अन्य

मानक गजलको खोजी

रवि प्राञ्जल

कुनै पनि साहित्यिक विधाको आरम्भ सबैभन्दा पहिले गेयात्मक वा पद्यात्मक रचनाबाटै भएको हो। पूर्वीय साहित्यको आदि ग्रन्थ ऋग्वेदका ऋचाहरू हुन् वा होमरका इलियड ओडिसीजस्ता पाश्चात्य प्राचीन ग्रन्थहरू हुन्, ती सबै पद्यमा नै लेखिएका छन्।

साहित्यका विविध विधाहरूको अध्ययन गर्ने हो भने विशेष संरचनामा बाँधिएर लेखिने पद्य विधाहरूमा लय र छन्द(मिटर) र सांगीतिकता नै मूलरूपमा रहेको भेटिन्छ। पाश्चात्य साहित्यको प्रसिद्ध विधा 'सनेट' फारसी साहित्यको काव्यविधा गजललाई यसको उदाहरण मान्न सकिन्छ। फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको गजल मूलतः गायनमैत्री विधा हो। लय र संगीतको धरातलबाट उद्भव भएको गजल रचनाको आरम्भ नै फारसी छन्दबाट भएको हो र पूर्वीय साहित्यका काव्यहरू पिंगल छन्दमै लेखिएजस्तै उर्दुका आरम्भकालीन गजलहरू पनि फारसी बहरमै लेखिन्थे। पूर्वीय शास्त्रमा पनि वैदिक युगमा गायत्री, जगती, त्रिष्टुप, पंक्तिजस्ता कतिपय कठिन वैदिक छन्दहरूको प्रयोग भएको पाइन्छ।

फारसीमा विद्वान्हरूले अनगिन्ती बहरहरूको रचना गरेका थिए। तीमध्ये कतिपय बहर प्रयोग गर्न कठिन भएका कारण कालान्तरमा केही प्रचलित लोकप्रिय बहरलाई मात्र गजलमा प्रयोग गर्न थालियो। पिंगल शास्त्रीय छन्दहरूमा गण वर्णलाई पालना गरेर विभिन्न छन्दको निर्माण भएजस्तै रुक्न अर्कानजस्ता बाह्य संरचनात्मक तत्वको पालना गरेर फारसी बहरको निर्माण गरिन्छ।

माथि नै उल्लेख गरियो गजलको उत्पत्ति फारसी भूमिबाट भएको हो। आजभन्दा लगभग दुई हजार वर्षपूर्व हालको इरानको इस्पाहान क्षेत्रमा थियो फारस। इसाको सातौँ शताब्दीमा मुसलमानहरूले फारसमा विजय प्राप्त गरेपछि त्यहाँका फारसी संस्कृतिलगायत अन्य ग्रन्थ नष्ट भए। त्यसअघि नै फारसमा संगीत र साहित्यको तीव्रतम विकास भइसकेको थियो। कालान्तरमा फारसका मुसलमानले भारतलाई आक्रमण गरेर आफ्नो कब्जामा लिएपछि कोमल तथा ललित भाषाको धनी फारसी साहित्यको प्रभाव फारसीभूमिबाट भारतमा पुग्यो।

फारसी साहित्यको प्रभावको चर्चा गर्दा हिन्दी भाषाका पहिलो गजलस्रष्टाका रूपमा अमीर खुसरोको नाम आउँछ। उर्दु, अरबी, तुर्की, ब्रजलगायतका भाषाका ज्ञाता अमीर (१२५३–१३२४) सुप्रसिद्ध लेखक तथा विद्वान् संगीतज्ञ थिए। उनका पिता फारसभूमिबाट भारत आएपछि उत्तर भारतको इटावा जिल्लामा अमीरको जन्म भएको थियो। यिनलाई उर्दु भाषाका स्रष्टा तथा आदि लेखकका रूपमा चिनिन्छ। अमीरले उर्दुलगायत हिन्दी भाषामा समेत गजल रचना गरेर गजलअनुरूपको सांगीतिक राग तथा लयउपयुक्त तालहरूको निर्माण गरेका थिए।  यिनको हिन्दीमा लेखिएको पहिलो गजलको दुई शेर यस्तो थियो।

