अन्य

द्विप

कारेल चापेक

एकताका लिस्बनमा लुइस डी फारिया नामक व्यक्ति बस्थ्यो। उसले आफ्नो बेला पानीजहाजबाट पूरै संसारको यात्रा गरेको थियो। रमणीय स्थलहरू घुमेको थियो। त्यस व्यक्तिको मृत्यु एउटा यस्तो बिरानो र सुदूर द्विपमा भयो, त्यसको चित्रण कल्पनामा पनि गर्न असम्भव छ। उसले कसैलाई नोक्सान नपुर्‍याइ आफ्ना सबै इच्छा पूरा गरेको थियो। उसले आफ्नो मर्जीको जीवन बाँचेको थियो। केही समयमै यस किसिमको परिपूर्ण जीवनबाट उसलाई दिक्क लाग्न थाल्यो, जीवन बोझ लाग्न थाल्यो। उसले आफ्नो सम्पूर्ण सम्पत्ति बेच्यो र रकम जम्मा पार्‍यो अनि पानी जहाजमा चढेर विश्वभ्रमणमा निस्क्यो।

ऊ पानी जहाज चढेर क्यान्डी र पालरेना पुग्यो। कन्स्टेन्टाइन, बेरुत, प्यालेस्टाइन, मिश्र, सिलोन र अरब यात्रामा गयो। यसपछि ऊ जाभा पनि पुग्यो। ऊ आफ्ना नाविक साथीहरूका साथ हरेक दिशामा गयो। कसैले उसलाई उसको मातृभूमिबारे सोधे भने उसका आँखा छचल्किएर आउँथ्यो।

कैयौँ देशको यात्रा गर्दा र त्यहाँका विलक्षण वस्तु देख्दा लुइसलाई लाग्थ्यो, कतै ऊ अघिल्लो जीवन पूरै भुलिनजाओस्!

ऊ विशाल समुद्रमा निरन्तर भ्रमण गरिरहन्थ्यो। एक दिन अचानक उसको जहाज आँधीको चपेटामा पर्‍यो। जहाज लहरहरूमा यसरी लहरिन्थ्यो, मानौँ बोतलको कर्क पानीमा तैरिरहेको होस्। यसरी तेस्रो रात जहाज एउटा मुगाको चट्टानमा ठोक्किन पुग्यो। यस्तो अवस्थामा तीव्र आँधीले लुइसलाई जुरुक्क उचाल्यो र पानीमा छप्लक्क पछारिदियो। लुइस बेहोस भयो। तीव्र बहावले पुनः उसलाई एउटा तैरिरहेको काठे तख्तामा पछार्‍यो।

होस आउँदा झलमल्ल घाम लागेको थियो र दिउँसो भइसकेको थियो। उसले आफूलाई शान्त समुद्रमाथि काठे तख्तामा अडिएर बहिरहेको पायो। त्यसबेला जीवनमा पहिलो पटक जिउँदो हुनुको आनन्द उसले चाल पायो। तख्तामा ऊ अर्को दिन पनि तैरिइरह्यो। त्यस दिन पनि उसले जमिनको दर्शन गर्न पाएन। अर्कोतर्फ, तख्ताले पानीको प्रहार सहन सकिरहेको थिएन। निकै पुरानो भएका कारण तख्ता बिस्तारै–बिस्तारै टुक्रिँदै जान थालेको थियो। लुइसले त्यस तख्तालाई आफ्नो कपडाले बाँध्ने प्रयास गरिरहेको थियो, तर कुनै फाइदा भएन। एकएक गरेर त्यो काठे तख्ता अलग्गिन थाल्यो। अन्ततः तख्तामा जम्माजम्मी तीन वटा काठ बाँकी रह्यो। प्रयास गर्दागर्दा लुइस थाकिसकेको थियो। उसले जिन्दगीलाई माया मार्‍यो र सबैथोक ईश्वरको इच्छामाथि छाडिदियो। तेस्रो दिनको बिहानी किरणसँगै एउटा सुन्दर द्विप देखियो। द्विपमा ठूला वृक्ष र हरियालीको साम्राज्य थियो। द्विप देख्दा लुइसलाई यस्तो लाग्यो, मानौँ त्यो पनि समुद्रमा तैरिरहेको होस्।

