अन्य

अमेरिकी बुवा

धेरै वर्ष परिवारसँग अमेरिका बसेर नेपाल आएको छु । आफ्नो देशमा आएको छु । अब मेरो बाँकी जीवन कसरी बित्ला ? त्यही सोचमा डुबेको छु म ।
सर्वप्रथम आफ्नो तराईको गाउँमा गएँ । आफूले छाडेको धेरै वर्षपछि गाउँ पुग्दा खुसी लाग्यो र सन्त्रास पनि । खुसी यस कारणले कि त्यो माटोको सुवास अझै पनि मेरा लागि आफ्नो थियो, अझै पनि त्यहाँ पुग्दा कुनै नयाँ ठाउँमा आएको जस्तो लागेन । सन्त्रासचाहिँ यस कारणले कि मेरो आफ्नो भन्ने माटोको टुक्रा अब त्यहाँ बाँकी रहेनछ । मेरो घरजग्गाको चिनोसम्म थिएन त्यहाँ । अड्डामा गएर कागजपत्र हेर्दा त मेरो जग्गा कुनै रामदासको नाममा नामसारी भैसकेको रहेछ । मेरो स्वीकृतिबिना कसरी नाम परिवर्तन भयो– यो देशको विशेषता । अचम्म त के भने रामदास भन्ने व्यक्ति गाउँमा भेटिएन । बरू मेरो जग्गामा गौतम थरका मान्छे बसेका रहेछन् । उनलाई जग्गामा आफ्नो स्वामित्वको कुरो बताउन गएँ ।
‘यो कुरा अड्डामा सोध्नुस् । मैले पनि अरू कोहीसँग पैसा तिरेर किनेको हो । बढी कुरा नगर्नुस्,’ उसले चेतावनी पनि दियो । म अड्डामा पुगेँ । १५ वर्षअघि नामसारी भएको रहेछ, तर कसैले जिम्मेवारी लिएनन् । त्यसबेलाका यहाँ न हाकिम छन्, न कारिन्दा । श्रेस्ताको ढड्डा पनि माओवादी युद्घमा जलाइएछ । म अवाक भएँ । मैले नत्यागेको नेपाली नागरिकता यहाँका भूमाफियाले खारेज गरिदिएछन् !
गाउँघरमा धूले मोटर बाटो बनेछन् । रिक्सा र टाँगाको युग सकिएछ । अनि मेरा पुस्ताका सारा साथीहरू माथि पुगिसकेछन्, आफ्नो कर्मअनुसार स्वर्ग वा नर्कमा कतै रुमल्लिरहेका होलान् ती । एक–दुईजना बाँकी पनि रहेछन्, भेट भयो । उनीहरू नारकीय बुढ्यौली बिताउँदै काल पर्खिरहेका रहेछन् । उनीहरू र मेराबीच अब यौटा फरक भयो, उनीहरू अनेक समस्याका बीच आफ्ना सन्तानसँग बसिरहेका थिए, तर मेरा लागि अब न घर थियो न परिवार । म आफ्नै देशमा, आफ्नै गाउँमा आइपुगेको एक विदेशी, बूढो सुकुम्बासी बनेको थिएँ ।

म एकजना हितैषी मित्रको पाहुना भएँ । एकाबिहानै उनकी बुहारीले अर्धतिरष्कार र अर्धऔपचारिकता निर्वा गर्दै दिएकी चिया बरन्डामा बसेर पिउँदै थिएँ । अमेरिकाको सुनको पिँजडामा चार दशक बिताएको पीडाको सम्झना हुन थाल्यो । क्वाँक्वाँ डाँको छाडेर रुन मनलाग्यो । छोरा–बुहारीको सधैँको ‘घन्टे अफिस’ । नातिनातिना सधैँको स्कुल, बिदा भयो कि खालि बाह्य गतिविधि ! कहिले कराँटे, कहिले फुटबल, कहिले बेसबल केके हो केके ?

