अन्य

सार्थक जीवनको सार

जे.के. रोलिङ

मलाई यो सभामा बोल्न दिइएकामा हार्वर्ड विश्वविद्यालयलाई धन्यवाद दिन्छु। यहाँ बोल्नु मेरा लागि कत्रो पहाड थियो भने हप्तौँदेखि सम्झँदामात्र पनि मन भरंग हुन्थ्यो, डर लागेजस्तो हुन्थ्यो अनि वाकवाकी लाग्नेजस्ता समस्याले मेरो वजनसमेत घटाइदिएको थियो। यहाँ बोल्न आउनुअघि पनि मलाई सञ्चो नहोलाजस्तो भएको थियो, तर लामो श्वास तानेर आफैलाई ढाडस दिएँ।

यसरी स्नातकसामुन्ने उभिएर भाषण गर्नु एउटा ठूलो जिम्मेवारीको काम हो। म आफै पनि स्नातक हुँदा मेरो विश्वविद्यालयमा भाषण गर्न बेलायती दार्शनिक मेरी वार्नोक आएकी थिइन्। त्यो भाषणमा मैले पछिसम्म सम्झन सक्ने कुरा केही फेला पारेकी थिइनँ। केवल एउटा शब्द सम्भि्कएकी थिएँ। मेरीले भनेकी थिइन्, 'हासिल गर्न सकिने लक्ष्य :  सेल्फ इम्प्रुभमेन्ट।'

म पनि तपाईंहरूका लागि त्यस्तै एउटा केही शब्द भन्न चाहन्थेँ, जसले तपाईंलाई पछिसम्म केही झक्झक्याउन सकोस्। सक्छु–सक्दिनँ तर मैले दुई वटा छानेकी छु¬– 'असफलताका फाइदा' र 'कल्पनाशीलताको महत्व।' हुन त स्नातक गरेको खुसियालीमा असफलताका फाइदाका बारेमा सायदै तपाईंहरूले सोच्नुभएको होला। जीवनमा व्यावहारिक (प्राक्टिकल)भएर सोच्न जोड दिँदै आएको समाजमा कल्पनाशील हुन सायदै कसैले जोड दिँदो हो! २१ वर्षको उमेरमा मैले स्नातक गरेँ, अहिले ४२ वर्षको भएँ। त्यो क्षण फर्केर हेर्दा मलाई केही असहज लाग्छ र सोच्छु– ओहो, त्यो केटी के भइछ हगि!

त्यो बेला म आफ्ना महत्वाकांक्षा र मबाट अपेक्षा गर्नेहरूका आशाका बीच पेन्डुलम थिएँ। मलाई थाहा थियो, मैले जीवनमा गर्न सक्ने एउटै चिज भनेको उपन्यास लेखन हो। उता मेरा बा¬–आमा, जो कहिल्यै कलेज गएनन्, उनीहरु भन्थे, ''मेरो अति सक्रिय कल्पनाशीलताले घर–भाडा तिरिदिँदैन। तँलाई सुरक्षित भविष्य दिँदैन न त पेन्सन नै आउँछ!' त्यसैले उनीहरूले मलाई विभिन्न तालिम लिन लगाए, तर म अंग्रेजी साहित्य पढ्न चाहन्थेँ। पछि बा–आमासँग सम्झौता गरेर मैले 'मोडर्न ल्यांग्वेज' पढ्नुपर्‍यो।

