अन्य

बारपाकीको आकास

विनाशकारी भूकम्पको विकराल प्रभाव उग्राइरहेछ बारपाक। रोगाएको गोरुजसरी बेपर्वाह थुप्रिएका छन् अभागी टहराहरू। छिनको छिनमा धूलोमा परिणत भइभ्याएका थिए भएजति घरहरू गत वर्षको भूकम्पमा। तिनै घरभित्र पुरिए शान्ति घलेका सपना, अन्नपात र कम्मरमुनिको आधा भागको भविष्य। भूकम्पले कम्मरमुनिको भागमा आँखा गाड्यो। त्यो काम नलाग्ने भयो। तीनपटक अप्रेसन गरिन् शान्तिले। बल्लबल्ल लौरोको सहाराले अलिअलि हिँड्ने भएकी छन्। निला जस्तापाता र युएस एडको त्रिपालले छोपिएको अस्थायी टहराभित्र उनको स्थायी दुःख सुसाइरहन्छ हिजोआज!

बाहिरबाट जानेका लागि बारपाकको सुन्दरताले आकर्षित गर्छ। तर, अचेल त्योभन्दा बढी पीडा दिन्छ बारपाकीको दुःखले। बारपाकीको कथा लेख्ने हो भने नयाँ महाभारत बन्न सक्छ। बारपाकी पीडा सहेर पनि हाँसिरहेका छन्। बारपाकको सुन्दरता आँसुमा लत्पतिएजस्तो लाग्छ पीडितसँग कुरा गर्दै जाँदा।  

मोटो ज्यान। हँसिलो अनुहार। हाँस्दा देखिने सेता दाँत। टाउकोमा पछ्यौरी। शान्ति घलेलाई झट्ट हेर्दा घाइतेजस्तो देखिँदैन। ग्रामीण लवजमा अभ्यस्त अज्ञानता घोलिन् र भनिन्, 'मोलाई बोल्न आउँदैना म बोल्दैना। के के सोध्छा के के पत्रकारले!'

मैले सोधेँ– तपार्इं त भूकम्पमा परि घाइते हुनुभएको रहेछ?

मेरो प्रश्न सुनेर उनी एकछिन मौन बसिन्। पहिला हाँसेको अनुहारमा पीडाको कालो बादल छाउन थाल्यो। घाम लागेको आकासलाई कालो बादलले ढाकेजस्तो देखियो उनको हँसिलो अनुहार। भनिन्, 'मेरो भाग्य भुइँचालोभन्दा पनि बलियो रहेछ।'

उनले भावुक हँुदै थपिन्, 'बिमारी भएर सुतिरहेकी थिएँ। सानी छोरी थिई। उसले टीभी हेर्छु भनी। मैले भयो पदैन बरु ठूलो मम्मीकोमा जा भनेँ। छोरी टीभी हेर्न पाउँछु भनेर सरासर ठूली मम्मीकोमा गई।' जति कुरा त्यति भावुक हँुदै गइन् शान्ति। 

दिउँसोको हावा। उनको अस्थायी टहरोको त्रिपाल बेस्सरी हल्लायो। उनले भनिन्, 'हेर्नुहोस् हामीहरूको अवस्था एक वर्ष हँुदा पनि।' उनी आफ्नो संस्मरण सुनाउन छोडेर सरकारप्रति मोडिइन्। उनी सुतिरहेको समयमै तीन–चारपटक फोन बज्यो। तर, उठाइनन्। पछि हेर्दा काठमाडाँैबाट उनका श्रीमान्ले गरेका रहेछन्। फोन उठाउनुभन्दा पहिला भँैसीलाई घास हाल्नुपर्छ भन्दै बाहिर गइन्। भैँसीलाई घाँस हाल्न नपाउँदै एकाएक उभिएको ठाउँमा नै लडिन्। 'भूकम्प आयो भन्ने सोचेँ। कसरी सोचेँ आफैलाई थाहा छैन। पूरा घर ढलेको छ। म लडेछु, मेरो पछाडिको पूरा शरीर घरले पुरेछ। धन्न टाउको पुरिएनछ,' उनले भनिन्।