मभन्दा डेढ दशक कम उमेरकी श्रीमतीलाई बूढी भएकी छैन भनेर देखाउन आतेस थियो । बुहारीसँग एकप्रकारको प्रतिष्पर्धा । सधैँको पार्टी । कहिले को लिन आउने, कहिले को । नेपालीहरू सबैलाई दाजु–भाइ, भिनाजु, मामा भनेर नाता लाउँथी । अनि विदेशीहरू पनि असाध्यै नजिक हुन्थे । कोही कहाँका हाकिम कोही कहाँ काम गर्दाका साथी । कसैको डिभोर्स भएकोमा मन बुझाउन पनि उही जान्थी, कसैको बिहे भएकोमा नाच्न पनि ऊ पुग्नैपर्ने । म विचरा अर्धबुझाइ र अर्धसमर्पणको अवस्थामा जीवन बाँचेको थिएँ । दिनभर घरमा एक्लै र कतिपय रात पनि एक्लै । कुनै दन्त्यकथाको पात्रजस्तो लाग्यो आफू । एक्लै सुत्ने, एक्लै खाने अनि एक्लै उठ्ने ! छोरा–बुहारी र श्रीमती कसैलाई मेरो विषयमा सोच्ने र सोध्ने फुर्सत् भएन । यस्तो खोरमा थुनेको कुकुरजस्तो जिन्दगी । आफैप्रति घृणा लाग्यो । अनि एक दिन काठमाडौँको टिकट लिएर ब्रेकफास्टको समयमा घोषणा गरेँ– म भोलि नै नेपाल जाँदैछु ।
परिवारका सबै वाल्ल परे । सबैको आँखा विस्मितजस्ता भए ।
‘किन जाने बा ?’ छोराले सोध्यो ।
‘आफ्नो नेपालको जग्गाजमिनको स्थिति के छ ? नेपालमा भुइँचाले गयो, नाकाबन्दी भयो भन्छन् । त्यसपछिको स्थिति पनि बुझौँ र घुमेर आउँ भनेर... ।’ मैले श्रीमतीको अनुहार हेरेँ । त्यहाँ न खुसीको भाव थियो न दुःखको वा विस्मयको ! ऊ केही बोलिन । केवल यत्ति भनी, ‘तेरो बा जिद्दिवाल हुनुहुन्छ । गर्न दे न आफ्नो खुसी ।’ उसको खुसी हो कि मेरो खुसी मैले केही बुझ्न सकिनँ । तर, मैले बिदा पाएँ । छोराले ठूलो गुन लगायो, अफिसबाट आधा दिनको छुट्टी लिएर एयरपोर्टसम्म छाडिदियो गाडीमा ।
नेपालको एउटा गाउँमा ७० वर्ष पुग्न लागेको एक जना वृद्धले के गर्न सक्छ ? तर, केही नगरी आफ्नो घरजग्गा लुटिएको गाउँमा कसरी मृत्यु पर्खाइको संघर्ष गर्नु ? म असमन्जसमा परेँ । फेरि सम्झेँ एक अमेरिकी वृद्धको वचन । उनले भनेका थिए– नेपालका लागि केही सहयोग गर्न सक्छु ? मैले त्यही वचन भजाउने निर्णय गरेँ ।

मेरा साथी बिस्तारै उठेर बाहिर आउँदै गर्दा उनलाई आफ्नो योजना सुनाएँ । यौटा गुरुकुलखालको पाठशाला वा विद्यालय खोलेर भोलिका लागि चरित्रवान् विद्यार्थी उत्पादन गर्ने । मेरो साथी केही बोलेन, टोलाएर मेरो अनुहार हेरिरह्यो । केही बोल्न चाहन्थ्यो, मैले उसको आँखाका भाव पढेँ, तर ऊ बोलेन । मलिन अनुहार लगाएर हेरिरह्यो ।

मैले वरिपरिका केही मान्छेलाई त्यही आँगनमा बोलाएँ र गाउँमा यौटा संस्कृति सिकाउने, चरित्रवान् बनाउने अनि भोलिको सुयोग्य नागरिक बनाउने गुरुकुल विद्यालय खोल्ने योजना सुनाएँ । अझ योगासन, प्राणायामजस्ता विषय पनि राख्ने बुझाएँ ।
‘यस कार्यका लागि केकति रकम कहाँबाट आएको छ ? हामीले थाहा पाउनुपर्छ,’ एकजना बुज्रुगले भन्यो ।
अर्को बुज्रुग करायो– ‘बाहिरबाट रकम सहयोग ल्याएर तपाईं आफैले मात्र ग्वाम पार्न पाइँदैन । हाम्रो पनि भाग लाग्नुपर्छ ।’
‘मैले पैसासैसा केही ल्याएको छैन महानुभावहरू । तपाईंहरू सबैको सहयोग भएमा केही गर्न सकिन्छ । लौ भन्नुस् कुन ठाउँमा राखौँ स्कुल ? एउटा कमिटी गठन गर्ने हो कि ?’ मैले स्पष्ट भनिदिएँ ।

