अन्य

रोजी

मायामीमा एक साता लामो सेमिनार सकेपछि राति अबेर उडानबाट वासिङ्टन डलस एयरपोर्टमा उत्रेर म क्याब लिएर सोझै डीसीको एपार्टमेन्ट हान्निएँ।
अगाथाले एयरपोर्टमा लिन आउँछु भनेकी थिई।
एक सातापछि भेटिएकी अगाथाले मलाई आराम गर्न दिने सम्भावना न्यून थियो, त्यसैले भनँे– आज मैले केही जरुरी काम सक्नुपर्ने भएकोले भोलि दिउँसो भेट्छु।
अगाथाले भनी– किन भोलि तिमी अफ लिन्नौ?
त्यो त मैले सोचेकै थिइनँ। तिमी नि?
मैले त अफ लिइसकेँ नि । उसले हाँस्दै भनी । त्यो हाँसोमा भरपूर कामूकता थियो । मैले प्रष्टै अनुभव गरेँ।
तिमी आज सीधै मकहाँ आए पनि भोलि आए पनि ठीक हुन्छ भनेर मैले अफ लिएको नि– अगाथाले थपी।
वास्तवमा अगाथा र म केही महिनाको अन्तरालमा निकै निकट भैसकेका थियौँ र हामीबीच कुनै पर्दा बाँकी थिएन । लुकाइछिपाइ गर्नुपर्ने कुरा पनि क्यै थिएन । भन्नुसुन्नु र ९९ प्रतिशत सहमतिको बिन्दुमा पुग्नु हाम्रो नियमितता भैसकेको थियो ।
बिहान अबेरसम्म मज्जाले सुत्छु भनेर खुट्टा तन्काएर सुतेको थिएँ, एकाबिहानै सेलफोनमा म्यासेज आउन थालेर कल्याङकुलुङ आवाज निकालिरह्यो फोनले । फोनको रिंगर साइलेन्टमा राखे पनि म्यासेजको साउन्ड अफ गर्दिनँ म, कहिलेकाहीँ अति जरुरी खबर हुन सक्छ भन्ने सोच्छु ।
आँखामा निद्रा तर्लाङतुर्लुङ झुण्डिए पनि मैले बिस्तारै आँखा खोलेर फोनको स्क्रिनमा आँखा लगाएँ ।
सबै टेक्स्ट म्यासेज अगाथाको थियो ।
हैन अगाथा यति क्रेजी किन भएकी होली, म छक्क परेँ । यसअघि त उसले कहिल्यै यस्तो गरेकी थिइन ।
फोनमा पनि उसकै म्यासेज थियो । जरुरी छ, एकपल्ट फोन तुरुन्त फर्काउ न !
उही म्यासेज दुई–तीनपल्ट रेकर्ड गरेकी रहिछ ।
तर, मैले यी सबैलाई उतिसारो गम्भीरताका साथ लिइनँ ।
आँखाबाट निद्रा हराइसकेको थियो र अब निदाउने जति प्रयत्न गरे पनि व्यर्थ थियो ।
अल्छी मान्दै उठेर म रेस्टरुम छिरेँ । झण्डै आधा घन्टामा फ्रेस भएर निस्किएँ । यौटा कालो कफी बनाएर सुस्तरी पिउँदै अगाथालाई फोन गरेँ ।
०००
फोनको रिङ गइरह्यो, तर उठेन ।
किन उठेन उसको फोन ? जरुरी भन्दै त्यति धेरै म्यासेज दिने अगाथाको फोन किन उठेन ?
म छक्क परेँ ।
सायद अर्काे लाइनमा पो व्यस्त हो कि ?
मेरो फोन जानुको मतलब अब मेरो फोन उठ्छ भन्ने त उसले पत्तो पाइ नै हाल्छे ।
म कालो कफीको स्वादमा अल्झँदै ल्यापटप खोलेर इमेल चेक गर्न थालेँ ।
अचानक फोनको घन्टी बज्यो, अगाथा थिई ।
वेलकम ब्याक डियर । मैले बिहानै तिमीलाई डिस्टर्ब गरेँ हगि । सरी है त्यसका लागि । तर, तिमीसँग जरुरी सल्लाह गर्नैपर्ने भएर म आत्तिएर, धैर्य गुमाएर तिमीलाई झिँजो दिएकी हुँ है– अगाथाले भनी ।
नेभर माइन्ड अगाथा । भन कुरा के हो ?