अन्ततः नून र फिँजले नुहाएको लुइसले द्विपमा पाइला टेक्यो। त्यति नै बेला केही जंगलीले होहल्ला गर्न थाले र झाडीबाट बाहिर निस्किए। यसखालको अनौठो आवाज सुनेर लुइस डरायो र घुँडा टेकेर प्रार्थना गर्न थाल्यो। थकानका कारण ऊ ढल्यो र समुद्रकै किनारमा भुसुक्क निदायो।

सूर्यास्तको बेला उसको पेट भोकले कटक्क खायो र निद्राबाट ब्युँझियो। उसको नजिकै बालुवामा मान्छेका पाइलाका निशाना थिए। लुइसलाई आफू बाँचेकामा पुनः खुसी लाग्यो। कम्तीमा जंगली नजिक आए, हेरे तर मारेनन्! भोकले पेट बटारिएकाले भोजनको खोजीमा ऊ निस्क्यो, तर त्यतिञ्जेल निकै अँध्यारो भइसकेको थियो। अन्यमनस्क भावले उठेर यताउता गर्दैगर्दा अर्कोतर्फ जंगली मानिसहरू गोलाकार बसेर रात्रिकालीन भोजन गरिरहेको उसले देख्यो। घेरामा बसिरहेका महिला, पुरुष र बालबालिकालाई उसले देख्यो, तर उसले भिखारीलेझैँ तिनको नजिकै गएर भोक समन गर्ने चाहना देखाउन सकेन।

त्यत्ति नै खेर त्यो झुण्डबाट एउटी युवती उठी र लुइसछेउ फलहरूले भरिएको टोकरी राखिदिइ। भोकले बटारिएको पेटको शक्तिले होला उसले खानेकुराबाहेक अरु केही देखेन र फलतिर झम्ट्यो। केरा, अञ्जिर र अन्य फलका अतिरिक्त मासुको सुकुटी पनि थियो। यस्तो भिन्न स्वाद यसअघि कहिल्यै चाखेको थिएन। त्यस युवतीले लुइसछेउ चिसो पानीको सुराही ल्याएर राखिदिइ। यसपछि ऊ छेउमा बसी र लुइसले भोजन गरिरहेको हेरिरही। लुइसले पेट भरिएपछि आराम महसुस गर्‍यो र खानाका लागि युवतीलाई कृतज्ञता व्यक्त गर्‍यो। लुइसले आभार व्यक्त गर्दा उसको मनभित्रबाट एउटा मीठो पीडायुक्त गीतजस्तै सुन्दर शब्दहरूको रूप निस्किरहेको थियो। उसलाई लाग्यो, यसअघि उसले यति सुन्दर ढंगले कहिल्यै बोलेको थिएन। जंगली युवती पनि उसको अघिल्तिर बसेर निकै गहनसँग उसका कुरा सुनिरहेकी थिई, मानौँ लुइसका सबै कुरा उसले बुझिरहेकी होस्।

लुइसलाई लाग्यो, त्यस युवतीलाई राम्रोसँग बुझाउन दोहोर्‍याएर आभार व्यक्त गर्नुपर्छ। अनि उसले विभिन्न किसिमको कुरा गर्‍यो र आभार व्यक्त गर्‍यो। उसलाई लाग्यो, ऊ आभार होइन ईश्वरको प्रार्थना सुनाइरहेको छ।

घना अँध्यारो हुन थाल्यो। लुइसलाई लाग्यो, कतै जंगलीहरू उसलाई छाडेर नजाऊन्, कम्तीमा त्यो युवतीले उसलाई जंगली जनावरको आहारा बन्न नछाडिदेओस्। युवतीलाई छेउमै राखिरहन उसले विभिन्न किसिमका कथा सुनायो। उसले युवतीलाई सुनायो, कसरी उसको जहाज टुक्राटुक्रा भयो, समुद्रको लहरमा ऊ कसरी लहरिँदै बेहोश भयो र लहरिँदै होश खुल्यो, कति पीडा झेल्नुपर्‍यो! युवती लुइसको कुरा सुन्न भुइँमा ढल्किइ। लुइसका कुरा सुन्दासुन्दै युवती निदाइ। ऊ युवतीछेउ टाढाटाढाको समुद्रको कलकल ध्वनि निद्राले झुपुक्क नहुञ्जेल सुन्दै बसिरह्यो।

