अन्य

माओवादी–फोरम कार्यकर्ताद्वारा प्रहरी कार्यालय घेराउ

जिल्ला प्रहरी कार्यालय अगाडी नारावाजी गरिरहेका प्रदर्शनकारीलाई घेराबाहिर पस्न नदिन सुरक्षार्थ तैनाथ प्रहरी जवान ।

जनकपुर–विद्यालय व्यवस्थापन समिति बारे उत्पन्न विवाद अपराधमा परिणत भएपछि पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै सम्बद्ध राजनीतिक दलका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्। गत शनिबार राति नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामचन्द्र मण्डल र संघीय समाजवादी फोरमका नेता रामसुखित यादव (एक पक्ष) तथा कांग्रेसका रामवरण पासमानबीच कुटाकुट भएको थियो।

जनकपुर –१४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति सम्बन्धी विवादको कारण भएको उक्त झगडा अपराधमा परिणत भएपछि प्रहरीले मण्डल, यादव र पासवानसमेत आठ जनालाई पक्राउ गरेको छ। उनीहरु विरुद्ध जिल्ला अदालतबाट म्याद थप गराएर केही सार्वजनिक अपराध ऐन अनुसार कारवाही सुरु गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नकुल पोखरेलले जनाए।

आपसमा लडिरहेको अवस्थामा छुट्याउन पुगेको प्रहरीलाई नै धक्का दिंदै पोशाक च्यातिदिएपछि सबैलाई नियन्त्रणमा लिनु परेको पोखरेलको भनाइ छ। उनले कानुन हातमा लिने जोकोही भएपनि कारवाहीको दायरामा ल्याउने दाबी गरे। यता, माओवादीका केन्द्र्रीय सदस्य दीपक यादव तथा फोरमका जिल्ला अध्यक्ष शेषनारायण यादव नेतृत्वको प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय घेराउ गरी प्रदर्शन गरिरहेको छ।

आफ्ना नेतालाई रिहाइ नगरेसम्म प्रदर्शन गरिरहने भन्दै उनीहरुले जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय बाटो अवरुद्ध गर्नेगरी प्रहरी कार्यालय गेट अगाडी प्रदर्शन गरिरहेका छन्।

 

प्रकाशित: २० असार २०७३ ०८:४८ सोमबार

माओवादी–फोरम कार्यकर्ताद्वारा प्रहरी कार्यालय घेराउ