त्यहीबेला एक हुल केटाकेटी आए र सोधे– यो मिटिङ केका लागि हो ? अनि कसको अनुमतिले हो ?
‘मैले गर्न लागेको बाबु हो । केही सरसल्लाह गरौँ भनेर । यो पिछडिएको गाउँको थोरै भए पनि विकास गरौँ भनेर आजका युवालाई यहीँ नै काम दिन सकियोस्, विदेशीको मुख ताक्न नपरोस् भनेर ।’  
‘विदेशबाट केकति सहयोग ल्याउनु भएको छ पहिले सो जानकारी पाउँ अनि हाम्रो परिवर्तनकारी युवा पार्टीको सहमति नलिई कुनै काम गर्न पाउनु हुन्न । यो जानकारी पनि राख्नुहोला ।’ तिनका स्वरमा ललकार थियो, बाघको गर्जनजस्तो ।
मैले नम्रतापूर्वक साधेँ– विकासको काममा पनि यस्तो ?

‘विकासको होस् कि विनाशको ! यसको हामीलाई कुनै मतलब छैन । तर, यो गाउँ जनताको अधिनमा राख्न चाहन्छौँ । जो जसले आएर जे पायो त्यही गर्न हामी दिन्नौँ । फेरि तपाईंलाई सबैले महात्मा भन्छन्, कुन ढोँगी महात्मा पर्नुभो ?’ तिनले खबरदारीमात्रै गरेनन्, नारा लाउँदै त्यहाँबाट हिँडे पनि । ‘क्रान्तिकारी पार्टी जिन्दाबाद— जिन्दाबाद । जिन्दाबाद ।’
म छक्क परेर बसेको देखेर मेरो साथीले धाप मा¥यो । घाम र किसानीले चाउरिएको कालो हात हेरेँ अनि उसको आँखा । ऊ अब केही बोल्नेवाला थियो । अहिले उसको आँखामा आत्मविश्वास थियो र ममा हरुवाभाव ।
उसले बिस्तारै भन्यो, ‘तिमीलाई यो घरमा मैले राखेको होइन, मेरा छोरा–बुहारीले राखेका हुन् । मैले चाहेर तिमी यो घरमा बस्ने थिएनौ, यी दुष्टले त्यसै के बस्न दिन्थे ?’

मैले केही बुझिनँ । के ऊ मलाई यो घरबाट जा भन्दैछ ? तर, म केही बोलिनँ ।
बिस्तारै उसले मनको कुरा खोल्यो, ‘तिमीले अमेरिका जान सहयोग गर्छौ भनेर नै यहाँ बस्न दिएका हुन् मेरा लालची सन्तानले ।’
मैले सोचेको थिएँ बूढाको सम्पत्तिमा अझै उसैको अधिकार रहेछ भन्ने, तर हैन यी बूढा पनि रगतको आँसु पिएर बाँचेका रहेछन् आफ्नै सन्तानको तानाशाही शासनमा । मैले सहयोग गरिदिए उसको पनि यो घरको बसाइ अलि सहज हुने मैले बुझेँ ।
साथीका कुरा मनमा खेलाउँदै गाउँनजिकैको शिवजीको मन्दिर दर्शन गर्न हिँडेँ म । टाढैबाट मन्दिरवरिपरि थुप्रै रंगका झण्डाहरू देखेर मन प्रफुल्लित भयो । कमसेकम गाउँको धार्मिक विश्वास र आस्था खल्बलिएको रहेनछ भनेर । तर, म त्यहाँ पुग्दा शिवजीको मन्दिरको अवस्था बेहाल रहेछ । मन्दिर परिसरको जग्गामा त एउटा नयाँ घर बनेछ र त्यहाँ चेतनावादी समूह भनेर ब्यानर टाँगिएको रहेछ । अनि त्यहीँ बाहिर उभिएका एक सज्जनलाई सोधेँ, ‘यो के हो ?’