बिहान उठ्दा युवती थिइन। बालुवामा उसको शरीरको स्पष्ट चिह्न थियो। युवतीलाई खोज्दै ऊ समुद्रको किनारैकिनार हिँड्यो। कति पटक ऊ दलदल हुँदै, कति पटक जंगल र झाडी हुँदै अघि बढ्यो। कैयौँ पटक उसका अघिल्तिर जंगली मानिस पनि देखिए, तर यस पटक ऊ डराएन। उसलाई यो द्विप अब मन पर्न थाल्यो। यति हरियाली, समुद्रको नीलोपन, सुन्दरता उसले देखेका सबै द्विपमध्येको सुन्दर थियो। हुँदाहुँदा यो द्विपका जंगलीहरू पनि अन्य द्विपका जंगलीभन्दा शान्त, शालीन र असल थिए।

अर्को दिन पनि उसले द्विप घुम्यो। उसलाई लाग्यो, यदि स्वर्ग भन्ने चिज छ भने पक्कै पनि यस्तै हुनुपर्छ। साँझ पुनः त्यहीँ पुग्यो जहाँ ऊ पहिलो पटक आइपुगेको थियो र भुसुक्क निदाएको थियो। त्यहाँ देख्यो, जंगली युवती आफ्ना कपाल सम्हालिरहेकी थिई। जुन काठमा ऊ समुद्रमा बहँदै आइपुगेको थियो, त्यो काठ युवतीको गोडाछेउ थियो। काठ देख्दा उसलाई अब फर्केर जानु असम्भव छ भन्ने लाग्यो। लुइस त्यही युवतीछेउ बस्यो र समुद्रलाई एकोहोरो हेर्न थाल्यो। केही क्षणपछि उसको मुटुबाट दुःखको मूल फुट्न थाल्यो र युवतीलाई आफ्नो दुःखको बयान गर्न थाल्यो। लुइसले युवतीलाई सुनायो, दुई दिनदेखि यो द्विप घुम्दा पनि आफूजस्तै मान्छे नपाएकोमा उसलाई कस्तो पीडा भइरहेको छ। उसका सबै साथी समुद्रमा कसरी बली चढे, ऊ यहाँबाट घर फर्कने कुनै सम्भावना नरहँदा उसलाई कस्तो पीडा भइरहेको छ, सबैसबै उसले युवतीलाई सुनायो। जंगली युवती निद्रा नलागुञ्जेल उसका कुरा आरामले सुनिरही। यस्तो लागिरहेको थियो, लुइसले आफ्नो दुःखको कुनै 'लोरी' सुनाएको होस्। ऊ निदाएपछि लुइस पनि शान्त भयो।

बिहान दुवै जना उठेर एउटा चट्टानमा बसे र पर क्षितिजतिर हेर्न थाले। त्यहाँ बसीबसी लुइसले आफ्नो विगत सम्‰यो। लिस्बनको स्वच्छ वातावरण, प्रेम–प्रसंग अनि समुद्री यात्रा! उसले प्रत्येक कुराको भरपूर आनन्द लिएको थियो। उसले आफ्नो जीवनका उत्तम पलहरूको आनन्द लिन आँखा बन्द गर्‍यो। आँखा खोल्दा जंगली युवती क्वारक्वार्ती उसैलाई हेरिरहेकी थिई। उसले पहिलो पटक अनुभव गर्‍यो, युवती निकै सुन्दर छे। उसको छरितो शरीर, समतल पेट, न गोरी–न काली! समग्रमा उसको शरीरको बनावट निकै सुन्दर थियो।

