अन्य

नेपाली मानक साहित्य

सबभन्दा पहिले त आफ्नै सीमाका कुरा गरौँ। म अहिले सक्रियरूपले साहित्यको सिर्जनाकर्ममा नलागेकाले मेरा भनाइलाई एउटा गम्भीर पाठक र नेपाली साहित्यको उन्नति देख्न चाहाने आमनेपालीको धारणाका रूपमा ग्रहण गरिदिन अनुरोध छ। नेपाली साहित्य कहाँ छ र यसको समकालीन लेखनको मानक कुन हुने भन्ने एउटा सदाबहार प्रश्न हो। त्यसैले यो सधैँ सान्दर्भिक प्रश्न हो, हरेक जीवन्त सिर्जना र सभ्यताका लागि।

केही साताअघि नेपाली लेखनमा स्थापित हुन प्रयास गरिहेका केही सक्रिय लेखक र अघिल्लो पुस्ताका एक समीक्षक (समालोचक होइन) बीच आदानप्रदान भएका नमिठा र असभ्य तर्क–प्रतितर्कहरूले वास्तवमा नै यतिखेर नेपाली साहित्य कहाँनिर उभिएको छ? वर्तमानका, सबै विधाका, लेखन मानक साहित्यका दृष्टिले कस्ता छन्? अथवा, साहित्यको मानक भनेकै के हो? र, समग्रमा नेपाली साहित्यको सिर्जनाको स्तर सबैले महसुस गरेझैँ किन औसत स्तरबाट माथि उक्लिन सकेको छैन? भन्नेजस्ता प्रश्नमा गम्भीर मन्थन–विमर्श आवश्यक भएको अनुभव गरायो।

दुःखका साथ भन्नुपर्छ, नेपालमा यस्तो बहस–मन्थनको आयोजन, परिणममुखी व्यवस्थापन र सामयिक प्रकाशन गर्ने संस्थागत संरचनाहरू छैनन्। निजी गुठीहरू प्रशस्तीगान लेख्ने वा आफूलाई उदार मनले प्रशंसा गर्ने, खासगरी प्रचारका भोका केही लेखकलाई पुरस्कार बाँड्छन्। राष्ट्रिय जिम्मेवारीका दृष्टिले यो नेपाल प्रज्ञा–प्रतिष्ठानको काम हो। तर, त्यहाँ मूलतः गैरसाहित्यिक र राजनीतिक नेताका चाटुकारहरूलाई नियुक्ति दिने संस्कार हावी भएपछि त्यो संस्थाको अस्तित्व नै अहिले संकटमा परेको छ। त्यसबाट कुनै सार्थक कदमको अपेक्षा गर्नु निरर्थक भइसकेको छ। केही मानिसले जागिर खाएका छन् त्यहाँ, बस्।

साहित्य मूल्यांकनका आधार

अब नेपाली साहित्य अहिले कहाँ छ भन्नेबारे केही कुरा। यसमा नामै लिएर कसैलाई गाली वा प्रशंसा गनुभन्दा पनि केही सैद्धान्तिक अभ्यासको चर्चा गर्न चाहन्छु। साहित्यको लेखाजोखा गर्ने तीन वटा आधार छन्, विश्वव्यापीरूपमा। गद्य र पद्य साहित्यको वर्गीकरण धार (सान्र), मूलधार (मेनस्ट्रिम) र साहित्य (लिटरेचर) गरी तीन वर्गमा विभाजित गरिन्छ। नेपाली साहित्यको मूल्यांकन पनि यो विश्वमान्यताभन्दा बाहिर गएर गर्नुपर्छ भन्ने छैन। गर्नुपर्ने जरुरी पनि छैन।

समावेशी साहित्य, आञ्चलिक साहित्य, सबै सान्रभित्र पर्छन्। यो लेखनको निश्चित सूत्र हुन्छ। उपन्यास लेख्दा मेलोड्रामा, जस्तै हिरो–हिरोइनको मिलन हुनुपर्ने, निश्चित जाति, वर्ग वा स्वार्थ समूहको हित रक्षा गर्नुपर्ने आदि बाध्यता लेखनीमा उजागर हुन्छ। यसको ठूलो मात्रामा पाठकहरू हुन्छन्। त्यसको सफलताको मानक पुस्तक कति संस्करण निस्कियो भन्ने हुन्छ। अहिले नेपालमा लेखिएका धेरै साहित्य जति राम्रा छन् भने पनि यही वर्गमा पर्ने म देख्छु। अर्को त्योभन्दा एक चरण माथिको मूलधार साहित्य हो। मूलधार साहित्य वर्तमान समाजको एक प्रकारले ऐना हो। त्यो कालजयी हुन पनि सक्छ, नभए घटना–परिघटनाको दस्ताबेज हुन सक्छ। जस्तैः द्वन्द्व साहित्य। त्यसको मूल उद्देश्य द्वन्द्वमा भएका घटनाको सबैभन्दा नजिकबाट चित्रण गर्ने हो।