जब यार देखा नैन भर दिल की गई चिंता उतर।

एसा नहीँ कोई अजब राखे उसे समझाय कर।

मेरो जो मन तुम ने लिया तुम उठा गम को दिया

तुम ने मुझे एसा किया जैसा पतंगा आग पर। अमीर स्वयं एक सिद्ध संगीतज्ञ थिए। यिनको विद्वत्ता साहित्य र संगीत दुवैमा थियो। हिजोआज सांगीतिक गायन तथा सूरवादनमा प्रयोग गरिने तबलाको आविष्कार अमीरले नै गरेका हुन् भनिन्छ। तबला आविष्कार हुनुअघि यसको पूर्व रूप पखावज थियो। जसको प्रयोग अहिले पनि „ुपद, धमारलगायत विशेष प्रकारका शास्त्रीय गायनमा गरिन्छ। तबलाको दायाँ र बायाँ गरेर दुईवटा खण्ड वा वाद्ययन्त्र हुन्छ भने पखावजचाहिँ मादलजस्तो बृहत् आकारको एउटै यन्त्रमात्र हुन्छ, जसलाई काखमा राखेर वादन गरिन्छ। अमीरले पखावजलाई बीचबाट काटेर दुई भागमा विभाजन गरेर तबलाको रूप दिए। विभिन्न शास्त्रीय राग तथा वाद्ययन्त्रका आविष्कारक अमीरले गजल तथा अन्य रचनाहरूलाई उपयुक्त हुने विभिन्न सम तथा विषम मात्री नवीन तालहरूको समेत निर्माण गरेका छन्।

अमीरको समयमा गजललाई लिपिवद्ध गर्ने प्रचलन थिएन। गुरु–शिष्य परम्परा विकसित भइसकेको त्यो समयमा योग्य गुरुसँग ज्ञान प्राप्त गरेर जान्ने भएपछि महफिलहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्रचलन थियो। एउटै व्यक्ति गजल लेखक तथा प्रस्तुतकर्ताका रूपमा रहन्थे। सांगीतिक शास्त्रीय रागको ज्ञान र स्वराभ्यास गरेकाले वाद्यवादनसहित आफ्नो गजलगायन प्रस्तुत गर्थे भने वाद्यवादनबिना नै तरन्नुमगायन (गजल वाचनको एक विशिष्ट रूप)प्रस्तुत गर्ने प्रचलनको पनि विकास सँगसँगै भइरहेको थियो।

शास्त्रीय गायनमा गजलगायनलाई अर्धशास्त्रीय रूपको उपविधामा राखिएको पाइन्छ। शास्त्रीय गायनको शीर्ष स्थानमा „ुपद गायन रहेको छ। „ुपद धमारपछि खयाल गायन, खयाल गायनभन्दा तल ठुमरी, दादरा, चैतीजस्ता रचना र त्यसपछि गजलगायन पर्छ। गजलभन्दा तल सुगम संगीत वा भाव संगीत, लोक संगीत, चित्रपट संगीत तथा आधुनिक गीत–भजन आदि पर्छन्। विशेषगरी गजलमा दादरा, कहरवा, खेमटा, दीपचन्दी, रूपक ताल बढी प्रयोग गरिएको पाइन्छ।

हजारौँ बहर वा छन्दमध्ये सरल र लोकप्रिय लाग्ने बहरमा गजल रचना गरिँदै आएझैँ हजारौँ शास्त्रीय तालमध्ये सरल, सहज र कर्णप्रिय लाग्ने तालमा गजललाई संगीतवद्ध गरिएको देखिन्छ। सामर्थ्य हुनेले जुनसुकै शास्त्रीय रागमा गजल गाउन सक्छन्। तथापि, भूपाली, यमन, भैरवी, भीमपलासी, ललित, दरबारीजस्ता अत्यधिक लोकप्रिय तथा प्रचलित शास्त्रीय रागमा नै आधारित गजल गाइएको देखिन्छ।