उसको दैनिकी अब त्यही ढुंगोमा बस्नु हुन थालेको थियो। ऊ त्यहाँ कुनै दिन कहीँबाट जहाज आउला भन्ने प्रतीक्षामा हुन्थ्यो। उसले सूर्योदय र सूर्यास्त बडो मनोयोगले हेर्थ्यो। केही समयपछि त त्यसको पनि कुनै महत्व हुन छाड्यो। दिनप्रतिदिन उसले यस रमणीय द्विप र यसको वातावरणबारे नयाँनयाँ कुरा जान्न थालेको थियो। उसलाई यो प्रेमद्विपजस्तो लाग्न थालेको थियो। कहिलेकाहीँ जंगलीहरू ऊ नजिक आउँथे र परेवाको झुण्डजस्तै वरिपरि घेरा लगाएर बस्थे। घन्टौँसम्म तिनीहरू लुइसलाई हेरेर बस्थे। तिनीहरूले नै लुइसलाई खानेकुराको व्यवस्था मिलाइदिन्थे।

बर्खा लागेपछि लुइस युवतीको पछि लाग्यो र उसैको डेरामा बस्न थाल्यो। यसरी ऊ पनि जंगलीहरूका बीच नांगै बस्न थाल्यो। आफू नांगै बस्नुपर्दा उनीहरूप्रति उसमा तिरष्कारको भाव जन्मियो। त्यसैले पनि उसले उनीहरूको भाषा सिक्न कहिल्यै चासो देखाएन। जंगलीहरूले उसको के नाम राखेका छन् भन्ने थाहा थिएन। युवतीको नाउँ पनि उसलाई थाहा थिएन। जसै ऊ घुमेर दिक्क मान्दै झुपडीमा छिर्थ्यो, त्यहाँ उसलाई खाना, ओछ्यान र सुन्दर स्त्रीको शान्त अँगालो तयारी अवस्थामा आउँथ्यो। ऊ युवतीलाई मानव ठान्दैनथ्यो, त्यसैले जनावरभन्दा बढी व्यवहार ऊ गर्दैनथ्यो।

लुइसले आफ्नै भाषामा सबै कुरा बताउँथ्यो र पूरा सन्तुष्ट पनि महसुस गर्थ्यो, किनभने युवती बडो मनोयोगले उसका कुरा सुन्थी। लुइसले उसलाई हरेक कुराका बारेमा बताउँथ्यो, जुन उसको दिमागमा घुम्थ्यो। जस्तो, लिस्बनमा गुजारेका दिन, घरका कुरा र यात्राका कुरा। सुरुमा उसलाई दुःख लाग्थ्यो, युवतीले उसका कुनै कुराको अर्थ बु‰िदन, न त उसका कुराको महत्व नै उसले बु‰छे। तर पछि बिस्तारै नबु‰नुको बानी बस्यो। ऊ आफ्ना कुरा आफ्नै तरिकाले बताउँथ्यो र बुझाउँथ्यो। बताउँदै गर्दा भावावेशमा कहिलेकाहीँ युवतीलाई आफ्नो अँगालोमा बेर्थ्यो।

समयसँगै लुइसका कथा पनि छोटिँदै जान थाले र सुनाउँदै गर्दा अड्किन पनि थाल्थ्यो। लुइसका रोमाञ्चक यादहरू उसको मनमष्तिस्कबाट गायब हुन थाले, मानौँ ती भएका नै थिएनन्। अब त ऊ नयाँ जीवनमा पूरै ढल्किसकेको थियो। नियमितरूपमा ढुंगोमाथि बस्न त बस्थ्यो, तर अब उसका आँखाले त्यो बाटो हुँदै जाने कुनै जहाज कुर्न छाडिसकेका थिए। लुइसले आफ्नो घरफिर्तीका कुरा र विगतका कुरा पनि बिर्सिसकेको थियो। ऊ राति अबेर झुपडीमा फर्कन्थ्यो, तर द्विपका मानिससँग नजिक हुने चाहना पनि कहिल्यै गरेन।