यसमा उनीहरूको दोष छैन किनभने स्टियरिङ समात्ने पर्याप्त अनुभवबिना जुनसुकै बेला पनि गाडी गलत बाटोमा जान सक्छ र त्यसको जिम्मेवारी उनीहरूले लिनु नै पर्छ। मेरा बा–आमाले जुन गरिबी भोगे, त्यो छोरीले नभोगोस् भन्ने चाहना राख्नु गलत अपेक्षा होइन। गरिबीले सित्तैँमा डर र तनावजस्ता कुरा पुच्छर झुण्ड्याएझैँ बोकेर ल्याउँछ र निराशाले पनि गाँज्छ। यसको अर्थ हो, हजारौँ अपमान र कठिनाइ। आफ्नै प्रयासले गरिबीबाट उम्कनु आफैमाथि गर्व गर्ने कुरा हो, तर गरिबीलाई कसैले महान् मान्छ भने त्यो मूर्ख हो। मेरो उमेरमा सबैभन्दा बढी डर गरिबीको होइन, असफलताको थियो। हार्वर्डबाट स्नातक हुनु तपाईंका लागि ठूलो अवसर हो, तपाईं कहिल्यै असफलताबाट गुज्रन नपरेको पनि हुन सक्छ। तपाईं एउटा औसत व्यक्तिको सफलताभन्दा पनि माथि पहिल्यै उडिरहनुभएको छ। तापनि असफलताको डर र सफलताको इच्छाबीच झुल्नुभएको हुन्छ नै!

अन्ततः हामी सबैले एउटा बिन्दुमा असफलता कहाँ हुन्छ भन्ने निर्णय गर्नैपर्छ, किनभने संसार सफलता र असफलताको सीमा बाँध्न आतुर हुन्छ। त्यो सीमामा बाँधिन दिनुभयो भने पक्कै पनि त्यो सीमाबाहिर निस्कन तपाईंले संघर्ष गर्नुपर्ने हुन्छ। स्नातकपछिका ७ वर्षसम्म नराम्रोसँग असफल भएँ। मैले ज्यादै छोटो अवधिका लागि बिहे गरेँ, त्यही बेला म रोजगारीबाट विमुख रहेँ, लोग्नेले छाडे, एक्लै सन्तान हुर्काउनुपर्‍यो र घरबारविहीन नभइकन पनि म यति गरिब थिएँ कि आधुनिक बेलायतमा यस्तो पनि सम्भव हुन्छ र भन्ने लाग्थ्यो! अनि मेरा बा–आमाले जे कुराको डर मानेका थिए, त्यही भइदियो। म संसारकै सबैभन्दा असफल व्यक्ति बन्न पुगेँ।

अहिले म जुन ठाउँमा उभिएकी छु र यहाँ उभिएर भन्न सक्छु– असफलता रमाइलो हुन्छ। तर, त्यो बेला मेरा लागि अँध्यारोबाहेक केही थिएन। मेरो यात्रा कहाँसम्म हो भन्ने पत्तो नै थिएन। त्यही कुरा अहिले पत्रपत्रिकाले एउटा दन्त्यकथाजस्तो बयान गर्छन्। असफलताको त्यो अँध्यारो सुरुङ कति टाढासम्म फैलिएको छ र अर्को कुनामा उज्यालो छ भनेर आशाबाहेक अरु केही थिएन। उसो भए म किन असफलताको फाइदाबारे बोल्छु त? किनभने असफलताको अर्थ महत्वहीन कुराहरूलाई खुइल्याउनु हो। अनावश्यक कुरालाई खुइल्याउनु भनेको आफूसँग नभएको कुराको कहिल्यै अभिनय गरिनँ। मेरा लागि जे महत्वको थियो त्यो पूरा गर्न मैले कुनै कञ्जुस्याइँ गरिनँ। सारा ऊर्जा लगाएँ। म अन्य कुरामा अल्भि्कएको भए जे कुरामा म सफल हुने निश्चय गरेकी थिएँ, त्यो नपाउन सक्थेँ, त्यो नहुन सक्थेँ। म आफैले आफूलाई मुक्त गरेँ, किनभने मैले मेरो जीवनको सबैभन्दा ठूलो डर महसुस गर्न पाएँ। म अझै ज्यूँदै छु भन्ने महसुस गर्न पाएँ। छोरी जसका लागि म बाँचेकी थिएँ, ऊ मसँग थिई। मसँग एउटा पुरानो टाइपराइटर थियो र थियो एउटा ठूलो सोच। अनि त्यही कडा चट्टानजस्तो इरादा नै मेरो सशक्त आधारभूमि बन्यो र त्यसैको जगमा मैले मेरो जीवन पुनः उभ्याएँ।