यो समय सर्न्दभको प्रतिनिधि पनि हुन्छ। 'भिक्टोरियन एज' भन्नेबित्तिकै त्यसमा 'कन्फ्युजन' छ भन्ने थाहा हुन्छ। त्यस्तै, 'रेनासा' युगको लेखनमा आशा भल्किन्छ। त्यो मूलधारको लेखन हो, सान्रभन्दा एक तह माथिको, तर पूर्णरूपमा साहित्य नभएको। अहिले नेपालमा युद्ध साहित्य लेखिएन। समाजलाई उपयोगी साहित्य लेखिएन भन्ने जुन छलफल छ, त्यसको दायरा यसमै पर्छ।

त्यसपछिको उपल्लो स्तर हो, साहित्य। मेरो चासो र चिन्ता भनेको साहित्य लेखियो कि लेखिएन भन्ने हो। कुनै धार वा मूलधारकोे उपन्यास लेखियो कि लेखिएन, हल्का प्रतिक्रियात्मक कविता लेखियो वा लेखिएन, कुन भाषा वा क्षेत्रको साहित्य लेखियो कि लेखिएन भन्ने कुराले साहित्यको मानक सिर्जना गर्दैन।

वास्तविक साहित्यलाई कला किन भनिएको हो भने त्यसमा अप्रतिम भाषागत सौन्दर्य र शैलीगत विशिष्टता हुन्छ। त्यसले चीरकालसम्म कुनै न कुनै ढंगमा समाजमा ज्ञान भण्डारको रूपमा काम गर्छ। यस्तो कालजयी वा सदाबहार लेखनमात्र साहित्य किन हो भने, तीन सय–पाँच सय वर्षअगाडिको लेखन आज पढ्दा पनि उत्तिकै जीवन्त उत्तिकै रूचिकर लाग्छ। उदाहरणका लागि महाभारत, सेक्सपियरका ह्याम्लेट, रोमियो जुलियट, किङ लियर्सका पात्रहरू। देवकोटा, सम र शंकर लामिछानेका लेखनी। भूपि शेरचनले घुम्ने मेचमाथि अन्धो मान्छे कति वर्षअघि लेखे, तर त्यसको बिम्ब अहिले पनि सजीव छ। कुनै स्थानीय चरित्रले पनि मान्छेको माया, प्रेम, धोका, समाज, अस्तित्व आदिका बारेमा सदाबहार सान्दर्भिकता राख्छ भने त्यो साहित्य बन्छ। यो साहित्य पनि धेरै प्रति बिक्नु र धेरैले पढ्नु राम्रो हो। तर, त्यसको सफलताको मानक बिक्री संख्या होइन, त्यसले समाज र मान्छेलाई उन्नत तहमा उक्लिन सहयोग गर्‍यो कि गरेन भन्ने हो।

देवकोटाले कति लेखे भन्ने कुरा म अहिले गम्भीर पाठक भए पनि अनुमान गर्न सक्दिनँ। मलाई साहित्य पढ्न असाध्यै मन परे पनि उनको लेखनीमध्ये ४० प्रतिशतभन्दा बढी पढेँ होला भन्ने लाग्दैन। देवकोटाले आगामी ५ पुस्तालाई पुग्नेगरी लेखेर गएका छन्। त्यसमा दर्शन छ, विज्ञान छ, अरु समाजिक मनोविज्ञानका सदाबहार सत्य छन्। यी मानहरू लगाएर हेर्दा अहिलेको नेपाली साहित्य कहाँनिर छ भनेर छुट्याउन गाह्रो हुँदैन। साहित्य लेख्नेले मेरो किताब बिक्छ कि बिक्दैन वा समाजले मेरो लेखनलाई गलत भनिदिन्छ कि भनेर चिन्ता गर्दैन। जो यी र यस्ता चिन्ताका साथ लेख्छ, ती मूलतः साहित्यकार होइनन्। जस्तो, मोहन कोइरालाले आफ्ना कविता मान्छेले बुझ्छन् की बुझ्दैनन् भन्ने नसोची लेखेका छन्। उनको मस्तिष्कमा जे कुरा आइरहेको थियो, त्यही लेखे।