तिमी एपार्टमेन्टबाट बाहिर निस्क, म लिन आउँछु । कतै बसेर ब्रेकफास्ट खाँदै कुरा गरौँला ।
मैले उसको प्रस्ताव सकारेँ र कपडा फेरेर तयार भएँ ।
केही नयाँ इमेल हेरेँ, कफीको कप रित्याएँ र अपार्टमेन्टको मूल ढोकामा झरेँ ।
केहीबेरमै अगाथा आई र हामी हातेमालो गर्दै डुपोन्ट सर्कलतिर लाग्यौँ ।
त्यहाँको स्टारबक्स कफी सपमा छि¥यौँ र ब्रेकफास्ट स्यान्डविचको साथमा ग्रान्डे कफी लिएर यौटा टेबल ओगट्यौँ ।
०००
रोजी इज माई बिग प्रोब्लम– अगाथाले भनी ।
के भो र अगाथा ? मैले सोधेँ ।
रोजीलाई मैले कति भनेँ, एबोर्सन गर, एबोर्सन गर । तर, मानेकी होइन ।
अनि अब अहिले के भो त ? मैले थप सोधेँ ।
जे होला भन्ने मलाई थियो त्यही भयो नि ! उदास भएर अगाथाले भनी ।
म उसको अनुहारमा ट्वाल्ल हेर्न थालेँ ।
त्यो गँजडी हप्तौँदेखि बेपत्ता छ रे । आउट अफ कन्ट्याक्ट– अगाथाले भनी ।
पेटको बच्चा सकार्छु , मायाँ गर्छु, बिहे गर्छु भनेर मेरी चण्डाल्नी छोरीलाई फकाइफुल्याइ गरेर खेल्यो, अलिकति पैसा धुत्यो र गाँजामा उडायो । अब अहिले बेपत्ता भयो । उड्यो । अगाथाले बेलिबिस्तार लगाइ ।
मैले रोजीको खटिरैखटिरा र दागैदाग भएको अनुहार सम्झिएँ ।
अब के ? के हुन्छ ? के गर्ने ? मैले अगाथालाई सोधेँ ।
अब त्यसले बच्चा जन्माउँछे । जुनियर रोजी । यौटा नयाँ रोजीको उदय हुन्छ । अगाथाले कफीको सानो चुस्की लिँदै भनी ।
अगाथा र रोजीको यो जीवनकथा उपन्यासझैँ लागिरहेको थियो मलाई ।
तिमीलाई यौटा कुरा थाहा छ ? त्यो छोरीलाई यसो सुत्केरी बेलामा त मद्दत गर्न म जानुपर्छ नि– उसले भनी ।
हो त जानु पर्छ नि– मैले सहमति जनाएँ ।
तिमी मेरो साथ दिन्छौ ? कोलोराडो जान्छौ मसँग ? अगाथाले मायालु पाराले भनी ।
अफकोर्स । म तिमीलाई साथ दिन्छु नि डियर– मैले भनेँ ।
मेरो कुराले अगाथा अत्यन्त खुसी भई र मेरो हत्केलामा म्वाइ खाइ ।
०००
जीवनमा पहिलोपल्ट कोलोराडो पुगेको थिएँ ।
पहिलो नजरमै प्यार भनेजस्तो भयो कोलोराडोसँग मेरो नाता ।
पहाड, हिमाल र फराकिलो उपत्यकाले त यतै बसाइँ सरौँजस्तो पनि लाग्यो ।
मैले अगाथालाई यसोभन्दा ऊ अत्यन्त प्रशन्न भई ।
वास्तवमा म उसलाई साथ दिन भनेरै त आएको थिएँ ।
एकातिर कोलोराडोको सुन्दरताले मलाई लोभ्याइरहेको थियो भने अर्काेतिर छोरीसँग सम्पर्क नभएर अगाथा दुखित हुँदा मेरो मन पनि दुःखी थियो ।
रोजीको फोन डेड थियो ।
कहाँ गएर कसरी खोज्ने, यो यौटा विराट प्रश्न हामीसामु थियो ।
पुलिसमा खबर गर्न हामी त्यति उत्साहित थिएनौँ, तर त्यही अन्तिम उपाय हुन सक्थ्यो ।
हामीले पुस्तकालयमा गएर केही दिन यताका घटना–दुर्घटनाका खबरहरू पनि केलायौँ, तर कतै त्यस्तो अशुभ समाचार भेटिएन रोजीसँग सम्बन्धित ।
तर, उसको पत्तो लागेन र पो !