मैले त्यो बेला जे भोगेँ, जस्तो भोगेँ, सायद तपाईंहरूले त्यस्तो असफलता भोग्नुपर्ने छैन। तर पनि केही असफलता भने सबैले भोग्नैपर्छ। तपाईं त्यसबाट भाग्न सक्नुहुन्न। केही असफलता नबाँची तपाईंको जीवन पूरा हुँदैन। असफलताले मलाई आन्तरिक सुरक्षा दियो। जुन सुरक्षा अन्त कतै पाएकी थिइनँ। असफलताले जीवनका बारेमा पाठ पढायो, जुन म अन्य ठाउँबाट पढ्न पाउँदैनथेँ। यही असफलताले म कति अनुशासित र कति दृढ इच्छा भएकी रहेछु भन्ने चिनेँ, त्यसरी त मैले आफूलाई कहिल्यै चिनेकी थिइनँ। त्योभन्दा बढी मसँग मेरा साथीहरू थिए, तिनको साँचो प्रेम त हीरामोतीले पनि मापन गर्न थियो।

तपाईंले असफल भएर जुन बुद्धिमत्ता र सशक्तता पाउनु हुन्छ, त्यसले तपाईंलाई सधैँ सुरक्षा र बाँच्ने क्षमता दिलाउँछ। अप्ठेराले तपाईंका सम्बन्ध र तपाईंलाई नै नजाँचुञ्जेल कहिल्यै आफूलाई चिन्न सक्नु हुन्न। पीडा भोगेर जितिएको यस्तो ज्ञान नै जीवनको वास्तविक उपहार हो। त्यस्ता ज्ञान मैले हासिल गरेका कैयौँ शैक्षिक योग्यताभन्दा मूल्यवान् छन्। निजी खुसी हासिल गरेका उपलब्धि र प्राप्त गरेका कुराहरुको सूची होइन। तपाईंका योग्यता, तपाईंका उपलब्धिका सूची, तपाईंको जीवन होइन। हुन त मेरो उमेरका अन्य व्यक्तिलाई भेट्नुभयो भने ती दुविधामा हुन्छन् कि वास्तवमा उपलब्धि हासिल गर्नु र उम्दा जीवन जिउनुबीचको फरक के हो? जीवन कठिन छ, क्लिष्ट पनि छ अनि कसैको नियन्त्रणमा छैन। केवल नम्रताले तपाईंलाई विविध अवसरमा बचाउन सक्षम बनाउँछ। उसो भए तपाईंले मेरो दोस्रो विषयका बारेमा सोच्नुभयो होला, कल्पनाशीलताको महत्व किनभने यसैको केही भागले मलाई मेरो जीवन पुनः नयाँ शिराबाट सुरु गर्न सघाएको छ। हुन त मलाई कहिल्यै पनि राति सुत्ने बेलामा मेरी आमाले सुनाउने परी कथा रुच्दैनथ्यो। अझै पनि मलाई त्यस्ता कुरामा विश्वास छैन। तर, तिनै कथाले दिने प्वाँख र उडाउन सक्षम कल्पनाशीलताले कल्पनाको मूल्य अझै वृहत्तररूपमा सिकेँ। कल्पनाशीलता मानिसमात्रमा भएको एउटा अद्वितीय क्षमता हो, जसका कारण सबै किसिमका अन्वेषण र सिर्जनात्मक काम भए। कल्पनाशीलतामा भएको परिवर्तनशाली र प्रकाशित पार्ने क्षमताले नै मानिसलाई अद्वितीय बनाएको हो।

