अन्य

मधेसी मोर्चाका मागमा छलफल गर्न नौ सदस्यीय समिति गठन

फाइल तस्बिर ।

काठमाडौं–नयाँ गठन हुने सरकारमा मधेसी मोर्चालाई सहभागी गराउने विषयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाबीच छलफल भएको छ। शनिबार कांग्रेस र मधेसी मोर्चाका नेताबीच राज्यव्यवस्था समितिको सभाहलमा बसेको बैठकले मोर्चाका माग र सरकारमा सहभागी हुने विषयमा मस्यौदा तयार गर्न नौ सदस्यीय समिति गठन गरेको छ।

कांग्रेस, माओवादी र मधेसी मोर्चाकातर्फबाट तीन तीन जना सहभागी नौ सदस्यीय समिति गठन गरिएको हो। समितिमा रहने नाम भने शनिबार साँझसम्म टुंगो लगाइने मधेसी मोर्चाका नेता एवं राष्ट्रिय मधेस समाजवादीका प्रवक्ता केशव झाले जानकारी दिए। बैठकमा मधेसी मोर्चाले भने आफूहरुको मागका विषयमा लिखित प्रतिबद्धता  आएमात्र सरकारमा सहभागी हुने विषयमा छलफल गर्ने अडान राखेको थियो।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महेश आचार्य, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा मधेसी मोर्चाकातर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालगायतका नेता सहभागी थिए।

 

प्रकाशित: १५ श्रावण २०७३ ०९:४० शनिबार

मधेसी मोर्चाका मागमा छलफल गर्न सदस्यीय समिति गठन