अन्य

लघुकथाको चिरफार

रजनी ढकाल     

कला जीवनको पुनसिर्जनमात्रै होइन रहेछ, यो त जीवनको अस्तित्वबोध गराउने सशक्त माध्यम पनि रहेछ! जीवन छ र त कला छ अनि कला छ र त जीवन बाँच्नुको मज्जा छ। कला जीवनशैलीका जुनसुकै क्षण प्रयोग भइरहने त्यस्तो सौन्दर्यचेतना हो जहाँ जीवनले विशिष्ट अनुभूति गरेको हुन्छ। जीवनसँग सुख र दुःख दुवै छ, सुन्दरता अनि कुरूपता पनि छ। कलामा पनि जीवनका सबै पक्ष सम्बोधित हुन्छन्। तर, कला त्यस्तो वस्तु हो जसले जीवनको कुरूपतालाई चिनाउँदा पनि आनन्द प्रदान गर्छ। त्यसैले कलामा जीवनलाई प्रेरित गर्ने सबैभन्दा शक्तिशाली संवेदना हुन्छ। बाँच्नुको सार आनन्द प्राप्तिमा छ भने त्यो दिने वस्तु केवल कला हो।

समयसँगै जीवनशैलीका स्वरूप र आयाम पनि परिवर्तित हुँदै गएका छन्। छोटो, छिटो र सजिलो जमानासँगै सिर्जनाका स्वरूपहरू पनि लघुताउन्मुख हुनु स्वाभाविकै हो। जीवनको अभिन्न अंग मानिने कला र साहित्य समयअनुरूपतामा अनुकूलन हुँदै जानु भनेको जीवनसापेक्ष बन्नु पनि हो। जुन विषय वा विचार समय, जीवन र परिस्थितिसापेक्ष बन्दै जान्छ त्यसले आफ्नो अस्तित्व कायम गरिरहन्छ। साहित्यमा आख्यान विधाले लोकप्रियतामा आफ्नो स्थान सधैँ उच्च राखेको छ, त्यसमा पनि कथा अझ प्रिय मानिन्छ। आख्यानकै सूक्ष्म स्वरूपमा विकसित हुँदै आएको लघुकथा पनि अहिलेको समयमा सर्जक र पाठकबीच लोकप्रिय बन्दै गएको छ भन्ने कुराको प्रमाण निरन्तर प्रकाशित हुँदै आएका लघुकथाहरू हुन्। लघुकथाको लोकप्रियतालाई अझ सहज र पाठकमुखी बनाउन स्थापित भएको साहित्यिक संस्था नै छ लघुकथा समाज। यसै समाजको निरन्तरको साधनाबाट लघुकथाले एउट छुट्टै विधागत स्वरूप प्राप्त गर्न सफल भएको प्रमाण हो समालोचक डा. लक्ष्मणप्रसाद गौतमद्वारा लिखित 'लघुकथाको रचनाविधान' पुस्तक। यस पुस्तकले लघुकथाको सैद्धान्तिक स्वरूपको सांगोपांगो चित्रमात्रै प्रस्तुत गरेको छैन पूर्वप्रकाशित लघुकथालाई उदाहरणका रूपमा प्रस्तुत गरी यसमा रूचि राख्ने जोकोहीलाई प्रमाणसहित विश्लेषणात्मक जानकारी दिएको छ। यो पुस्तक लघुकथाका स्रष्टा र पाठक दुवैलाई सही दिशाबोध गराउने कुशल निर्देशक तथा यसका अंगप्रत्येंगको जानकारी गराउँदै लघुकथाको उपचारसहित सही परिचय दिने डाक्टर पनि भएको छ।

       लघुकथाको सैद्धान्तिक पक्षको जानकारी दिने उद्देश्यले लिखित लघुकथाको रचनाविधान पुस्तकमा लघुकथाको विधासिद्धान्तको सम्पूर्ण पक्षको चिनारीका साथै यस विधालाई स्थापित गराउन खोजिएको विधागत आंगिक पहिचानलाई पुष्टि गर्ने विभिन्न स्रष्टाका रचनाहरू पनि प्रस्तुत गरी सिद्धान्त र सिर्जनाको समन्वय प्रस्तुत गरिएको छ। सिद्धान्तअनुरूपका लघुकथा रचनालाई उदाहरण दिने क्रममा उपयुक्त ठाउँमा प्रस्तुत गरी ती लघुकथाको रचना विधान सैद्धान्तिक दृष्टिकोणबाट कति उपयुक्त वा अनुपयुक्त भन्ने कुरालाई पनि विश्लेषणात्मक ढंगमा प्रस्तुत गरिएकाले यो पुस्तक सैद्धान्तिकमात्रै नभएर व्यावहारिक पनि हुन पुगेको छ।

