अन्य

कसरी फैलियो पौभा कला?

काठमाडौं- नेपाल ललितकला पत्रकार समाज र तारागाउँ म्युजियमको संयुक्त आयोजनामा हरेक महिनाको दोस्रो बुधबार गरिने कलाका कुराको १० औं शंृखलामा परम्परागत कलाकार लोक चित्रकारसँग अन्तरसंवाद गरियो। नेपाली पौभा कलामा विगत साढे तीन दशकदेखि क्रियाशील चित्रकारले नेपाली परम्परागत कलाको इतिहास, यसको विकासक्रम र नेपालमा पछिल्लो समय चलेका शैली र चिन्तनका बारेमा चर्चा गरे।

नेपाली मौलिक कलाको रुपमा परिचित पौभा कला र यसको सामाजिक, सांस्कृतिक तथा प्राज्ञिक महत्वलाई राज्यले खासै महत्व दिन नसकेकोमा चित्रकारले गुनासो गरे। नेपालमा पौभा कलाको १२ औं–१३ औं शताब्दी ताका चरम विकास भएको र त्यो तिब्बतसम्म पुगेको बताउँदै चित्रकारले भने, 'तिब्बतमा तीन सय वर्षसम्म यसको शैली र चिन्तनको प्रभाव रह्यो।'

पौभामा प्राकृतिक रुपलाई जस्ताको तस्तै नउतारी त्यसलाई प्रतीकात्मक रुपमा उतारिने उनले जनाए। उनले भने, 'जीवन र जगतका सास्वत सत्यलाई यथार्थपरक नभई प्रतीकात्मक रुपमा पौभामा उतान्छि। त्यसैले कला जीवनका लागि हुनुपर्छ। सन्देश र ज्ञान दिन सक्ने कला नै मानिसका लागि प्रिय हुन्छ। साथै त्यसले समाजलाई मार्गनिर्देश गर्न सक्नुपर्छ। पौभाले पनि समाज र मानिसको जीवनमा सकारात्मक प्रभाव पार्ने भएकाले यसको महŒव झनै प्राचीनकालदेखि नै बढेर गएको देखिन्छ।'

पौभा शब्दलाई कतिपय विद्वानले सही ढंगले व्याख्या गर्न नसकेको जनाउँदै पत्र भट्टराकबाट अर्थात् पत्र भनेको सतह र भट्टराक भनेको भगवान शब्दको व्युत्पतिबाट पौभा शब्द बनेको उनले बताए। उनले थपे, 'पौभा भनेको विशुद्ध नेवार शब्द हो। नेपालको मध्यकालीन इतिहासबाट यसको महत्व र चर्चा व्यापक हुँदै गएको हो।'

उनले पौभामा रेखाको प्रधानता हुने बताए। 'पहिला पहिला खनिजजन्य रंगको प्रयोग गरेर नेपालमा चित्रकारिता गरिन्थ्यो। आजकल कलाकारले सहज र सुलभताका लागि म्यानमेड रंगको प्रयोग गर्न थालेका छन्,' उनले बताए।

कार्यक्रममा कलाकार तथा समीक्षक रमेश खनालले नेपालमा पौभा कलाको विकास र यसको अवस्थितिका बारेमा बताएका थिए। पत्रकार श्याम रिमाल, केशवराज खनाल, पासाङ लामा, राजेन्द्र बज्राचार्य, राजकुमार रानामगर लगायतले पौभा कला र यसका विविध आयामका बारेमा जिज्ञासा राखेका थिए।

 

प्रकाशित: ९ भाद्र २०७३ ०२:१५ बिहीबार

कसरी फैलियो पौभा कला