शास्त्रीय रागको चर्चा गर्दा संगीतको इतिहासमा शास्त्रीय ग्रन्थ संगीत रत्नाकरको नाम अग्रस्थानमा आउँछ। बाह्रौँ शताब्दीका पण्डित शाङ्गदेवद्वारा रचित विशाल एवं विशिष्ट ग्रन्थका रूपमा प्रकाशित 'संगीत रत्नाकर' एउटा यस्तो ग्रन्थ हो जसको अध्ययन गर्दा त्यो समयमा भारतीय संगीतमा पूर्ववर्ती वैदिक संगीतको चरम विकास भइसकेको रहेछ भन्ने पुष्टि हुन्छ। उत्तरवर्ती संगीतज्ञहरूका लागि  यही ग्रन्थ नै अद्यापि शास्त्रीय संगीतको मुख्य आधारस्तम्भको रूपमा रहेको छ। यो कृतिको स्रोत सामवेद थियो। सामवेदबाटै शास्त्रीय संगीतको उत्पत्ति हुन पुगेको हो।

उर्दु गजलमा प्रयुक्त शब्द तथा काफियाको कथ्य र लेख्य शब्दमा भेद छ। यस्तो भेद रहने गुण भएकै कारण उर्दु गजलमा पिंगलको छन्दमा जस्तो लघु गुरु नियमको कठोरता अपनाइँदैन। उर्दु गजलमा मात्रा गिरावटलाई सहजरूपमा प्रयोग गरिएको भेटिन्छ। तथापि, उर्दुको छन्द शास्त्रलाई पूर्ण पालना गरी गजल लेखिने र तरन्नुम वाचन र गायन गरिने परम्परा अठारौँ शताब्दीको अन्त्यसम्म रह्यो। उन्नाइसौँ शताब्दीपछि गाइएको गजललाई रेकर्ड गरेर राख्ने प्रचलन सुरु भएपछि गजल गायनप्रति शास्त्रीय गायकगायिका आकर्षित हुन थाले।

गजल गायनको इतिहासमा नारी गायिकाहरूको महत्वपूर्ण भूमिका रहेको छ। शास्त्रीय खयाल गायनलगायत ठुमरीमा प्रसिद्ध धुरन्धर गायिकाहरू बेगम अख्तर, मलिका पुखराज, गोहरजान, बडी मोतीबाई, जद्दन बाई, कलकत्ते वालीजस्ता लोकप्रिय स्वरसिद्ध गायिकाको नाम उन्नाइसौँ शताब्दीको आरम्भमा अग्रस्थानमा रहेको पाइन्छ। यसैक्रममा जब हिन्दी चलचित्रमा कुन्दनलाल सहगलको गजलले प्रवेश पायो, बौद्धिक वर्गमा मात्र सीमित रहँदै आएको गजलको लोकप्रियता ह्वात्तै बढ्यो। सहगलपछि तलत महमुद, मेहँदी हसन, गुलाम अली, जगजीत सिंहजस्ता विशिष्ट स्वर र शैलीका गायकको गजल गायनमा आगमनपछि गजल विधाले उच्च लोकप्रियता प्राप्त गर्‍यो।

नेपालमा गजल

नेपालमा १९६५ सालमा सेतुरामले पहिलो नेपाली गजल रेकर्ड गराएको तथ्य प्रकाशमा आएको छ। मोतीरामदेखि भीमनिधि तिवारीलगायतका गजलकारका केही गजल लगभग ६ दशकअघि नै संगीतवद्ध भएको पाइए पनि संरचनागतरूपमा सबल नेपाली गजल भने चालीसको दशकबाट मात्र गाइन थालिएको हो। यसक्रममा २०४६ सालपछि ललिजन रावलका केही नेपाली गजलहरू सीके रसाइली र नरेन्द्र प्यासीका संगीतमा रेकर्ड भएर प्रशारण हुन थालेको देखिन्छ।