       १७ ओटा विभिन्न शीर्षक र अनेक उपशीर्षकमा संरचित प्रस्तुत कृतिले लघुकथा विधालाई परिचित गराउन अपेक्षित आवश्यक पक्षहरू समेटेको छ। सुरुमा लघुकथाको सैद्धान्तिक स्वरूपलाई परिचित गर्न लघुकथाको व्युत्पत्ति, अर्थ, परिभाषा, स्वरूप र संरचनालाई परिचित गराइएको छ। साथै, लघुकथाका आंगिक संरचक घटक वा तत्वहरूका रूपमा कथासूत्र (कथानक), भाव वा विचार (अन्तर्वस्तु/सारवस्तु), सहभागी (पात्र), परिवेश (कार्यपीठिका), उद्देश्य (प्रयोजन), दृष्टिबिन्दु र कथनपद्धतिका साथै भाषा र शैलीलाई प्रस्तुत गरिएको छ। त्यसैगरी, लघुकथाको सैद्धान्तिक चिनारीलाई अझ स्पष्ट पार्न यसलाई वर्गीकरण गरिएको छ। लघुकथाको अन्य विधासँगको सम्बन्ध चिनाउँदा यसका निकटस्थ विधा कथा र मुक्तकलाई चिनाइएको छ। कथासँग लघुकथा आख्यानकै प्रभेदका कारण र मुक्तकसँग लघुतम स्वरूप तथा घटना र अनुभूतिको एक झोक्का अभिव्यक्तिको समानताका कारण तुलनीय रहेको भनी प्रस्तुत गरिएको छ। त्यसैगरी, लघुकथामा विधाप्रत्ययन अर्थात् अन्य विधाको मिश्रण कसरी हुन्छ भन्ने पक्षलाई पनि सिद्धान्त र सिर्जना दुवैबाट प्रस्तुत गरेर कृतिलाई बोधगम्य बनाइएको छ।

       लघुकथाको अभिलक्षण र विशेषता यस सैद्धान्तिक कृतिको अझ रोचक र महत्वपूर्ण पाटो हो। यसमा लघुकथामा हुनुपर्ने संक्षिप्तता, एकोन्मुखता, सूत्रात्मकता र प्रभावोत्पादकता र तीव्रतालाई प्रस्तुत गरी लघुकथा रचनालाई स्पष्ट स्वरूपमा चिनाइएको छ। यसको विशेषतालाई परिचित गराउन पूर्वप्रकाशित अनेक लघुकथालाई उदाहरणका रूपमा प्रस्तुत गरी तथ्यपुष्टि गरिएको छ। लघुकथामा कल्पना र कौतूहल कसरी आउँछन् र तिनका उपस्थापन कसरी गरिन्छ भन्ने विषयलाई बुँदागतरूपमै प्रस्तुत गरी कृतिलाई व्यावहारिकताको नजिक पुर्‍याइएको छ। लघुकथामा सारवस्तु वा मूल चिन्तन कसरी र कुन तरिकाले प्रस्तुत गरिन्छ भन्ने कुरालाई पनि सरल र रोचक ढंगमा उदाहरणसहित प्रस्तुत गरिएको छ। लघुकथाको शिल्पगत कोणमा सबैभन्दा महत्वपूर्ण मानिएको बीजवाक्य वा विचारवाक्य र यसको समापन हो। यसलाई लघुकथामा कसरी प्रस्तुत गरिएको हुन्छ भन्ने कुरा पनि सिद्धान्तकारले यहाँ पुष्टि गरेका छन् र प्रयोगकर्ताका लागि एउटा कुशल निर्देशक बन्न सफल भएका छन्।

       'ओपन इन्डिङ' भएका लघुकथाले पाठकलाई कथाको बाँकी अवस्था र घटनाका बारेमा सोच्ने, अरू अर्थ लगाउनेजस्ता कल्पनाको स्वतन्त्रता दिने भएकाले यस्ता लघुकथा सबैभन्दा प्रभावकारी हुन्छ भन्ने तर्क सिद्धान्तकारको छ। लघुकथा र मुक्तकजस्ता लघुस्वरूपका सिर्जना छोटो आकारमा प्रस्तुत हुने हुनाले यिनका पंक्तिहरू क्रमशः उत्कर्षतिर उन्मुखहुँदै जानुपर्ने र अन्तिमको पंक्ति वा वाक्यले रहस्यको पटाक्षेप गर्ने र विचारवाक्यका रूपमा रहने अन्तिम वाक्यले अर्थको विस्फोट गराउनुपर्छ भन्ने मान्यता निर्माण गरिएको छ। लघुकथाको लेखनप्रक्रिया, रणनीति र शरसन्धान शीर्षकले लघुकथाका सर्जकलाई उपयोगी दिशानिर्देश गरेको छ। लघुकथा लेखन धनुबाण हान्ने प्रक्रिया (शरसन्धान) हो भन्ने विचार प्रस्तुत गरिएको छ। कल्पनाशक्ति एवं घटनाको क्रमिक संयोजन र उत्तरोत्तर उत्कर्षतिर अभिमुख गराई लघुकथालाई प्रभावपूर्णरूपमा टुंग्याउन शरसन्धान प्रक्रियाको विन्यास गर्नुपर्छ भनी लघुकथा लेख्दा बाण हान्न लाग्दाका भावभंगिमालाई चरणगतरूपमा स्वीकार गरी अगाडि बढ्न सकिन्छ भनिएको छ।