एक दिन गर्मीयाममा लुइस घना जंगलमा घुमिरहेको थियो। उसले अचानक रहस्यमय आवाज सुन्यो। यो आवाजले उसलाई व्याकुल बनायो। ऊ डराएर जंगलबाहिर निस्क्यो। उसले देख्यो, समुद्र तटमा एउटा जहाज रोकिएको थियो। उसको मुटुको धडकन तीव्र भयो। ऊ दौडँदै समुद्र तटमा पुग्यो। देख्यो, त्यहाँ एउटा जहाज चालक दल छ।  एउटा जंगलीझैँ लुइस ढुंगोको आडमा उभिएर हेर्न थाल्यो। ऊ छक्क पर्‍यो, ती मानिसले उसकै देशको भाषा बोलिरहेका छन्। ऊ जुरुक्क उठ्यो र बोल्ने प्रयास गर्‍यो, तर आवाज निकै तिखो थियो। त्यो तिखो आवाज सुनेर चालक दल डरायो। लुइसले पुनः आवाज निकाल्ने प्रयास गर्‍यो। आफूमाथि कुनै खतरै आइपरेको ठानी चालक दलका सदस्यहफ्ले आफ्नो बन्दुक निकाले। त्यतिबेलै लुइसले गुमाएको शब्द अचानक फर्कियो र चिच्यायो, 'महाशय, ममाथि दया गर्नुस्।'

जंगलीजस्तै मान्छे, आफ्नै भाषा बोलेको देखेर चालक दल खुसीले चिच्याए र लुइसतिर लागे। उनीहफ्ले लुइसलाई छपक्कै छोपे र प्रत्येकले उसलाई अँगालो मारे। उनीहरूले लुइसलाई प्रश्नको वर्षा गरे। केही समयपछि नै उसले आफूलाई हाँसको बीचमा बकुल्लो ठान्न थाल्यो र भाग्ने मौका खोज्न थाल्यो।

यत्तिकैमा एउटा जहाज यात्रुले गीत गाउन थाल्यो। गीतमा एउटा यस्तो व्यक्तिको वर्णन गरिएको थियो, जो समुद्री यात्रामा गएको थियो। उसकी प्रेमिका समुद्र, हावा र आकाशलाई गुनासो गर्दै प्रेमीलाई फर्काउन गुहारिरहेकी थिई। गीतमा प्रेमिकाको दुःखलाई गहिरो भावका शब्दहरूले चित्रित गरिएको थियो। यसपछि उपस्थित सबैले गीत गाए। सबैको आवाजमा आफ्नी प्रेमिकाको स्मरण थियो। उनीहरू समुद्री यात्रामा थिए र घरमा छाडिएकी आफ्नी नायिकालाई सम्भि्करहेका थिए। केही क्षणपछि सबै जना घर र श्रीमती अनि सन्तानको यादमा गम्भीर हुन थाले। आफ्नै भाषा बोल्ने व्यक्ति र देशका मानिस देखेर लुइसका आँखाबाट खुसीका आँशु छचल्किरहेका थिए। उसले यसलाई सपना ठानिरहेको थियो। उसले घर फर्कने सपना देख्नै छाडेको कैयौँ वर्ष बितिसकेको थियो।

अन्त्यमा बूढो जहाजी कप्तान उठ्यो र भन्यो, 'ल केटाहरू हो, अब द्विप अवलोकन गर्न निस्कौँ। सबैजना सूर्यास्तअघि यहीँ भेला हौँला। ईश्वरको नाम जप्दै हामी राति यात्रा सुरु गर्नेछौँ।' लुइसतिर हेर्दै बूढोले थप्यो, 'मेरो साथी तिमीसँग पनि केही छ भने बटुलेर ल्याऊ। साँझ तिमी आउनू र सँगै देश फर्कौंला!'

सबै जना द्विप घुम्न निस्किए। लुइस पनि जंगली युवतीको झुपडीतिर लाग्यो। झुपडीतिर अघि बढ्दै गर्दा उसमा अवसादको कालो छायाँ गहिरिँदै जान थाल्यो। लुइस सोच्न थाल्यो, युवतीलाई कसरी घर फर्कने सूचना दिने होला! मलाई अब बिर्सिदेऊ भनी कसरी भन्नू! ऊ एउटा ढुंगोमाथि बस्यो र आत्ममन्थनमा लाग्यो। युवतीसँग आजभोलि भन्दाभन्दै १० वर्ष बितिसकेको थियो। यत्रो वर्ष त्यस युवतीले उसलाई बिनाकुनै गुनासो थुप्रै सेवा गरेकी छ। यस्तो अवस्थामा बिनाकृतज्ञता जाहेर गरी वा आभार प्रकट नगरी कसरी द्विपबाट जान सक्ला!