अहिलेको चिन्ता

अहिले दुईवटा प्रमुख चिन्ता छन्। नेपाली भाषाको मौलिक सौन्दर्य–स्वरूप जो छ, व्याकरण र शब्दमा त्यसलाई विवेकहीन ढंगले तहसनहस पार्ने काम भएको छ। अर्को, हरेक दशकमा नेपाली भाषाका ५ देखि ८ हजार शब्द हराउँदै गएका छन्। कोयो, पोयो र खोयोजस्ता शब्दको फरक छुट्याउन भन्यो भने अहिलेको पुस्ता छक्क पर्छ, नयाँ पुस्ताले यस्ता शब्द कहिल्यै सुन्न पाएका छैनन्। शब्दहरू यसरी नष्ट भएर जानाले नेपाली मौलिक साहित्य लेखनमा नयाँ चुनौती खडा भएका छन्।

अहिले नेपालमा व्यावसायिक सफलतालाई वास्ता नगरी, ऋषिमुनिहरूले गर्ने ध्यानजस्तो साहित्यलाई साधना मानेर सिर्जना भइरहेको छैन। त्यसरी लेख्न चाहने राम्रो सम्भावना भएका लेखकहरूलाई पनि राज्यले लगानी गर्न चाहेको छैन। आजीवन लेखनवृत्ति दिनेजस्ता दृष्टिकोण नै हाम्रो समाजमा आउन सकेका छैनन्। त्यसैले साहित्य मौलाउन सकेको छैन। संसारमा यसरी समर्पित भएर लेख्ने लेखकलाई लेखन र अनुसन्धानवृत्ति दिने चलन छ। यसका लागि करोडौँ खर्च गर्नुपर्ने जरुरत पनि छैन। राज्यले वर्षमा ५ करोडमात्र यो प्रयोजनका लागि छुट्याउने हो भने राम्रा लेखक र कृति जन्मन्छन्। काठमाडौँमा बसेर मात्र लेख्न सम्भव हुँदैन। राम्रै साहित्य लेख्नेहरू पनि बाँच्नका लागि पत्रकारिता, अध्यापन वा अन्य पेशा अपनाउनुपर्ने बाध्यतामा छन्। कति धार हो, कति मूलधार हो, कति साहित्य हो भन्ने कुरामा छलफल हुनुपर्ने आवश्यकता छ। त्यो मञ्चको आवश्यकता टड्कारो छ। नेपाली साहित्यको विकासका लागि एउटा सार्थक प्रयास भयो भने त्यो उपलब्धिपूर्ण हुन्छ।

हेर्ने चस्मा दिएपछि सान्र के हो, मूलधार के हो र साहित्य के हो भनेर पाठक आफै निर्णय गर्न सक्छन्। कसैले आरोप–प्रत्यारोप गर्नु आवश्यक छैन। एउटा सकारात्मक कुरा के हो भने धेरै नेपाली लेखक साहित्य लेख्ने प्रयासमा छन्। तर, सिनेमाको स्त्रि्कनप्लेलाई अपग्रेड गरेजसरी एउटा प्लट बनाएर त्यो प्रश्नातीत साहित्य हो भन्ने दाबी गरिदिनु भएन कसैले पनि। अर्को, कति संस्करण किताब निस्कियो भनेर गन्दै बस्नेले पनि साहित्य लेख्न कठिन हुन्छ। लाखौँ प्रति किताब बिक्री हुने कमर्सियल लेखन हो, साहित्य होइन। स्तरीय साहित्यका पाठक एक कालखण्डमा सीमित हुनसक्छन्। लामो समयसम्म त्यो संख्या वास्तवमै अपरिमित हुन्छ।

नेपालमा पनि कला र साहित्यको वास्तविक सम्भावना भएका प्रतिभालाई कुनै निश्चित मापदण्डका आधारमा सिर्जनाका लागि उत्प्रेरणा गर्नुपर्छ। नयाँ पुस्तामा पनि मैले धेरै उत्साह र सकारात्मक ऊर्जा भएका लेखक देखेको, भेटेको र पढेको छु। तिनमा म तीनवटा प्रकृति देख्छु। एउटा, मैले लेखेको नराम्रो भन्नु हुँदैन भन्नेहरू प्रशस्तै छन्। त्यो ती लेखकका लागि ठीक हो जो औपचारिक तालिम लिएका र सिर्जनशील छन्। सिर्जनशील तर सम्पादनको तालिम नलिइ लेख्ने नयाँ लेखकले आफ्नो साहित्यलाई पनि लाज नमानी सम्पादन गराउनुपर्छ।

