्प पीडितलाई पहिलो किस्ता

चौतारास्थित बैंकमा आवास निर्माण अनुदानको पहिलो किस्ता झिक्न लामबद्ध स्थानीय। तस्बिरः ध्रुव दंगाल

सिन्धुपाल्चोक-गत वर्ष वैशाख १२ को विनासकारी भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ३ लाख १९ हजार पीडितले आवास निर्माण अनुदानको पहिलो किस्ताबापत् ५० हजार रुपैयाँ पाएका छन् । ७६ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ । सम्झौता भएका मध्ये ६० प्रतिशतले अनुदान रकम पाएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५ लाख ३१ हजार ९ सय ६४ लाभग्राहीको पहिचान गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत लाभग्राहीमध्ये अनुदान सम्झौता गरेका ३ लाख १९ हजार ५९ पीडितले पहिलो किस्ताको अनुदान रकम पाएको जनाएको छ । मन्त्रालयका अनुसार पहिलो किस्ताका लागि अहिलेसम्म १५ अर्ब ९५ करोड ३९ लाख ५० हजार रुपैयाँ निकासा भएको छ ।

मन्त्रालयका अनुसार पहिचान भएका लाभग्राही मध्ये ४ लाख २० हजार ६ सय ७१ घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । अब १ लाख ११ हजार २ सय ९३ पीडितसँग सम्झौता गर्न बाँकी छ । बाँकीसँंग पनि तत्काले सम्झौता गरी रकम उपलब्ध गराइने छ ।

३ लाख १९ हजार ५९ लाभग्राहीले पाए ५० हजार
५ लाख ३१ हजार ९ सय ६४ लाभग्राही
४ लाख २० हजार ६ सय ७१ घरधनीसँग सम्झौता
१ लाख ६० हजार ४ सय गुनासा संकलन


मन्त्रालयका अनुसार लाभग्राही सूचीमा छुटेको भन्दै अतिप्रभावित जिल्लाबाट १ लाख ६० हजार ४ सय गुनासा संकलन भएका छन् ।

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक अनुदान सम्झौता र पहिलो किस्ता निकासामा अगाडि छ । ७८ हजार ५ सय ३७ लाभग्राही रहेको सिन्धुपाल्चोकमा ६९ हजार १ सय ७४ सँग अनुदान सम्झौता भएको छ । सम्झौता भएका मध्ये ६५ हजार ९ सय ९० लाभग्राहीलाई पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । जिल्लामा १३ हजार २ सय ५५ गुनासा संकलन भएका छन् । ‘केही साताभित्रै बाँकीसँंग अनुदान सम्झौता गरी पहिलो किस्ता वितरण सक्छौं,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालय प्रमुख भुवनेश्वर लामिछानेले भने ।
        
दोलखा, धादिङ, नुवाकोट, काभ्रे, रामेछाप, रसुवालगायत जिल्लामा पनि अनुदान सम्झौता र पहिलो किस्ता निकासाले तीव्रता पाएको छ । प्राधिकरणले केही दिनयता काठमाडौं उपत्यकाको ललितपुरमा समेत अनुदान सम्झौता अघि बढाएको छ ।

भूकम्पको केन्द्रविन्दु गोरखामा ५८ हजार ५ सय ३ लाभग्राही पहिचान भएकोमा ४९ हजार ७ सय ५८ सँग सम्झौता भएको छ । सम्झौता भएका मध्ये ४८ हजार ४ सय ५८ लाई पहिलो किस्ताको रकम निकासा दिइएको मन्त्रालयले जनाएको छ ।
दोलखामा ४२ हजार ९ सय १२ लाभग्राहीसँग सम्झौता भएको छ । त्यसमध्ये ३६ हजार ३ सय १३ लाई पहिलो किस्ता निकासा दिइएको छ । त्यहाँ ५१ हजार ७ सय ६२ लाभग्राही पहिचान गरिएको छ ।

पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार बनेपछि अनुदान सम्झौता र पहिलो किस्ता निकासाले तीव्रता पाएको हो । प्रधानमन्त्री बनेलगत्तै उनले ४५ दिनभित्र सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम उपलब्ध गराउन निर्देशन दिएका थिए ।

गत वैशाखमा दोलखाबाट लाभग्राहीसँंग अनुदान सम्झौता थालिएको थियो । त्यसको चार महिनापछि दाहाल प्रधानमन्त्री हुँदा झन्डै ४० हजारले मात्र पहिलो किस्ता पाएका थिए ।

इन्जिनियरलाई अधिकार प्रत्यायोजन

मकवानपुर, सिन्धुली, रसुवालगायत जिल्लामा अनुदान सम्झौता र पहिलो किस्ता वितरणले गति लिन नसकेको भन्दै संघीय मामिला तथा  स्थानीय विकास मन्त्रालयले असन्तुष्टि पोखेको छ । मन्त्रालयले सम्झौता र अनुदान वितरण प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकाका तीनसहित भूकम्पप्रभावित १४ जिल्लाका जिविसलाई तीनबुँदे लिखित निर्देशन दिँदै मन्त्रालयले असन्तुष्टि पोखेको हो । वैदेशिक सहयोग समन्वय शाखाका अधिकृत सन्तोष पाखेरेलद्वारा बिहीबार प्रेषित पत्रमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा भदौ १६ गते बसेको बैठकको निर्णयको जानकारी पनि जिविसलाई दिइएको छ ।

अनुदान सम्झौता सम्पन्न गरिसकेका गाविस तथा नगरपालिकालाई त्यसको विवरण एकमुष्ठ यथाशीघ्र र अब हुने सम्झौता विवरण प्रत्येक तीन दिनमा जिविसमा उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

एकै दिन दुईवटा पत्राचार गरेको शाखाले जिविसहरूलाई अर्को पत्र लेख्दै अनुदान सम्झौतामा इन्जिनियरलाई खटाउन निर्देशन दिएको छ । पत्रमा प्रत्येक गाउँमा खटिएका इन्जिनियरलाई सचिव रिक्त गाविसमा अनुदान सम्झौता र वितरणको अधिकार प्रत्यायोजन गरिएको जनाइएको छ । पत्रअनुसार अब सचिव नभएका गाविसमा इन्जिनियरले अनुदान सम्झौता, वितरण र गुनासा सम्बोधन गर्नेछन् । सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माणमा सघाउन पहिला नै इन्जिनियरहरू खटाइसकेको छ ।

प्रकाशित: २४ भाद्र २०७३ ०३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App