पचासको दशकसम्म लेखिएका अधिकांश गजलमा छन्द–मात्राको सन्तुलन कायम हुन नसक्नु, सन्तुलित बनेका गजल पनि प्रायः 'गैर मुसलसल' भएका कारण संगीतकारलाई धुन सृजना गर्न कठिन हुनु र 'मुसलसल' गजलको पनि भावअनुरूप संगीत सिर्जना गरी प्रभावकारी ढंगबाट गाउनका लागि गजल गायकीको विकास हुन नसक्नुले  नेपाली गजल गायन पछि परेको हो। यसरी लामो इतिहास बोकेको गजल विधाले नेपाली साहित्यमा प्रवेश गरेको करिब एक शताब्दी भएको छ। लय र संगीतका मर्मज्ञ एवं बहुमुखी प्रतिभा मोतीरामका गजलहरू पनि फारसी बहरमै आधारित भएर लेखिएका छन् । १९५० सालअघि नै मोतीरामद्वारा बहरबद्ध गजलबाट माध्यमिककालमा नेपाली साहित्यमा भित्रिएको नेपाली गजल लगभग एक शताब्दीपश्चात् चालीसको दशकमा लयगुणमा परिवर्तनसहित परम्परागत मान्यताभन्दा पृथक शैलीमा  देखापर्‍यो। यो शैलीको सुुरुवात ज्ञानुवाकरबाट भएको हो। यसको केही वर्षपछि नै गजलकार मनु ब्राजाकीले 'कुनै न कुनै स्वनिर्मित नै भए पनि छन्दमा बन्द हुनैपर्छ' भन्दै नेपाली गजलमा हराउँदै गएको बहर र लयलाई आत्मसात गर्दै नेपाली माटो सुहाउँदो लोकप्रिय परम्परित र स्वनिर्मित छन्दमा गजल लेख्ने परम्पराको थालनी गरे। मनुसँगै ललिजनका लयमा बाँधिएका गजलहरू प्रकाशित हुन थाले। मनुले देखाएको मात्रा–छन्दलाई आधार मानेर रावलपछि बुँद राना, रवि प्राञ्जल, घनश्याम परिश्रमीलगायतका गजलकारले नेपाली गजल रचना गरेर र तिनका संग्रह प्रकाशित गरेर नेपाली साहित्यलाई शोभित गराए।

साठीको दशकको पूर्वार्द्धसम्म आइपुग्दा भने नेपाली गजलमा अर्को एउटा धार सशक्तरूपमा देखापर्‍यो। त्यो धार हो पिंगल छन्द तथा फारसी बहरमा केन्द्रित गजल लेखन। सनत कुमार वस्तीका शास्त्रीय धारका गजलहरूको प्रकाशन हुन थाल्यो भने बुँदजस्ता स्वनिर्मित लयमा लेख्ने केही गजलकारको शास्त्रीय तथा फारसी बहरमा गजल प्रकाशित भयो। साठीकै दशकमा शिव प्रणत, घनेन्द्र ओझा, सरोज काफ्ले र गोर्खे साइँलोका गजलकृतिको प्रकाशनसँगै २०६३ मा अनाममण्डलीको पहलमा 'बहरमाला' र २०६६ मा 'गजलमाला' प्रकाशन भयो। यसपपछि नेपाली गजलमा यसको मूल लयलाई केन्द्रमा राखेर लेख्ने सर्जक बढे। 

गजलको मूल संगीत नै हो, लय नै हो। तर, लय मिलाउने नाममा अभिव्यक्ति कौशलता (गजले बयाँ)लाई ओझेलमा पारिएको गजल एउटा गीतिकवितामात्र हुन सक्छ। छन्दमा काफिया र अन्त्यानुप्रास मिलाउँदैमा गजल बन्दैन। बाह्य तथा आन्तरिक गुणहरूको सफल संयोजनबाट मात्र स्तरीय गजल सिर्जना हुनसक्छ। त्यसैगरी दुई पंक्तिभित्र भावको पूर्णता भएको, तर लयमा बिल्कुलै एकरूपता नभएको गजलरचनालाई छन्द र बहरवादीहरूले सजिलोसँग गजल स्वीकारिरहेका छैनन्। नेपाली गजलमा देखिएको अहिलेको मूल समस्या यही हो।