मेरो जीवनको सबैभन्दा ठूलो कृपा नै 'ह्यारी पोटर' हुन पुग्यो। यस अद्भूत कल्पनाशीलता मलाई दिउँसो कुनै ठाउँमा काम गर्दा आएको थियो। म दिउँसोको खाजा खाने बेलामा दिमागमा चलिरहेका कुरा लेख्थेँ। म एम्नेस्टी इन्टरनेसनलको मुख्य कार्यालय लन्डनमा अफ्रिकी शोध विभागमा काम गर्थें। मेरो सानो कार्यालयमा हतारहतार म ती अफ्रिकी दुखियाहरूको कथा उतार्थें, जसले तिनको देशका तानाशाहको आँखा छल्दै त्यहाँ भइरहेका गतिविधिहरू हामीलाई उपलब्ध गराएका थिए। मैले त्यहाँका भोक्ताहरूको साक्षीकथा सुनेँ, पढेँ। उनीहरूका घाउका तस्बिरहरू देखेँ। बलात्कृत भएका, जेलमा सडाइएका र मृत्युदण्ड दिइएकाका आफन्तले हातले लेखिपठाएका बकपत्रहरू खोलेकी थिएँ।

मेरा कैयौँ सहकर्मी राजनीतिक बन्दी थिए, कैयौँ घरबारविहीन बनाइएका थिए, कतिलाई देश निकाला गरिएको थियो, कतिलाई निश्चित समयका लागि सरकारबारे चुइँक्क नबोल्न भनी प्रतिबन्ध लगाइएको थियो। त्यो बेला मजत्रै एउटी अफ्रिकीलाई म कहिल्यै बिर्सन्न, किनभने ऊ मानसिकरूपमा रोगी थियो। त्यो रोग उसलाई सरकारले यातना दिएर उत्पन्न भएको थियो। भिडियो क्यामेरामा बोल्दा ऊ आतंकले यस्तरी हल्लिन्थ्यो कि आवाजै निस्कन गाह्रो हुन्थ्यो। ऊ मभन्दा एक फुट अग्लो थियो होला, तर ऊ भावनात्मकरूपमा यति नाजुक थियो मानौँ ऊ एउटा बालक होस्। उसको पीडा, दर्द र दुःख देखेपछि म पक्का भएँ, मेरो भोगाइ त केही होइन रहेछ। यसले मलाई आँट दियो, भविष्यमा मेरो जीवन कम्तीमा यस्तो हुँदैन। मेरो जीवन खुसीपूर्वक बित्नेछ। त्यो अफ्रिकी साथीलाई मैले आफ्नो कार्यालयबाट सुरक्षित अर्को ठाउँमा लगेर फर्कनै लाग्दा चर्को चिच्याहट सुनेँ। त्यस्तो चिच्याहट मैले जीवनमा न त्यसअघि सुनेको थिएँ न अहिलेसम्म नै सुनेकी छु। घर्‍याक्क ढोका खुल्यो र एउटी साथी दौडिँदै आइ। उसले मलाई भनी, 'तिमीलाई अघि सुनाएको कथाका कारण र देशबाट ऊ भागेको आरोपमा उसकी आमालाई त्यहाँ मृत्यु दण्ड दिइएछ। उसले त्यो खबर थाहा पाएपछि आफूलाई सम्हाल्न सकेन। कृपया चाँडै पानी ल्याइदेऊ, म ऊछेउ बस्छु।'

शक्ति

२० वर्षे उमेरका सुरुवाती दिनमा म सकारात्मक हुन थालेँ। मलाई लाग्यो, म कति भाग्यमानी छु। म भाग्यमानी छु र यस्तो देशमा जन्मिएँ, जहाँ हरेक सरकारलाई जनताले छान्छन्, हरेक कुरामा कानुनको शासन छ। हरेकको स्वतन्त्रता रक्षा गरिएको छ। हरेक दिन दुष्टहरू पक्राउ पर्छन्, कानुनले न्यायव्यवस्था कायम गरिरहेको देख्छु। पछि मैले दुस्वप्न देख्न थालेँ। मैले जे कुरा एम्नेस्टी इन्टरनेसनलमा काम गर्दा पढेँ, सुनेँ र देखेँ, तिनले मलाई दुःख दिन थाले। यद्यपि, मैले त्यहाँ मानवताको पाटो पनि देखेँ, जुन त्यसअघि मलाई रत्तिभर थाहा थिएन। संसारभर स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि काम गरिरहेकाहरूबारे पनि थाहा पाएँ।

