काठमाडौं- महावीर पुनको सहयोगार्थ राजधानीमा चित्रकला प्रदर्शनी हुने भएको छ। स्वतन्त्र चित्रकारहरुको एक समूहले प्रदर्शनी गर्दै सो चित्रकलाको बिक्रीबाट उठ्ने रकमको ५० प्रतिशत रकम महावीर पुनको अभियान 'आविष्कार केन्द्र'लाई प्रदान गर्न लागेको हो। 'भी नाइन्टिन' शीर्षकमा हुन लागेको प्रदर्शनी आउँदो सोमबार नेपाल आर्ट काउन्सिल बबरमहलमा सुरु हुनेछ।
पाँच दिन चल्ने प्रदर्शनीमा १९ जना चित्रकारका चित्रहरु रहनेछन्। कलाकार जया शर्माले हरेक कलाकारका चारवटा चित्र प्रदर्शनीमा रहने जानकारी गराइन्। प्रदर्शनीमा १० हजारदेखि १ लाखसम्म मूल्यका चित्रहरु राखिनेछन्।
'धेरैभन्दा धेरै चित्र बिक्री होस् र पुनको अभियानलाई सहयोग गर्न सकियोस् भन्ने उद्देश्यले मूल्य कम राखेका हौं। राम्रै रकम सहयोग गर्न पाइयोस् भन्ने सोच राखेका छौं,' शर्माले भनिन्।
प्रदर्शनीमा शर्मासँगै अनिल महर्जन, बिकुकुमार थापा, विकास श्रेष्ठ, भुफान लिम्बु, दीपाञ्जली राजभण्डारी, दीपक मेहरा, ध्रुवराज शर्मा, काजी राना, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओमप्रकाश गुरुङ, प्रमिला लामा, रितु थापा, सुदेश श्रेष्ठ, उमा खड्का, उपकार घमाल र शोभा तिवारीका चित्रहरु राखिनेछन्।
प्रकाशित: २३ श्रावण २०७३ ०३:४६ आइतबार