गजलमा लयलाई हेर्ने र बुझ्ने चेष्टा नगरिँदा अहिले नेपाली गजलमा विवाद सृजना भएको हो। साहित्यमा मतमतान्तर हुनु स्वाभाविक हो, तर त्यसलाई छलफलबाट समाधान गरिनुपर्छ। पूर्वीय र पाश्चात्य साहित्य दुवैतर्फ कविताको स्वरूप र परिभाषामा मतमतान्तरहरू छन्। वर्डस्वर्थले कवितामा भावपक्षलाई महत्व दिएका छन्, कलरिजले संगीत र पदविन्यासलाई। शेलीले दुःखको कथालाई नै मीठो गीत वा कविता हो भनेका छन्। त्यस्तै, पूर्वीय  साहित्यमा कविताको परिभाषा गर्ने अलंकार, ध्वनि, रीति, रसजस्ता ६ वटा सम्प्रदाय वा धारणा रहेका छन्। तर, ती वाद र धारणामात्र हुन् विवाद हैनन्। गजलमा चाहिँ धारणाभन्दा बढी विवाद गर्न खोजिएको देखिन्छ।

नेपाली गजलको आजसम्मको इतिहास हेर्दा प्रमुख धार भनेको (क) मोतीरामले आरम्भ गरेको फारसी बहर र पिंगल छन्दमा लेख्ने धार (ख)मनु ब्राजाकीले आरम्भ गरेर ललिजन रावललगायतका गजलकारले पछ्याएको स्वनिर्मित वा परम्परित लयको धार (ग) ज्ञानुवाकरले आरम्भ गरेको लयनिरपेक्ष धार। यी तीनवटै धारमा लेखिएका गजल सबै सशक्त वा कमजोर छैनन्। तर, कुनै पनि लेख्य नाटक, एकांकीलाई रंगमञ्चमा प्रस्तुत गरेपछि मात्र नाटकको पूर्ण प्रभाव दर्शकमा परेजस्तै गजल पनि गायनको माध्यमबाट स्रोताको कानमा पुगेपछि स्रोतासँग गजलको भावनात्मक सम्बन्ध स्थापित हुन पुग्छ र गजल जीवन्त बन्न पुग्छ। तसर्थ, लय र सांगीतिकतालाई आधार मानेर लेखिएका गजल नै बढी प्रभावकारी हुन्छन्। किनकि, मानव मनमा शब्दको अपेक्षा श्रुतिको र वाचनको अपेक्षा गायनको प्रभाव सूक्ष्मरूपमा रहिरहन्छ।

निष्कर्ष

उपर्युक्त जुन धारमा गजल लेखिए पनि गजल साहित्यिक र कलात्मक गुणले युक्त छ, अभिव्यक्ति कुशलता(गजले मिजाज)ले युक्त छ, शेरहरूमा एकाध मात्रा कम–बेसी भए पनि वाचन गर्दा लयात्मक सुनिन्छ र प्रस्तुत गरिएको गजलको शिल्प सौन्दर्यले यदि पाठक र स्रोताको मन जित्न सकिन्छ भने गजल जसरी लेखे पनि हुने त हैन? हजारौँ गजल लेखक र अध्येताका लागि अहिले यो यक्षप्रश्न बनेर खडा भएको छ। तसर्थ, नेपाली गजलमा प्रचलित यी तीनवटै धारलाई सम्बोधन गर्नेगरी एउटा सर्वमान्य मानक बनाउन विलम्ब भइसकेको छ।

 

प्रकाशित: १८ भाद्र २०७३ ०५:२९ शनिबार

मानक गजलको खोजी