एम्नेस्टीले संसारभर यातना पाएका व्यक्तिबारे चासो राख्ने, अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्नेजस्ता कामले मानव कल्याणका लागि सामूहिक क्रियाकलाप जारी राखेको छ। यस्तै काममा मैले त्यो बेला थोरै भए पनि सघाउने मौका पाएँ र त्यो अनुभवले मेरो जीवनलाई प्रेरित गर्‍यो। यो ग्रहका अन्य प्राणीजस्तै मानिसले कुनै अनुभवबिना नै सिक्न र जान्न सक्छ। अरुको ठाउँमा आफूलाई राखेर सोच्न सक्छ। यो नै हाम्रो सशक्त शक्ति हो। प्रत्येक बुद्धिमान प्राणीले आफूमा भएको यो सशक्त शक्तिलाई 'म्यानुपुलेट' अथवा नियन्त्रण गर्न सक्छ। जति बढी बुझ्यो र यसलाई सहलाउन सक्यो, उति यो शक्ति बढ्छ।

थाहा भएकै कुरा हो, धेरैजसोले उनीहरूमा भएको यो कल्पनाशीलताको अभ्यास गर्दैनन्, गर्नै चाहँदैनन्। उनीहरू आरामपूर्वक बन्धनमा जकडिन रूचाउँछन्। अनुभूति र अनुभवले डामिएकाहरू कहिल्यै आफू जन्मँदाको शाश्वत शक्तिलाई महसुस गर्दैनन्। जुन पिँजडामा थुनिएका छन्, त्यसबाट निस्कन उनीहरूको अन्तरआत्माले झक्झक्याइरहेको आर्तनाद सुन्न उनीहरू अस्वीकार गरिदिन्छन्। उनीहरूले आफूले निजीरूपमा भोगेका कुनै पनि घटनाबाहेक सुन्न, बुझ्न, जान्न चाहँदैनन्। म पनि त्यस्ता ज्याद्रा मानिसजस्तै बाँच्न लोभिन्छु, तर मलाई थाहा छ उनीहरू पनि मजस्तै तर्साउने सपना देखिरहेका छन्। साँघुरो ठाउँमा बाँच्ने निर्णय गर्नाले हामीलाई मानसिकरूपमा 'एगोराफोबिया' (खुला ठाउँ देख्दा हुने डर)को रोगी बनाइदिन्छ। यसले आफ्नै किसिमका आतंक उत्पन्न गर्ने गर्छ। मेरो विचारमा हामी चाहेरै कल्पनाहीन भएका छौँ ताकि राक्षसहरू नदेखौँ। जसले ती वास्तविक राक्षसहरूको भर्त्सना गर्दैन तिनले वास्तविक राक्षसलाई अझ सशक्त बनाइरहेका हुन्छन्। हामीले कुनै कर्म नगरीकनै हाम्रो अन्यमनस्क भावका कारण ती राक्षस सशक्त हुन पुग्छन्। १८ वर्षको उमेरमा मैले पढेकामध्ये एउटा पंक्ति मलाई सधैँ सम्झना आइरहन्छ, जसमा ग्रिसेली दार्शनिक प्लुटार्क भन्छन्, 'अन्तरमनमा हामीले जे हासिल गर्छौं, त्यसले बाहिरी वास्तविकता परिवर्तन गरिदिन्छ।'