यति भनुञ्जेलसम्म उनका आँखाबाट आँसु निस्केका थिएनन्। जतिजति पीडाको कुटुरो फुकाउँदै र सुनाउँदै गइन् उनको अनुहारमा भावुकता नाच्न थाल्यो। आँसुका ढिकाको पहिरो खस्न थाल्यो। आँसुतिर ध्यान दिइनन् उनले। एकोहारो बोलिन्, 'कम्मरमुनि ढुंगा, काठले च्याप्यो। भगवान बुद्धको नाम लिएँ, रामको नाम लिएँ। अब मरिन्छ भन्ने सोचेर बोलाइरहेँ। तर, कसैले सुनेनन्। ओ आमा! ओ बाबा! भनेका आवाजमात्र सुनिन थाल्यो। सबै मान्छे मरेछन्जस्तो लाग्यो। आजसम्म बाँच्नु नै जिन्दगी रहेछ भनेर सम्झेँ मनमनै।' आफू होसमै रहेको देख्दा उनी आफैप्रति अचम्म मान्छिन्। कोही आइदिए त बाँच्थँे भन्ने सोचेर एकोहोरो बोलाइरहिन्। उनको त्यो पीडादायी आवाज कसैले सुनेन। सबै आआफ्नै दुःखको पहाड सम्याउनमा व्यस्त थिए। अथवा भनौँ, पूरा बारपाकी पीडाको पोखरीमा चुर्लुमै डुबेर नुहाउँदै थिए त्यो दिन। आँसु, धुवाँधूलोको मिश्रणले बारपाकीको आकासमा त्रासद कोलाज पोतिदिएको थियो।

केही समयपछि उनलाई पिसाब आएजस्तो भएछ। उनको अवस्था नाबालकजस्तो छ। पीडाले छटपटिनुको विकल्प थिएन। सहनसम्म सहिन्। बुद्ध र राम सम्भि्कन् धित मरुञ्जेल। तर, अँहँ उनीहरूले नाकमुख देखाएनन्! बरु उनका आफ्नै जेठाजु दैव बनेर झुल्के जीवनमा, करिब २० मिनेटपछि। बुहारी भनेको शब्द अहिले पनि उनको कानमा गुञ्जन्छ।

विडम्बना। उनको आफ्नै दुवै हात भाँचिएर अशक्त थिए। तथापि, मान्छे खोज्न जाने–आउने गरे। बल्ल एउटा भाइ आयो। उसले शान्तिको उद्धार गर्‍यो। शान्तिलाई अलि पर खुल्ला ठाउँमा राखेर त्यो भाइ र जेठाजु गाउँतिर पसे।

उनी बोल्दाबोल्दै भक्कानिइन्। आँसु पुछिन्। मौनमौन पारि डाँडाको टाकुरो हेरिन्। मसिनो स्वरमा मुख खोलिन्, 'त्यो वैशाखको दिन मेरा लागि महिनाजत्तिकै  लामो लाग्यो। तिर्खाले मर्न लागेकी थिएँ। कोही मान्छे यो बाटो आए पानी माग्थेँ सोचेँ, तर कोही आएन। एक्लै रोएँ। छोराछोरी सम्झेँ, श्रीमान् सम्झेँ, जापान भएका आमाबुवा सम्झँे। आफूसँग भएकी कान्छी छोरी सम्झेँ। बाँची होली कि मरी होली?' फेरि रोइन्, थकाइ मारिन् र थपिन्, 'श्रीमान् काठमाडाँै थिए। छोराछोरी पनि काठमाडाँै थिए। रुँदारुँदा बिस्तारै आँखा कम देख्न थालँे। बादल लागेजस्तो हुन थाल्यो। कान नसुन्ने भएँ। एक्लै थिएँ। पानी पानी भनिरहँे।

उनको लागि दैव बनेर आइन् छ्यामा। इसारामै पानी मागिन्। बोतलमा धमिलो पानी ल्याएर दिइन् छ्यामाले। अलिकति मुखमा छ्यापिदिइन्। त्यो बोतलको पानी उनका लागि अमृत भयो। जीवन त पाइन् तर सधैँ पीडा हुने। उनको दिनचर्या पहिलाको जस्तो छैन। पहिला दुइटा भँैसी पालेकी थिइन्। घाँस–दाउरा गर्थिन्। मन लागेको ठाउँ घुम्थिन्। भुइँचालोमा दुइटै भैँसी मरे।

घरघरी रुन्छिन्, उनी आफ्नो पुराना दिन सम्झेर। भन्छिन्, 'एक वर्षपहिला सुरु भएको आँसुको भेल थामिएको छैन। थामिँदैनजस्तो पो लाग्छ। सायद जीवनमा यति कहिल्यै रोएकी पनि थिइनँ र अब पनि रुन नपरोस् भन्छु। अहिले सबैभन्दा नजिकको साथी नै आँसु भयो। यस्तै रहेछ जीवन।' यति भनिसकेर नसकीनसकी हाँसिन्। हाँस्दा सेता दाँत हिमालझैँ टल्किए।