       लघुकथालाई वाचन र मञ्चनमा पनि के कसरी प्रस्तुत गर्न सकिन्छ भन्ने निर्देशन यस कृतिले प्रस्तुत गरेको छ। लघुकथाको यो पहिलो सैद्धान्तिक पुस्तक छोटो, सजिलो, मितव्ययी र समयमैत्री भएकाले आजको युगसुहाउँदो रचनाका रूपमा यो विधालाई चिनाउँदै यसका रचनाविधानका अनेक पक्ष केलाउन सफल भएको छ। लघुकथाको विधासिद्धान्त निर्माण गरेका यी समालोचकले लघुकथाको सीमा र चुनौतीलाई पनि प्रस्तुत गर्न छुटाएका छैनन्। सपाट वर्णन, चुट्किलाको जस्तो स्वरूप र विषयगत पुनरावृित्तजस्ता सबैभन्दा अप्ठ्यारा चुनौतीलाई मनन गरी स्रष्टा अगाडि बढेमा सार्थक सिर्जना सम्भव हुने बताइएको छ। स्रष्टालाई कमजोर लेखनबाट बच्न राम्रा, स्तरीय र मानक लघुकथाको अध्ययन आवश्यक रहेको विचार पनि यहाँ दिइएको छ। नेपाली साहित्यमा लघुकथामा रूचि राख्नेले यस कृतिको अध्ययनपछि विधातात्िवक पक्षमा प्रशस्त लाभ प्राप्त गर्न सक्छ भने लघुकथा लेखिरहने स्रष्टालाई पनि यसको अध्ययनले गुणात्मक लेखनका लागि सचेत गराउँछ नै। सिर्जनालाई अगाडि राखेर बनेको सिद्धान्त भएकाले पनि कृतिलाई बुझ्न सजिलो भएको छ। पुस्तकमा रहेका केही वर्णविन्यासगत त्रुटिहरू अर्को संस्करणमा पक्कै सच्चिने छन्।

कलाकार कलामा जीवनको स्वाभिमान बचाउँछ अनि समाजको सग्लो र जिउँदो परिचय सुरक्षित गर्छ। मानव सभ्यताको लामो यात्रामा जीवन र समाजको वास्तविकतालाई कलाले नै साँचोरूपमा बचाउन सक्ने रहेछ। कलाका अनेक रूपमा साहित्य त्यस्तो कला हो जसमा अभिव्यक्तिको माध्यम भाषा हुन्छ। आवाज, रङ, रेखा, प्रकाश, तथा वस्तुका अनेक स्वरूपमा प्रयुक्त कलाका माध्यमभन्दा साहित्यिक कलालाई छुट्याउने आधार भाषा हो। आधार वा माध्यम जेसुकै होस् आखिर सबै कला हुन् र सबैको उद्येश्य एउटै छ मनमा ललित सौन्दर्यको सृष्टि अनि आनन्दानुभूति। स्रष्टा सिद्धान्त पढेर सिर्जना गर्दैन। उसलाई सिर्जनाका उत्तमोत्तम विषय र बिम्बहरू जीवनकै नजिकबाट प्राप्त हुन्छन्। प्रकृति र समाज सर्जकको गुरु हो अनि तिनै सिर्जनालाई पाठ बनाएर साहित्यका सिद्धान्तहरू बन्छन् र तिनले एउटा विधागत स्वरूप प्राप्त गर्छन्। कलाका अनेकाकनेक स्वरूपलाई तिनै कला पारखीको बौद्धिक परख गर्ने आधार बन्छन् सिद्धान्तहरू। जीवनबाट जीवन सिकेजस्तै कलाबाट कलाचेतना सिक्न सघाउने यस्ता सैद्धान्तिक विषयले पनि कलालाई अझ सुन्दर र परिष्कृतताको सिँढीतिर उकाल्दै लैजान्छन्। आज समाज आफ्नै स्वरूपको पहिचानमा आवाज उठाइरहेछ, तर कलाका यस्ता सिद्धान्तहरूले तिनका पहिचानलाई सजिलो बनाइरहेछन्। कलापारखी सबैलाई सुखद् अनुभूति दिने पक्ष हो यो।

 

कृति :  लघुकथाको रचनाविधान

लेखक :  डा. लक्ष्मणप्रसाद गौतम

विधा :  सैद्धान्तिक समालोचना

प्रकाशक :  लघुकथा समाज

मूल्य :  रू. २५०

 

प्रकाशित: १८ भाद्र २०७३ ०५:२७ शनिबार

लघुकथाको चिरफार