अन्य

सहपाटी भेट्न पाउँदा दंग

दैलेख- नारायण नगरपालिका–९, बाँस्कोटका ८१ वर्षीय अम्मर थापा युवाअवस्थाका सहपाठीलाई भेट्न पाएपछि दंग छन्। ज्येष्ठ नागरिकहरूको भेलामा आएका थापा पुराना सहपाटीसँग भेट्न पाएपछि हर्षित छन्। 'मनका कुरा साट्न पाएकाले हल्का भएको महसुस भएको छ,' उनले भने।

उनी जस्तै ८८ वर्षीय दध्येबहादुर बिष्ट पनि आफ्ना सहपाटीसँग सुख–दुःखका कुरा साटेको बताउँछन्। धेरै वर्षपछि पुराना साथीहरू भेट्न पाउँदा उनी पनि उत्साहित छन्। 'भेलाले पुराना सहपाठीसँग भेट जुरायो,' उनी भन्छन्, 'पुराना साथी भेट्न पाउँदा मनै आनन्द हुन्छ।' साथीलाई देखेर पुराना घटना याद आउने गरेको उनी बताउँछन्। 

थापा र बिष्ट जस्तै जिल्ला सदरमुकाममा ज्येष्ठ नागरिकको भेलामा आएकाहरू पुराना मित्र भेट्न पाउँदा दंग परेका थिए। उनीहरू भेला हुनुको उद्देश्य थियो, ज्येष्ठ नागरिकको संघको जिल्ला अधिवेशन। ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका लागि ज्येष्ठ नागरिक जिल्ला संघले क्रियाशील भएर काम गरिरहेको छ।

सबै मिलेर उनीहरूले भोग्दै आएका समस्या समेत निराकरण गर्छन्। संघले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्न, उनीहरूमा रहेको ज्ञान, सीप र क्षमता तथा अनुभव सदुपयोग गरी श्रद्धा, आदर र सद्भाव अभिवृद्धि गरी अधिकार प्रबर्द्धनका कार्य गरेको सचिव इन्द्रबहादुर बुढाले बताए।

संघले ५० जनालाई निःशुल्क चश्मा, ६० जनालाई कम्मल वितरण तथा ३० जनालाई दोसल्ला ओढाएर सम्मान गरेको छ। यसका लागि ३ लाख ७ हजार रूपैयाँ खर्च भएको समेत पारदर्शिताका साथ सबै ज्येष्ठ नागरिकका माझ सार्वजनिक गरियो। यसका लागि जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका विकास कार्यालयबाट आर्थिक सहयोग गरिएको उनीहरूको प्रतिवेदनमा उल्लेख छ। साधारणसभाको भेलाले वीरबहादुर भण्डारीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ।

प्रकाशित: ६ असार २०७३ ०७:०३ सोमबार

सहपाटी भेट्न पाउँदा दंग