चार–पाँच बजेतिर भाइ, जेठाजु र अरु मान्छे गए। बोकेर ल्याए मान्छेहरू बसेको ठाँउमा। मेडिकलको मान्छेले चेक गर्दा नानी जन्माउनुपर्ने ठाउँबाट रगत पोखिइरहेकोे रहेछ। बाहिर चोट खासै लागेको थिएन। भित्र चोट लागेर रगत बगेछ।

हेलिकप्टर आयो भोलिपल्ट। पोखरा लग्यो। पोखरा पुगेको एक सातामा पोखरा मेडिकल कलेजमा अप्रेसन भयो। उनले भनिन्, 'तपाईंलाई देखाउन मिल्ने भए सबै देखाउँथे। मिल्दैन।' अनुहार अँध्यारो भयो। उनले इसारा गर्दै आफ्ना सबै पीडा पोखिन्।

नानी जन्माउनुपर्ने ठाउँ। त्योभन्दा अलिमाथिको भाग थिलथिलो भएको रहेछ। अप्रेसन गरेपछि अगाडितिर स्टिलको प्लेट हालियो। एक सातापछि एक्सरे गर्दा बांगो भएको देखियो। त्यो सीधा बनाउन एक सातापछि दोस्रो अप्रेसन भयो। त्यो अप्रेसनपछि असारसम्म अस्पतालमा रहिन्। घर थिएन। आउन सक्ने अवस्था पनि थिएन। असोजसम्म उनको बास गोरखा बजार भयो।

फेरि स्टिलको प्लेट हालेको ठाउँमा दुख्न थाल्यो। जचाउँदा देखियो– भित्रबाट हालेको स्टिलको पातोको एउटा नट खसेको रहेछ। असोजमा बोलायो। समयमै गएर अप्रेसन गराइन्। त्यो नटबोल्ट र प्लेट नै निकालेर आइन्।

'राख्न त यो प्लेट दुई–तीन वर्ष पर्ने हो, तर कति अप्रेसन गर्नु! भयो अब राम्रोसँग उठ्ने–बस्ने गर्नु होला। बिस्तारै दुइ–तीन वर्षमा ठीक हुन्छ,' डाक्टरले भनेछन्।

उनी बिस्तारै ठीक त हुँदैछिन्। गाउँको पुछारमा बस्नुपरेको छ। राति स्याल कराउँछन्। स्याल नै साथी भएका छन्। यति भन्दै उनले खित्का छोडिन्। आँखाबाट केही समयपहिला बगेका आँसु अहिलेको हाँसोले पूरै खाइदियो। भनिन्, 'अब के गर्नु रोएर पुग्दैन। दुःख बिर्साउन हाँस्नुपर्छ। यही दुःखले हाँस्न सिकाउँदैछ।'

पहिलो र दोस्रोपटक अप्रेसन गरेको पैसा सरकारले बेहोरेको थियो। तेस्रोपटक अप्रेसन गर्दा जम्माजम्मी एक लाख खर्च भयो। 'अहिले एउटा लठ्ठी सहारा छ। त्यही लठ्ठीको सहाराले हिँड्छु। वैशाखीले हिँड्न सकिँदो रहेनछ। अस्तिसम्म त हिँड्न दुःख थियो। अहिले बिस्तारै हिँड्न सिकेकी छु,' भन्दै हाँसिन्। हाँसो रोकिएपछि थपिन्, 'बल्ल बच्चाजसरी हिँड्न सिक्दैछु।'

जीवनमा सबैभन्दा बढी वैशाख १२ को दिन रोइन् उनी। पुरानो रुवाइ सम्भि्कँदै भन्छिन्, 'धेरै मान्छे मरे। मरेको भए एक वर्ष पस्रा हुन्थ्यो आज।' 

कुराको बिट मार्ने बेलामा राम्रै हाँसो हाँस्दै भनिन्, 'हामी गाउँका मान्छे सहरका मान्छेभन्दा देख्नमा राम्रा हुन्छौँ। सहरका मान्छे लिपिस्टिक–पाउडर लगाएर, मुखमा के हो के दलेर राम्रा हुन्छन्, हामी त्यत्तिकै। मैले अहिले पनि लिपिस्टिक–पाउडर दल्यो भने कान्छाहरू त कति पाउँछु कति! केही नलगाएर त यति राम्री छु!'  

प्रकाशित: २५ असार २०७३ ०४:३६ शनिबार

बारपाकीको आकास