अन्य

हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान

लन्डन- उसेन बोल्टले लन्डन डाइमन्ड लिगको २ सय मिटरमा स्वर्ण जित्दै आफूलाई प्रमाणित गरेका छन्। तर, अमेरिकी धाविका केन्द्रा ह्यारिसनले २८ वर्षदेखि स्थापित विश्व कीर्तिमान तोडेपछि जमैकन धावक छायाँमा परेका थिए।

चोटमुक्त भएर ट्र्याकमा फर्किएका बोल्टले रियो ओलम्पिकअघिको यस प्रतियोगिताको २ सय मिटरमा स्वर्ण जितेका हुन्। पुरानो लय भेट्टाउन संघर्ष गरिरहेका उनले १९.८९ सेकेन्डमा दौड पूरा गरेका हुन्। बोल्टले पानामाका एलोन्सो इडवार्डलाई ०.१५ सेकेन्डले पछि पारेका थिए। कमनवेल्थका रजत पदक विजेता एडम जिमेली तेस्रो भए।

गत महिना जमैकन ट्रेल्समा ह्यामस्ट्रिङ चोटको समस्या बोकेका बोल्टको प्रदर्शनले सुखद संकेत गरेको छ। २९ वर्षे बोल्टले लन्डन र बेइजिङ ओलम्पिकमा १ सय र २ सय मिटर दौडमा स्वर्ण जितेका थिए। अर्को महिना ब्राजिलको रियोमा हुने ओलम्पिकमा पनि त्यही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा छन्।

मेमा राष्ट्रिय कीर्तिमान तोडे पनि अमेरिकी ट्रेल्समा छैटौं भएपछि २३ वर्षीया ह्यारिसनले अर्को महिना हुने ओलम्पिक टेलिभिजनमा हेर्नेछिन्।

उनले ११० मिटर हर्डल्स १२.२० सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान बनाइन्। जुन १९८८ मा बुल्गेरियाकी योरडान्का डोन्कोभाले बनाएको कीर्तिमानभन्दा .०१ सेकेन्ड मात्र चाँडो हो। जतिबेला ह्यारिसन जन्मेकी पनि थिइनन्। उनी जन्मनुभन्दा चार वर्षअघि डोन्कोभाले १२.२१ सेकेन्डको कीर्तिमान बनाएकी थिइन्।

‘ओलम्पिक टोलीमा नपरेपछि म यहाँ दौड्ँन चाहन्थेँ र आज त्यो पूरा भयो,’ भावुक बनेकी ह्यारिसनले भनिन्, ‘अमेरिकी टोलीमा पर्न निकै गाह्रो भयो। अमेरिकी छनोटको शीर्ष तीन खेलाडीले ओलम्पिकमा स्थान बनाउँछन् र त्यसमा म पर्न सकिनँ। मलाई निकै दबाब परेको थियो। त्यो छनोट पुनः भइदिए पनि हुन्थ्यो जस्तो लागेको थियो। त्यही इख साँचेर म यहाँ आएको थिएँ, जुन सफल पनि भयो।’

सुरुमा बोल्ट पछाडि परेका थिए। चार वर्षअघि ओलम्पिकमा ३ स्वर्ण जितेको ट्रयाकमा बोल्टले जित्छन् भनेर कसैले सोचेका थिएनन्। तर बोल्टले आफूलाई प्रमाणित गरे। यस वर्षको उत्कृष्ट समय १९.७४ सेकेन्डको हो, जुन अमेरिकाका लसन मेरिटको नाममा छ।

‘आफ्नो लय भेट्टाउने कोसिस गरेको थिएँ तर पूर्ण त्यो हुन सकेन। मलाई लाग्दैन कि मैले राम्रो गरेँ। मैले अझै कडा मिहिनेत गर्नुपर्छ,’ अर्को महिना ३० वर्ष टेक्ने बोल्टले भने, ‘फेरि यस्तै भएको हेर्ने मेरो चाहना छैन। मैले त्यो छाप छोड्न सकिनँ जुन पहिले हुने गर्थ्यो। तर बिना चोट मैले दौड पूरा गर्न सकेकोमा म खुसी छु।’

प्रकाशित: ९ श्रावण २०७३ ०३:३७ आइतबार

हर्डल्समा ह्यारिसनको विश्व कीर्तिमान