समय आफ्नो रफ्तारमा बगिरहेथ्यो ।
अगाथाले एकदिन भनी, यहाँ रेडरक्समा साह्रै राम्रो कन्सर्ट हुन्छ, टिकट पनि सजिलै पाइन्न । मैले २ वटा टिकट पाइहालेँ र किनिहालेँ, जाउँ है ?
मैले नाइँ कसरी भन्नु !
टिकट उसले किनिसकेकी थिई र त्यो दुर्लभ अवसर भन्ने पनि पत्तो पाइसकेको थिएँ भने, अरु थप के भन्नु ?
साँझको बेला हामी क्याब लिएर रेडरक्स थियटर पुग्यौँ ।
रातो चट्टानको प्राकृतिक पहाडलाई खोपेर विशाल कन्सर्टस्थल बनाइएको रहेछ । म्युजियम पनि रहेछ ।
साँझसँगै यो ठाउँ विउँतिन थाल्दोरहेछ ।
हामी टहलिँदै अँध्यारिँदै गएको आकास र उज्यालिँदै गएको धर्ती हेरेर मस्त थियाँै ।
यतिबेलै आइ एम प्रेग्नेन्ट । आइ एम हंग्री । आइ एम लोनली । आइ निड हेल्प । यौटा स्त्री स्वर कानमा प¥यो ।
रोजी..... अगाथा चिच्याइ । पलभरमै अगाथा र रोजी अँगालोमा बेरिएर रुन थाले ।
झण्डै सानोतिनो तमाशा नै भयो ।
अब कन्सर्ट हेर्नतिर नलागेर हामी होटल फर्कियौँ । हाम्रा लागि कन्सर्टभन्दा रोजी लाखौँ गुना महŒवपूर्ण थियो ।
०००
राति अबेरसम्म आमाछोरी गुनगुन गरिरहे ।
उनीहरू पिउँदै थिए ।
म पनि पिउँदै थिएँ ।
तर, उनीहरू एकअर्कासँग आँसु साटिरहेका थिए र मचाहिँ एक्लैएक्लै आफैभित्र हराइरहेको थिएँ ।
रात निकै घर्किएपछि म आफ्नो ओछ्यानमा ढलेँ ।
बिहान बिउँझँदा थाहा पाएँ, अगाथा मलाई अँगालोमा बाँधेर सुतिरहेकी रहिछ ।
निकैबेर मैले अगाथाको अनुहार एकोहोरो हेरिरहेँ ।
मैले कस्तो साथी पाएँ ? अहँ , कहिल्यै केही गुनासो छैन, सदा मीठो साथ र अपनत्व छ बिनाकुनै सम्झौताको ।
यस्तो पनि हुन्छ ?
छक्क पर्छु म ।
०००
अगाथाले बिहान उठेर भनी, रोजी वाशिङटन डीसी जान तयार भई ।
अब हामी पर्सी फर्कने, हुन्छ ?
मैले नाइँ भन्ने कुरा थिएन ।
बरु आज हामी वोल्डर घुम्न जाने ।
वोल्डर कोलोराडोको रमाइलो सहर ।
रोजीका लागि अगाथाले वाशिङ्टन डीसीका लागि टिकट अनलाइनबाट किनिदिइ ।
हाम्रो फ्लाइटमा टिकट नमिलेकोले अर्काे एयरलाइन्सबाट उही समयमा उड्ने र उही समयमा पुग्ने टिकट किनिदिइ ।
हामी वोल्डर घुम्न गयौँ ।
रमाइलो लाग्यो मलाई वोल्डर । अझ त्यस दिन स्ट्रिट आर्ट फेस्टिभल परेको रहेछ र प्रसस्त कलाकार, तिनका कृति सडकमा सजाएर राखिएका थिए । कतिपय मानिस अवलोकनमा व्यस्त थिए भने कोहीकोही किन्दै पनि थिए ।
यौटा थाई रेस्टुराँमा हामीले खाना खायौँ ।
वोल्डर घुम्न अगाथा र ममात्र गएका थियौँ । रोजी आराम गर्छु भनेर होटलकै कोठामा सुतिरहेकी थिई ।
बेलाबेलामा होटलको फोनमा रोजीसँग कुरा गर्थी अगाथा, उठी कि उठिन, खाइ कि खाइन भन्दै ।
साँझ होटलमा पुगेपछि डिनर होटल परिसरकै रेस्टुराँमा खाने निधो भयो ।