उफ् यो उम्दा भनाइ! र, यो पटकपटक र हजारौँ–लाखौँ पटक हाम्रो दैनिक जीवनमा प्रमाणित पनि भएको छ। हाम्रो उपस्थितिमात्रले पनि मानिसको जीवन सहजै परिवर्तन गरिदिन्छ। तपाईं हार्वर्डमा पढिरहनु भएकाले कतिको जीवन बदल्न सक्नुहुन्छ? तपाईंको बुद्धिमत्ता, तपाईंको कडा मेहनत गर्ने क्षमता, तपाईंले कमाउनुभएको शिक्षा र हासिल गर्नु भएको सक्षमता, यी सबैले तपाईंलाई अद्वितीय र अद्भूत जिम्मेवारी र पद दिएको छ। तपाईंहरूमध्ये अधिकांश संसारका महाशक्ति हुनुहुन्छ। तपाईंले निर्वाचनमा मत दिनुहुन्छ, तपाईंले जुन जीवन बाँच्नुभएको छ, तपाईंले जसरी कुनै कुराको विरोध गर्नुहुन्छ, दबाब सिर्जना गर्नुहुन्छ र सरकारलाई बाध्य तुल्याउन सक्नुहुन्छ, त्यसले यो देशमा मात्र होइन संसारभरि नै परिवर्तन ल्याउन सक्नुहुन्छ। यो नै तपाईंको सुविधा हो र यही नै तपाईंको बोझ पनि हो। तपाईंले आफ्नो पद, प्रभाव आवजविहीनहरूको आवाज बन्न प्रयोग गर्नुहुन्छ कि शक्तिशालीसँग उठबस गर्ने व्यक्तिका रूपमा परिचय स्थापित गर्नुहुन्छ? तपाईं आफ्नो सानो परिवारको गर्व गर्न लायक व्यक्ति बन्न चाहनुहुन्छ कि तपाईंको उपस्थिति सारा संसारले गर्व गर्न लायक हुने बनाउनु हुन्छ? हामीले हाम्रो संसार बदल्न कुनै चमत्कार खोजिरहनु आवश्यक छैन। हामी आफैभित्र त्यो चमत्कार बोकिरहेका हुन्छौँ, त्यो शक्ति बोकिरहेका हुन्छौँ। त्यो शक्ति र चमत्कार हो, 'उम्दा कल्पने शक्ति।' तपाईंहरूजस्तै कुनै दिन यसरी नै स्नातकउत्सव मनाउन म पनि जम्मा भएकी थिएँ। म २१ वर्षकी भइसकेकी थिएँ। समारोहका दिन म जुन साथीहरूसँग बसेकी थिएँ, तिनीहरूसँग म सधैँ साथी रहिरहेँ, अहिलेसम्म छु।

अहिले यतिबेला तपाईंहरूसामुन्ने म तपाईंहरूबीच त्यस्तै मित्रता चाहन्छु। र, भोलि मेरा एक शब्द पनि सम्झन सक्नुभएन भने रोमन दार्शनिक सेनेकाले भनेका कुरा पक्कै स्मरण हुनेछ। उनले भनेका थिए, 'जस्तो कथा छ, त्यस्तै जीवन छः कथा कति लामो छ भन्नेमा होइन, कथा कति असल थियो भन्नेमा भर पर्छ।' त्यसैले तपाईं जीवन कति लामो बाँच्न चाहनुहुन्छ भन्नेमा होइन, कति सार्थक बाँचेँ भन्नेमा नै जीवनको सार छ।

(जे.के. रोलिङ ह्यारी पोटरका सात पुस्तकबाट विश्वचर्चित बन्न पुगेकी लेखिका हुन्। १९९७ देखि २००७ सम्म बजारमा आएका ती पुस्तक ४ सय ५० मिलियन प्रति बिके। संसारका सबै मुलुकमा पुग्ने किताबमध्ये यो पनि एउटा शृंखला हो। ७८ भाषामा आधिकारिक अनुवाद भएको ह्यारी पोटरका आठ वटा ब्लकबस्टर चलचित्र बने। उनले २०१२ मा 'क्याजुअल भ्याकेन्सी' शृंखलाका तीन अपराध उपन्याससमेत लेखिन्। उनले बालसाहित्यमा पुर्‍याएको योगदानका लागि बेलायतको उच्च सम्मान 'ओबिइ' पाएकी छन्। उनी लुमस नामक बालबालिकासम्बन्धी सहयोग संस्था चलाउँछिन्। सन् २००८ मा हार्वर्ड विश्वविद्यालयका स्नातकसामु दिएको यो भाषणको संशोधित, परिवर्द्धित अनुवाद हो।)

अनुवादः अच्युत कोइराला

प्रकाशित: १८ भाद्र २०७३ ०५:३० शनिबार

सार्थक जीवनको सार