कुरो धेरै पहिलेको होइन। त्यस दिन म घरबाट गाडीमा कार्यालय जाँदै थिएँ। अलि पर पुग्दानपुग्दै आफ्नो घरअगाडि डेरा गरी बस्ने एक महिला दुई छोरी डोर्याउँदै कतै जाँदैरहिछन्। अवसर मिल्नासाथ चिनेकालाई र कहिलेकाहीँ नचिनेकालाई पनि गाडीमा होस् वा मोटरसाइकलमा सोधेरै ‘लिफ्ट’ दिने आफ्नो बानीअनुसार नै गाडी रोकेर सोधेँ, 'कता जान लाग्नुभएको?' उनले भनिन्, 'शंखमूल'। म त्यही बाटो हुँदै नै कार्यालय जान्थेँ। मैले चाहेजस्तै उनलाई लिफ्ट दिन मिल्ने नै भयो।
मैले आग्रहपूर्वक भनेँ, 'बस्नोस्, म त्यतै जाने हो।' उनी हिच्किचाइन् र भनिन्, 'होइन अंकल, हामी हिँडेरै जान्छौँ।'
दुई बच्चीलाई डोर्याउँदै हिँडेकी महिलालाई परपुरुषसँग गाडीमा चढेर जान संकोच लागेको होला– त्यो संकोचको पर्खाल भत्काउनका लागि पहल त मैले गरिदिनु नै पर्यो। अलि बढी आग्रह गर्दै भनेँ, 'आखिर म त्यतै नै जाँदै छु भने साना नानीहरूलाई यो घाममा हिँडाएर दुःख किन दिनु हुन्छ, चढ्नोस् (गाडी) न!' मैले बुझेकै थिएँ संकोचको कारण— एक जना महिला अर्को अपरिचित पुरुष सँगै हिँड्दाको संवेदनशीलता। तर, मैले आफूलाई बढी भार नपर्ने र उनका छोरीहरूका कष्टलाई आधार बनाएँ लिफ्ट दिने। उनी संकोच मान्दै थिइन्। तर, आफ्नो सुविधाको लागि भन्दा पनि मेरो आग्रह टार्न नसकेर पछाडिको सिटमा बसिन्, 'अंकलले यति धेरै आग्रह गरेपछि त चढ्नैपर्यो नि!'
मैले उनको सजिलोको लागि ‘लिफ्ट' दिएको थिएँ, उनले मेरो लागि गाडी चढेझैँ गरिन्। उनले त्यसो भने पनि सारमा मैले सही काम गरेको हुँदा सन्तुष्ट थिएँ। शंखमूल पुगेपछि छोरीहरू लिएर उनी झरिन् र धन्यवाद दिइन्।
साँझ घर पुगेको केही बेरपछि श्रीमतीले सोधिन्, 'बिहान अफिस जाँदा हजुरले ऋषिकाको ममीलाई गाडीमा लिफ्ट दिनुभएको थियो रे हो?' गाडी चलाउँदा धेरैजसो कसैलाई न कसैलाई लिफ्ट दिइरहने हुँदा मेरा लागि त्यो सम्भि्करहनुपर्ने कुरै थिएन, लगभग बिर्सेको थिएँ। उनले सोधेपछि झल्याँस्स भएँ। भनेँ, 'हो, मैले लिफ्ट दिएको थिएँ।'
यति सानो कुराको प्रसंग श्रीमतीले किन झिकिन्, म अचम्ममा पर्दै थिएँ। उनले नै पृष्ठकारण बताइन्। ती महिलाले हाम्रो घरकै भुइँतलामा डेरा गरी बस्ने कल्पनालाई भनिछन्– 'आज बिहान अंकलले कर गरीगरी मोटरमा चढाएर छोरीको स्कुलसम्म पुर्याइदिनु भयो। मलाई त असजिलो लागेको थियो, तर कर गरेकाले नचढ्न सकिनँ।'
मलाई ताज्जुब त लाग्यो नै, दुःख पनि लाग्यो, दुई कारणले। एक त मेरो सदाशयतालाई सहजरूपमा लिइएनछ। दोस्रो, एक परिचित पुरुषले एक महिलासँग बोल्नु र सहयोग गर्नुसमेत असहज हुने, यी दुईलाई एकै समाजमा रहे तापनि कति टाढाका जीव ठानियो! सायद समाज मनोविज्ञानको एक झल्को मात्र थियो त्यो। उनलाई त्यो सहयोग असहज लाग्यो, कल्पनालाई असहज लाग्यो र हुँदाहुँदा मेरी श्रीमतीलाई समेत असहज लाग्यो। संशय राखेर नै हेरियो, एक कानले सुनेर अर्को कानले उडाउने कुरो ठानिएन, खराब नियत पक्कै थिएन भनिएन, प्रतिवाद गरिएन। र त कुरो मसम्म प्रश्न बनेर आयो!