केहीबेर बारमा बसेर कोलोराडोकै बियरको स्वाद लिन थाल्यौँ हामी तिनै जना ।
अचानक रोजीले भनी– मोम, मैले तपाईंसँग झूट बोलेको ।
के ? अगाथाले सोधी ।
त्यो केटा वास्तवमा लफंगो नै थियो । पैसा पनि थिएन त्योसँग । काम पनि गर्दैनथ्यो । मैले मोमसँग झूट बोलीबोली त्यसलाई पालेँ । गाँजा तान्न सघाएँ । मलाई ऊ एकदम माया गथ्र्याे, त्यसैले सबथोक बिर्सेकी थिएँ, उसले मेरो पेटको बच्चालाई पनि माया गर्छु भनेपछि त म पूरै ऊप्रति समर्पित भएँ, अन्धो नै भएर । तर, तीन साताअघि बिनासूचना बेपत्ता भयो । मसँग खान पैसा थिएन, बस्ने ठाउँ थिएन । सेलफोनको बिल नतिरेकोले लाइन काटियो । म संसारका सबै सम्पर्कबाट टाढिएँ । तर, तपाईंहरू आएर मेरो उद्धार गर्नुभयो, म कति धन्यवाद दिऊँ ? रोजीले बेलिबिस्तार लगाइ ।
म त चूपचाप सिनेमाको कथाझैँ सुनिरहेँ ।
अगाथा पनि टोलाइ रही ।
ल एकएक सट दिउँ र यो पुनर्मिलनलाई यादगार बनाउँ– मैले भनेँ । र, तीन सट मगाएँ ।
सबथोक बिर्सेर हामी पिउने कर्ममा लागिरह्यौँ र ढिलो डिनर खाएर बेडमा लम्पसार भयौँ ।
०००
भोलिपल्टको उडानबाट हामी वाशिङटन डीसी फर्कियौँ ।
अफिसमा पुग्दा थाहा भयो । मेरा बोस मलाई तुरुन्त क्यालिफोर्निया दुई साताको लागि खटाउन तम्तयार भएका रहेछन् ।
मैले नाइँनास्ती गर्ने प्रश्न थिएन, यस्तो अपर्झट यात्रा गरिरहनुपर्ने स्वभावको जागिर भनेर नियुक्तिपूर्व नै मलाई जानकारी गराइएको थियो ।
त्यसमाथि म यात्रा गर्न रूचाउने हुनाले बोस मलाई बाहिर खटाउन कुनै संकोच मान्दैनथे ।
अगाथालाई मैले भनेँ– मलाई दुई साताका लागि क्यालिफोर्निया जानुपर्ने भो ।
दुई साता मलाई जाडो हुने भो– अगाथाले हाँस्दै भनी ।
म क्यालिफोर्निया उडेँ ।
क्यालिफोर्नियाबाट फर्केको दिन साँझ अगाथा र म डिनरका लागि डेली ग्रिल गयौँ । त्यहाँ मैले चिनेको एकजना नेपालीले काम गर्थे । त्यसैले त्यहाँ जाँदा नेपालको कुरा गर्न पाइन्थ्यो । नेपालका रोचक घटना उनी मलाई सुनाउँथे । उनी त्यस्तो सुनाउन पाउँदा मख्ख पर्थे । म पनि सुन्न पाउँदा दंग पर्थें ।
त्यस साँझ पनि उनले रमाइला घटनाहरू सुनाउँदै भने– बुझ्नु भो, म त नेपाल जाँदैछु नि दसैँ–तिहारका लागि । दुई महिना बस्छु ।
ल गज्जब रमाइलो हुने भो तपाईंलाई– मैले भनेँ ।
हामी कुरा गरिरहँदा अगाथा सधैँ उत्सुक भएर सुनिरहन्थी, तर आज उ, उदास थिई ।
मैले सोधेँ– के भो अगाथा, आज तिमी किन दुःखी देखिन्छौ ?
अगाथाले भनी– रोजीले मेरो ज्यान लिने भई ।
किन र के भो ? मैले सोधेँ ।
एक सातादेखि रोजी सम्पर्कविहीन छे । जबकि उसको ड्यु डेट आजभोलि नै हो । हे भगवान् भन्दै सुस्केरा हालेर अगाथा फेरि चिन्ताको महासागरमा डुब्न थाली।

 

प्रकाशित: १८ असार २०७३ ०३:२७ शनिबार

रोजी