अर्को, संस्थाहरूकै कुरा गर्दा सिर्जनशील लेखनको तालिम दिने संस्था छैनन्। विश्वविद्यालयमा सिर्जनशील लेखन वा सम्पादनको कोर्स हुनुपर्ने हो। कुन शब्द, कसले, कसरी लेख्ने भन्ने कुरामा समानता छैन। त्यसले साहित्य बलियो बनाउँदैन। सय वर्षपछि कसैले अहिलेको भाषाको बारेमा अनुसन्धान गर्‍यो भने कुनै समान मानक नभएका कारण नबुझ्ने वा गलत बुझ्ने सम्भावना रहन्छ। तेस्रो, प्रस्तुतिको सौन्दर्य हो। अहिलको लेखनमा धेरैजसो न्युजपेपर रिपोर्ताजको शैली देख्छु, स्थापित भनिएका लेखकमा पनि। त्यसबाट सिर्जना हुने मनोवैज्ञानिक उहापोह, त्यसले प्रस्तुत गर्ने सौन्दर्य चेतले निरन्तर र चीरकालसम्म हिर्काइरहने चेतनावृष्टि गर्दैन।

सान्र्रमा लेख्ने हो भने आफ्नो रूचिको साँघुरो विषयमा लेख्ने हो। सामाजिक रूपान्तरणका लागि मूलधारमा लेख्ने हो। यो दुइटै कुराभन्दा माथि उठेर लेख्यो भने त्यो साहित्य हुन्छ। यसमा अहिलेसम्म नसमेटिएका आयाम समेटिन्छन्। साहित्य लेख्नेले म सफल हुन्छु कि हुँदिन भन्ने सोचिरहेको हुँदैन। उसको मस्तिष्कमा आउने अलौकिक चेतनाको बाढीले यी सबै भौतिक चिन्तनलाई बगाइसकेको हुन्छ।

अहिले न नेपाली बजारले साहित्यलाई डोर्‍याएको न नेपाली साहित्यले बजारलाई हिँडाएको अवस्था छ। बजारले मूल साहित्य त होइन लेखनीलाई डोर्‍याउने संसारभर चलन छ। ठूला प्रकाशकहरूले बेच्न चाहेको विषयमा यो, यसरी लखिदेऊ भन्ने पनि चलन छ। नेपालमा पनि केही प्रकाशकले किताब प्रकाशन र बिक्रीबाट केही कमाए होलान्। अथवा, केही लेखकले रोयल्टी पाए होलान्। तर, अवस्था हल्ला गरेजस्तो व्यावसायिक बिल्कुलै भएको छैन। सान्र लेखनमै पनि भएको छैन। साहित्यको कुरै छोडौँ।

खुम्चिएको नेपाली साहित्य

लेखकहरूले गर्ने तुलनात्मक अध्ययन र उनीहरूले देख्ने क्षितिजको आयतन कत्रो छ भन्ने कुराले अन्तर्राष्ट्रियस्तरमा जाने कुरा निर्धारण गर्छ। नेपाली लेखनमा तुलनात्मक अध्ययनको अभाव छ। साहित्य मेरो पार्टीको नेता खुसी हुन्छ कि हुँदैन वा मेरो पाठक खुसी हुन्छ की हुँदैन भनेर लेख्ने विषय नै होइन। समाज कहाँनिर छ, पाठकको अवस्था कस्तो छ भन्ने कुराले बढी महत्व राख्छ। तर, उम्दा साहित्यले सधैँ चित्रणभन्दा दुई कदम अगाडिको सभ्यता देखाएको हुन्छ। त्यसले समाजलाई अघि बढ्ने प्रकाश दिएको हुन्छ।

नेपाली साहित्य अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पहिलो आवश्यकता स्तरीय लेखनी नै हो। सान्रमा लेखिएका वा मूलधारमा लेखिएका साहित्य पनि विश्वबजारमा नपुग्ने भन्ने होइन। संसारका द्वन्द्व साहित्यले विश्वबजारमा राम्रो हिस्सा ओगटेको छ। तर, साहित्यमा कुनै पनि सान्र र मूलधारले नोबेल पुरस्कार पाएको छैन। केही नयाँ शैली र प्रयोग गर्न सक्नुपर्‍यो। त्यो शैली र प्रयोग विश्वबजारमा पुग्नुपर्‍यो–पुर्‍याउनुपर्‍यो। र, रूचाइनु पनि पर्‍यो उपल्लो बौद्धिक वृत्तले समेत। त्यसका लागि गुणस्तरीय अनुवाद हुनुपर्‍यो। त्यसअघि संसारको साहित्य अनुवादको संहिता पालना गर्नुपर्‍यो। बजारीकरण पनि महत्वपूर्ण पाटो हो। आखिर बिनासूचना एउटा पनि थप पाठक बढ्दैन, चाहे सूचनाको माध्यम जेसुकै किन नहोस्।

(कुराकानीमा आधारित)

प्रकाशित: २५ असार २०७३ ०४:५४ शनिबार

नेपाली मानक साहित्य