श्रीमतीले डर देखाउँदै भनिन्, 'उसको श्रीमान्ले हजुरलाई केही भन्लान् है!' म डराउनुपर्ने कुनै कारण थिएन, बरू शंका लाग्दै थियो– कतै उनलाई नै मैले अर्को महिलालाई गाडीमा लिफ्ट दिएको ननिको लागेको पो हो कि? मैले भनेँ, 'उनको श्रीमान्ले केही भन्लान् भन्ने डर छैन, बरू तिमीलाई पो शंका लाग्यो कि?'
उनी मलाई भन्न सक्दिनन् र प्रश्न उठाउन्नन् प्रत्यक्षरूपमा तर आफ्नो कुरा भन्ने अर्को उपाय छ उनको, 'हजुरको जस्तो सोचाइ भएका अरू हुन्नन्, त्यसले पो फसाद् पार्न सक्छ।' म भन्ने गर्छु, 'अरूले के सोच्छन्, म कसरी थाहा पाउँ? मैले सही सोच्नु र गर्नु पर्छ त्यत्ति मलाई थाहा छ।' उनको अर्को अस्त्र पनि हुने गर्छ, 'ज्योतिषीले भनेका छन्, कृष्ण भगवान्लाई त्यत्तिकै चोरीको आरोप लागेझैँ हजुरलाई पनि महिलासम्बन्धी आरोप लाग्न सक्छ।' म त्यो अस्त्र निस्तेज गर्ने अस्त्र फाल्छु– नबिराउनू, नडराउनू।
यस्तो पहिलो पटक भएको होइन। यसअघि पनि अफिसकै एक सहकर्मी महिलालाई अगाडिको सिटमा राखेर कतै पुर्याइदिएको थिएँ आफ्नो गाडीमा। श्रीमतीको माइतीतर्फका एक जनाले बाटोमा देखेछन्। र, मेरी श्रीमतीलाई यसको जानकारी दिँदै केरकार गर्ने बीउ रोपिदिएछन्। दालमा कतै कालो लाग्न थालेको पो छ कि? केरकारकै शैलीमा मलाई सोधनी भयो र मैले उत्तर दिनुपर्यो। मैले सफाइमात्र दिइनँ, चेतावनी अनि अर्तीबुद्धि पनि दिएँ– 'कार्यालयमा काम गर्ने, बाहिर गइरहनुपर्ने मानिसले गाडीमा अरूलाई राखेर हिँड्नुपर्ने हुन्छ, त्यसमा महिला पनि हुन सक्छन्। यस्ता कुरामा शंका पाल्ने हो भने त कतै ननिस्केर घरै बस्नुपर्ने हुन्छ! मन डुलाउनेका लागि गाडीमा नै चढाउनुपर्छ र! गाडी नचढाएर नै पनि त्यस्ता कुरा गर्न मिलिहाल्छ! मन चंगा भएरै यसो गरेको हो, मन खोटो हुनेले पो लुकिछिपी गर्छन्। शंका गर्न छाड!' मेरो अदबसाथ निस्केको कडा स्वरको प्रतिक्रियामा अलि कमजोर स्वर थियो उनको, 'मैले नभने पनि अरूले के–कसो ठानेछन् र सोधेको।' भन्नेका सय मुख, मलाई भने त्यस्ताको 'बाल' (कत्ति पनि भन्ने अर्थ लाग्ने अचेलको बोली) मतलब थिएन र छैन पनि।
तर, यस्तो नहुँदो रहेछ। समाजले नचाहिँदो मतलब गर्न थाल्दो रहेछ। मेरा छिमेकमा एक श्रद्धा गर्न लायक प्राध्यापक बस्छन्। एक छोरी, एक छोरा छन् र दुवै डाक्टर छन्। उनी बिधुर हुन्। हालसम्म उनको नैतिकतामा औँला उठ्ने कुनै काम गरेको थाहा छैन। एक दिन अर्का एक छिमेकी मित्रले सोधे, 'प्रोफेसरसाहेबले कतै विवाह गर्नु भएको त होइन?' प्रोफेसरसाहेबले अर्को विवाह गर्नु हुँदैन भन्ने आग्रह मिसिएको आश्चर्य त थिएन त्यसमा, तर कतै निकट छिमेकमा नै रहेर पनि त्यस्तो घटना थाहा नपाएको हो कि भन्ने आश्चर्य भने थियो। यस्तो आश्चर्य र शंकाको कारण अरू केही नभएर गाडीको अगाडिको सिटमा कुनै अपरिचित महिलालाई अगाडि राखेर कतै जानु थियो। उनले भने, 'उहाँले घरधन्दा गरिदिने केटीलाई लिएर हिँडेको पनि हुन सक्छ। कहिलेकाहीँ उसलाई पछाडिको सिटमा राख्ने विवेक पुर्याउनु हुन्न। अगाडिको सिटमा नराखेको भए त मानिसले शंका गर्दैनथिए कि!' मेरा छिमेकी मित्रले पनि प्रोफेसरसाहेबबारे यो कुरा अरूबाट सुनेका रहेछन्।