ऊ यस द्विपमा आइपुग्दा त्यो युवती थिई, यतिबेला महिला बनिसकेकी छ। त्यस महिलाको सेवा उसले सम्झन थाल्यो। उसले कसरी शरण दिइ र भोजन दिइ? कसरी त्यस युवतीले उसलाई सम्पूर्णरूपमा सुम्पिदिइ? यस्तै सोच्दै ऊ झुपडीतिर लाग्यो।

झुप्रो छिर्नेबित्तिकै उसले त्यस महिलालाई हेर्‍यो र छिटोछिटो आफ्ना कुरा बताउन थाल्यो। उसले भन्यो, 'मलाई लैजान भनेर केही मानिस आएका छन्। अब मैले यहाँबाट निस्कनैपर्छ। मैले जीवनका धेरै वर्ष यहाँ बिताएँ, तर मेरो जन्मभूमिका लागि पनि केही आवश्यक काम गर्नुपर्नेछ, अधूरा काम पूरा गर्नुछ।' अनि उसले जंगली महिलालाई आफ्नो अँगालोमा बेर्‍यो र हरेक कुराका लागि कृतज्ञता व्यक्त गर्न थाल्यो। महिलाले दिएका प्रत्येक सुखका लागि आभार प्रकट गर्‍यो। लुइसले उसलाई वचन पनि दियो, 'म पुनः फर्केर आउनेछु।' निकै बेरसम्म कुरा गरिरहँदा महिलाले तटस्थ भावले सुनिरहेको पाएपछि उसले ठूलोठूलो स्वरमा पुनः उही कुरा दोहोर्‍याउन थाल्यो। गोडा फट्कार्दै रिस देखाउन थाल्यो। ठीक त्यहीबेला उसलाई लाग्यो, जहाजका मानिस उसलाई कुरेर हैरान भइसके र निस्कन लागिसके। ऊ कुरा गर्न छाडेर र महिलालाई त्यत्तिकै छाडेर समुद्र किनारतर्फ दौडियो।

किनारमा कोही थिएन, अझै चालक र अन्य मानिस आउन बाँकी नै थियो। ऊ केहीबेर सुस्ताएर तिनको प्रतीक्षा गर्न थाल्यो। अहिलेसम्म पनि उसलाई जंगली महिलाले उसका कुरा बुझी कि बुझिन भन्ने कुराले सताइरहेको थियो। यो कुराले उसलाई यति सतायो कि ऊ हतारहतार झुप्रोतिर लाग्यो। झुप्रोछेउ पुगेर ऊ उभियो र एउटा छिद्रबाट भित्र हेर्‍यो। उसले देख्यो जंगली महिला, जोसँग ऊ लामो समयसम्म बसिरहेकी थिई, खाना खाने बेला भएकाले त्यसको तयारी गरिरहेकी थिई। जंगली महिला कुहिएको र दाग लागेको फल आफू खाइरहेकी थिई अनि हेर्दैका आकर्षक र सफा फल लुइसका लागि राखिरहेकी थिई। त्यसपछि त्यो महिला कुन बेला लुइस आउला भनी पर्खेर बसिरही, मानौँ ऊ मूर्ति होओस्। केहीबेर कुर्दा पनि लुइस नआएपछि उसले लुइसका लागि सुत्ने ठाउँ टक्टक्याइ। चिटिक्कको सुत्ने ठाउँ बनाइसकेपछि ऊ पुनः उसैको प्रतीक्षामा बस्न थाली। यी सबै कुरा देखिसकेपछि लुइसलाई लाग्यो, जानुअघि त्यस महिलाका सबै आकांक्षा पूरा गरिदिनुपर्छ। लुइसले निश्चय गर्‍यो, अब ऊ ती फल खानेछ, त्यो ओछ्यानमा सुत्नेछ।

