अन्य

कर्णाली राजमार्गमा चट्टाने पहिरो, २ दिनदेखि यातायात ठप्प

पवित्रकुमार शाही

कालिकोट– कर्णाली राजमार्गमा पर्ने कालिकोटको सदरमुकाम नजिकै चट्टाने पहिरो खसेको छ। पहिरो खसेपछि कर्णाली राजमार्गमा संचालित यातायातको आवागमनमा समस्या उत्पन्न भएको छ। सडकनै अबरुद्ध हुने गरी आइतबार खसेको पहिरो अझै हटाउन सकिएको छैन । पहिरोले कर्णाली राजमार्ग अबरुद्ध भएको सडक विभाग सुर्खेतले जनाएको छ। सदरमुकाम मान्म नजिकैको ताडीको अप्ठ्यारो भीरमा पहिरो गएको हो।

पहिरोका कारणले कर्णाली राजमार्गमा चल्ने यातायात साधन ठप्प छन्। जुम्लादेखि सुर्खेत नेपालगञ्जका लागि छुटेका सवारी साधन र मालबाहक ट्रकहरु ताडी बसपार्कमा नै रोकिएका छन्। जिल्ला ट्राफिक कार्यालय कालिकोटले दिएको जानकारीअनुसार एकदमै कडा चट्टाने पहिरो खसेको छ।  
राजमार्गको पहिरो पन्छाउनका लागि डोजरको आवश्यकता रहेको र डोजर खोजी भइरहेको जिल्ला ट्राफिक कार्यालय कालिकोटका इन्चार्ज आनसिंह भण्डारीले बताए। ‘राजमार्गमा ठूलो पहिरो गएको छ,’ उनले भने, ‘राजमार्ग खुलाउन डोजर आवश्यकता छ। डोजर खोजी भइरहेको छ।’ पहिरो गएको दुइ दिन बिती सक्दा पनि अझै डोजर नआएपछि यातायात व्यवसायी र यात्रु निराशामा छन्।

स्थानीयको भरमा चट्टाने पहिरो

लगातारको वर्षापछि ताडिभीरमा खसेको पहिरा स्थानीयका लागि सुन खसे जस्तै भएको छ। सडक विभागलगाएतका सरोकारवालाले पहिरो हटाउन प्रयास नगरेपछि स्थानीय ताडीका कतिपय व्यक्तिले घर बनाउनको लागि डुङ्गा सदुपयोगमा आउने भन्दै घन सावेल लगाएतका स्थानिय औजार ल्याएर फोडीरहेका छन्। डुङ्गा फोड्दै गरेका ताडिका बद्रीप्रसाद पाण्डेले दुई–चार जना कामदार लगाएर काम गराइरहेका छन्। कसैले पनि पहिरो हटाउन डोजर नल्याएपछि हामीले डुङ्गा सदुपयोगमा ल्याउन दुई दिनदेखि काम गरेको स्थानीय बद्रीप्रसाद पाण्डेले बताए।   

केही दिनअघि एसमोडमा आएको पहिरो नेपाली सेनाले पन्छाएको थियो । तर सदरमुकाम नजिकै आएको पहिरो अहिले सम्म कसैले पनि हटाउन चासो देखाएका छैनन्। डोजर नलगाएसम्म अझै एक हप्तापछि मात्र सडक खुल्ने संकेत देखिन्छ।

पहिरोमा डोजेर नभए सम्म हटाउन असम्भव हुने स्थानीय बताउछन् । ताडिभिरमा  माथिबाट करिव १५ मिटरको हाराहारीमा पहिरो आएको छ ।

काठमाडौं नेपालगंज, सुर्खेत हुँदै कालिकोट जुम्ला मुगु आउने यात्रुहरु बिचबाटो मै अलपत्र परेका छन्। जुम्लाबाट कालिकोट हँुदै तलतिर झर्ने यात्रुवाहक बसहरु अलपत्र छन्। आफ्नो गन्तव्यमा यात्रुलाई निकै समस्या परेको छ। पहिरो हटाउन मात्र नभई ठुला पत्थर भएकाले सेनाले ब्लास्टीङ गरेर समस्या सामाधान गर्नु पर्ने स्थानीयवासीको माग छ। सडक निर्माण गर्दा ब्लास्टिङले थर्किएकाले पहिरो खसेको जिल्ला प्रशान कार्यालयले जनाएको छ। पहिरो नहटाएसम्म यातायाताका साधन आवागमन गर्ने कुनै विकल्प छैन।
ताडी भीरमा गएको पहिरो। तस्बिरः पवित्रकुमार शाही

 

प्रकाशित: २४ श्रावण २०७३ १२:१७ सोमबार

कर्णाली राजमार्गमा चट्टाने पहिरो दिनदेखि यातायात ठप्प