अचम्म छ– हामी महिला र पुरुषबीच केही देख्नासाथ, सुन्नासाथ शंकाको दृष्टिले हेर्न थालिहाल्छौँ। हुन त कतिपय महिला र पुरुषबीचको घनिष्टता यौनिक सम्बन्धमा नबदलिने होइन, तर कैयौँ मानवीयता, मित्रता, सहृदयता, सदाशयता तथा समानताको विचार गरेर गरिएका व्यवहार पनि शंकाको घेरामा पर्ने गर्छन्। यही शंका र शंकाको भयले कैयौँ अवसरमा पुरुषलाई महिलाप्रति सहयोगी बन्न, सदाशयता प्रकट गर्न दिँदैन भने महिलाहरू पुरुषबाट अलि पर हुन रूचाउँछन्, जसले महिलालाई प्रतिष्पर्धी बन्ने, क्षमता विकास गर्ने अवसरबाट वञ्चित गर्छ।
हामीले देखेका छौँ कैयौँ परीक्षा तयारीका लागि साथीहरू मिलेर पढ्ने कार्यक्रम बन्दा महिला साथीहरू पुरुषको समूहमा आउन हिच्किचाउँछन्, अबेरसम्म बस्न चाहँदैनन्। लोकलाजको लाखेले तिनमा नकारात्मक असर पुर्याइरहेको हुन्छ। दुःखको कुरा के छ भने, महिला समानता र स्वतन्त्रताको कुरा गर्नेहरूको तर्क, अभियान र आन्दोलनको मूल भार पुरुषलाई लगाइने आरोप र गालीले धान्दै आएको छ। एक्लै कुरा गर्दा श्रीमान् तथा घरपरिवारको सहयोगले प्रगति गरेको भन्नेहरूसमेत समूहमा छलफल हुँदा महिला विकासका बाधकको एकमुष्ट आरोप पुरुष वा पितृसत्तात्मक समाजलाई लगाउँछन्। तर विडम्बना! पुरुषले गर्ने सहयोगलाई जोइटिंग्रेको आरोप लगाउने, महिलाप्रति बढी आशक्ति देखायो, बदनीयत राख्यो भनेर ठूला–ठूला र राता आँखा पारेर हेर्ने महिलाको संकुचितता कहिल्यै आरोपित भएको छैन। के यो पक्ष पनि दोषी छैन महिलालाई पछाडि पार्नमा? मैले दुई छोरी डोर्याउँदै हिँडेकी महिलालाई गाडीमा लिफ्ट दिन खोज्दा कुनै बदनीयत राखेको थिएँ र? सहकर्मी महिलालाई गाडीको अगाडिको सिटमा राखेर हिँड्दा मैले महिलामैत्री व्यवहार गरेको थिइन र? गरेको थिएँ भने ममाथि शंका गर्दै मेरी श्रीमतीको माइतीतर्फकी महिलामार्फत् उनीसम्म सुराकीजस्तो शैलीमा यो कुरा किन पुग्यो? सँगै काम गर्ने भएपछि पुरुषजस्तै महिलासँग पनि सँगै हिँड्नुपर्छ, कुरा गर्नुपर्छ भनेर किन सोच्न सकेन समाजले, खासगरी महिला मानसिकताले? मलाई लाग्छ, यस्तो संकुचितताले पनि छेकेको छ महिलाको विकासको गति। यो त्याग्नुपर्छ, जति छिटो त्याग्यो, त्यति छिटो महिलाको विकास हुन सक्छ।
यो मेरो तर्क सुनेर धेरै जनाको— महिला वा पुरुषको तर्क आउन सक्छ, यस्तो त छैन अचेल! महिला र पुरुष सँगै हिँड्ने, सँगै काम गर्ने प्रवृत्ति बढेको छ, एकाध अपवादका दृष्टान्त होलान् मैले उल्लेख गरेजस्ता। मान्छु, हो बढेको छ तर मेरा दृष्टान्त अपवादका होइनन्, आम हुन्। अपवादका भइदेऊन् भन्ने मेरो कामना छ। महिलाहरू शिक्षा, रोजगारीमा अगाडि बढ्ने तर महिला र पुरुषसँगै बसे, बोले, हिँडे शंका गर्ने, संकोच मान्ने बानीले समविकासको गतिमा धेरै पर पुर्याउँदैन। यो भनेको ब्रेक र एक्सिलेटर दुवै एकैपटक थिचिएकोे सवारी साधनको जस्तो अवस्था हो। यो शंका गर्नेमा महिला अगाडि छन्– मेरो अनुभव यसै भन्छ। म गलत छु भने, कसैले मनोवैज्ञानिक वा वैज्ञानिक शोध नै गरून्।