सूर्य डुब्न लाग्दा सबै जहाजी भेला भए। त्यहाँ कमी थियो त लुइसकै मात्र। उनीहरूले लुइसलाई जंगलमा यताउति खोजे। उनीहरू लुइसको नाउँ लिँदै अघि बढे। तीमध्ये दुई जना त लुइसनजिकै पुगिसकेका थिए। तर, लुइस एउटा झाडीमा लुक्यो। कतै तिनले आफूलाई फेला नपारुन् भन्ने सोचले लुइसको मुटुको ढुकढुकी तीव्र गतिमा धड्किन थाल्यो। बिस्तारै लुइसलाई डाक्नेको आवाज  मधूरो हुन थाल्यो। अँध्यारो छायो। जहाजका सदस्यहरूले लुइसलाई फेला पार्न नसकेकामा दुःखी भए। उनीहरू बिस्तारै जहाजमा चढे। टाढाबाट लुइसले तिनका गतिविधि नियाल्यो। केहीबेरमै त्यहाँ शान्ति छायो। लुइस लुकेको ठाउँबाट झुप्रोमा फर्कियो। झुप्रोमा त्यसैगरी शान्तिपूर्वक महिला बसिरहेकी थिई। लुइसले फल खायो र महिलाको छेउमा नरम ओछ्यानमा सुत्यो।

भोलिपल्ट बिहान सूर्योदयसँगै लुइस झुप्रोबाट निस्क्यो र समुद्रतिर हेर्‍यो। समुद्रजलमा सूर्यकिरणले स्वर्ण रङ छर्केको मुग्ध पार्ने दृश्य देखिइरहेको थियो। उसले सुन्दर जहाज पनि गइरहेको देख्यो। आँखाले भ्याउञ्जेलसम्म हेरिसकेपछि झुप्रोमा फर्कंदा महिला उसकै ओछ्यानमा सुतिरहेकी थिई। तर, ऊ पहिलेजस्तो आकर्षक थिइन। बरु ऊ फोहोरी र कुरुप महसुस गरिरहेको थियो लुइसले। लुइसको आँखाबाट आँसु खुस्केर छातिसम्म पुग्यो। लुइसले सुस्त आवाजमा सुन्दर शब्द र कविता दोहोर्‍याइरह्यो, दुःख र एक्लोपनको पीडाबाट भरपूर ती कविता सुतीसुती महिलाले सुनिरहेकी थिई। मानौँ उसले ती सबै प्रत्येक शब्द र लय बुझिरहेकी होस्।

यसरी लुइस सधैँका लागि त्यही द्विपमा अड्कियो। त्यस दिनपछि उसको मृत्यु नहुञ्जेल लुइसले आफ्नो मुखबाट एक शब्द पनि निकालेन।

(चेक गणराज्यका प्रमुख लेखकमध्येका एक कारेल चापेकलाई आधुनिक चेक साहित्यका प्रवर्त्तक मानिन्छ। उनका कथामा मानव प्रवृत्ति र जीवनका विविध पहलुका अनौठा संगम तथा काल्पनिकताको प्रचुरता पाइन्छन्। उनको जन्म ९ जनवरी १८९० मा भएको थियो। उनका बुवा चिकित्सक थिए। उनले प्राग, बर्लिन र पेरिसमा अध्ययन गरे। पेरिसबाट नै उनले दर्शनशास्त्रमा पीएचडी गरेका थिए। विश्वलाई 'रोबोट' शब्द दिने व्यक्ति उनी नै हुन्। चापेकले लगभग १५ पुस्तक लेखे, जसमध्ये दुई वटा कथासंग्रह, चार वटा निबन्धसंग्रह, तीन उपन्यास छन्। उनले १९३५ मा चेक अभिनेत्री एल्गा सिनफुगोवासँग बिहे गरे। २६ डिसेम्बर १९३८ मा निमोनियाका कारण चापेकको मृत्यु भयो।)

अनुवादः अच्युत कोइराला

प्रकाशित: ११ भाद्र २०७३ ०३:१४ शनिबार

द्विप