अन्य

काँग्रेस र एमालेले साथ दिए सरकारको नेतृत्व गर्न तयार: दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार नेपालगन्जमा सम्वोधन गर्दैै ।

नेपालगन्ज–नेकपा (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय एकता र सहमतिबाट मात्र मुलुकका विद्यमान समस्या समाधान गर्न सकिने बताएका छन्। राष्ट्रिय एकता र सहमतिलाई पूर्णता दिन राष्ट्रिय सहमतिको सरकार निमार्ण गर्नुपर्ने उनको जोड छ। भूकम्पमा परी दिवंगत भएका संविधान सभाका पूर्व उपाध्यक्ष एवं माओवादी पोलिटव्युरो सदस्य पुर्णा सुवेदीका छोरा अच्युतराज सुवेदीको प्रथम वार्षिकी तथा स्मृति पुस्तक विमोचन कार्यक्रमलाई नेपालगन्जमा बिहीबार सम्वोधन गर्दै दाहालले मुलुकमा राष्ट्रिय एकता कायम गर्न नसकिए मुलुकलाई धेरै अप्ठ्यारो पर्ने दाबी गरे।
‘एमालेको नेतृत्वमा अहिले सरकार छ, त्यसमा राष्ट्रिय सहमति हुन्छ भने हामीलाई कुनै आपत्ति छैन,’ दाहालले भने, ‘नेपाली कांग्रेस गणितीय र इतिहासको हिसावले पनि अहिले देशको सबैभन्दा ठूलो र पुरानो पार्टी हो, काँग्रेसका शेरबहादुर देउवाजीकै नेतृत्वमा राष्ट्रिय सरकार बन्छ भनेपनि माओवादी खुसी नै हुन्छ, यसमा कुनै आपत्ति हुदैन।’ तर शान्ति प्रक्रियाको मुख्य पक्षधर, राष्ट्रिय एकता र सहमति कायम गर्न भूमिका खेलेको नाताले  माओवादीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन काँग्रेस र एमालेले साथ दिएमा आफू तयार रहेको दाहालले बताए।

संविधान निर्माण भएपनि केही शक्ति र केही प्रवृत्ति देशलाई विखण्डित गर्ने खेलमा लागेको जिकिर गर्दै उनले २०७४ साल माघ ७ गतेभित्र संविधान कार्यान्वयन गर्ने परिस्थिति नबने ठूलो राजनीतिक दुर्घटना हुने खतरा देखा परेको बताए। उनले भने, ‘त्यसपछि देशको भविष्य के होला ? हामी सबैको भविष्य के होला ? यसलाई गम्भिर रुपले चिन्तन मनन् गर्न जरुरी छ।’ राजनीतिक दलबीच अहंकार र विगतको जस्तै गल्ती दोहोरिन सक्ने खतरा रहेको पनि दाहालले बताए ।

भूकम्पले मुलुकमा ठूलो जनधनको क्षति पुर्याएपनि विपत्तिले सबै राजनीतिक शक्तिलाई एकै ठाउँमा उभ्याउने परिस्थितिको सिर्जना गरेको उनले बताए। दाहालले थपे, ‘यदि प्राकृतिक प्रकोपले अपूर्णनीय क्षति नपुर्याएको भए सबै शक्तिलाई एक ठाउँमा ल्याउने आउन सम्भव थिएन। भयानक राजनीतिक अन्यौलको भुमरीमा पर्ने खतरा नै थियो।’

 

प्रकाशित: १६ असार २०७३ ०७:५९ बिहीबार

काँग्रेस एमालेले साथ दिए सरकारको नेतृत्व गर्न तयार दाहाल