पेट्रोलियम पदार्थको नाकाबन्दीले ०७२ सालको असोजमा हाहाकार हुँदा सवारी साधन पर्खेकालाई लिफ्ट दिने चलन खुब बढेको थियो। त्यसताका मैले लिफ्ट दिएका एक पुरुष मेरो मोटरसाइकलबाट जहाँ झरे, त्यहीँ नै एक महिला सवारी साधन पर्खंदै बसेकी रहिछन्। मेरो सोधाइमा उनको जवाफ थियो, 'कोटेश्वर जाने हो।' म पनि कोटेश्वर नै जाने हो भन्दै लिफ्ट दिन्छुभन्दा पनि उनले मोटरसाइकल चढ्न खोजिनन्। पाइला राख्ने ठाउँ नभएर आउने अनि ढोकामा झुण्डिएर वा छतमा चढ्नुपर्ने अवस्थाको माइक्रोबस वा बसमा कोच्चिएर उनले मोटरसाइकल नचढेको मूल्य कसरी चुकाइन्, थाहा भएन!
यस्तो संकोच जितेरमात्र अगाडि बढ्न सकिने हुँदा एक अनुभवबाट म यो लेखनी टुंग्याउन चाहन्छु। म २५–२६ वर्षको लक्का जवान थिएँ, विवाह भएको थिएन। जागिर खान थालेको थिएँ। एकजना इटालियन युवती कार्लालाई लिएर गोरखा बजारदेखि आँपपीपल गाविसको बड्डाँडामा रहेको हेल्थपोस्ट हेर्न जानुपर्ने भयो मलाई। पैदल तीन घन्टा जति हिँड्नुपर्थ्यो। मलाई थाहा थियो– त्यहाँ एक घरमा खाना खाए सुत्न पाइन्छ, तर एउटामात्र कोठा छ पाहुनालाई दिन सक्ने। अरु घरमा त झन् व्यवस्था नै छैन। ती युवती सँगै छिन्– कसरी सुत्ने प्रबन्ध मिल्ला दुई छुट्टाछुट्टै कोठामा। मलाई पिर लागेको थियो। एउटै कोठामा सुत्ने कुरा प्रस्ताव गर्दा उनले के ठान्लिन्– म संकोचमा थिएँ। त्यहाँ पुगेपछि खाना ख्वाउने साहुले एक कोठामा दुई खाट देखाएर भने– मैले दिन सक्ने यही कोठामात्र हो। कार्लाले सहजै भनी, 'तिमी त्यो खाटमा स्लिपिङ ब्यागमा सुत, म यसमा सुत्छु।' मलाई संकोच लागे पनि उसलाई लागेन। न त ऊ डराइ नै मसँग, न म पग्लिएँ नै! त्यसैले त ऊ जहाँ पनि निसंकोच घुम्न सकेकी थिई। महिला र पुरुष सँगै हुँदैमा चुम्बक र फलामझैँ टाँस्सिइहाल्दैनन्, उसले बुझेकी थिई। इच्छा र अनुशासन मान्दै टाँस्सिनु त संसार चलाउने रित हुँदै हो, समस्या त होइन।
महिला र पुरुषबीचको सम्बन्ध चुम्बक र फलामको जस्तै हुन्छ, मौका पर्नासाथ नजिकिँदै गएर टाँस्सिन सक्छन्, यस्तो हामी धेरैले सोच्छौँ। यसरी टाँस्सिने ध्येयले नजिकिँदै जाने इच्छा (परस्त्रीको हकमा) मेरो कहिल्यै रहेन। मेरा लागि उस्तै रहे— महिला वा पुरुष। तर, संसारले यो कुरो संशय राखेर हेर्यो, त्यतिमात्र होइन– आफ्नै श्रीमतीले समेत! संसार गज्जबको छ, २५ वर्षभन्दा बढी जीवन बिताइसकेर समेत उनलाई बुझाउन सकिएन भने कसले बुझिदिने यो कुरा! यही टाँस्सिइहाल्छन् महिला–पुरुष भन्ने संशय जति प्रबल हुन्छ, महिलाको प्रगतिमा बाधा त्यति नै आउँछ। मेरो अनुभवले यही बताउँछ।
प्रकाशित: २२ श्रावण २०७३ ०५:१७ शनिबार