अन्य

स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन: भट्टराई

उर्लाबारी (मोरङ), २५ असार । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन सम्भव रहेको बताएका छन्।

  नयाँ शक्ति मोरङ क्षेत्र नं ९ ले आज बिहान उर्लाबारीमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय निकायको पुनःसंरचना गरेर आगामी डेढ वर्षभित्रमा स्थानीय, प्रदेश र संसद्को निर्वाचन गर्नुपर्ने बताए। आदिवासी जनजाति र मधेसी दलको माग पूरा नभई निर्वाचन हुन नसक्ने बताउँदै उहाँले संविधान संशोधन गरेर भए पनि उनीहरुको माग पूरा गर्नुपर्नेमा जोड दिए।

सरकार फेरिँदैमा समस्या सुल्झँदैन

डा  भट्टराईले सरकार फेरबदल हुँदैमा मुलुकका यावत् समस्या सुल्झन नसक्ने विचार व्यक्त गरेका छन्। नयाँ शक्तिले आज बिहान झापाको दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा भट्टराईले छिनछिनमा सरकार फेरिने राजनीतिक संस्कार नहटाएसम्म मुलुकमा राजनीति सङ्क्रमण कायम नै रहने बताए। उनले भने, “अहिले सरकार फेरबदलमा केही दल लागे पनि यसले मुलुकमा देखिएको समस्या हट्न सक्दैन ।”

उनले हालको व्यवस्थालाई संविधान संशोधनमार्फत नै शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको आँैल्याउँदै संविधानमा नसमेटिएका विभिन्न विषयको समाधान खोज्न दलहरु एक भई अगाडि बढ्नुपर्ने धारणा राखे। रासस

प्रकाशित: २५ असार २०७३ ०९:१४ शनिबार

स्थानीय निकायको पुनःसंरचनापछि मात्र निर्वाचन भट्टराई