अन्य

पल्सर स्पोर्टस् अवार्ड आज

काठमाडौं- नेपाली खेलकुदमा सक्रिय युवा देखि पुराना पुस्ताका खेलाडी,प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७२ बिहीबार आयोजना हुँदैछ। अवार्डको सम्पूर्ण तयार पुरा भएको नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ।

अवार्डमा विभिन्न ८ विधामा पुरस्कार वितरण गरिने मञ्चले विज्ञप्तीमार्फत उल्खेल गरेको छ। मञ्चले बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट अवार्ड, स्पेशल अवार्ड र लाइफ टाइभ एचिभमेन्ट अवार्ड प्रदान गर्नेछ। गत बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलताका आधारमा महिला,पुरुष, युवा र प्रशिक्षकको मनोनयनमा रहेका ५/५ मध्येबाट एक जना विजेता बन्नेछन्। यी चार विधामा गत बर्ष भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेताको बाहुल्यता रहेको छ।

बर्षको उत्कृष्ट खेलाडी पुरुषमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथु, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी र तेक्वान्दोका वीरबहादुर महरा छन्। महिलामा उसुकी नीमा घर्तीमगर, जुडोकी फुपू ल्हामु खत्री, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्कीबीच प्रतिस्पर्धा छ।

युवा खेलाडीमा नीमा, गौरिका, क्रिकेटका सन्दीप लामिछाने, जुडोकी मनिता श्रेष्ठ प्रधान र फुटबलका अञ्जन विष्ट मनोनयमा रहेका छन्। प्रशिक्षकमा फुटबलका राजु शाक्य र बालगोपाल महर्जन, उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ र क्रिकेटका जगत टमाटा छन्।

पिपल्स च्वाइनमा भलिबलकी प्रतिभा माली, टेबल टेनिसकी नविता श्रेष्ठ , भारोत्तोलनकी तारादेवी पुन, क्रिकेटका सन्दीप र फुटबलका नवयुग मनोनयनमा छन्। फुटबलका नवयुग, क्रिकेटका सन्दीप, उसुकी निमा र पौडीकी गौरिका २/२ विधाको मनोयनमा छन्।

पिपल्स च्वाइस अवार्डको विजेताको घोषणा भने एमएमएस भोटिङ र फेसबुक लाइकका आधारमा सर्वाधिक मत प्राप्त गर्नेले एकजनाले जित्नेछन्। प्रदर्शनकै आधारमा दिइने पारा एथलिट अवार्डमा भने सोझै एक जना विजेताको नाम घोषाण गरिने मञ्चले जनाएको छ। खेलकुदमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई स्पेशल अवार्ड प्रदान गरिनेछ। त्यस्तै आफ्नो जीवनभर नेपाली खेलकुद क्षेत्रमा सक्रिय रहने एकजनालाई लाइफ टाइम अवार्डबाट सम्मानित गरिने बताइएको छ।

बर्षका उत्कृष्ट खेलाडी महिला, पुरुष र पिपल्स च्वाइका विजेताले ट्रफीसहित पल्सर मोटरसाइकल प्राप्त गर्ने छन् भने अन्य विधाका विजेताले ५० हजार रुपैयाँ पाउनेछन्।

प्रकाशित: ६ श्रावण २०७३ ०३:४८ बिहीबार

पल्सर स्पोर्टस् अवार्ड