‘यो परिवर्तन हो । क्रान्तिको महत्वपुर्ण योगदान पनि । हामी सामन्ति शासनबाट मुक्त भएका छौँ, अब हामीले यो देश बनाउनुपर्छ । विदेश जाने हाम्रा सन्ततिलाई देशमै रोजगारीको अवसर जुटाउनुपर्छ ।’ ऊ लामो भाषण गर्न लाग्यो । यसैबीच मैले चिनेँ ऊ त मेरो घर हडप्ने गौतम नै रहेछ । म हिँड्न लागेको थिएँ, एकछिन भनेर हात र टाउको एकैपल्ट हल्लाएर इशारा ग¥यो उसले । अनि हतारहतार अरुसँग बिदा लिएर मलाई हातै समाएर अलि पर लग्यो ।
‘अमेरिकी बुवा हजुरले मेरो छोरालाई जसरी पनि अमेरिका लगिदिनुपर्यो । बरु म जे गर्न पनि तयार छु । हजुरको घरजग्गामध्ये केही फिर्ता पनि गर्छु’, ऊ अचम्मको कुरा गर्दैथियो । कहाँ अघिको रौद्र भाषण, कहाँ यो दरिद्र अनुहार !
म दुई कदम अघि नबढ्दै उसले कराएर भन्यो, ‘भोलि घर आउनुस्, तपाईंको व्यवस्था हुन्छ ।’
अचानक यो गाउँमा म आफूलाई शक्तिशाली महसुस गर्न थालेँ । ममा केही छ जसले गर्दा यो गाउँमा मेरो सम्मान गरिँदैछ । उसलाई नाइँ भन्नु जरुरी थिएन । मभित्र आशा पलायो कतै मेरो लुटिएको घर फिर्ता आउँछ कि भन्ने !
त्यतिकैमा एउटा युवा समूह ट्वाक्क भेटियो ।
‘आर यु अमेरिका रिटन्र्ड ?’ एउटाले सोध्यो ।
‘एस्’, मैले जवाफ फर्काएँ । अर्कोले मलाई यौटा रसिद थमायो– सहयोगको रसिद । जसमा १०० (एक सय) डलर लेखिएको थियो ।
‘यो के हो बाबु हो ? केका लागि सहयोग ?’
‘फर द प्रोग्रेस अफ आवर भिलेज । यु नो, वि वान्ट टु चेन्ज द सामन्तवादी थट,’ फेरि पहिलो केटोले कडा स्वरमा भन्यो ।
यत्रो रकम मैले कसरी सहयोग गर्न सक्छु भन्दै त्यो अंग्रेजको नातिलाई नेपालीमा उत्तर दिएँ । त्यहाँबाट उम्कन रु. १०० को नोट हुत्ताएर भाग्न खोजेँ । तर, ती केटाहरूले बाटो छाडेनन् । म सय डलर दिन सक्ने अवस्थामा पनि थिइनँ र दिने कुरो पनि भएन । तर, उनीहरूको प्रतिष्ठाको सवाल भयो, मसँग सय डलर झार्नैपर्ने ।
यत्तिकैमा त्यही अंग्रेजको नाति अघि स¥यो र मलाई जोगायो । साथीहरूलाई पर धपायो अनि भन्यो, ‘अमेरिकी बुवा मलाई अमेरिका जानुछ, सहयोग गर्ने हो भने जति पैसा पनि खर्च गर्न सक्छु ।’

मन्दिरका घटनाबाट केही उत्तेजित, केही भ्रमित भएर साथीको आँगनको रुखको छायाँमा एउटा मुढामा यसो आफूलाई अडाएको मात्र थिएँ ४/५ जना केटा आइपुगे र कराए– गुडमर्निङ अमेरिकी बुवा ।
मेरो नाम अमेरिकी बुवा राखिसकेका रहेछन् । मैले सोधेँ– किन आयौ बाबु हो, म बूढाकहाँ ।
‘यहाँ बसेर केही गर्न सकिएन । त्यही हल गोरू गरेर पुर्खाले जीवन बिताए । अलिअलि पढेकै छौँ तपाईंले अमेरिका लगिदिनुहुन्छ कि भनेर ।’
‘मैले अमेरिका लान कहाँ सक्नु, त्यति ठट्टा छ र बाबु हो ।’
‘हजुरले जे भन्नु हुन्छ हामी गर्न तयार छौँ । क्यास नभए पनि जग्गाजमिन छ, त्यो धितो राख्छौँ । १५ लाख दिएपछि जान पाइन्छ भन्छन् नि महात्मा हजुर ! ’

‘अनि के गर्छौ त तिमीहरू त्यो पराइ देशमा गएर ?’
‘हामी होटेलमा भाँडा माझ्छौँ, कुनै पसलमा गार्ड बस्छौँ । ठूलाठूला माछालाई घनले कुटेर मार्न सक्छाँै । जेजस्तो आइपर्छ त्यस्तै गर्न तयार छौँ अमेरिकी बुवा हामीलाई दया गर्नुहोस् ।
ती सबले हात जोडेको देखेर मेरो मन निकै द्रवित भयो । पछि भेटाँैला भनेर तिनलाई फर्काउन पाएको थिइनँ अर्को एक हुल युवती कोठामा पसेर मलाई घेरा हाले । सबैका आँखामा पीडा र आँसु देखेँ ।
‘हामी सबै विदेश जान आएका । तपाईं हाम्रा हजुरबुवाको साथी । हाम्रो भाग्यले हाम्रो गाउँमा भेट्ने मौका पायौँ ।’
‘कहाँ जाने नानी हो ?’ मैले सोधेँ ।
‘जहाँ जुन देशमा पाइन्छ त्यहीँ जाने । जे पाइन्छ त्यही खाने,’ यौटी केटीले भनी ।
‘तिम्रो नाम के हो नि ?’
‘म स्मार्ट चौधरी हूँ ।’
‘अनि काम के गर्ने नि ?’
‘विदेश गएपछि जे पनि गर्ने । यहाँ पो गाउँघर र नातागोताको डर !’
‘तैपनि !’
‘अब के नाच्ने, गाउने, होटल–मोटलमा काम गर्ने ।’
‘अरू नि ?’
‘हामीलाई पैसामात्र चाहियो, जे जसरी आउँछ त्यही काम गर्ने हो ।’
‘अर्थात्...!’
‘अनि के ! लोग्ने मान्छेलाई जेजे चाहिन्छ त्यही दिएर खुसी पार्ने...’ अर्की बोली ।
म तिनीहरूलाई केही मद्दत गर्न सक्दैनथेँ । तर, अचम्म । म सबथोक सक्नेझँै व्यवहार गर्न थालेँ । तिनलाई आश्वासन दिएँ, सकेको कोसिस गरिदिन्छु भनेर ।
तिनीहरू मुस्काउँदै फर्किए । पेटको आगोले सायद अस्मिताको संरक्षण गर्न दिँदैन । यही हो हाम्रो नियति । हाम्रो उपलब्धि !
भोलिपल्ट बिहानै आफ्नो घर अर्थात् गौतमले कब्जा गरेको ठाउँमा गएँ । टाढैबाट मलाई देखे उनले । दुवै बूढाबूढी ढोकैसम्म आएर नमस्कार गरे, बडो सत्कारका साथ भित्र लगे र चटाईमा बसाए । त्यस्ता दुष्ट र कडा गौतम नरम हुँदै बोले, ‘अब एउटा कोठा हजुरका लागि खाली गरिदिएको छु, त्यसैमा गुजारा गर्नुहोला । अनि नबिर्सनु है, मेरो छोरालाई अमेरिका पठाउनैपर्छ ।’
अब मैले मेरो परिवर्तित देशमा स्वरूप परिवर्तन गर्नैपर्ने थियो । खल्तीबाट आफूले लेखेर ल्याएको एउटा कागज दिएँ र भनेँ, ‘ल अब यो बोर्ड बनाएर ल्याउने जिम्मा तपाईंको ।’
त्यो कागजमा लेखिएको थियो–
अमेरिकी बुवाको कन्टल्टेन्सी ।
विदेशमा पढ्न र काम गर्न जानुपरेमा यहाँ सम्पर्क राख्नुहोला ।

 

प्रकाशित: ११ असार २०७३ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App